१७ असोज २०८२, शुक्रवार

सेनापतिले प्रधानमन्त्रीको अफर गर्नुभएको थियो, मानिन : दुर्गा प्रसाई

१० असोज २०८२, शुक्रवार
Image

झापा, १० असोज । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले आफूलाई जेनजी आन्दोलनपछि प्रधानमन्त्रीको अफर आएको दावी गर्नु भएको छ ।

विहीवार काठमाडौंबाट गृहजिल्ला झापा फर्किए लगत्तै विर्तामोडमा आयोजित स्वागत सम्मान कार्यक्रममा बोल्दै उहाँले उक्त दावी गर्नु भएको हो ।

प्रधान सेनापति अशोकराज सिग्देलले प्रधानमन्त्री बन्न प्रस्ताव गर्नु भएको उहाँको दावी छ । “प्रधान सेनापतिले प्रधानमन्त्री खान अफर गर्नु भएको थियो,” उहाँले भन्नुभयो– “तर, मैले नखाने भनेर जवाफ दिएँ ।”

प्रधानमन्त्री अफर आउँदा किन नमानेको भन्ने विषयमा उहाँले मन्तब्यको क्रममा प्रष्टिकरण दिनु भएको थियो । पश्चिमा विदेशीहरुको डिजाइनमा प्रधानमन्त्री बन्ने भएकाले आफूले अस्वीकार गरेको उहाँको जिकीर छ ।

भदौ २३ गते काठमाडौं लगायत देशका प्रमुख सहरमा जेनजी आन्दोलन सुरु भएपछि हालसम्ममा ७४ जनाको मृत्यु भइसकेको छ । 

जेनजी आन्दोलनको क्रममा ठूलो जनधनको क्षति भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनु भएको थियो । जेनजीको सहमति अनुसार नयाँ सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेलभन्दा प्रधान सेनापति अशोकराज सिग्देलले बढी अग्रसरता देखाउनु भएको थियो ।

सोही क्रममा जेनजीको एउटा टोली लिएर महाअभियानका संयोजक प्रसाई प्रधान सेनापति सिग्देलसँग वार्ता गर्न जंगी अड्डा पुग्नु भएको खुलासा भएको थियो ।

वार्ताको क्रममा प्रधान सेनापति सिग्देलले प्रसाईलाई जेनजी आन्दोलनको स्टेकहोल्डर भनेर सम्मान दिएको उसबेलै मिडियामा सार्वजनिक भएको थियो ।

जेनजी आन्दोलनपछि प्रसाई विहीवार तामझामका साथ गृहजिल्ला आउनु भएको हो । चन्द्रगढी विमानस्थलमा उहाँलाई बाजागाजा र फूलमालासहित समर्थकहरुले स्वागत गरेका थिए ।

दुई वटा सेता कारको स्कर्टिङमा उहाँ चन्द्रगढीबाट गरामनी हुँदै विर्तामोड आउनु भएको थियो । मोटरसाइकल र कारको ताँतीले उहाँलाई बीएन्डसी हस्पिटल पुर्याएको थियो । त्यहाँ उहाँले दुर्गा माताको प्रतीमामा ध्वजा पताका चढाउनु भएको थियो ।

बीएन्डसी नजिकै सिटी मार्केट परिसरमा महाअभियानले उहाँको सम्मान कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा बोल्दै उहाँले पूर्वप्रधानमन्त्री केपी ओली कटु आलोचना गर्दै ओलीलाई दुला पसेको मुसोको संज्ञा दिनु भएको थियो ।   

आफूलाई पाँच महिना अघि ओली नेतृत्वको सरकारले हतकडी लगाएर काठमाडौं लगेर थुनामा राखेको स्मरण गर्दै उहाँले अहिले परिस्थिति उल्टिएको दावी गर्नुभयो । आफूलाई झापालीले स्वागत सम्मान गरेको र रु. २० लाखभन्दा मुनिको ऋण मिनाहा गर्ने प्रतिवद्धताबाट पछि नहटेको उहाँको भनाई थियो ।