झापा, १४ असोज । चारकोशे झाडीको रुपमा चिनिएको दक्षिणपूर्वी झापाको जलथल जंगलमा मिचाहा प्रजातिको झार फैलिएका कारण रैथाने प्रजातिका बनस्पति लोप हुँदै गएको छ ।
जैविक विविधताले भरिपूर्ण जलथल जंगल नेपालकै होचो भूभाग रहेको कचनकबलदेखि हल्दिबारी र बाह्रदशी गरी तीन वटा गाउँपालिका र भद्रपुर नगरपालिकासम्म करीव छ हजार हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
फरेन एक्सन नेपालका विज्ञ डा. लिलानाथ शर्माका अनुसार जलथल जंगल नेपालको मात्र नभएर दुर्लभ बनस्पति, झार र बुट्यान रहेको कारण दक्षिण एसियाकै नमुना प्राकृतिक बन हो । यहाँ ४५० भदा बढी प्रजातिको बनस्पति छन् भने २०० भन्दा बढी प्रजातिका चराको बासस्थान छ । उहाँका अनुसार १४० भन्दा बढी प्रजातिका रुख भेटिएका छन् ।
“जनावरहरुमा सबैभन्दा ठूलो हात्तीदेखि सबैभन्दा सानो मुसे मृग जलथलमा अस्तित्वमा रहेको छ,” अनुसन्धाता समेत रहनु भएको शर्मा भन्नुहुन्छ– “रुख र चरा मात्र होइन, यहाँको सिमसारमा ४० भन्दा बढी प्रजातिका माछा पाइएका छन् ।”
बनस्पति प्रजातीय विविधता र समिश्रणका दृष्टिले जलथलको बन नेपालका अरु जंगलभन्दा पृथक रहेको उहाँको भनाई छ । डा. शर्माले एक दशकभन्दा बढी अनुसन्धान गरेर जलथल जंगलको जैविक विविधता बारेमा पुस्तक लेख्नु भएको छ भने अन्तर्राष्ट्रिय जर्नलहरुमा उहाँका खोजमूलक लेख प्रकाशित छन् ।
नेपालमा हालसम्म अभिलेख नभएका छ प्रजातिका रुखहरु यस जंगलमा भेटिएको जनाउँदै पहाड र चुरे क्षेत्रमा मात्र पाइने ठानिएका बनस्पतिहरु तराईको जलथल बनमा पाइनु आश्चर्यजनक भएको बताउनु भयो ।
लटहर प्रजातिका रुखहरु यहाँ जंगल भन्न सकिने अवस्थामा भेटिएको छ भने थाकल, ढाल्ने कटुस, मुसुरे कटुस, मौवा र पाँचपाते जस्ता पहाडी रुखहरु यहाँ प्राकृतिक रुपमै हुर्किएका छन् । हिमालयन पिनांगा नामले चिनिएको सुपारी प्रजातिको बनस्पति समेत यहाँ पाइएको शर्माले बताउनुभयो ।
दुर्लभ बनस्पतिहरु धेरै मात्रामा भेटिए तापनि तिनको उचित संरक्षण हुन सकेको छैन । मानवीय अतिक्रमण र मिचाहा प्रजातिका झारहरुको प्रकोपले जैविक विविधता मासिदै गएको छ । चोरी शिकारीको सक्रियताले जनावरहरु लोप हुँदै गएका छन् ।
मृग र बदेलहरु शिकारीका कारण मासिदै गएका छन् । अन्यत्र नपाइएको मुसे मृग केही वर्ष यता देखिन छाडेको स्थानीयहरुलाई उद्धृत गर्दै शर्माले बताउनुभयो । मुसा जस्तै सानो हुने भएकाले यसको नाम मुसे मृग रहेको हो ।
जलथलमा १७ प्रजातिका मिचाहा झारको प्रकोप देखा परेको छ । जसमध्ये स्थानीयले प्यांग्री लहरा भन्ने गरेको माइकेनिया नामको मिचाहा झार सबैभन्दा ठूलो समस्याको रुपमा देखा परेको अनुसन्धाता शर्माले बताउनुभयो । उल्टो काँडा भनिने अर्को प्रकारको मिचाहा झार पनि ठूलै समस्या बनेको छ ।
यी मिचाहा झारले सर्पगन्धा, कुरिलो, मधु, देउले च्याउ लगायतका दुर्लभ बनस्पति लोप हुने खतरामा परेको उहाँले बताउनुभयो । पोथ्रा प्रजातिका रुखहरु समेत मिचाहा झारले ढाकेर मास्ने गरेको छ । खाली रहेको ठाउँ यिनै बनमारा झारले ढाकिसकेको हुँदा यसको नियन्त्रणका लागि स्थानीय सामुदायिक बन र पालिकाहरुले कार्यक्रम ल्याउन आवश्यक भइसकेको उहाँको धारणा छ ।