९ फागुन २०८२, शनिवार

झापा–१ : उम्मेद्वारलाई एउटै मञ्चमा ल्याइँदै, प्रश्नको जवाफ दिन रास्वपा पनि आउँदै

९ फागुन २०८२, शनिवार
Image

मेचीनगर, ९ फागुन । मेचीनगरका जेसीजहरुले झापा–१ का प्रत्यक्षतर्फका उम्मेद्वारलाई एउटै मञ्चमा ल्याएर मतदातासँग सम्वाद (ककस) कार्यक्रम आयोजना गर्ने भएका छन् ।

फागुन १२ गते धुलाबारीको पासाङल्हामु जेसीज स्मृति सभाहलमा गरिने कार्यक्रममा झापा–१ का १५ जना उम्मेद्वारलाई निमन्त्रणा गरिएको नेपाल जेसीजका उपाध्यक्ष देबु बानियाँले बताउनुभयो ।

कार्यक्रम सम्बन्धी जानकारी दिन जेसीजले आज पत्रकार सम्मेलन गरेको थियो । मतदाताले कार्यक्रममा उम्मेद्वारहरुलाई प्रश्न सोध्न पाउने छन् ।

झापामा सबै उम्मेद्वारलाई एकैथलोमा उभ्याएर मतदातासँग प्रश्नोत्तर गराउने झापा निर्वाचन क्षेत्र नं. २ र ५ मा न्यूज २४ द्वारा आयोजित पब्लिक डिबेट कार्यक्रममा रास्वपाका उम्मेद्वार सहभागी भएका थिएनन् ।

जेसीजले झापा–१ मा आयोजना गर्ने संवाद कार्यक्रममा रास्वपाकी उम्मेद्वार निशा डाँगी उपस्थित रहने धुलाबारी जेसीजका अध्यक्ष मनोज ढकालले बताउनुभयो ।

“हामीले आठ वटा राजनीतिक दलका उम्मेद्वारलाई भेटेरै कार्यक्रमको निम्तो दिइसकेका छौं,” उहाँले भन्नुभयो– “१५ जना उम्मेद्वारलाई नै सहभागी गराउने हाम्रो लक्ष्य छ ।”

न्यूज २४ ले दमक र विर्तामोडमा आयोजना गरेको पब्लिक डिबेटमा रास्वपाका उम्मेद्वार बालेन साह र इन्दिरा राना उपस्थित हुनु भएको थिएन । तर, झापा–१ मा हुने कार्यक्रममा रास्वपा उम्मेद्वार निशा डाँगीले सहभागी हुने प्रतिवद्धता जनाएको बुझिएको छ ।

जेसीजले आयोजना गर्ने उम्मेद्वारसँगको संवाद कार्यक्रमको सहजिकरण धुलावारी जेसीजका पूर्वअध्यक्ष केशव पोखरेलले गर्नु हुने भएको छ ।