९ फागुन २०८२, शनिवार

उपसभापति शर्माद्वारा कांग्रेसलाई पहिलो दल बनाउन आग्रह

९ फागुन २०८२, शनिवार
Image

मेचीनगर, ९ फागुन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले फागुन २१ गतेको प्रतिनिधिसभा चुनावबाट कांग्रेसलाई मुलुकको ‘पहिलो दल’ बनाउन मतदातालाई आग्रह गर्नु भएको छ ।

झापा निर्वाचन क्षेत्र नं. १ को बुद्धशान्ति–४ मा आज आयोजित चुनावी कोणसभामा बोल्दै उहाँले आफू बदलिएर देश बदल्ने संकल्प गरेको नेपाली कांग्रेसलाई मुलुकको सबैभन्दा ठूलो दल बनाउनु पर्ने बताउनु भयो ।

“अहिले देशमा विषम परिस्थिति छ,” उहाँले भन्नुभयो– “चुनावमा हार्ने र जित्ने सामान्य कुरा हो । तर विषम परिस्थितिमा देशलाई कसले सम्हाल्न सक्छ, त्यो मुख्य कुरा हो । तसर्थ, मुलुकलाई सही नेतृत्व गरेर निकास निकाल्ने क्षमता भएको नेपाली कांग्रेसलाई जनताले जिताएर पहिलो पार्टी बनाउँछन् ।”

उहाँले आवेगमा आएर लहैलहै र झोक्किएर मतदान नगर्न आह्वान गर्दै बदलिएको नेपाली कांग्रेसलाई ढुक्क भएर मतदान गर्न जेनजी भाइबहिनीहरुलाई आह्वान गर्नुभयो ।

“जेनजी तपाई हाम्रै छोराछोरी हुन्,” उपसभापति शर्माले भन्नुभयो– “उनीहरुले चाहेको मुख्य कुरा परिवर्तन हो । सरकार, दल, शासन, विकास र अर्थतन्त्रमा परिवर्तन खोजेका हुन् । यो परिवर्तनको सुरुवात नेपाली कांग्रेसले  आफैबाट गरिसकेको छ ।”

कार्यक्रममा नेपाली कांग्रेसले झापा–१ को चुनावी घोषणा पत्र सार्वजनिक गरेको थियो । पार्टीका उपसभापति शर्मा, पार्टीका कोशी प्रदेश सभापति एवम् पूर्व मुख्यमन्त्री उद्धव थापा, प्रत्यक्षतर्फका उम्मेद्वार केशवराज पाण्डे लगायतले घोषणा पत्र सार्वजनिक गर्नु भएको थियो ।

सो कोणसभामा उम्मेद्वार पाण्डेले क्षेत्रको विकास निर्माण र समस्या समाधानका लागि आफू प्रतिवद्ध रहेको जनाउँदै अमूल्य मतदान गरी बिजयी बनाउन मतदातासमक्ष अपिल गर्नु भएको थियो ।