४ जेठ २०८१, शुक्रवार

सुपारी खेतीबाट दश गुणा बढी आम्दानी

१९ पुष २०७९, मङ्गलवार
Image

झापा, १९ पुस । कम लगानीमा बढी आम्दानी हुने भएको हुँदा झापामा सुपारी खेतीतर्फ किसानको आकर्षण बढेको छ । जिल्लाको उत्तरी भेगतिर धानखेत मासेर सुपारी खेती विस्तार गर्ने लहर नै चलेको छ ।

एकपटक लगाएपछि पुस्तासम्म दीर्घकालीन आम्दानीको स्रोत बन्ने सुपारीको फलदेखि पातसमेत बोटबाटै विक्री हुन्छ । झापामा दुई हजार ६३१ हेक्टर जमिनमा सुपारी खेती भइरहेको तथ्यांक छ । 

मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा ३७ बर्षदेखि सुपारी खेती गर्दै आउनुभएका राजेन्द्र मिश्रले धानखेतीको तुलनामा सुपारी खेतीबाट दश गुणा बढी आम्दानी हुने बताउनुभयो ।

उहाँले डेढ विगाहा जमिनमा सुपारी खेती गर्नुभएको छ । थप केही बिगाहामा सुपारीको बिरुवा रोप्ने तयारी गरिरहनु भएको छ । उहाँले सुपारीको फलबाट मात्र बर्षमा खर्च कटाएर बार्षिक रु तीन लाख आम्दानी गरिरहेको जनाउनु भयो । 

“कुलो नलाग्ने पाखो एक बिगाहा जग्गामा ५० मन धान फलाउन ४० मन धानको खर्च लगानी गर्नुपर्छ”, धानसँग सुपारी खेतीको आम्दानी दाँज्दै उहाँले भन्नुभयो, “सुपारी खेतीमा तीन लाख आम्दानी गर्न रु. २० हजार जति मलजलमा लगानी गरे पुग्छ ।” उहाँले धान खेती मासेर सुपारीको खेती गर्नुभएको हो ।

सुपारी नगदे बाली हो । बोटमा फल लाग्न थालेपछि खरिदे व्यपारीहरु अग्रिम दाम बुझाउन आउने गर्छन् । विरुवा लगाएको ६ बर्षपछि आम्दानी दिने यसको खेती विस्तार र प्रवर्धन गर्न सरकारले पनि विभिन्न कार्यक्रमहरु ल्याउने गरेको छ । 

सुपारी बारीभित्रै तोरी, फिलुङ्गे, आलस, पान, मरिच, कागती, निम्बु, बेसार, अदुवा लगायतका विभिन्न प्रकारका घाँस, कोसेबाली र तरकारी खेती लगाउन सकिन्छ । एकै सिजनमा विभिन्न बाली लगाउने यो प्रचलनलाई तीनतले खेती पनि भन्ने गरिएको छ ।

झापामा सुपारी खेती प्रवर्धनका लागि सरकारले सुपारी जोन परियोजना लागू गरेको छ । सुपारी जोनमा आवद्ध किसानलाई खेती विस्तार, मल, सिञ्चाई, उपकरण र बजारिकरणका लागि सरकारले अनुदान समेत दिने गरेको झापाको सुपारी जोनका निवत्र्तमान अध्यक्ष कृषक निलकण्ठ तिवारी बताउनुहुन्छ ।

यसवर्ष झापामा सुपारी दाना प्रतिकेजी रु. ५० देखि ९५ सम्ममा बोटबाटै विक्री भएको छ । बजारको अभाव छैन । भारतबाट व्यापारीहरु सुपारी किन्न घरघरमै आउँछन् ।

सुपारीको दानाबाट मात्र होइन पातबाट समेत आम्दानी हुने गरेको छ । मेचीनगर, बुद्धशान्ति र अर्जुनधाराको दर्जनौं स्थानमा सुपारीको पातबाट उत्पादन हुने दुना टपरी उद्योग सञ्चालनमा रहेका छन् । उद्योगले किसानको घरमा पुगेर सुपारीको पात प्रतिगोटा रु. दुईमा किनेर लैजाने गरेको तिवारीले बताउनुभयो । यहाँ उत्पादित सुपारीको पातका दुना, टपरी, थाल, बटुका र चम्चाले मुलुकका ठूला तारे होटलदेखि यूरोपसम्म आकर्षक बजार पाउने गरेको छ ।

झापाको उत्तरी चुरे पहाडी श्रृंखलासँग जोडिएको तराईको भिरालो जमिनमा सुपारी असाध्य फस्टाउने गरेको छ । यहाँ जंगली हात्तीको उपद्रो बढी भएकाले किसानहरु हात्तीले नखाने बालीको रुपमा सुपारी र चियाको खेती गर्छन् । 

सुपारी जोनमा आवद्ध कृषि फार्म अर्थात कृषक समूहलाई प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले गोदाम निर्माण, उद्योग स्थापना र विभिन्न कृषि औजारहरुमा ५० देखि ७५ प्रतिशत अनुदान दिने गरेको तिवारीले बताउनुभयो ।

झापामा प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तरगत धान, रबरसँगै २०७५ सालदेखि सुपारी जोन समेत सञ्चालनमा छ । सबैभन्दा बढी सुपारी उत्पादन हुने जिल्ला भएकाले सरकारले यहाँ सुपारी जोन कार्यक्रमका लागि बजेट विनियोजन गर्दै आएको छ ।


लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।