१३ वैशाख २०८१, बिहिवार

देशका लागि केही गरौं

डेढ लाखे कतारी जागिर छाडेर दम्पति नै भैंसीपालनमा

१६ माघ २०७९, सोमवार
Image

झापा, १६ माघ । देशभित्रै केही उद्यम गरौं भन्ने हुटहुटीले कतारको मासिक डेढ लाखको जागिर त्यागेर भद्रपुर–१ का ३५ वर्षीय अर्जुन सुबेदीले उन्नत मुर्रा जातको भैसीपालन सुरु गर्नुभएको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा कतारमा ११ वर्षसम्म काम गर्दा मासिक डेढ लाख आर्जन गरेको उहाँले बताउनुभयो । तर, स्वदेशमै पसिना र शिप लगाउने चाहना बोकेर उहाँ कतारबाट नेपाल फर्किनुभयो र सुबेदी कृषि फार्म स्थापना गर्नुभयो । 

वि.सं. २०७६ मा स्थापना गरिएको उहाँको फार्ममा अहिले ५५ वटा मुर्रा भैंसी पालिएका छन् । हावापानी अनुकूलको दुधालु प्रजाति रोज्ने क्रममा उहाँले मुर्रा भैंसीले नै गोठ भर्नुभएको हो । यी भैंसीले कम्तीमा दश लिटरका दरले दुध दिन्छन् । 

“घरको आर्थिक दुर्दशा र देशमा बेरोजगारीको कहालिलाग्दो अवस्थाले नै मलाई खाडीको चालीस डिग्री तातो मरुभूमिमा पुर्यायो, त्यो मेरो रहर थिएन,” वैदेशिक रोजगारीबाट फर्किनुको कारण खुलाउँदै उहाँले भन्नुभयो–“तर सँधैभरि पैसाका पछाडि लागेर परदेशमा बसिरहन मन लागेन । स्वदेशमै बरु रोजगारी सिर्जना हुने केही उद्यम गर्छु भन्ने सोचेर म नेपाल फर्केको हुँ ।

उहाँकी पत्नी दुर्गा सुबेदी पनि वैदेशिक रोजगारीकै सिलसिलामा चार वर्ष कतार बस्नुभयो । उहाँहरु दुबै जना सँगै स्वदेश फर्किनु भयो र पशुपालनमा लाग्नुभएको हो ।

स्वदेश फर्केर भद्रपुर–१ पृथ्वीनगरमा आफ्नै सात कठ्ठा जग्गामा रु. २६ लाख लगानी गरेर आधुनिक भैसीगोठ निर्माण गर्नुभयो । सिराहाको लहानबाट भैंसीका पाडीहरु किनेर ल्याउनुभयो । तराईको हावापानीमा राम्ररी सप्रिने भएकाले मुर्रा भैंसी रोजेको उहाँ बताउनुहुन्छ ।

फार्ममा अहिलेसम्म रु. ६७ लाख लगानी भइसकेको छ । कृषि विकास बैंक विर्तामोड शाखाबाट फार्मका लागि रु. ५० लाख पशुपालन कर्जा लिएको उहाँले जानकारी दिनुभयो । 

गोठमामात्र होइन, घाँस, पराल र दानामा उहाँको ठूलो लगानी छ । यसैवर्ष रु. छ लाखको पराल बस्तीबाट किनेर ल्याएको उहाँले जानकारी दिनुभयो । वर्षेनी रु. तीन लाखको गोबरमल विक्री हुने गरेको छ ।

गोठका अधिकांश पाडीहरु गाभिनी अवस्थाका छन् । एक चौथाइ पाडीहरु छ महिनाभित्र व्याउने तयारीमा छन् । ती ब्याएपछि सुरुमै उहाँले दैनिक कम्तीमा १५० लिटर दुध विक्रीका लागि डेरी सञ्चालकहरुसँग कुराकानी चलाइरहनु भएको छ ।

अबको डेढ वर्षभित्र सबै भैंसी दुहुना भइसक्ने र भरपुर आम्दानी हुने उहाँको अपेक्षा छ । परम्परागत कृषि व्यवसाय गरेको उहाँको परिवार पहिलोपल्ट व्यावसायिक पशुपालनमा होमिएको छ । भैंसी गोठमा सञ्चालक सुबेदी, उहाँकी पत्नी दुर्गा र छोराछोरी समेत खटिन्छन् । काम गर्नका लागि मासिक रु. १५ हजार दिएर कामदार समेत राख्नु भएको छ ।

“यो वर्ष चाहिँ पाडीहरु ब्याएपछि वरपरकै डेरी व्यवसायीलाई दुध बेच्ने तयारी गरेको छु,” उहाँले भन्नुभयो–“तर, अर्को वर्षदेखि चाहिँ आफै डेरी खोल्ने योजना बनाएको छु ।” झापामा ठूला डेरी सञ्चालनमा आएकाले दुधको बजारमा कुनै समस्या छैन ।  

आगामी दिनमा भैंसीपालन विस्तार हुँदै जाने भएको हुँदा उहाँले भद्रपुर वरपरका अरु गाईभैंसी पालक किसानहरुको समेत दुध संकलन गर्ने लक्ष्यका साथ चिस्यान केन्द्र आफै सञ्चालन गर्ने योजना बनाइरहेको बताउनुभयो ।

त्यतिका धेरै भैंसीका पाडीहरुलाई खुवाउन घाँसको लरतरो जोहो गरेर पुग्दैन । स्थानीयको १३ बिगाहा जग्गा भाडामा लिएर उहाँले घाँसखेती र तरकारी खेती थाल्नु भएको छ । भैंसीपालनबाट जैविक मल संकलन हुने भएकाले भाडामा लिइएको जग्गामा तरकारी बाली फस्टाउने उहाँको अपेक्षा छ ।

सात बिगाहामा घाँसखेती र छ बिगाहामा मौसमी तरकारी बाली लगाउनु भएको सुबेदीको चार बिगाहा खेतमा अहिले तोरी पहेँलपुर भएको छ । भाडामा लिइएको जग्गाको भने उहाँले प्रति बिगाहा वार्षिक रु. १५ हजार तिर्दै आउनु भएको छ ।

स्वदेशमै पसिना सिञ्चन गर्दै आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने उहाँको सोच राज्यको प्राथमिकतामा पर्छ । तर, कृषि र पशुपालनमा मरिमेटेर लागिरहनु भएको उहाँ सरकारको वेवास्ता र मुलुकको बेथितिबाट भने वाक्कदिक्क हुनुहुन्छ ।

नगरपालिकाले सञ्चालन गर्दै आएको पशु सेवा कार्यालयमा कुटी काट्ने मेसिन अनुदानमा पाउन दुईपटकसम्म निबेदन हाल्दा नपाएको उहाँले बताउनुभयो ।

“हेर्न आउँदा सबैले राम्रो गर्नुभयो, स्वदेशमै श्रम र शिप लगाउनुभयो, रोजगारी सिर्जना गर्नुभयो भनेर फुक्याउँछन्,” उहाँ राज्यको गलत नीतिका कारण युवा उद्यमीहरु निराश रहेको गुनासो सुनाउँदै भन्नुहुन्छ–“उद्यम गर्न प्रोत्साहित गर्नुपर्नेमा राज्यका निकायहरु कर असुल्न मात्र जान्छन् । व्यवसायीले भोगिरहेका समस्याको समाधानका लागि कसैले केही सहयोग पुर्याउला भनेर आशा नगर्दा हुने अवस्था छ ।”

आफुले विदेशमा आर्जेको रकम समेत भैंसीपालनमा लगानी गरेको जनाउँदै वडा, नगरपालिका, प्रदेश वा अरु कुनै सरकारी निकायबाट हालसम्म कुनै अनुदान नपाएको बताउनुभयो । अनुदान पाउन झुठा कागज मिलाउनु पर्ने, हिस्सा बुझाउनु पर्ने र सोर्सफोर्स लगाउनु पर्ने बेथिति व्याप्त रहेको कारण वास्तविक र इमान्दार कृषि व्यवसायी सरकारी प्रोत्साहनबाट टाढा रहेको उहाँको गुनासो छ ।


लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।