२५ असोज २०८१, शुक्रवार

बिर्तामोड महोत्सवमा किवीदेखि ठेकीसम्म

८ फागुन २०७९, सोमवार
Image

झापा, ८ फागुन । कृषि, पर्यटन तथा औद्योगिक क्षेत्रका आर्थिक गतिविधिलाई चलायमान बनाउन झापाको बिर्तामोडमा फागुन ५ गतेदेखि ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव’सञ्चालित छ । 

महोत्सवमा बंगलादेश, पाकिस्तान र भारतका व्यवसायीहरुको समेत उल्लेख्य सहभागीता रहेको छ । फागुन १५ गतेसम्म सञ्चालन हुने महोत्सव बिर्तामोड नगरपालिका २ स्थित पूर्व पश्चिम राजमार्गको रामचौक नजिकै सञ्चालित छ । 

महोत्सवमा दुई सयवटा स्टलहरु राखिएका छन् । जसमा नेपालमा उत्पादिक कृषिजन्य बस्तुको प्रर्दशनीले महोत्सवको रौनकता बढाएको छ । महोत्सवमा किबीको फलबाट बनाईएका बिभिन्न परिकार (जुस, जाम, अचार, तीनपाने घरेलु मदिरा) देखि दारका ठेकीसम्म राखिएका छन् । 

ठेकी काठबाट बनेको परम्परागत नेपाली भाँडो हो । यो दही जमाउने, दही मथ्ने (मोही पार्ने), मोही अथवा दही राख्ने काममा प्रयोग गरिन्छ । ठेकी सामान्यतया दार अथवा देवदार नामको रूखको काठबाट बनाइन्छ । 

त्यस्तै महोत्सवमा अचारका विभिन्न परिकारहरु समेत राखिएको छ भने सुपारीका खपटाबाट दुनाटपरी, प्लेट, थाल, खण्डेथापा, बटुका, चम्चा आदि राखिएका छन् । जुसको परिकारमा किबीका छुट्टा छुट्टै जुस राखिएको छ भने लालिगुराँसको जुस समेत महोत्सवमा राखिएको छ । जुन महोत्सवका लागि आकर्षणको केन्द्र बनेको छ । 

पूर्बी पहाडमा उत्पादित कृषि जन्य बस्तुको प्रर्दशनीले महोत्सवको रौनकता बढाएको बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव अर्जुनकुमार मैनालीले बताउनुभयो । उहाँले भन्नुभयो – महोत्सवमा नेपालका कृषक र व्यवसायीहरुले उत्पादन गरेका विभिन्न समग्री राखिएको छ भने बंगलादेश, पाकिस्तान र भारतबाट आएका व्यवसायीहरुले समेत आफ्ना उत्पादनसहितका वस्तुको प्रर्दशनी र व्यापार गरिरहेका छन् । 

स्थानीय उत्पादन र सीपको समेत प्रर्दशनी 

महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले बिर्तामोड नगरपालिकाले गत बर्ष वडागत रुपमा अचार बनाउने तालिम प्रदान ग¥यो । तालिममा वडा नम्वर १, ३ र ४ का महिलाहरुसमेत सहभागी भए । तालिममा सहभागी मध्येका सात जना महिलाहरुले गृहिणी लघू उद्योग सञ्चालन गर्ने प्रवन्ध मिलाए ।  नगरपालिकाले प्रदान गरेको अचार बनाउने सिप सिकिसकेपछि उनीहरुले अचारका विभिन्न परिकार बनाउन शुरु गरे । 

शुरुमा आठ दिनको मात्रै तालिम लिएका महिलाहरुले पछि थप एक महिनाको तालिम लिए । नगरपालिकाले प्रदान गरेको तालिम लिएका महिलाहरु मध्येका गृहिणी लघू उद्योगकी अध्यक्ष मैया बजगाई र कोषाध्याक्ष तारा उप्रेती सापकोटा महोत्सव स्थलमा रहेको स्टलमा सोमवार भेटिनुभयो । उहाँहरु महोत्सवमा आएकाहरुलाई अचार बिक्री गर्न व्यस्त हुनुहन्थ्यो भने उनीहरुलाई अचार बनाउने बिधिका विषयमा समेत जानकारी दिइरहनु भएको थियो । गृहिणी लघू उद्योगले उत्पादन गरेका बस्तुमध्ये धेरैले अकबरे खुर्सानीको अचार, अकबरे खुर्सानीको पेष्ट, मिक्सअचार(आँप, अदुवा,, लसुन, खुर्सानी र कागती)र तामाको अचार रुचाएको अध्यक्ष बजगाईले बताउनुभयो । बजगाई बिर्तामोड नगरपालिका–४ निवासी हुनुहुन्छ । उहाँकै संयोजनमा महिलाहरुले अहिले महोत्सवमा स्थानीय अचारका परिकारहरु बिक्री गरिरहनु भएको छ ।

बिर्तामोड नगरपालिकाले  गरिवी निवारणका लागि प्रदान गरेको लघू उद्यम तालिम महिलाहरुका लागि फलदायी बनेको र धेरै महिलाले घरमै लघु उद्यम सञ्चालन गर्दै स्वरोजगार बनेको गृहिणी लघू उद्योगकी कोषाध्यक्ष सापकोटाले बताउनुभयो ।  

महोत्सवमा अर्जुनधारा ९ निवासी दिननाथ शिवाकोटीले शिब बाबा अचार तथा जुस उद्योगले उत्पादन गरेका विभिन्न सामग्रीहरु राख्नु भएको छ । उहाँले अचारका परिकार सहित जडीबुटी जन्य सामग्री राखेर महोत्सवमा आएका सहभागीहरुलाई बिक्री गरिरहनु भएको छ । उहाँ आफैंमा लघू उद्यम व्यवसाय कसरी सञ्चालन गर्ने भन्ने विषयमा प्रशिक्षण प्रदान गर्ने दक्ष प्रशिक्षक हुनुहुन्छ । 

उहाँ आफैं महोत्सवमा बसेर आएका सहभागीलाई लघू उद्यम सम्वन्धि जानकारी दिँदै आफ्ना उत्पादनहरु बिक्री गरिरहनु भएको छ । उहाँले विशेष गरी अचारका परिकार सहित सालधुप, केमिकल रहित अगरवत्ती र विभिन्न स्वास्थ्य वर्दक खानेकुरा बिक्री गरिरहनु भएको छ । 

यता अर्जुनधारा नगरपालिका २ बेलटारमा रहेको इनर्जी क्रप्स दुना टपरी उद्योगले सुपारीका खपटाबाट दुनाटपरी, प्लेट, थाल, खण्डेथापा, बटुका, चम्चा लगायतका सामग्री उत्पादन गर्दै बिक्री गरिरहेको छ । सुपारीका खेर जाने खवटालाई संकलन गर्दै त्यस्ता सामग्री तयार पारेर बिक्री गर्दै आएको इनर्जी क्रप्स उद्योगका सञ्चालक देवनारायण ढुंगाना बताउनुभयो । 

धेरैको रोजाइमा दरका ठेकी 

धनकुट्टाको महालक्ष्मी नगरपालिका ९ निवासी कृष्ण रसाइली घरेलू उत्पादन बिक्रीकै लागि बिर्तामोडमा सञ्चालित महोत्सवमा आउनु भएको छ । उहाँले पहाडी जिल्लामा पाइने दार र साज प्रजातिका रुखबाट तयार गरिएका ठेकी सहितका सामग्री महोत्सवमा प्रदर्शनीमा राखेर बिक्री गरिरहनु भएको छ । दारका ठेकी महोत्सवमा सहभागी मध्ये  धेरैको रोजाइमा परेको छ । 

उहाँले दारका ठेकी मात्र होइन हर्पे, चिया खाने कप, पानी पिउनका लागि प्रयोग गर्न मिल्ने ग्लास, बटुका , तोङ्वाखान प्रयोग गरिने भाडो सहित सजावटका विभिन्न सामग्री प्रदर्शनीमा राख्नु भएको छ । जसमध्ये धेरैले दारका ठेकी किन्ने गरेको रसाइलीले बताउनुभयो । 

कुँदेका बुट्टावाल ठेकी धेरैले खरिद गरे उहाँले भन्नुभयो – सबै ठेकी दारका छन् अरु केही सामग्री साज र सिसौका पनि छन् । अधिकांश सजावटका सामग्री सिसौंका रहेको रसाइलीको भनाई छ । 

आफ्नो पुख्र्यौख्ली पेशालाई व्यवसायिकता दिएर पञ्चकञ्या घरेलू ठेकी,तोङ्वा एण्ड हेण्डीग्राफ्टका सामग्रीहरु तयार गर्दै आएको उहाँको भनाई छ । सुनका गरगहना राख्न प्रयोग गरिने बट्टा समेत बिक्रीका लागि राखिएको छ– रसाइलीले भन्नुभयो । 

आठ जनालाई आफूले रोजगारी दिएको र मासिक ५० हजार रुपैयाँ कमाई गर्दै आएको उहाँको भनाई छ । स्थानीय सिपलाई प्रवर्धन गर्दै वजारीकरण गर्न सके हरेक मानिस उद्यमी बन्ने उहाँको भनाई छ । 

यस्ता महोत्सवमा मात्र नभई अरु बेला समेत कृषक तथा व्यवसायीले उत्पादन गरेका सामग्री बजारीकरणका लागि सरकारले सहयोग पु¥याएर आर्थिक उपार्जनका लागि नेपालका केही पनि युवा धन कमाउन विदेशीनु नपर्ने उहाँको भनाई छ । 

मासिक ३ लाख रुपैयाँसम्मको सामगी आफूले बिक्री गर्दै आएको र त्यसबाट मासिक ५० हजार रुपैयाँ बचत गर्दै आएको रसाइलीको भनाईछ  । 

रसाइलीले बिक्रीका लागि राखिएका ठेकी मध्ये एक कुरुवा जानेलाई दुई हजार र दश कुरुवा जानेलाई पाँच हजर रुपैयाँसम्म मूल्य पर्ने बताइएको छ ।  

किबीका सबै परिकार एकै ठाउँमा 

पाँचथरको मिक्लाजुङ गाउँपालिका १ निवासी जुनु लावती ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव’मा किबी फल र यसबाट बनेका  परिकार बिक्रीका लागि आउनु भएको छ । आफूले ४५ रोपनी क्षेत्रफलमा किबी खेती गरेको र प्रदेश सरकारको सहयोगमा किबीको बजारीकरणमा सहयोग पुग्ने विश्वासका साथ आफू महोत्सवमा आफूले उत्पादन गरेका सामग्री सहित आएको लावतीले बताउनुभयो । स्टलमा किबी फल,अचार, जाम, जुस, मिक्स अचार, वाइन, तीनपाने राखिएको उहाँको भनाई छ । 

आफूले पाखो वारीमा किवी खेती गरेको र हरेक वर्ष २५ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको लावतीले बताउनुभयो । २०६८ सालबाट आफू किबी खेतीमा आवद्ध भएको र निरन्तर किबी फल तथा यसबाट बनेको परिकार बिक्री गर्दै आएको उहाँको भनाई छ । लावतीले गुरासको जुस समेत महोत्सवमा राखेर बिक्री गरिरहनु भएको छ  । 

झापा सहित पूर्वको अर्थव्यवस्था चलायमान बनाउने अपेक्षा सहित महोत्सव आयोजना गरिएको र कृषि उत्पादनका बस्तुको प्रवद्र्धन र बजारीकरणमा महोत्सव कोषेढुंगा साबित हुने महोत्सव मूल आयोजक समितिका अध्यक्ष राजु न्यौपानेले बताउनुभयो । 

११ दिनसम्म सञ्चालन हुने महोत्सवमा तीन लाख जनाले अवलोकन गर्ने र ४५ करोड रुपैयाँ बरावरको कारोवार हुने अपेक्षा गरिएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले बताउनुभयो । महोत्सवको उद्घाटन सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगरले गत फगुन ५ गते संयुक्त रुपमा गर्नु भएको थियो ।