१४ जेठ २०८१, सोमवार

विचार

वाग्लेको अपरिपक्व राजनीति

२१ चैत २०७९, मङ्गलवार
Image

यो साता नेपाली काँग्रेस पार्टीभित्रको राजनीतिमा युवा अर्थशास्त्री स्वर्णिम वाग्लेले काँग्रेस पार्टी परित्याग गरेको घटनाले खुब चर्चा पायो । 

नेपाली काँग्रेस पार्टीबाट उप चुनावमा टिकट लिएर सांसद बन्ने सोचाईमा रहेका वाग्लेको त्यो इच्छा पूरा नहुने भएपछि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर तनहुँबाट चुनाव लड्ने भएका छन् । 

हुन त वाग्लेले २०५९ मंसिर ४ मा भएको उपचुनावमा नै काँग्रेसबाट प्रतिनिधिसभा सदस्यमा टिकटको आश गरेका थिए । माओवादी, एस लगायतका दलसँगको गठबन्धनका कारण १६५ प्रत्यक्ष तर्फको सिटमध्ये काँग्रेसले ९० स्थानमा मात्र उठाउन पाउने भएपछि सिट संख्या घटेकोले वाग्लेको सपना पूरा हुन पाएन ।

हुन त वाग्लेलाई काँग्रेसले टिकट दिएर अन्य पार्टीमा जानबाट रोक्नु पर्दथ्यो भन्ने मत पनि काँग्रेस वृत्तभित्र रहेको छ । टिकट नपाउँदैमा अर्को पार्टीमा जानेलाई नदिएकै ठिक, आफ्नो स्वार्थ अनुकूल नहुनासाथ पार्टीलाई धोखा दिनसक्नेले जिम्मेवारी पाएको अवस्थामा झन् बार्र्गेनिङ गर्ने थिए भन्ने मत बलियो रहेको छ । 

पार्टीले वाग्लेलाई जिम्मेवारीबाट बञ्चित गरेको पनि हैन । उनलाई राष्ट्रिय योजना आयोगको सदस्य, उपाध्यक्ष, घोषण पत्र लेखन समितिको सदस्य र आर्थिक फाँटमा जिम्मेवारी दिएकै हो । राज्य मन्त्री सरहको सेवा सुविधासहित राष्ट्रपतिको आथिक विज्ञका रुपमा पनि नियुक्ति दिने तयारी थियो । वाग्लेले नै मन्त्री सरहको पोर्टफोलियो भए मात्र सल्लाहाकार हुन्छु, नत्र हुँदिन भनेर निहुँ खोजेका हुन् ।

पार्टी, देश र जनताका लागि सर्वश्वहरण भएका, जेल, नेल, यातना र निर्वासन भोगेका लाखौं, लाख नेता कार्यकर्ता भएको, लामो राजनीतिक इतिहास भएको पार्टी हो नेपाली कांग्रेस । हजारौं सहिदको बलिदानीले निर्माण भएको पार्टीमा अवसरको खोजीमा आउने र जाने मुसाफिरहरु आइरहन्छन्, गइरहन्छन् । हिजो तुलसी गिरी, पर्शुनारायण चौधरी, बिश्वबन्धु थापाहरुले बीपीलाई धोखा दिएकै हुन् । पछिल्लो समयमा बिजय गच्छदार, जेपी गुप्ता, शरदसिंह भण्डारीहरुले पनि गिरिजाबाबुलाई धोखा दिएकै हुन् ।

तीमध्ये कति काँग्रेसमा पुनः फर्किए भने केही हराए बिलाए । तसर्थ राजनीति एउटा निश्चित लक्ष्य लिएर देश र जनताका लागि निस्वार्थ भावले गरिने सेवा हो । मैले भनेजस्तो भएन, मैले पाइन, मलाई थोर भो, भन्ने हो भने यहाँ फगत कस्ले टिकट पायो ? वा पाएन, को मन्त्री बन्यो ? वा बनेन भन्ने कुराले खास अर्थ राख्दैन अहिलेको देशको महासंकटको बेला । 

मलाई यो भएन र त्यो भएन, भनेर घुर्की लगाउनेहरुले सोचुन् कि– ती गरीब–निमुखा, भोक नाङ्गा जनताले के पाए ? दुःखी गरीब जनताको चुल्हो कसरी बल्दैछ कि बलेको छैन ? धनी झन् धनी र गरीब भन्–झन् गरीब हुने यो देशमा वाग्लेजीहरु जस्ता अर्थविद्ले सोचुन् कि– गरीब जनता जो छन्, उनीहरुलाई के प्राप्ति भयो र लाखौं–लाख भोट काँग्रेसलाई रुख चिन्हमा हालिरहेका छन् ।

बि.सं.२०४६ सालको परिवर्तन पश्चात नेपालका पार्टीहरुलाई नातावाद, सिन्डिकेट र बिचौलिया दलालहरुमार्फत चलाउने र निष्ठावान नेता कार्यकर्ताको तेजोवध गर्ने, गराउने खेल हुँदै आएको बारम्बार चर्चाहरु नसुनिएको होइन । हो, पार्टीमा मूल्यांकन, न्याय र सन्तुलनको अभाव निश्चय पनि छ । जनतामा आधारित र स्थापित पार्टी भनेको समुन्द्र जस्तै हो । त्यहाँ अनेक चिजबस्तु बगेर आउँछन् । मोती पनि त्यहीँ, सिनो, फोहोर पनि त्यहीँ हुन्छ । चिन्न र छुट्याउन जान्नेले मोती टिप्छ, नजान्ने, नसक्नेले त्यहाँ फोहोर मात्र देख्छ । 

आजको दुनियाँ ब्यक्तिगत स्वतन्त्रतासहितको बहुदलीय प्रतिष्पर्धात्मक राजनीतिक प्रणलीबाट अघि बढिरहेको छ । दुनियाँका अरु बिकसित राष्ट्रहरुले लोकतान्त्रिक शासन प्रणालीबाटै देशको बिकास गरेका छन् । दोष पार्टी र पार्टी प्रणालीलाई होइन, यो प्रणाली चलाउन खोज्ने बेढङ्गेहरुका प्रति हुनुपर्छ ।

तर, वाग्लेले त्यहीँ बसेर संघर्ष गर्ने साहस र हिम्मत राख्नु पर्दथ्यो । नेपालको सन्दर्भमा दुनियाँले पत्याएको भरपर्दो अन्तर्राष्ट्रिय समुदायले पत्याएको जनतामा आधारित लोकतान्त्रिक पार्टी नै छैन, नेपाली काँग्रेस बाहेक । जसको लामो र गौरवमय इतिहास होस् । 

इतिहासका अनेक कालखण्डमा नेपाली काँग्रेसले गरेको क्रान्ति, देशका सबै परिवर्तनहरुमा गरेको नेतृत्वदायी भूमिका, क्रान्ति र शान्तिमा अहम् भूमिका निभाउने अहिंसावादी पार्टीको आत्मगौरव त वाग्लेले रविको पार्टीमा गर्न पाउने छैनन् नै । पछि फेरि वाग्ले नेपाली काँग्रेसमा पुनः समाहित हुने नै छन् । अहिलेलाई पार्टी नै छोडेर, त्यसमाथि रवि लामिछानेलाई बीपीसँग तुलना गर्दै पार्टी छोड्ने जुन काम गरे त्यो अपरिपक्व राजनीतिको उपज हो ।

लेखकको बारेमा
Image
कृष्ण हुमागाई

लेखक नेपाली कांग्रेस झापाका सचिव एवम् नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष हुनुहुन्छ ।