२७ वैशाख २०८१, बिहिवार

कांग्रेसको पहलमा रेल्वेले ओगटेको जग्गा फुकुवा

१७ वैशाख २०८०, आइतवार
Image

झापा, १७ बैशाख । नेपाल सरकारले रेल्वेले ओगटेको जग्गाको रोक्का फुकुवा गरेको छ । 

नेपाली कांग्रेस झापाको एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेटेपछि रेल्वेले ओगटेको जग्गाको रोक्का फुकुवा गरेको हो । 

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) समक्ष रेल्वेमा परेको क्षेत्रफल बाहेकको जग्गा फुकुवा नहुँदा झापालीहरु पीडित बनेको विषय जानकारी गराएपछि मन्त्रीस्तरीय निर्णयबाट जग्गाको आंशिक फुकुवा भएको बताइएको छ ।

रेल्वेमा परेको जग्गाको सानो क्षेत्रफलले गर्दा सिंगो कित्ता नै रोक्का हुनु न्यायसंगत नभएकोले रेल्वे पीडित संघर्ष समितिले पटक–पटक आवाज उठाउँदै आएपनि यो समस्या समाधान हुन सकेको थिएन ।

कित्ता नम्बर एउटै भएपनि रेल्वेको नक्साले नभेटेको जमिनको क्षेत्रफललाई आंशिक फुकुवा गर्ने कार्यमा सहजीकरण गरेकोप्रति अर्थमन्त्री डा. प्रकाशसरण महत, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, सचिव केशव शर्मा, रेल्वे विभागका महानिर्देशक रोहित विशुराल लगायलाई कांग्रेस झापाको प्रतिनिधि मण्डलले धन्यावाद ज्ञापन गरेको झापाका कांग्रेस सचिव कृष्ण हुमागाईले बताए ।