१६ चैत २०८०, शुक्रवार

सुरु भयो कनकाईमा फोहोरबाट बायोग्याँस उत्पादन

४ जेठ २०८०, बिहिवार
Image
Gallery Images

झापा, ४ जेठ । झापाको तीन वटा नगरपालिकाले विश्व बैंक र निजी क्षेत्रसँगको साझेदारीमा फोहोरमैलाबाट बायोग्यास उत्पादन सुरु गरेका छन् । लगानीकर्ता पालिकाहरुमा कनकाई, अर्जुनधारा र विर्तामोड हुन् । 

कनकाई नगरपालिका वडा नम्बर २ मा बायोग्यासको उत्पादनगृह छ । कनकाई– विर्ता–अर्जुन नविकरणीय उर्जा तथा फोहोर मैला व्यवस्थापन कम्पनी स्थापना गरेर पालिकाहरुले बायोग्यास उत्पादन सुरु गरेका हुन् ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष मिनाल तिम्सिनाले यसै सातादेखि परीक्षण उत्पादन भइरहेको र चाँडै व्यावसायिक रुपमा बायोग्यास वितरण गरिने बताउनुभयो । यहाँ उत्पादित बायोग्यासको सिलिण्डर उद्योग धन्धा र होटलहरुमा बढी उपयोगी हुने उहाँको भनाई छ । 

उहाँका अनुसार कम्पनीमा रु.२२ करोड लगानी हुने ६० प्रतिशत लगानी तीन वटा स्थानीय पालिकाले व्यहोर्ने सहमति छ । बायोग्यास उप्पादनका लागि विश्व बैंकले रु. पाँच करोड ४६ लाख अनुदान दिएको बताइएको छ ।

विर्तामोड, कनकाई र अर्जुनधारा नगरपालिकाको बजार, सडक र आवास क्षेत्रबाट निस्कने कुहिने फोहोरलाई प्रयोग गरेर कम्पनीले बायोग्यास उत्पादन गर्नेछ । हाल परीक्षणका लागि स्थानीय जंगलमा पाइने झारपातको समेत प्रयोग गरिएको छ । 

त्यहाँ बायोग्याँससँगै जैविक मल समेत उत्पादन हुनेछ । नकुहिने प्लास्टिकजन्य फोहोरलाई पेलेर पेभर्स नामक निर्माण सामग्री उत्पादन गर्ने समेत कम्पनीको योजना छ ।

एलपी ग्याँसको तुलनामा बायोग्याँस उपभोक्ताका लागि प्रति सिलिण्डर रु. १५० रुपैयाँ सस्तो पर्ने अध्यक्ष तिम्सिनाले दावी गर्नुभयो । उहाँले चार हजार टन क्षमताको प्लान्टबाट प्रतिघण्टा एक हजार २०० घनमिटर बायोग्याँस उत्पादन गर्न सकिने बताउनुभयो ।

विर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईंले प्लान्टबाट ग्याँस उत्पादन सुरु भए पनि बजारीकरण बारेमा छलफल मात्र भइरहेको बताउनुभयो । उहाँले तीनै वटै पालिकाको संयुक्त बैठक बसेर बजारीकरणको बारेमा निकास निकाल्ने योजना सुनाउनुभयो । 

“फोहोरलाई मोहोर बनाउने परियोजना हो यो,”, उहाँले भन्नुभयो, “विर्तामोड नगरपालिकाले कम्पनीमा पठाउने फोहोरलाई स्रोतमै कुहिने र नकुहिने वर्गीकरण गर्नेछ । त्यसकै लागि प्रत्येक वडामा सचेतनामूलक कार्यक्रम भइरहेको छ ।” 

सो ऊर्जा प्लान्टमा स्थानीय समुदाय र अन्य पालिकाको समेत लगानी बढाउने बारेमा छलफल भइरहेको उहाँले बताउनुभयो । मेचीनगर, शिवसताक्षी र भद्रपुर नगरपालिकासँग फोहोरमैला व्यवस्थापनका लागि कम्पनीसँग सहकार्य गर्ने बारेमा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।  

तिम्सिनाले जैविक मल समेत उत्पादन भइरहेको बताउनुभयो । उहाँले उत्पादित मल प्रयोग गर्न उचित भए नभएको जाँच गर्नका लागि प्रयोगशाला राख्ने तयारी भइरहेको बताउनुभयो ।–––


लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।