२२ वैशाख २०८१, शनिवार

अनुभूति

एउटा भिडियोले भेटिए गोपाल

११ भदौ २०८०, सोमवार
Image

यहि भदौ १ गते सानी ढकाल घिमिरे मेरो घरमा विहानै बहिनीकी छोरी रञ्जिता अधिकारीसँग आउनु भयो । म घर परिवारसँग बसिरहेको थिए । सानी दिदीले मलाई रुँदै रुँदै भन्नु भयो–‘भाइ मेरो जेठो छोरो गोपाल घिमिरे मलेसिया गएको १८ वर्ष भयो । तर, ६ वर्षदेखि सम्पर्कविहिन भएको छ । लौ न भाइ केहि गर्नु न । यसअघि धेरै मिडियामा गएँ, विभिन्न ठाउँमा गएर छोराको विषयमा कुरा गरे । कसैले चासो दिएनन् । कुद्दा कुद्दा धेरै खर्च भइसक्यो, काहिँ पार लागेन । भोलि अर्थात भदौ २ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आउँदै हुनुहुन्छ । भेट्ने वातावरण मिलाएको छु ।‘ 

त्यसो भए रवि लामिछानेलाई भेट्नु अनि के भन्नु हुन्छ, अनि भदौ ३ गते मलाई आएर भन्नु भने । उहाँले मलाई भदौ ४ गते फोन गर्नु भयो । म आफ्नै कामले विराटनगर गएको थिए । उहाँले रवि लामिछानेलाई कार्यक्रममा भेटेर सबै कुरा राख्नु भएछ । ‘हुन्छ’ मात्र भन्ने जवाफ आएछ ।

मैले उहाँलाई ५ गते फोन गर्नु भने । उहाँले विहान फोन गर्नु भयो । मैले ‘ईटाभट्टामा प्रेस क्लब मेचीनगरको कार्यालय छ । त्यहि साथीहरुलाई बोलाउँछु । त्यहि पत्रकार सम्मेलन गर्नु पर्छ’ भने । मसहित १० जना पत्रकार भेला भयौँ । दिदीलाई फोन गरेर बोलाए । दिदी अप्ठेरो मान्दै आउनु भयो । पत्रकार सम्मेलनमा पैसा दिनुपर्छ होला भन्नु भयो । आर्थिक अवस्था कमजोर दिदीलाई मैले ‘पर्दैन, चिन्ता लिनु पर्दैन । सबै व्यवस्था म मिलाउँछु’ भने । पत्रकार सम्मेलनको सहजिकरण र व्यवस्थापन मैले नै गरिदिएको थिएँ ।

मैले उहाँलाई छोरो भेटिन्छ चिन्ता गर्नुपर्दैन भनेको थिएँ । उहाँले आफ्नो छोराको विषयमा रुँदै रुँदै सबै कुरा राख्नु भयो । साँझ पत्रकार सम्मेलन भयो । मैले उहाँको भिडियो राति करिव ८ वजेतिर सामाजिक सञ्जालमा पोस्ट गरिदिएँ । विहान मेरो श्रीमतीले तपाईले पोस्ट गरेको भिडियोमा विश्वप्रकाश शर्मा दाइले राम्रो कमेन्ट गर्नु भएको छ, हेर्नु नि भनिन् । मैले हेरेर ‘सहयोगका लागि धन्यवाद’ भनेँ । अनि विहान फेरि गोपाल घिमिरेकै अर्को समाचार लेखेँ । अनलाइनमा पोस्ट गरँे । अरुलाई पनि पठाइदिए । विहान ठिक ११ः५५ वजे अपरिचित व्यक्तिको विदेशबाट मेरो वाट्सएपमा फोन आयो । मैले फोन उठाएँ । उताबाट ‘तपाई अर्जुन कार्की बोल्नु भएको हो’ भनेर सोध्यो । मैले ‘हो’ भनँे ।

उहाँले भन्नुभयो–‘तपाईले पोस्ट गरेको भिडियो मलेसिया दूतावासको पेजमा हेरेँ । हेर्ने वित्तिकै तपाईको मोवाइल नम्बर पत्ता लगाएर वाट्सएप गरेको हुँ । कुरा के हो भने नि सर । म पोखराको प्रताप थापा । अहिले मलेसियामा छु । भिडियोमा रुँदै काँकरभिट्टाका गोपाल घिमिरे (छोरो) मलेसिया गएको ६ वर्षदेखि सम्पर्कविहिन भन्ने सुने र हेरेपछि तपाईलाई फोन गरेको हुँ ।’

‘तपाईहरुको गोपाल हामीसँगै छ । अहिले नाइट डियुटी गरेर रुममा सुतेको छ । म अहिले डियुटीमा छु । उसको आमाको नम्बर पठाइदिनु । भरे दिउँसो ४ वजे फोनमा आमा–छोराको कुरा गराइदिन्छु’–प्रतापले भने । म त्यो कुरा सुन्ने वित्तिकै एकछिन त छक्कै परेँ । उसलाई ‘गोपाल घिमिरे त्यहिँ छन्’ भनेर फेरि सोधेँ । प्रतापजीले हो हो यहिँ छन् भनेर फोटो तत्काल मलाई पठाइदिइहाले ।

मैले आमाको नम्बर पठाइदिएँ । मैले तुरुन्तै सानी दिदीलाई फोन गरेर ‘तपाईले अब चिन्ता लिनु पर्दैन । रुनु पर्दैन । तपाईको छोरा मलेसियामा काम गरिरहेका छन् । भरे तपाईलाई फोन गर्छन् छोराले । अथवा, म तपाईलाई फोन गराइदिन्छु’ भने । यति के भनेको थिएँ, फोनमै रुँदै सानी दिदी हर्षले विभोर भएकी थिइन् । खुशी हुँदै ‘साँच्चै हो भाइ’ भनिन् । त्यतिखेरसम्म मैले गोपाल मलेसियामा भेटिएको फोटोसहितको समाचार अनलाइनमा पोस्ट गरे र अरुलाई पनि पठाइदिसकेको थिएँ ।

सानी दिदीले फेरि गोपालको १९ वर्षको छोरालाई फोन गर्न लगाइन् मलाई । मसँग उनको पनि कुरा भयो । गोपालको छोराले मेरो फेसबुक आइडीको नाम सोधेर समाचार हेरेछन् । दिउँसो ३ वजे सानी दिदीले मलाई फोन गर्नु भयो–‘छोराले मलाई भिडियो कल गर्यो भाइ । छोराले विदेश नबस्ने नेपाल आउने भन्यो, आउने खर्च छैन रे । के गर्ने होला भाइ ?’ उनले सबै कुरा तपाईले गरिदिनु भयो । अब छोरालाई कसरी घर ल्याउने त्यो सकिन्छ भने गरिदिनु भाइ भन्नु भयो । मैले चिन्ता नगर्नु त्यो पनि व्यवस्था मिलाउँछु भने । छ वर्षपछि आमा–छोराको गफ भयो । मलाई त्यतिबेला मन भित्रैदेखि सायद जिन्दगीमा पहिलोपटक यति धेरै खुशी भएको महशुस गरे । मैले ठुलै युद्ध जितेको भान भयो । 

हिजो साँझ छोरो ६ वर्षदेखि वेपत्ता भएको भनेर आमा रुँदै रुँदै मिडियामा आउनु भयो । वर्षौ भौतारिनु भयो । भोलिपल्टै छोरा भेटिएको खवर, केहि घण्टापछि भिडियो कलमा आमा–छोराको गफ सुन्दा मैले पनि भित्रैदेखि खुशी महशुस गरे । पत्रकारिताको धर्म पूरा गरेकोमा आफैलाई भाग्यमानी ठानेँ । साँझ ५ वजेतिर गोपाल, उनका साथी प्रताप र इलामका कृष्ण खतिवडासँग पनि मेरो वाट्सएपमा कुरा भयो । विदेश बस्ने कि घर आउने भनेर गोपाललाई सोधेँ । उसले घर आउने भन्यो ।

त्यतिखेर प्रताप मलेसियाको नेपाली जनसम्पर्क समितिका अध्यक्ष चोलाकान्त पंगेनी र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासँग भिडियो कलमा जोडिएर कुरा भइरहेको थियो । मलाई त्यो कुराको जानकारी प्रतापजीले गराइरहेका थिए । विश्वप्रकाश सरलाई मैले फोन गरे, बिजी हुनुहुँदोरहेछ । पछि उहाँले नै कलव्याक गर्नुभयो । उहाँले सुरुमा नै ‘बधाई छ अर्जुनजी । तपाईले राम्रो काम गर्नु भयो । त्यो भिडियो मैले मलेसिया दूतावास, जनसम्पर्क समितिका अध्यक्ष पंगेनी लगायतलाई पठाइदिएको छु ।’ 

गोपाल मलेसियामा इलिगल अवस्थामा काम गरिरहेको छ । घर आउन खोजेको छ । आउने खर्च छैन । घर आउने वातावरण मिलाइदिनु पर्यो भनेर विश्वप्रकाश सरलाई भनेँ । उहाँले भन्नु भयो–‘गोपालको ट्राभल डकुमेन्ट बनाउन समय लाग्छ । म त्यस क्षेत्रको सांसद भएको नाताले मेरो तलव र जनसम्पर्क समितिको खर्चमा दशैँमा घर ल्याउने वातावरण मिलाउँछु । उहाँले दशैँमा गोपाल आएपछि तपाई, म र गोपालसँगै बसेर उहाँको आमाको हातको टिका लगाउनु पर्छ ।’ । मैले ‘हुन्छ’ भने ।

यी सबै कुरा भएपछि मैले साँझ सानी दिदीलाई घरैमा गएर भेटेँ । दिदीलाई विश्वप्रकाश सर, प्रताप र गोपालसँग भएको कुराकानी सबै सुनाएँ । कुरा सुनेपछि दिदी एकदम खुशी हुनु भयो । यो त एउटा मेरो कत्र्तव्य थियो । एउटी आमा समानको महिला घरमा आएर छोरो वेपत्ता छ भनेर रुँदै आफ्नो पीडा पोख्दा जो कोहिलाई पनि मन छुन्छ । म हराएको भए पनि आमा त्यसरी नै रुनु हुन्थ्यो भनेर सम्झिएँ । त्यसकारणले पनि केहि गर्नु पर्छ भन्ने लाग्यो । त्यसो त मेरो पेशा पनि त्यस्तै गर्ने हो । समाजका यस्ता धेरै घटनाहरु आफुले सकेसम्म गरेरै आएको थिएँ । यस्ता धेरै समस्यामा परेका आवाज विहिनहरुको आवाज बन्दिनु मेरो पत्रकारिताको धर्म पनि त हो । त्यहि भएर मैले यो कत्र्तव्य निर्वाह गरेको हो ।

यसैबीच मेरा अग्रज, अनन्य मित्र, आफन्तजन तथा शुभेच्छुकहरुले सामाजिक सञ्जालमा, फोनमा, मेसेन्जरमा र भेटेरै मलाई बधाई तथा शुभकामना, हौसला र सुझाव दिनुहुने सबैमा हृदयदेखि धन्यवाद दिन चाहन्छु ।


लेखकको बारेमा
Image
अर्जुन कार्की

लोकतन्त्र पोस्टका पूर्वसहकर्मी अर्जुन कार्की हाल मेचीनगर अनलाइनका सम्पादक हुनुहुन्छ ।