३१ असार २०८१, आइतवार

जथाभावी एन्टिबायोटिक जनस्वास्थ्य माथि खेलबाड

११ असोज २०८०, बिहिवार
Image

                                                             पदमराज जोशी

नेपालमा एन्टिबायोटिकको व्यापक दुरुपयोग भइरहेको छ । यहाँ जुनसुकै एन्टिबायोटिक जहाँ पनि जसले पनि, बिनाचिकित्सकको प्रिस्क्रिप्सन सजिलै किन्न सकिन्छ । बेच्ने वा किन्ने बेला कुनै रोकावट छैन । मनपरी ढङ्गले खाने गरिएको छ । एन्टिबायोटिक बनाउने, पूर्जामा लेख्ने, बेच्ने, किन्ने र खाने सबै क्षेत्रमा मनपरी छ । त्यसैले त विस्तारै हाम्रो शरीरमा रहेका रोगका जीवाणु बलियो हुँदै गएका छन् । यसको परिणामस्वरूप हामीलाई कुनै रोग लागेपछि एन्टिबायोटिक खाए पनि त्यसले काम गर्न छोड्दै गएको छ । एन्टिबायोटिक औषधिभन्दा जीवाणु बलियो हँुदै जानु भनेको चिकित्सा विज्ञान क्षेत्रकै लागि मात्र नभएर मानव जगत्कै लागि ठूलो चुनौती हो । 

एन्टिबायोटिक औषधि सेवन गर्नु भनेको पक्कै पनि बदाम र भटमास खाएजस्तै पक्कै पनि होइन । तर विडम्बना देशका दूरदराजका मानिसहरूले मात्र नभएर सहरी क्षेत्रमा बसोवास गर्ने र पढे लेखेका व्यक्तिहरूले पनि कुन बेला, कति मात्र, कुन रोगको उपचारमा एन्टिबायोटिक सेवन गर्ने भन्ने राम्रो ज्ञान पाइँदैन । खानै पर्ने बिरामीले एन्टिबायोटिक खाँदा खासै ठूलो समस्या नहोला तर नखानु पर्नेले खादा समस्या देखिएको छ ।  सबै रोगको उपचारमा एन्टिबायोटिकले काम गर्दैन । तर समाजमा एउटा यस्तो भ्रम छ कि हरेक रोगको अचुक उपाय भनेको एन्टिबायोटिक हो । कोभिडको महामारीको बेला एन्टिबायोटिकले काम गरेन । सामान्य सिटामोलबाहेक अरू औषधिले काम नगरेको हामी सबैले अनुभवसमेत गरेको प्रमाणित तथ्य हो । तर पनि सङ्क्रमित भएकामध्ये आधा जति नेपालीले कुनै न कुनै प्रकारको एन्टिबायोटिक सेवन गरेको पाइएको पाटन अस्पताल जनरल प्रेक्टिस तथा इमरजेन्सी विभागमा कार्यरत पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्राध्यापक डा। आशिष श्रेष्ठ बताउँछन् ।  

नेपालमा एन्टिबायोटिकको प्रयोगसम्बन्धी नीति नै नभएको भने होइन । छ तर लागू गरिएको छैन । डा श्रेष्ठका अनुसार नियमअनुसार चिकित्सकको प्रिस्क्रिप्सन बिना कडा खालका एन्टिबायोटिक किनबेच गर्न पाइँदैन । तर व्यवहारमा लागू भएको पाइँदैन । नेपाली समाजमा एन्टिबायोटिक औषधिप्रति जनताको विश्वास ठूलो छ । एन्टिबायोटिक जुनसुकै रोग पनि निको पार्छ भन्ने बलियो मनोविज्ञान छ समाजमा । त्यसैले सितिमिति अरू औषधिमा विश्वास गदैनन् बिरामी पनि । आयुर्वेदिक औषधिको प्रयोग कम हुनुमा यो पनि एक प्रमुख कारण हो । 

उपभोक्ता मलाई यो नामको एन्टिबायोटिक दिनुहोस् भन्दै फार्मेसी पुग्ने गरेका हुन्छन् । एन्टिबायोटिक बाहेकले मलाई ठीक हुँदैन भन्ने उनीहरूको विश्वास छ । जनचेतनाको अभावका कारण नेपालमा एन्टिबायोटिकको उपभोग बढेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा।अर्जुन कार्की बताउँछन् । रोग चाँडो निको बनाउने होडबाजीका कारण पनि एन्टिबायोटिकको प्रयोग बढेकोमा विज्ञहरूको एक मत छ । रोग चाँडो निको पार्न बढी डोजको एन्टिबायोटिक दिने र लिने प्रवृति छ । जुन स्वास्थ्यका हिसाबले हितकार होइन । यही होडबाजीले एक रुपैयाँको सिटामोल खाएर निको हुने रोगको लागि दसौं गुणा बढी मूल्य पर्ने एन्टिबायोटिक उपभोग गराइन्छ । यसरी अनावश्यक एन्टिबायोटिकको प्रयोगमा विभिन्न औषधि कम्पनीहरू र व्यापारीहरूको स्वार्थ पनि रहेको पाइन्छ । 

चिकित्सकहरूका अनुसार रोग निको पार्न सधैं एउटै औषधिको प्रयोग भन्दा फरकफरक किसिमको औषधि प्रयोग गर्न राम्रो मानिन्छ । बिरामीलाई एउटा औषधिले निको नभए अर्को औषधि प्रयास गर्नु राम्रो चिकित्सकीय अभ्यास हो । तर एकैचोटी हाइडोजको एन्टिबायोटिक दिँदा समस्या निम्त्याउँछ । जथाभावी एन्टिबोयोटिकको प्रयोग गर्दा मिर्गौला फेल हुने लगायतका शरीरका अन्य अङ्ग समेत फेल हुने अवस्था आउँछ । चिकित्सकहरुका अनुसार एन्टिबायोटिक नै रोगको पूर्ण निदान होइन । एन्टिबायोटिक खाएपछि त्यसले शरीरमा संक्रमित ब्याक्टेरियालाई नष्ट गर्छ । यस हिसाबले कुन किसिमको ब्याक्टेरिया हो, त्यही आधारमा एन्टिबायोटिक प्रयोग गर्नुपर्छ । यसको मात्रा, अवधि, समय सबैकुरा ख्याल गर्नुपर्छ ।

यद्यपि जुनसुकै अवस्थामा एन्टिबायोटिक सेवन गर्छांै । यस किसिमको प्रयोगले शरीरमा भएका ब्याक्टेरियाले आफ्नो रक्षात्मक क्षमता बढाउँछ । कोषिका परिवर्तन गर्छ । यसलाई ‘ड्रग रेजिस्टेन्स’ भनिन्छ । यस्तो हुनु भनेको ठूलो जटिलता हो । जब शरीरमा ब्याक्टेरियाले आफ्नो कोषिका बदल्छ, तब औषधिको प्रभाव कम हुन्छ । रोग फेरि बल्झन्छ र त्यसले थप चर्को रुप लिन्छ ।

एन्टिबायोटिकको विषयमा उपभोक्ता मात्र होइन स्वास्थ्यकर्मी र फार्मेसी सञ्चालकहरूमा समेत चेतना अभाव छ । कसरी हुन्छ एन्टिबायोटिक भिडाइ हाल्ने मनोविज्ञान उनीहरूमा पनि छ । एन्टिबायोटिक अत्यधिक प्रयोगले अहिले र पहिलेको तुलनामा एन्टिबायोटिकले काम नै गर्न छोड्दै छ । उदाहरणका लागि टाइफाइडमा प्रयोग हुने एन्टिबायोटिकले अहिले काम गर्न छोडेको छ । यो हाम्रो मात्र होइन, विश्वकै ठूलो समस्या हो । 

विकसित देशहरूमा जथाभावी एन्टिबायोटिकको किनबेच हुँदैन । डाक्टरको प्रिस्क्रिप्सन एन्टिबायोटिक बेच्न र किन्न पाइँदैन । त्यहाँ नियम पालना कडाइका साथ हुन्छ । अनुगमन कडा हुन्छ । तर हाम्रो देशमा न त कडा नियम हुन्छ न त अनुगमन बलियो । त्यसैले यहाँ जनस्वास्थ्यमा माथि धनस्वास्थ्यको लडाइँ चलिरहेको छ । पैसा कमाउने निहँुमा जनताको स्वास्थ्य प्रयोगशाला भइरहेको छ । एन्टिबायोटिकको गुणस्तर माथि पनि विचार गर्नुपर्छ । एन्टिबायोटिक उत्पादन गर्ने कम्पनीबाट त्यसको गुणस्तर निगरानी हुनु पर्छ । एउटै एन्टिबायोटिक धेरै कम्पनीले बनाउने गर्छन् । हाम्रो देशमा  पनि औषधि व्यवस्था विभागले औषधिको गुणस्तर परीक्षण गर्छ । एन्टिबायोटिकको गुणस्तरका विषयमा पनि विभागले हेक्का राख्नुपर्छ । एन्टिबायोटिकको जथाभावी प्रयोग एक पक्षको प्रयासले मात्र सम्भव हुँदैन । त्यसमा सबै पक्षको सहयोग, सहकार्य आवश्यक पर्छ । एन्टिबायोटिक बनाउने कम्पनी, एन्टिबायोटिक लेख्ने डाक्टर, बेच्ने फार्मेसी, किन्ने उपभोक्ता र  नियम कानुन बनाएर लागू गराउने सबैको उत्तिकै जिम्मेवारी हुन्छ । 

एन्टिबायोटिकको अनावश्यक प्रयोग रोक्नका लागि जसले पनि किन्न पाउने नियम बन्द गर्नै पर्छ । राज्यले चाहेको खण्डमा एन्टिबायोटिकको प्रयोगमा भइरहेको बेतिथि रोक्न सक्छ । जस्तै उदाहरणको लागि नार्कोनन ड्रग्सबिना लाइसेन्स बेच्न पाइँदैन ।

बिनाप्रिस्क्रिप्सन एन्टिबायोटिक बेच्न र किन्न पाइँदैन । किन्ने मान्छेको ठेगाना लेखेर प्रिस्क्रिप्सन लेख्ने डाक्टरको नेपाल मेडिकल काउन्सिलको नम्बरसमेत रेकर्ड राखेर बिक्री गरिन्छ । यसको जथाभावी प्रयोग रोकिएको छ । यसैगरी सरकारले एन्टिबायोटिकको जथाभावी प्रयोग रोक्न बनाइरहेको नीति नियम कडाइका साथ पालना गरे रोक्न सक्छ । तर यसमा राज्यको इच्छा शक्ति चाहिन्छ । डाक्टरले लेख्ने प्रिस्क्रिप्सनको पनि अडिट गर्ने व्यवस्था गर्नुपर्छ । कुन रोगको उपचार के औषधि सिफारिस ग¥यो रु जथाभावी एन्टिबायोटिक त लेखेन रु भन्ने बिषयमा प्रिस्क्रिप्सन अडिट गर्ने प्रचलन चलाउनु पर्छ ।  जथाभावी लेख्ने लाई कारवाही गर्नुपर्छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतको उपचारात्मक महाशाखाले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत प्रयोग गरिने औषधि प्रिस्क्रिप्सनको अडिट गर्ने काम अगाडि बढाएको छ ।  अरू रोगको उपचारमा पनि प्रिस्क्रिप्सन अडिट हुने व्यवस्था गर्नुपर्छ । यसले जथाभावी एन्टिबायोटिक सिफारिस गर्ने चलन माथि पनि अङ्कुश लाग्न सक्छ । हरेक चिकित्सक आफ्नो पेसाप्रति, समाजप्रति र जनस्वास्थ्य माथि सबै जिम्मेवार हुनुपर्छ । एन्टिबायोटिक सिफारिस गर्ने चिकित्सक, बेच्ने फार्मेसी र किन्ने उपभोक्ता तिनै पक्षलाई जिम्मेवार नबनाएसम्म एन्टिबायोटिकको जथाभावी प्रयोग रोक्न सकिँदैन । यसमा सबैको ध्यान जानु आवश्यक छ । 

केही दिन पहिले औषधि व्यवस्था विभागले एक सय तीन प्रकारका एन्टिवायोटिकको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालाई अनुरोध गरेको  थियो । विभागले एन्टिबोयोटिकको प्रयोगलाई न्यूनिकरण गर्न र नियन्त्रण गर्न प्रतिवन्ध लगाएको जनाएको थियो । एन्टिबायोटिकको जथाभावी प्रयोगलाई रोक्ने अभिप्रायले नेपाल चिकित्सक सङ्घले विभिन्न नीतिगत तहमा पैरवी गर्ने गरेको थियो । विश्व स्वास्थ्य सङ्गठनले सन् २०५० सम्म यही तरिकाले एन्टीबायोटिकको गलत प्रयोग भएको अवस्थामा भविष्यमा एन्टीबायोटिकले सही तरीकाले काम गर्न सक्दैन भन्ने अनुमान गरेको छ । एन्टीबयोटिकको सही सदुपयोग गर्नु पर्छ भनेर विश्व स्वास्थ्य सङ्गठनलगायत स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरुले बारम्बार यस विषयलाई उठाइरहेका छन् । ९लेखक स्वास्थ्य क्षेत्रमा कलम चलाउँदै आउनुभएका पत्रकार हुनुहुन्छ० 

लेखकको बारेमा
Image
रासस

रासस