७ साउन २०८२, मङ्गलवार

बीपीको महाप्रस्थानको दिनलाई सम्झिदा

७ साउन २०८२, मङ्गलवार
Image

घाँटीको क्यान्सर रोगले चाप्दै लगेपछि बीपीले २०३८ जेठ ८ गते एक वक्तब्य दिनुभयो, “म अब दिल्ली जाँदैछु इलाजको निम्ति, हुनसक्छ मलाई बाहिर पनि जान परोस् । चाँडै फर्किन्छु कि कुन अवस्थामा फर्किन्छु, त्यो मलाई थाहा छैन । म तपाईँहरूसँग अहिलेको लागि विदा लिएर जाँदैछु । मैले भन्ने कुरा ५ वर्षदेखि र त्योभन्दा पहिलेको अवस्थामा पनि धेरै भनिसकेको छु । विशेष गरेर जब हामी हिन्दुस्तानबाट फर्कियौँ, त्यसपछि पनि भन्दैआएको छु । त्यसो हुनाले त्यो नै मेरो मार्गदर्शन हो ।”

उहाँ इलाज र केही उपचार गरेर स्वदेश फर्किनुभयो । यसै बीचमा २०३८ मंसिर १६ गतेदेखि २०३९ जेठ ८ गतेसम्म उहाँले आफ्नो चर्चित ‘आत्मवृत्तान्त’ बरिष्ठ अधिवक्ता स्व। गणेशराज शर्मालाई रेकर्ड गराउनु भयो ।

बिमारले फेरि चाप्न थालेपछि २०३९ असार ११ गते बीर अस्पतालको आईसीयुमा भर्ना गरियो । चिकित्सकहरूको सल्लाहमा उहाँलाई असार २७ गते बैंककको अस्पतालमा उपचारार्थ लगियो ।

बैंकक लगिएको तुरुन्तै यता सूर्यबहादुर थापाको मन्त्रिमण्डलले एउटा निर्णय लियो, भूतपूर्व प्रधानमन्त्रीको निधन हुँदा साविकमा दिँइदैआएको सार्वजनिक विदा अबदेखि नदिने । यो निर्णय बीपीको निधनमा विदा दिनु नपरोस् भन्ने बद्नियतबाट निर्देशित थियो । बाचुन्जेल बीपीले यस्ता अपमानका घुट्का पाईला(पाईलामा पिउँदै हिंड्नु पर्यो ।

उहाँ सासले मात्र बोल्नुहुन्थ्यो, जो प्रायः बुझिँदैनथ्यो, आवाज आउन क्रमशः छोड्दैगएको थियो । मृत्यु अब टाढा छैन भन्ने यकिन भएपछि उहाँले भाई गिरिजाबाबुलाई भन्नुभएछ, “अब म उपचार गरेर बाँच्ने हुईनँ । म स्वदेशमै मर्न चाहन्छु । यहाँबाट मलाई लगिहाल ।” २०३९ साल साउन ६ गते भेन्टीलेटरमा अक्सिजनसहित उहाँलाई बेहोस अवस्थामा अपरान्ह ६ बजे काठमाडौँ ल्याईपुर्याइयो । त्रिभुवन विमानस्थलमा उहाँको दर्शन गर्न पुगेका हजारौँ कार्यकर्ताहरूले उहाँलाई स्टेचरमा देख्नमात्र पाए । दर्शनार्थीहरूको ठूलो भीड थियो।  

वास्तबमा जननायक बीपी कोइरालाको निधन धेरै टाढा छैन भन्ने थाहा पाएदेखि नै देशभरिका कार्यकर्ताहरू क्रमशः राजधानी आइरहेका थिए । उहाँलाई कोईराला निवास, जय बागेश्वरी ९काठमाडौँ० ल्याई पुर्याएपछि दिईरहेको अक्सिजन झिकियो । उहाँको अब निधन भएको, काँपेको स्वरमा डाक्टरहरूले गिरिजाबाबुलाई सुनाए ।

उहाँका परिवारका सदस्यहरू स्वयं गिरिजाबाबु समेत अब के गर्ने भन्ने निर्णय लिन धर्मपत्नी सुशीला कोइरालाज्यू बस्नुभएको कोठामा जम्मा भए । उहाँले यति मात्र भन्नुभयो, “तिमीहरू आफैं जानिफकार छौ, गिरिजाबाबु हुनुहुन्छ । जे गर्ने हो गिरिजाबाबुलाई सोधेर गर । तिमीहरूले जे गर्छौ त्यो मलाई स्वीकार छ ।”

प्राँगणमा जम्मा भएको मानव–सागरसमक्ष निधनको खबर सुनाउनुपर्ने, तर कसले रु अन्ततः गिरिजाबाबुले बार्दलीबाट ठूलो स्वरले भन्नुभयो, “सान्दाजु अब हामी बीच हुनुहुन्न ।” यति भनेपछि अबरुद्ध गलाका बीच उहाँले भन्नुभयो, “उहाँको पार्थिव शरीर अहिले ८ बजे तल हलमा राखिने छ । भोली दिउँसो ठीक ३ बजे शवयात्रा शुरू हुनेछ । शबयात्रा र नगर परिक्रमापछि साँझ ७ बजे उहाँको अन्तिम संस्कार हुनेछ ।”

निधनको यो समाचार बीबीसी, अल इन्डिया रेडियोलगायत विदेशी सञ्चार माध्यमहरूबाट महत्वका साथ आउन थाल्यो । अल् ईन्डिया रेडियोले पहिलोपटक बीपीबारे समाचार प्रशारण गरेको मैले सुनें, नत्र भारतीय सरकारी संचारमाध्यमबाट कुनै सामग्री सुनिंदैनथियो, "यह आकाशवाणी है । अब देवकी नन्दन पाण्डे से हिन्दी में समाचार सुनिए,  नेपाल के पूर्वप्रधानमन्त्री तथा जानेमाने लोकतन्त्रवादी नेता विश्वेश्वरप्रसाद कोइराला का नेपाली राजधानी काठमाण्डु में निधन" हुन त त्योभन्दा अघि नै उहाँको अन्तिम अवस्थाबारे समाचार आइरहेकै थियो ।

तत्कालीन पञ्च प्रधानमन्त्री सूर्यबहादुर थापा र गृहमन्त्री नैनबहादुर स्वाँर पटकपटक त्यहाँ कोइराला निवास गईरहेका हुन्थे । उनीहरूको इच्छा थियो शबयात्रा नभईदेओस् । तर कार्यकर्ताले त्यो सुन्न मान्ने कुरै थिएन । वास्तबमा उहाँको शबयात्रामा काँग्रेसका कार्यकर्ता बाहेक अन्य पार्टीका नेता तथा कार्यकर्ता र ठूलो संख्यामा बुद्धिजीवीहरू सामेल थिए ।

कयौँ कार्यकर्ताहरूले पार्टीको चारतारे झण्डा तयार गरेर ल्याएका थिए । उनीहरू झण्डा उचालेर शबयात्रामा जान जोखिम मोल्ने मनस्थितिमा थिए । आखिर, शवयात्रा गर्ने तर कार्यकर्ताले झण्डा नबोक्ने, पार्थिव शरीर राखिएको गाडीमा मात्र झण्डा राख्ने तय भयो र त्यसै गरियो । पन्नालाल श्रेष्ठजीले रातारात गरेर उहाँको तस्बीरसहित नाराका पोस्टर, प्लेकार्ड हजारौँको संख्यामा तयार गरिदिनु भयो ।

भोलीपल्ट साउन ७ गते ठीक ३ बजे शवयात्रा शुरू भयो । बीपीलाई राखिएको ट्रकमा गिरिजाबाबु लगायत उहाँका जेठा दाजु मातृकाप्रसाद कोइराला, परिवारका सदस्य र गणेशमानजी, किसुनजी तथा पार्टीका अन्य नेताहरू हुनुहुन्थ्यो । श्रद्धाञ्जली र समवेदना दिन भारतबाट आउनुभएका नेताहरू चन्द्रशेखर, मधु दण्डबते, देवेन्द्रप्रसाद सिंह पनि ट्रकमा बस्नुभएको थियो ।

शवयात्राको ठाउँठाउँमा लावा फूल सहित श्रद्धाञ्जली चढाएका र भक्कानिएका सर्वसाधारणको गिन्तीसाध्य थिएन । बीपीलाई चितामा चढाउँदा भीडबाट एकजना प्रौढ ठूलो स्वरले चिच्याउँदै भने, “सान्दाजुलाई नजलाओस हाम्रा छोरा–नातीले पनि बीपीलाई देख्न पाउनुपर्छ” ती को थिए, मैले अहिलेसम्म चिन्दिनँ । 

राजा वीरेन्द्रले उहाँको निधनमा दिएको ‘शोक वक्तब्य’ मा ‘जुनसुकै नेपाली मर्दा पनि हामी दुःखी हुन्छौँ’ भन्ने कपटपूर्ण अंश अविश्मरणीय विम्बका रुपमा रहेका छन् । नेपालको इतिहासमा त्यो सबभन्दा ठूलो शवयात्रा थियो । साउन १८ गते खुलामञ्च टुँडिखेलमा विशाल शोकसभा भयो । शोकसभालाई संवोधन गर्दा भारतीय नेता मधु दण्डवतेले दिएको भाषणलाई पञ्चायती सत्ताले पचाउन नसकेर जनाएको निर्देशित आपत्ती हेर्नलायक थियो ।

उहाँको अस्थि गंगा नदीमा सेलाउन बनारस पुर्याएको बेलामा बनारसमा उठेर आएको नेपाली र भारतीयहरूको त्यो मानव सागर बनारस, दुग्ध विनायकमा बस्नुभएकी हजुरआमालाई भेट्न बीपीको निधन पछि  म बनारस गएको थिएँ । वास्तबमा मैले बनारसमा देखें  विदेशमा बीपीको प्रभाव । ‘भारतीय प्रोफेसर, वकिल, समाजवादी नेता तथा कार्यकर्ताहरूले “बीपी बाबु अमर रहे ! कोइरालाजी सब के दिल मे है !” जस्ता नारा लगाएर त्यो विशाल जुलूश अस्थि–कलशका साथ गंगाजीको घाटमा पुग्यो । भारतीय नेता चन्द्रशेखर जुलुशमा त आएका थिएनन्, कुनै कार्यक्रमबाट हतारहतार गरी घाटमा आईपुगेका थिए ।


लेखकको बारेमा
Image
चन्द्रमणि गौतम