२३ वैशाख २०८१, आइतवार

यस्तो आयो इजरायलबाट दशैमा आमाको चिठ्ठी

६ कार्तिक २०८०, सोमवार
Image

प्रिय छोरी,

दसैंले छपक्कै छोपेको होला । यसपाली पनि घर आउन पाइन, दुःख नमान्नु । तिम्रो बुवालाई यसपाली नौरथा अगाडि नै आइपुग्छु भनेको थिएँ । कम्पनीले छुट्टि दिएन अरे भन्दिनु । तिम्रो भाइ मामा घरमा टिका लगाउन सँगै जानुपर्छ है आमा भन्थ्यो, उसलाई पनि आगौ साल जाउँला भन्दिनु ।

टिभीमा समाचार हेर्दैछौं होला । यता अलिक मुस्किलका दिन आएका छन् । हाम्रो बसाई भएको ठाउँभन्दा दश किलोमिटर नजिकै छ गाजा सहर । हमासले अचानक धावा बोलेको त्यो रात त बाँचिदैन होला जस्तो भएको थियो । यहाँ घरमा म र घरधनी बुढी आमा मात्रै बस्छौं । राति साइरन बजेलगत्तै तिहारमा पटाका पड्किए झैं रकेट आकाशभरि चम्किए । एउटा रकेट हामी बसेकै घरको धुरीबाट छिमेकीको घरमा बज्रियो । हत्त न पत्त भुइँतला मुनिको बंकरमा बुढी आमैलाई लुकाएर बचाएँ । 

खोइ के कैरन लगाउँ यहाँको हालखबरको । सबै टिभी र रेडियोमा आएकै होला । इजरायलको सरकारले अहिले हामी कसैलाई पनि घर बाहिर ननिस्कनु भनेको छ । कुनै पनि बेला हमासले रकेट आक्रमण दोहोर्याउला भन्ने त्रास उत्तिकै छ । रातभरि बंकरमा लुक्छौं । विहान एकपटक खाना पकाएर खान्छौं । विहान पकाएकै खाना बेलुका छिट्टै खाएर बंकरमा पुगिहाल्छौं । 

दसैंमा आउने मेरो योजना नभएको होइन । हमासले इजरायलमा आक्रमण गरेको दुई दिन अघि मात्र घरधनी आमैको छोरा बुहारीलाई फोनबाट दसैंको बिदा मागेको थिएँ । सुरुमा त हुँदैन भन्दैथिए । मैले छोराछोरीको मुख हेरेर भए पनि छिट्टै आउँछु भनेपछि २० दिनको बिदा दिन उनीहरु मञ्जुर भएका थिए । तर, हमासको आक्रमणपछि इजरायलको अवस्था पुरै फेरिएको छ । तीन हजारभन्दा बढी मानिस एकै रातमा मारिएको शंका छ । मलाई त्यसपछि घरधनीले बिदा दिन नसकिने बताए । मैले बम बारुदको त्रासका बीच तिनै घरबेटी बुढी आमैलाई स्याहार सुसार गरेर रुँघिरहनु पर्ने बाध्यता आएको छ ।

यहाँका हरेक वयस्क नागरिक जागिरे हुन्छन् । युवा उमेरकाहरु सैनिकमा भर्ती भएका हुन्छन् । नेपालबाटै हामी तिनै इजरायली जागिरे छोराछोरीले घरमा छाडेका बुढा आमाबुवाहरुको हेरचाह गर्ने रोजगारीमा आएका हौं । काम गाह्रो छैन । मैले एक जना बुढी आमैको हेरचाहको क्रममा खाना खुवाउनु पर्छ । टाइम टाइममा औषधि खुवाउनु पर्छ । लुगाफाटा फेरफार गरिदिनु पर्छ । महिना बितेपछि खातामा तलब हाल्दिन्छन् । घरमा टेलिभिजन हेर्ने, मोवाइल फोन गर्ने र बजारसम्म डुलफिर गर्ने अवसर छँदैछ ।

हमासले हमला गरेयता चाहिँ हामी बन्दी जस्तै भएका छौं । किनमेल गर्न डिपार्टमेन्टल स्टोरतिर जाँदैनौं । अनलाइनबाटै सामान किन्छौं । सडकभरि सेनाका ट्यांक र बन्दुकधारीको लस्कर दगुरिरहेको छतबाटै देखिन्छ । गाजा सहरलाई खाली गराएर इजरायलले स्थलगत फौजी कार्वाही गरिरहेको हुँदा अहिले युद्धकै अवस्था छ । युद्ध त इजरायल र हमासबीच भएको हो । तर, हामी रोजगारीका लागि बाध्यताले आएका नेपाली भनेर युद्धरत पक्षले सहानुभूति राख्दैनन् । हमासको हमलामा परेर कृषि पढ्न आएका नेपाली विद्यार्थीको मृत्युले नै प्रमाणित गरिसकेको छ कि यहाँ कि आक्रमणकारी हुन्छ कि उसको दुस्मन हुन्छ । तेस्रो पक्ष भनेर कसैलाई मान्दैनन् । 

यता युद्ध थामिएछ भने छिट्टै घर आउँला । नत्र बिदा पाउन गाह्रो छ । दसैं राम्ररी मनाउनु । पढाइमा ध्यान लगाउनु । छोराछोरीकै राम्रो पढाईका लागि केही कमाउन सकिएला कि भनेर बारुद बिछ्याए जस्तो मरुभूमिको देश इजरायलमा आएकी हुँ । मैले ज्यानलाई हत्केलामा राखेर आर्जेको पैसालाई तिमीहरुले शिक्षामा सदुपयोग गर्नेछौं भन्ने मलाई पूरा भरोसा छ । टिका लगाउन बुवासँग मामाघर जानु । मूलघरमा हजुरबुवा र हजुरआमाको हातबाट पहिलो टिका लगाउनु । गाउँको दोबाटोमा लिंगे पिङ हालेका होलान्, खेल्नु रमाउनु । राति चाहिँ मेला र गाउँतिर नडुल्नु । समय राम्रो छैन ।

छोरी, तिमी र भाइलाई मैले एउटा एउटा आइफोन डीएचएल गरेर पठाइदिएकी छु । तिमी अब बुझ्ने र ज्ञानी भइसकेकी छौं । मोवाइललाई पढाईमा सदुपयोग गर्नु । फेसबुक र टिकटक हेर्न मात्रै मोवाइल चलाउनु बुद्धिमानी होइन । बजारमा धेरै प्रकारका सामान बेच्न राखिएका हुन्छन् । तर हामी जे देखिन्छ ती सबै सामान किन्दैनौं । दोकानमा बेच्न राखिएका खानेकुरा पनि जे भेटिन्छ, ती सबै हामी खाँदैनौं । जे हामीलाई आवश्यक छ, जुन कुराले हाम्रो आवश्यकता पूरा गर्दछ, त्यही मात्र किन्छौं, छान्छौं र लिन्छौं । ठिक त्यसैगरी, फेसबुक, टिकटक र युट्युबमा जे आउँछन्, सबै हेर्ने गर्नुहुँदैन । तिम्रो पढाईलाई काम लाग्ने, तिमीलाई ज्ञान हुने र सकारात्मक कुरा मात्र त्यस्ता सामाजिक सञ्जालबाट लिने, हेर्ने र पढ्ने बानी बसाउनुपर्छ । यी कुरालाई गन्थन नठान्नु । आमाको सन्देश भनेर ग्रहण गर्नु ।

छोरी तिमीले आफ्नो र परिवारका सदस्यहरुको स्वास्थ्यका लागि विशेष ध्यान दिनुपर्छ । बजारमा बिषादीको अवशेष बढी मात्रामा भएका सागसब्जी र फलफूल बेच्न राखेका हुनसक्छन्, होशियारी अपनाउनु । अर्गानिक खानेकुराको सेवनले हाम्रो स्वास्थ्य बलियो हुन्छ । नियमित शारीरिक व्यायाम, योग र ध्यान गर्ने गर्नु । जसले तिम्रो मानसिक र शारीरिक विकासका साथै स्वास्थ्य राम्रो बनाउन मदत पुर्याउँछ । 

अचेल आफन्तहरुबीच चाडवाडका बेला भेटघाट हुँदा पनि मोवाइलमा घोप्टिने बानीका कारण खुलेर कुराकानी हुन पाउँदैन । यो अति नराम्रो बानी हो । घरमा आउनु भएका पाहुनालाई मीठो बोली र व्यवहारले प्रसन्न तुल्याउनुपर्छ । धेरै दक्षिणा दिएर र मदमदिरा खुवाएर मात्र पाहुना खुशी हुन्छन् भन्ने गलत मान्यता भत्काउनुपर्छ । तिमीहरु पनि टिका लगाउन जाँदा फेसबुक, टिकटक र युट्युबमा घोप्टिएर अलमलिने बानी नगर्नु । आफन्तसँग बोलचाल र घुलमिलमा समय दिनु । जसका घर जाँदा पनि अहिलेका केटाकेटी मोवाइलमा अलमल गरिरहेका देखिन्छन् । भात पानी खान पनि बिर्सन्छन् । त्यसो नगर्नु है ।

जति लेखे पनि कुराको पोयो एउटै हो । कसैसँग रीस नराख्नु र कसैको ननिको नहुनु । अमूल्य समयलाई पढाई, स्वास्थ्य र परिवारका लागि सदुपयोग गर्नु । समय परिवर्तनशील छ । युद्धको अवस्था शान्तिमा परिणत होला । त्यसपछि म घर आउन पाउनेछु । अनि सँगै दसैं मनाउँला, रमाउँला । 

तिमीलाई असाध्यै माया गर्ने, 

आमा

इजरायल

मिति ः २०८० असोज २८ गते (सुखानी सप्ताहिकको दशैं अंकबाट साभार)

  


लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।