२३ वैशाख २०८१, आइतवार

पूर्वीनाकाबाट निर्यातभन्दा पाँच गुणा बढी तरकारी आयात

११ मंसिर २०८०, सोमवार
Image

झापा, ११ मङसिर । पूर्वीनाका काँकडभिट्टाबाट चालू आर्थिक वर्षको तीन महिनामा निर्यातको तुलनामा पाँच गुणाभन्दा धेरै ताजा तरकारी भारतबाट आयात भएको छ । 

प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाको प्रथम त्रैमासिक अभिलेख अनुसार आर्थिक वर्ष २०८०/०८१ को साउन, भदौ र असोज महिनामा भारतबाट रु. ४७ करोड ९७ लाख ६० हजार मूल्य बराबरको २३ हजार ९८८ मेट्रिक टन ताजा तरकारी आयात भएको छ ।

सोही अवधिमा नेपालबाट रु. नौ करोड ६५ लाख ७२ हजार ८०० मूल्य बराबरको छ हजार ३० मेट्रिक टन तरकारी भारत निर्यात भएको कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरले बताउनुभयो । पूर्वीनाकाबाट हुने ताजा तरकारीको व्यापारमा चालू आवको तीन महिनामै रु. ३८ करोड ३१ लाख ८७ हजार २०० बराबरको व्यापार घाटा भएको छ ।

नेपालबाट निर्यात हुने ताजा तरकारीमा बन्दा कोभी, मूला र गोलभेडा रहेका छन् । यीमध्ये सबैभन्दा बढी रु. नौ करोड ५४ लाख ७२ हजार मूल्य बराबरको पाँच हजार ९६७ मेट्रिक टन बन्दा कोभी भारततर्फ निर्यात भएको ठाकुरले जानकारी दिनुभयो ।

यसैगरी, तरकारीमा गोलभेडा रु. पाँच लाख १२ हजार मूल्य बराबरको २६ मेट्रिक टन र रु. पाँच लाख ८९ हजार मूल्य बराबरको ३७ मेट्रिक टन मुला भारततर्फ निर्यात भएको छ । धनकुटा र इलाममा उत्पादित बन्दाकोभी, मूला र गोलभेडा भारत निर्यात हुने गरेको छ ।

रु. १८ करोडको गोलभेडा आयात

चालू आवको प्रथम त्रैमासिक अवधिमा भारतबाट गोलभेडा मात्रै रु. १९ करोड ३७ लाख ४० हजार मूल्य बराबरको नौ हजार ६८७ मेट्रिक टन आयात भएको छ । 

सोही अवधिमा भारतबाट रु. दुई करोड सात लाख ८० हजार मूल्य बराबरको एक हजार ३९ मेट्रिक टन हरियो खुर्सानी र रु. तीन करोड ७१ लाख ८० हजार मूल्य बराबरको एक हजार ८५९ मेट्रिक टन गाजर निर्यात भएको छ ।

तरकारीमध्ये मूला र बन्दा कोभी चाहिँ भारतबाट आयात भएको छैन । धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी लगायतका कोशी प्रदेशका जिल्लामा बन्दा कोभीको ठूलो मात्रामा उत्पादन हुँदै आएको छ । 

कोदो र आलुमा पनि भारतकै भर

नेपालका मधेशदेखि हिमाली भेगसम्म उत्पादनको प्रचुर सम्भावना भएको कोदो र आलुमा समेत भारतकै भर पर्नुपर्ने अवस्था छ ।

प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार चालू आवको प्रथम त्रैमासिक अवधिमा रु. २३ करोड ६१ लाख ६० हजार मूल्य बराबरको चार हजार ९२० मेट्रिक टन कोदो भारतबाट आयात भएको छ ।

सोही अवधिमा भारतबाटै रु. ९९ करोड ८९ लाख चार हजार मूल्य बराबरको ४१ हजार ६२१ मेट्रिक टन आलु आयात भएको कार्यालयले जनाएको छ । 

ती महिनामा रु. एक अर्ब ८६ करोड ६५ लाख ६३ हजार मूल्य बराबरको ३६ हजार ७३० मेट्रिक टन फलफूल भारतबाट आयात भएको छ । यसैगरी, उक्त अवधिमा रु. दुई करोड ५९ लाख ९२ हजार मूल्य बराबरको ३६१ मेट्रिक टन चना, रु. नौ करोड २२ लाख चार हजार मूल्य बराबरको एक हजार ३६ मेट्रिक टन मुसुरो दाल, रु. १२ करोड ८६ लाख मूल्य बराबरको एक हजार २८६ मेट्रिक टन लसुन र रु. ९८ लाख ५६ हजार मूल्य बराबरको ६१६ मेट्रिक टन उखु भारतबाट आयात भएको छ । 

पूर्वीनाका काँकडभिट्टाबाट चालू आवको तीन महिनामा खाद्यान्न, ताजा तरकारी, दलहन, तेलहन, फलफूल, बोटविरुवा, प्रशोधित सामग्री, काठका सामान, मसाला बाली र बीउबिजन गरेर कूल रु. पाँच अर्ब १० करोड ६० लाख ३१ हजार मूल्य बराबरको आयात भएको कार्यालयका सूचना अधिकारी ठाकुरले बताउनुभयो ।

सोही अवधिमा तरकारी, जडिबुटी, प्लाइडका सामान, अम्रिसो लगायतका कूल रु. पाँच अर्ब २७ करोड ३६ लाख २९ हजार मूल्य बराबरको नेपाली उत्पादन भारत, बंगलादेश लगायतका मुलुकमा निर्यात भएको उहाँले जानकारी दिनुभयो ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।