२१ वैशाख २०८१, शुक्रवार

झापा र मोरङको जंगलमा हात्तीका तीन छावा जन्मिए

२८ पुष २०८०, शनिवार
Image

झापा, २८ पुस । जंगली हात्तीले झापाको दुई स्थान र मोरङको एक स्थानमा छावा जन्माएर हुर्काइरहेको छ । विज्ञहरुका अनुसार नवजात छावा साथमा हुँदा हात्ती अरुबेला भन्दा बढी आक्रामक हुने गर्दछन् ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ५ स्थित पाँचपोखरी सामुदायिक बन र कनकाई नगरपालिका वडा नं. २ सुकेडाँगी सामुदायिक बन क्षेत्रमा दुई वटा छावा जन्मिएको बन डिभिजन बन कार्यालय झापाका प्रमुख मेघराज राईले बताउनुभयो ।

“पाँचपोखरी र सुकेडाँगी बन क्षेत्रमा मंसिर महिनातिर दुई वटा छावा जन्मिएको सूचना हामीले पाएका छौं,” उहाँले भन्नुभयो–“भर्खर जन्मिएका सन्तानलाई हात्तीेले हुल बाँधेर सुरक्षा दिने हुँदा छावा जता जता जान्छ उतैतिर हात्तीको बथान गइरहेको छ ।”

छावालाई असुरक्षा नहोस् भनेर माउ हात्ती र बथानका अरु हात्तीले मानिसप्रति आक्रामक व्यवहार देखाउने उहाँले बताउनुभयो । बस्तीतिर छावासँगै हात्तीको हुल पस्यो भने बढी क्षतिको सम्भावना हुन्छ ।

मोरङको बेलबारी र पथरी नजिक बेतना सिमसार रहेको बन क्षेत्रमा पनि हात्तीले छावा जन्माएको छ । स्थानीयबासीले हात्तीको नवजात छावा देखेर बन कार्यालयमा जानकारी दिएका छन् ।

बन डिभिजन कार्यालय मोरङका प्रमुख विष्णुलाल घिमिरेले बेतना सिमसार नजिकै जंगलमा छावा जन्मिएको जानकारी आएको पुष्टि गर्नुभयो । उहाँले भन्नुभयो–“कोशी टप्पु बन्यजन्तु आरक्षका प्राविधिकहरुले जंगलभित्र हात्तीको बच्चा देखे ।” मोरङको बन क्षेत्रमा डुलिरहेका हात्तीको बथानमा ६ वटा छावा गणना गरिएको उहाँले बताउनुभयो ।

हात्ती संरक्षणमा सक्रिय अभियन्ता शंकर लुइँटेलले झापाको जंगलमा बिगतदेखि नै हात्तीको प्रजनन हुने गरेको बताउनुभयो । उहाँले २०६४ सालमा मेचीनगर नगरपालिकाको वडा नं. ४ बाहुनडाँगीमा जंगली हात्तीले स्थानीयको खेतमै छावा जन्माएको आफुले देखेको बताउनुभयो ।

झापाको पाँचपोखरी र जलथल बन क्षेत्रमा हात्तीले पटकपटक छावा जन्माएर हुर्काउने गरेका छन् । पाँचपोखरी बन क्षेत्रमा हात्ती लुक्ने बाक्लै रुखविरुवा र फराकिलो प्राकृतिक पोखरी रहेको छ । मोरङको बेलबारी र पथरी नजिक पनि बेतना सिमसार रहेको हुँदा पानीको पर्याप्त स्रोत रहेको छ ।

हात्तीले प्रजननका लागि पानीको पर्याप्त स्रोत र लुक्न मिल्ने बाक्लो जंगल भएको क्षेत्र रोज्ने गरेको बन डिभिजन कार्यालय मोरङका प्रमुख घिमिरे बताउनुहुन्छ । प्रजननका लागि रोजेको क्षेत्रमै हात्तीले छावा जन्माउने गर्दछ । 

अहिले छावा जन्मिएको झापाको सुकेडाँगी बन क्षेत्रमा पनि कनकाई नदी र सिमसार क्षेत्रको पानी प्रशस्त रहेको छ । जलथल जंगल पनि हात्तीको प्रजननका लागि उपयुक्त मानिन्छ । 

बन डिभिजन कार्यालय प्रमुख राईका अनुसार गत कार्तिक १९ गते झापाको बाहुनडाँगी हुँदै नेपाल प्रवेश गरेका ३६ वटा हात्तीमध्ये २७ वटा यसैसाता भारत फर्किएका छन् । झापाको जंगलमा ३० वटाको संख्यामा रैथाने हात्ती रहँदै आएका छन् ।

भारतको आसामदेखि नेपालको कोशी टप्पुसम्म जंगली हात्तीको परम्परागत विचरण क्षेत्र मानिन्छ । भारतमा बाक्लो जंगल र आरक्षण क्षेत्र ज्यादा भएकाले धेरैजसो समय भारततिरै बस्ने हात्तीको लगभग एक सयको बथान बेलाबेला नेपाल आउने गरेको छ ।

बिगतमा बढीमा १५ दिन डुलेपछि फर्किने गरेका हात्ती यसपाली अढाई महिनादेखि नेपालभित्रै रमाइरहेका छन् । झापा, मोरङ र सुनसरीमा यिनै हात्तीका कारण जनधनको ठूलो क्षति भइरहेको छ । 

बन डिभिजन कार्यालय मोरङका प्रमुख घिमिरेले बेलबारी, पथरी र केराबारीस्थित चार कोशे बन क्षेत्रमा डुलिरहेका नौ वटा हात्तीको एउटा बथान भारततिरै फर्किएको सूचना पाएको बताउनुभयो । हात्ती फर्किएको वा नफर्किएको भन्ने जानकारीका लागि बन कार्यालयले स्थानीयबासीले दिने सूचनालाई आधार मान्ने गरेको छ । हात्ती संरक्षण अभियन्ता शंकर लुइँटेलले बाहुनडाँगी क्षेत्रबाट चाहिँ हात्ती फर्किएको जानकारी नपाएको बताउनुभयो ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।