२४ वैशाख २०८१, सोमवार

‘प्लाइउड’ रोक्ने भारतीय नीतिले भेनियर उद्योगी चिन्तित

१४ फागुन २०८०, सोमवार
Image


झापा, १४ फागुन  भारतले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड (आइएसओ)को निहुँ बनाएर नेपालमा उत्पादित प्लाइउड रोक्ने नीति अघि सारेपछि नेपाली भेनियर व्यवसायी चिन्तित बनेका छन् ।

भारततर्फ निकासी हुने नेपाली सामानमा प्लाइउडको महत्त्वपूर्ण हिस्सा रहँदै आएको छ । भारतले प्लाइउड निर्यात रोकेमा पूर्वी नेपालको झापा, मोरङ, सुनसरी र इलाममा सञ्चालित दर्जनौं भेनियर उद्योग बन्द हुनेछन् भने त्यहाँ कार्यरत ६० हजारले रोजगारी गुमाउने सम्भावना छ ।  

भारतले अन्तर्राष्ट्रिय गुणस्तरीय मापदण्ड (आइएसओ) प्रमाणित नभएका नेपाली प्लाइउडलाई यही फेब्रुअरी २८ तारिखदेखि आफ्नो मुलुकभित्र आयात हुन नदिने जनाउँदै आएको छ । यसको जानकारी तीन महिना अघि नै भारतीय राजपत्र (गजेट)मा प्रकाशित भएको थियो । 

नेपाल भेनियर उत्पादक संघका उपाध्यक्ष श्याम न्यौपानेले भारतले ल्याएको नयाँ नीति लागू भएमा नेपालका भेनियर उद्योगहरु बन्द हुने निश्चित भएको बताउनुभयो । नेपालका कुनै पनि भेनियर उद्योगहरु आइएसओमा दर्ता छैनन् ।

भारतको नयाँ नीतिका कारण नेपाली भेनियर उद्योगको बजारमा नकारात्मक असर पर्न थालिसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–“उत्पादनको ४० प्रतिशत मात्र नेपालमा खपत हुन्छ र ६० प्रतिशत तयारी प्लाइउड भारत निकासी हुँदै आएको छ ।” 

उहाँले भारतले हठात ल्याएको नयाँ नीतिले प्लाइउड निर्यात गरेर बर्षेनी लाखौं विदेशी मुद्रा आर्जन गर्दै आएको नेपाललाई ठूलो आर्थिक क्षति पुगेको र रोजगारी गुमाउने अवस्था सिर्जना भएको बताउनुभयो । यसलाई रोक्न नेपाल सरकारले भारत सरकारसँग जीटुजी बार्ता गर्नुपर्ने उहाँको सुझाव छ । 

मेची भन्सार कार्यालय काँकरभिट्टाको तथ्याङ्क अनुसार गतबर्ष पूर्वी नाकाबाट रु. एक अर्ब ९९ करोड मूल्य बराबरको प्लाइउड भारत निर्यात भएको थियो । व्यवसायीहरुले प्लाइउडको कच्चा पदार्थ निर्यात गर्दा प्रति केजी रु. ६ र तयारी प्याइउड पठाउँदा रु. ११३ को दरले भन्सार महसुल तिर्दै आएका छन् । 

कोशी प्रदेशका १४ जिल्लामध्ये झापा, मोरङ र सुनसरीमा  सबैभन्दा बढी संख्यामा भेनियर उद्योग रहेको संघका उपाध्यक्ष न्यौपानेले जानकारी दिनुभयो  । उहाँका अनुसार कोशी प्रदेशमा करिब ८० वटा र झापामा मात्र ३२ वटा भेनियर उद्योग सञ्चालन भइरहेका छन् । एउटा उद्योगमा कम्तीमा ६० देखि दुई हजार जनाले रोजगारी पाइरहेका हुन्छन् । 

नेपाली व्यवसायीहरु भारतको नयाँ नीतिको सुरुदेखि नै विरोधमा छन् । व्यवसायीहरुले नेपाल सरकार र भारतीय राजदूताबास दुबैलाई निर्यात बन्द हुने अवस्था आउन नदिन आग्रह गर्दै आएका छन् ।  

नेपाली भेनियर व्यवसायीहरु भारत सरकारले खोजेजस्तो आइएसओ दर्तामा जान लामो र झन्झटिलो प्रक्रिया लाग्ने बताउँछन् । सञ्जीवनी प्लाइउड उद्योगका सञ्चालक सञ्जीव साहले भारतले नयाँ नीति लागू गर्ने फेब्रुअरी २८ तारिख आउन अब केही दिनमात्र बाँकी भएकाले नेपाली भेनियर उद्योगको भविष्यमा कालो बादल मडारिएको बताउनुभयो ।