२७ फागुन २०८१, मङ्गलवार

सुखानी सहिद दिवस

राज्यले ४३ वर्षपछि चिन्यो सुखानीका सहिद

२१ फागुन २०८१, बुधवार
Image

झापा विद्रोहमा जेल परेका पाँच योद्धा रामनाथ दाहाल, नेत्र घिमिरे, बीरेन राजबंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई २०२९ फागुन २१ गते साँझपख झापा र इलामको सीमानास्थित सुखानी जंगलमा गोली हानेर हत्या गरिएको थियो । त्यसको १७ वर्षपछि जनान्दोलनको बलमा मुलुकमा प्रजातन्त्र वहाली भयो । प्रजातन्त्र बहाली भएको २६ वर्षपछि (२०७२ फागुन १९ गते) मात्र राज्यले सुखानीमा जीवनको आहुती दिएका ती पाँच योद्धालाई सहिदको रुपमा चिन्यो ।

सुखानी हत्याकाण्ड भएको सहादतस्थलमा पाँच विद्रोहीको सालिकसहित अग्लो स्मारक निर्माण गरिएको छ । सालिक राखिनु अघि त्यहाँ पाँच वटा रुखको फेदमा फलामको बेराभित्र सिमेन्टको सानो स्मारक मात्र थियो । झापा विद्रोहलाई सम्झिएर विद्रोहीहरुप्रति श्रद्धासुमन अर्पण गर्न त्यहाँ वर्षेनी हजारौं मानिस जान्छन् । फागुन २१ गते विभिन्न कम्युनिस्ट पार्टीले श्रद्धाञ्जलि कार्यक्रमको आयोजना पनि गर्छन् । पुण्यप्रसाद खरेल, निरोज कट्टेल र कुमार भट्टराईले झापा विद्रोहका विषयमा ओजपूर्ण किताब लेखेका छन् । विद्रोहका योद्धाहरु राधाकृष्ण मैनाली र गौरा प्रसाईले आत्मकथा नै लेखेका छन् । यो विद्रोहको वास्तविकता के थियो, कसरी भयो, को को सामेल थिए, कसरी दमन भयो भनेर अध्ययन गर्ने र पुराना घटनालाई लिपीबद्ध उत्खनन गर्ने क्रम जारी छ ।

२०२९ सालमा सुखानी हत्याकाण्ड भएको भोलिपल्टै विद्रोहीहरुको झापा जिल्ला कमिटी (त्यतिखेरको हेडक्वार्टर)ले पाँचै जनालाई महान सहिद घोषणा गरेको थियो । त्यही विद्रोहको गर्भगृहबाट गठन भएको नेकपा माले २०४६ सालमा पञ्चायतको अन्त्य भएपश्चात गठन भएको पहिलो अन्तरिम सरकारमा सत्ता साझेदार दल बन्यो । नेकपा माले र नेकपा माक्र्सबादी एकीकरण भएर बनेको नेकपा एमालेले २०५१ सालमा प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वमा एकल सरकार गठन गर्यो । ज्येष्ठ नागरिकलाई भत्ता दिने, आफ्नो गाउँ आफै बनाउने जस्ता राम्रा कामको थालनी गरेर लोकप्रियता कमाएको एमालेको पहिलो सरकारले पनि सुखानीमा मृत्युवरण गरेका विद्रोहीलाई सहिद घोषणा गरेन । मनमोहनपछि एमालेकै झलनाथ खनाल र माधवकुमार नेपाल प्रधानमन्त्री बनेर सरकारको बागडोर सम्हाल्दा समेत सुखानीका सहिदलाई राज्यले चिनेको थिएन । सुखानी सहादतको ४३ वर्षपछि र प्रजातन्त्र वहाली भएको २६ वर्षपछि मात्र प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा गठन भएको एमालेकै अर्को सरकारले उनीहरुलाई बल्ल ‘राज्यका सहिद’को सम्मान दियो ।

सुखानीमा मारिएका योद्धालाई ओलीको पालामा सहिद घोषणा मात्र भयो । उनीहरुको परिवारलाई राज्यका तर्फबाट केही पनि राहत दिइएन । सहिदहरु व्यक्तिगत स्वार्थका लागि विद्रोहमा होमिएका थिएनन् । निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य भयो, मुलुकमा गणतन्त्र उदायो । सहिद परिवारले यही नै ठूलो खुशीको विषय मानेका होलान् । सुखानी हत्याकाण्ड भएयताका ५२ वर्षमा सहिद तथा योद्धा परिवारले राज्य र सत्तामा पुगेका आफ्नै सहधर्मीबाट व्यहोरेको उपेक्षाको गुनासो भने निकै लामो छ । प्रधानमन्त्री बनिसकेका केपी ओलीसँगै जेलमा १४ वर्ष बिताएका योद्धा सानो दुर्गा आधिकारी अहिले मेचीनगरको टिमाई पुल छेउमा ऐलानी जग्गाको टुक्रोमा बास बस्दै आएका छन् । मन्त्री बनिसकेका राधाकृष्ण मैनाली र सीपी मैनालीसँगै झापा विद्रोहका अर्का लडाकु ठूलो दुर्गा अधिकारी कम्युनिस्टले सरकार चलाइरहेकै बेला घरखर्चको जोहो गर्न मन्दिरमा पुजारी पनि बन्नु पर्यो ।

गोठाला बस्नु पर्यो बीरेनका छोराले

२०२८ सालमा झापा विद्रोहको पहिलो ‘एक्सन’ तत्कालीन ज्यामिरगढी (हाल मेचीनगर–१५)मा २०२८ जेठ २ गते भएको थियो । जसमा जमिन्दार रघुबीर बुढाथोकीको कामतको हरहिसाब हेरिदिने (कारोबारी) कर्णबहादुर गौतमको हत्या भएको थियो । 

बिद्रोही नेता बीरेन राजबंशी र कर्णबहादुर एउटै ठाउँका बासिन्दा थिए । कर्णबहादुर हिंसात्मक विद्रोहको निशाना बनेका थिए भने बीरेन त्यही विद्रोह दबाउन राज्यले गरेको प्रतिहिंसाका क्रममा मारिएका थिए । बीरेनका दुई छोरा नेत्र र बिजय थिए भने कर्णबहादुरका पनि दुई छोरा ललित र तिलक थिए । बीरेन र कर्णबहादुरका कान्छा छोराहरु क्रमशः बिजय र तिलक यो पंक्तिकारको बाल्यकालीन एउटै कक्षाका सहपाठी थिए ।

बीरेनका कान्छा छोरा बिजयको क्यान्सरका कारण अविवाहित उमेरमै मृत्यु भयो । जेठा छोरा नेत्र राजबंशी अहिले मेचीनगर नगरपालिकामा सानो जागिरे छन् । कर्णबहादुरको जेठा छोरा ललित अविवाहित छन् । कान्छा छोरा तिलक वेपत्ता । दुबै परिवारको आर्थिक अवस्था दयनीय छ । बीरेन र कर्णबहादुरको राजनीतिक कर्म र घटनाका विषयमा समाज एकमत नहोला । तर, तिनका सन्तान त वास्तविक राजनीतिक द्वन्द्वपीडित हुन् । द्वन्द्वपीडितलाई राजनीतिक पूर्वाग्रहका दृष्टिले कसैले पनि हेर्न हुँदैन । उनीहरुलाई कुनै न कुनै उपायले राज्यले सहानुभूतिपूर्वक उल्लेख्य राहत र अवसर दिनुपथ्र्यो । यसमा प्रजातन्त्र वहालीपछिका सरकारहरु चुकेका छन् ।

मेचीनगर–१५ बिचार्नीमा बीरेनको सालिक र वीरेन स्मृति प्रतिष्ठानको भब्य भवन छ । त्यही भवनसँग टाँसिएको टिनको छानो भएको भुइँघर सहिद बीरेनको परिवारको बासस्थान हो । परिवारमा बीरेनको जेठो छोरा नेत्र र जेठी बुहारी बिमला राजबंशी बस्छन् । नेत्रका तीनजना छोरीमध्ये कान्छी बिनिता रोजगारीका लागि मालद्विप पुगेकी छन् । जेठी दिपीका बिहेपछि गृहिणी छन् भने माइली अनिसा मेचीनगर–९ को वडा कार्यालयमा कार्यालय सहयोगीको ज्यालादारी जागिरे छन् । नेत्र पनि वडा नं. ९ कार्यालयमा पाँचौं तहको नासु पदमा जागिरे छन् । बीरेनकी पत्नी फत्री राजबंशीको २०४५ भदौ ५ गते निधन भएको थियो । 

सुखानीमा बीरेनको हत्या भएपछि पञ्चायती सरकारले उनको परिवारको नाममा रहेको लगभग २२ बिगाहा जग्गा खोसेको थियो । बीरेनको पुख्र्यौली सम्पत्तिको नाममा ४ बिगाहा मोही जग्गा थियो भने उनकी पत्नी फत्री राजबंशीले माइतीबाट १८ बिगाहा जग्गा अंशसरह पाएकी थिइन् । बीरेनका ससुरा बिचार्नीकै धनसिंह राजबंशीका छोरा थिएनन् । छोरीहरुलाई उनले आफ्नो सय बिगाहाभन्दा बढी जग्गा अंशसरह बाँडिदिएका थिए ।

‘पार्टीले केही गर्दै गरेन भन्ने पनि हाम्रो भनाई छैन,’ नेत्र राजबंशी पंक्तिकारसँग भन्छन्–‘हामीलाई एसएलसीसम्म पार्टीले पढाएकै हो । प्रजातन्त्र आएपछि राहत भनेर नेपाल सरकारले दिएको एक लाख रुपैयाँले यही एक कठ्ठा चार धुर घडेरी किनेको हो । सर्वस्वहरण गरेर लगेको बुवा र आमाको नाममा रहेको हाम्रो पुख्र्यौली सम्पत्ति २२ बिगाहा चाहिँ सरकारले फिर्ता गरेन ।’

तत्कालीन ज्यामिरगढी–४ मा भएको घर र जग्गा पञ्चायतले सर्वस्वहरण गरेपछि फत्री आफ्ना दुई छोरा लिएर माइतीमा बसेकी थिइन् । २०४५ सालमा फत्रीको समेत निधन भएपछि छोराहरु नेत्र र बिजयको बालखै उमेरमा बिजोग भयो । उनीहरु आफन्तकै घरमा हली गोठाला झैं बस्न बाध्य भएका थिए । २०४६ सालमा बहुदलीय प्रजातन्त्र बहाली भएपछि ज्यामिगरढीका गजेन्द्र खवास, पदम गौतम, भीम खवास र नारायणसिंह राजबंशीले बीरेनका छोराहरु नेत्र र बिजयलाई खोजेर पार्टीको संरक्षणमा ल्याए । त्यसपछि पार्टीले उनीहरुलाई विर्तामोडको सगरमाथा बोर्डिङ स्कुलमा पढाएर एसएलसी उत्तीर्ण गरायो । २०५३ फागुन २६ गते बिमला राजबंशीसँग नेत्रको ज्यामिगरगढीमा बिवाह भयो ।

बीरेनको सन्तानको रुपमा अब छोरा नेत्र र तीन नातिनी छन् । नातिनीहरुले बडो दुःखले कक्षा १२ देखि स्नातकसम्मको शिक्षा हासिल गरेका छन् । नेत्रकी पत्नी बिमला राजबंशी आफ्ना छोरीहरुलाई पार्टीको पहलमा राज्यले कुनै दीगो जीविकोपार्जन हुने जागिरमा लगाउन सहयोग पुर्याइदिए हुन्थ्यो भन्ने अपेक्षा राख्छिन् ।

‘हामीलाई खान चामल चाहियो, लगाउने लुगा चाहियो भनेर मागेका छैनौं,’ नेत्रपत्नी बिमला गुनासो सुनाउँदै भन्छिन्–‘भगवानले अहिलेसम्म खान र लाउन पुर्याएकै छन् । पढेका छोरीहरुले जागिर पाएनन् भन्ने टेन्सन लाग्छ । कुनै ठूलो बिरामी परियो भने उपचार गर्न नसकेर मरिन्छ होला भन्ने डर लाग्छ । सहिद परिवार सम्झेर नेताहरु घरमा आइरहनु हुन्छ । सम्मानसाथ मज्जाले बोलिदिनु हुन्छ । ठिकै छ ।’

झापा विद्रोहका सहिद परिवारले प्रजातन्त्र वहाली हुनुभन्दा अघिसम्म राजनीतिक रुपमा सास्तीका ठूला कष्ट व्यहोर्नु परेको थियो । पञ्चायती शासकहरुले विद्रोही नेताहरुलाई आतंककारीको रुपमा दुष्प्रचार गरेका थिए । सहिद परिवारलाई सामाजिक सहयोग पुर्याउनेहरु पञ्चहरुको कोपभाजनमा पर्थे । सहिद बीरेनका जेठा छोरा नेत्रको नागरिकता प्रमाणपत्र बनाउँदा ‘बाउ जस्तै बन्छस् कि’ भन्दै प्रधानपञ्चले सिफारिस दिन समेत आनाकानी गरेका थिए ।

‘मर्छु तर झुक्दिन’ भन्थे रामनाथ

२०२९ फागुनको २४ गते बुधवार । तेह्रथुम आठराईको होडा गाउँमा मकै छर्न बारीमा डल्ला फोर्ने बेला भएको थियो । डाँडापाखा सुख्खा थिए । चहकिला घामले दिउँसो हपहपी गर्मी हुन्थ्यो । रुखहरूका पहेँला पात हुर्हुरे बतासको झोँकमा फन्फनी घुम्दै झर्न थालेका थिए । तुँवालोले आकाश धुम्मिएझैँ थियो । 

जानुका दाहालको काखमा एक वर्षको छोरो र गर्भमा ५ महिनाको भ्रुण हुर्कदै थियो । मकैबारीमा मल पुर्याउन खेताला खटिएका थिए । १३ बर्षकी छोरी स्कुल पढ्न गएकी थिइन् । साना भाल्टाङभुल्टुङ तीन छोरीहरू खेल्न निस्केका थिए । खेतालालाई दिउँसोको खाजा पकाउने चटारोकै व्रmममा उनी छोरोलाई चोर औँलो समाउन लगाएर डोहोर्याउँदै पधेँराबाट गाग्रीमा पानी ओसार्दै थिइन् । 

‘ए दाजु पो आउनु भएछ’–घरमा गाग्री बिसाउन नभ्याउँदै जानुकाले माइतबाट दाजु देवीप्रसाद ओली आउनु भएको देखेपछि खुशी हुँदै बोलिन् । 

‘अँ आयौँ !’–दाजुले थोरै बोले । दाजुसँग अर्का दुई अपरिचित व्यक्ति पनि थिए । 

‘उहाँहरू चाहिँ ज्वाइँको साथी !’–अपरिचितको चिनजान गराउँदै उनका दाइले भने । साथी भन्ने बित्तिकै पतिका पार्टीका कार्यकर्ता भन्ने उनले बुझिहालिन् । यतिबेलासम्ममा जानुकाले गग्रेटोमा पानीको भारी विसाइसकेकी थिइन् ।

‘लाँ यो दही खाँ !’–माइतबाटै ल्याएको एक हर्पे दही थमाउन खोजेँ दाइले ।

माइतबाट ल्याएको दही खाउँखाउँ किन नलाग्नु र ! तैपनि काखमा लुटपुटिरहेको छोरो र छोरीहरूलाई पहिला खुवाउन पाए हुन्थ्यो भन्ने मातृस्नेह पलायो उनमा ।

‘पहिला भाञ्जा–भाञ्जीलाई खुवाउनु न, अनि म खाउँला !’–जानुकाले भनिन् । तर दाजुले ‘यिनेरलाई पछि खुवाउला, त पहिले खाँ न’ भन्दै जिद्धी गरिरहेँ ।

त्यसबेला झस्किइन् जानुका । दाजु र उनीसँगै आएका अपरिचितको अनुहार पढ्न्–िअँध्यारो देखिन् । उनलाई ३ महिना अघि मधेश फिरेका पति रामनाथ दाहालले बिदावारीका बेला भनेको सम्झना आयो– ‘मैले जनसङ्ग्राममा जानै पर्छ, तिमीले पीर नमान्नु । म मारिन पनि सक्छु । नरुनु, आँट र हिम्मत गरी साहस बटुलेर गरिखानु !’

अनि जानुकाको मुखबाट अचानकै फुत्कियो–‘के खबर लिएर आउनु भयो दाजु ? ज्वाइँलाई मारे कि क्या हो ?’ उनका आँखा दाजुतिर एकोहोरिए ।

‘जे नहुनु भैगयो’, उनका दाजुले जानुकालाई सम्झाउँदै कुरो खोले– ‘अस्ति (फागुन २१ गते) ज्वाइँलाई गोली हानेर मारेछन् ।’

दाजुका यी कुराले उनलाई भाउन्न भयो । अँध्यारो भयो संसार । अगाडि केही देखिएन, आफ्ना पति रामनाथ दाहालको अनुहार बाहेक । भक्कानो फुट्यो । रोइन् बेस्सरी । सम्झाउने कोशिस निरर्थक थियो, किनकि जानुकाको सिन्दुर पुछिएको थियो । जीवनसाथी सँधैका लागि धरतीबाट विदा भएका थिए । केहीबेरमा भेला भएका गाउँलेले जानुकालाई चुरा फुटाउन र सिन्दुर पुछ्न लगाएका थिए ।

झापा विद्रोहका सेनापति झैँ भूमिकामा रहेका क्रान्तिकारी नेता रामनाथ दाहालले सुखानीमा २०२९ साल फागुन २१ गते आइतवार सहादत प्राप्त गरेको खबर उनकी जेठी पत्नी जानुका दाहालले यसरी तीन दिन पछि पहाडको घरमा पाएकी थिइन् । 

त्यसबेला अहिलेको जस्तो यातायात र फोनको सुविधा थिएन । चिठ्ठी पनि महिनौँपछि मात्र गन्तव्यमा पुग्थ्यो । तैपनि पञ्चायती शासनविरुद्ध जेहाद छेडेका क्रान्तिकारीहरूसँग सञ्चारको आफ्नै भूमिगत नेटवर्क थियो । विश्वासिला कार्यकर्ताले हप्तौ हिँडेर पनि पार्टीका सन्देश सरकारी सुराकी र प्रशासनको आँखा छलेर टुङ्गोमा सुरक्षित पुर्याउँथे ।

झापा विद्रोहका नायक रामनाथका दुई परिवार थिए । कान्छी विशेश्वरा मधेश झापातिरै बस्थिन् । जेठी जानुका छोराछोरी हुर्काउँदै र सासु–ससुरा पाल्दै पहाडको घर सम्हाल्थिन् । विशेश्वरा चाहिँ रामनाथसँगै पार्टीको काममा हिड्थिन् । रामनाथको हत्या भएको खबर पार्टीको च्यानलबाट जानुकाको माइतीमा पहिला पुर्याइएको थियो । माइतीबाट दाजुले जानुकालाई सुनाएका थिए । जानुकाले पहाडमै पतिको काजकिरिया पूरा गरेकी थिइन् ।

हाल ८४ वर्ष पुगिसकेकी जानुका दाहाल झापाको विर्तामोड–३ लालभित्तीमा छोरी सुशिलासँग बस्दै आएकी छन् भने विशेश्वरा दाहाल काठमाडौंमा छोरो प्रविण दाहालसँग बसेकी छन् । जानुकाको ३ कठ्ठा र विशेश्वराको झापामा केही बिगाहा खेती छ । पचासौं बिगाहा जग्गा पुख्र्यौली सम्पत्ति भएका रामनाथ दाहालको सबै सम्पत्ति उनको हत्यापश्चात सरकारले सर्वस्वहरण गरेको थियो । 

रामनाथका पत्नीमध्ये जानुकाको कोखबाट भुपेन्द्र (विर्तामोड–२) र दिपेन्द्र (दुर्घटनामा मृत्यु)को जन्म भएको थियो भने चार छोरीहरु शान्तादेवी पौडेल (विर्तामोड–२), मञ्जु प्रसाई (कनकाई), शोभा बिमली (विर्तामोड–२) र शुशिला दाहाल (विर्तामोड–२)को जन्म भएको थियो । विशेश्वराको कोखबाट दुई छोरा भुवन दाहाल (हाल अस्ट्रेलिया) र प्रविण दाहाल (काठमाडौं)को जन्म भएको थियो । 

सुखानीमा सहादत प्राप्त गरेकामध्ये रामनाथको भूमिका अभिभावकीय थियो । नेत्र बौद्धिक र बीरेन तार्किक थिए भने कृष्ण र नारायण लडाकु स्वाभावका विद्यार्थी थिए । रामनाथको हत्या भएपछि उनका परिवारले प्रहरी प्रशासनको दमनदेखि आर्थिक रुपमा ठूलो सकस व्यहोर्नु पर्यो । तैपनि जानुका र विशेश्वराले छोराछोरी सबैलाई एसएलसीभन्दा उच्च तहको शिक्षा दिलाए । 

प्रजातन्त्र बहालीपछि रामानाथकी पत्नी विशेश्वरा दाहाललाई नेकपा एमालेले राष्ट्रिय सभाको सदस्य निर्वाचित गर्यो भने माइली छोरी मञ्जु प्रसाई २०७४ सालको स्थानीय तहको चुनावमा नेकपा एमालेको तर्फबाट कनकाई नगरपालिकाको उपप्रमुख निर्वाचित भइन् । रामनाथकी जेठी छोरी शान्तादेवीको छोरा किशोर पौडेल हाल विर्तामोड नगरपालिका वडा नं. २ को वडा अध्यक्ष छन् । उनी पनि नेकपा एमालेकै तर्फबाट निर्वाचित भएका हुन् ।

रामनाथको घर झापा विद्रोहका नेता तथा कार्यकर्ताहरुको बलियो किल्ला थियो । घरमा दुश्मनले आउने आँट नगरुन् भनेर उनले वरिपरि सन्थालहरुको ठूलो बस्ती बसाएका थिए । सन्थालहरुलाई समेत राजनीतिक रुपमा प्रशिक्षित गरिएको थियो । रामनाथको सुरक्षाका लागि सन्थालहरुलाई धनुकाणसहित कुनै पनि लडाइँको मोर्चामा होमिन हरपल तयार राखिएको हुन्थ्यो । उनी गरीव, आदिवासी, जनजाति र किसानहरुलाई असाध्य माया र सहयोग गर्थे । यही घरमा बसेर केपी ओलीले घैलाडुब्बास्थित आदर्श माध्यमिक विद्यालयमा अध्ययन गरेका थिए । रामनाथ दाहाल केपी ओलीका राजनीतिक गुरु थिए । जानुका आफ्ना पतिले बाँचुञ्जेल गरीव र दुःखीकै हितका लागि सङ्घर्ष गरेको बताउँछिन् । ‘परिवार भनेर स्वार्थ कहिल्यै राख्नुहुन्न थियो’, सहिद रामनाथलाई सम्झिदै जानुका भन्छिन्– ‘म मर्छु, तर शोषक र सामन्तीसँग झुक्दिन भन्नु हुन्थ्यो । आखिर त्यस्तै भयो । दुश्मनको तातो गोली खान तयार हुनुभयो । पञ्चायती शासकसँग झुक्नु भएन ।’

पहाड र मधेसमा रहेका दुबै परिवारलाई उत्तिकै हेरचाह गर्दै आएका रामनाथ पार्टीको जिम्मेवारीकै सिलसिलामा २०२९ सालको मङ्सिरमा आठराई पुगेका थिए । त्यसबेला घरमा गर्भवती अवस्थामा रहेकी पत्नी जानुकालाई उनले निकै हेरचाह गरेको र आमावुवालाई समेत ‘जानुकाको निकै ख्याल राख्नु है’ भन्दै अनुरोध गरेका थिए । सुखानीमा सहादत हुनुभन्दा तीन महिना अघि आठराईमै रहेका रामनाथलाई ‘जरुरी काम परेको’ भन्दै झापाबाट केही कम्युनिस्ट कार्यकर्ता बोलाउन घरै पुगेका थिए । त्यसबेला झापा विद्रोह उत्कर्षमा थियो । पञ्चायती प्रशासनले चरम दमनको नीति अपनाएर धरपकड मात्र होइन, जहाँ भेट्यो त्यही गोली हानेर मार्ने ‘सुट एन्ड साइट’को नीति लागू गरेको थियो । झापामा भइरहेको चर्को दमन छल्दै रामनाथ गर्भवती पत्नी भेट्न पहाड पुगेका थिए । तर राजनीतिक कामले उनलाई लामो समय जानुकासँग बस्न समय मिलेन ।

‘हामी सबै घरमै थियौँ । उहाँका केही साथी आएर तपाई नगई नहुने भयो भने’, सुखानी घटनाको तीन महिना अघि पति रामनाथसँग भएका अन्तिम कुराकानीहरू सम्झिदै जानुका भन्छिन्–‘मैले जनसङ्ग्राममा जानै पर्छ, तिमीले पीर नमान्नु । म मारिन पनि सक्छु । नरुनु, आँट र हिम्मत गरी साहस बटुलेर गरिखानु भन्नु भएको थियो ।’ सँधै राजनीतिक काममा बाहिर हिँडिरहने पतिलाई नजानु भन्न पनि सकिनन् उनले । पतिले लगाउने गरेका सबै लुगा मैलाधैला नै थिए । घरमा साबुन थिएन । माइती घरबाट साबुन ल्याएर पतिका सबै लुगा धोएर सफा बनाइदिइन् । त्यसपछि रामनाथ तिनै मार्मिक सन्देश छाडेर घरबाट विदावारी भएका थिए । पतिसँगको त्यही भेट र कुराकानी नै जानुकाका लागि अन्तिम बन्यो ।

जानुकाले राहत स्वरुप दिएको ५० हजार रुपैयाँ भन्दा बाहेक आफूले पार्टीबाट कुनै पनि सहयोग नपाएको बताइन् । सहिदका नाम भजाएर राजनीति गर्नेले विभिन्न फाइदा लिएको जनाउँदै त्यस्ता व्यक्तिहरूका कारण वास्तविक सहीद परिवार मर्कामा परेको उनको गुनासो छ । रामनाथका छोरीहरुले माध्यमिक तहसम्मको अध्ययन पूरा गरेपछि जीविकाका लागि अनेक संघर्ष व्यहोर्नु पर्यो । शान्ता र शुशिलाले १५–१५ वर्षसम्म इजरायलमा रोजगारी गरे । छोराछोरी पढाउन लागेको ऋण तिर्नका लागि विदेशमा रोजगारीका लागि जानुपरेको शान्ता बताउँछिन् । साहित्य र कलामा अभिरुचि राख्ने शान्ताले विगत चार वर्षदेखि नौमति बाजा बजाउने महिला टोलीको नेतृत्व गर्दै आएकी छन् । ‘राजनीतिले चिनिएकै छौं, अब कलाले पनि चिनिन चाहन्छौं,’ शान्ता भन्छिन्–‘महिलालाई विभेद गर्ने र कमजोर आँक्ने हाम्रो समाजमा विभेदलाई चिर्नका लागि दमाई बाजा भनेर हेला गरिएको नौमति बाजा बजाइरहेका छौं । ब्यान्ड बाजा पनि सिकेर बजाउने सोचमा छौं ।’

जानुका बस्दै आएको छोरी सुशिलाको घर छेउमै रामनाथ दाहालले बनाएको पुरानो काठे घर छ । त्यसलाई सङ्ग्रहालय बनाउन पार्टीले पहल गरिदिए हुन्थ्यो भन्ने जानुकाको आग्रह छ । रामनाथलाई त्यही घरबाट प्रहरीले अन्तिमपटक पव्रmेर लगेको थियो ।

प्रसवका बेला जीवनलाई पतिशोक

२००५ सालमा पाँचथरको हाङपाङमा वुवा रामचन्द्र र आमा पवित्रादेवी घिमिरेको साइलो छोराको रुपमा जन्मेका नेत्र घिमिरे झापा बिद्रोहमा लाग्नु अघि गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयको प्रधानाध्यापक थिए । तलब जति गरीव दुःखीलाई बाँडेरै सिध्याउने उनको परिवार आर्थिक रुपमा सम्पन्न थियो । उनका बुवा रामचन्द्र घिमिरेको चालीस बिगाहाभन्दा बढी मधेशको खेतीयोग्य जग्गा थियो । प्रशस्त कामदार थिए । २०२६ फागुन १६ गते उप्रेती परिवारकी कन्या जीवन उप्रेतीसँग उनको मागी बिहे भएको थियो ।

२०२८ जेठमा घर छाडेर भूमिगत भएका नेत्र २०२९ पुस १३ गते गरामनीमा पक्राउ परे । पक्राउ परेर दुई महिनाभन्दा बढी हिरासतमा चरम यातनासहित राखेपछि उनलाई चन्द्रगढी कारागारमा सारिएको थियो । कारागारमा राखेको केही अवधिमै इलामको जेलमा सार्ने निहुँमा नेत्रसहित पाँच योद्धालाई प्रहरीले सुखानीमा लगेर गोली हानी हत्या गरेको थियो । मार्ने योजनाका साथ प्रहरीले फागुन २१ गते दिउँसो बिरिङको बगरदेखि हतकडीसहित हिँडाउँदै, कुट्दै, घिसार्दै पाँचै जनालाई ज्यामद्वार भनिने सुखानीको जंगलमा लगेको थियो । चन्द्रगढीबाट भने गाडीमा लगेको थियो ।

नेत्रको बलिदानको खबर उनकी जीवन संगीनी जीवन घिमिरेले भोलिपल्ट फागुन २२ गते राति ११ बजेपछि मात्र पाएकी थिइन् । नेत्रका बुवा रामचन्द्र घिमिरेलाई फागुन २२ गते विहान घरमै आएर पुलिसले लिएर गएको थियो । पुलिसले ‘सुखानीको जंगलमा भागेकाले पक्रिन गोली हान्दा मरे’ भन्ने कागजमा जबर्जस्ती सहीछाप गर्न लगाएर नेत्रका बुवालाई राति छाडिदियो । यो खबर नेत्रका बुवाले जीवन घिमिरेलाई ११ बजेपछि घर आएर सुनाएका थिए । आफ्ना पति नेत्र घिमिरेको मृत्युको खबर सुनेको क्षण जीवन घिमिरे प्रसव पीडामा छटपटाइरहेकी थिइन् । एकातिर प्रसव व्यथा र अर्कातिर पतिको मृत्युको खबरले पुर्याएको शोकको झट्का खपिनसक्नु थियो । जीवन रोइन्, चिच्याइन् र राति नै केहीबेरमा कान्छी छोरी कल्पनाको जन्म भयो ।

सहिद नेत्रका दुई छोरीहरु दिब्या र कल्पना छन् । जेठी छोरी दिब्या काखमै छँदा नेत्र घर छाडेर भूमिगत भएका थिए । २०२८ जेठको आँप पाक्ने महिना थियो । नेत्रले पत्नी जीवन र काखकी छोरी दिब्यालाई लिएर बिर्ताबजार लिएर गए । पत्नी र छोरीलाई रमाइलो कुराकानी गर्दै बजारमा मीठा मीठा आँप किनेर नेत्रले ख्वाए । त्यसपछि लुसुक्क हिँडेका नेत्र घर फर्किएनन्, एकैचोटी गरामनीमा पक्राउ परे । 

चन्द्रगढीमा जिल्ला प्रहरी कार्यालयलाई उसबेला बोलीचालीमा एसपी कार्यालय भन्ने गरिन्थ्यो । पक्राउ परेको चौथो दिन मह, घिउ, चिउरा र पैसा लिएर हिरासतमै नेत्रलाई भेट्न गएकी थिइन् जीवन । तीन दिनदेखि केही नखाएका नेत्रले गहिरो भोक मेट्नेगरी उक्त दिन जीवनले ल्याएको खाना खाएका थिए । पुलिसहरुले जीवनलाई ‘भोज खुवाउन आएकी ?’ भन्दै हप्काएका थिए । हत्या गर्नुभन्दा सात दिन अघि मात्र उनलाई हिरासतबाट जेलमा सारिएको थियो । जेलमा सारिएको दिन स्वस्थानीको प्रसाद बोकेर जेलमा पुग्दा पुलिसहरुले जीवनलाई नेत्रसँग भेट्न दिएनन् । नेत्रका साथीहरुले प्रसाद लिएर जेलभित्र लगेका थिए । ‘प्रसाद खाएपछि छिटै छुट्छौं होला’ भन्दै नेत्रले स्वस्थानीको प्रसाद जेलका साथीहरुसँग बाँडीचुँडी खाएका थिए । त्यसबेला जीवनको गर्भमा कान्छी छोरी कल्पना हुर्किरहेकी थिइन् । गर्भवती पत्नीलाई भेट्न नपाएपछि नेत्रले ‘तिमीलाई सञ्चो छैन, अबदेखि नआउनु’ भनेर जेल बाहिर कुरिरहेकी जीवनलाई खबर पठाएका थिए । नभन्दै त्यसको सात दिनमा सुखानीमा नेत्रसहित पाँच बन्दीको हत्या भयो ।

जीवनको माइती हुनेखाने परिवारकै थिए । उन्नाइस बर्षकै उमेरमा सिन्दुर पुछिएपछि दुई छोरीलाई हुर्काउन र पढाउन जीवनले माइतीको सहारा लिनुपर्यो । बुधवारमा माइतीको संरक्षणमा सानो होटल चलाउन थालिन् । ठूली छोरी दिब्याले गरामनीमा र कान्छी कल्पनाले बुधबारेमा मामलमा बसेर पढ्न थाले । त्यसपछि सगरमाथा बोर्डिङ स्कुलमा छोरीहरुलाई पढाउन जीवनले विर्तामोडमा ‘सम्झना होटल’ चलाइन् । नौ वर्षसम्म होटल व्यवसाय गरेर छोरीलाई स्नातक तहको शिक्षा दिलाइन् उनले । 

सहिद नेत्रका जेठी छोरी दिब्या दाहालको हाल काठमाडौंको कागेश्वरी मनोहरा–८ मा ‘गोठाटार इङ्लिश सेकेन्डरी स्कुल’ छ । ७१ वर्षको पाको उमेरमा जीवन घिमिरे छोरी दिब्या र ज्वाई नारायण दाहालसँगै बसेकी छन् । कान्छी छोरी कल्पना उप्रेतीको घर काठमाडौंकै बसुन्धरामा छ । टोखा–५ की नगर सदस्य निर्वाचित भइसकेकी कल्पना र ज्वाई ज्ञानी उप्रेतीले पनि आमाको उत्तिकै हेरचाह गर्दै आएका छन् । त्यसो त प्रजातन्त्र बहालीपछि सहिद परिवारलाई बसोबासका लागि भन्दै सरकारले काठमाडौंको चाहबिलमा जीवनलाई चार आना जग्गा उपलब्ध गराएको थियो । त्यहाँको घरमा एक्लै बस्न असहज भएपछि उनी छोरीको घरमा बस्न थालेकी हुन् ।

नेकपा एकीकृत समाजबादीकी केन्द्रीय सदस्य रहेकी जीवन घिमिरे २०४६ सालको जनान्दोलनमा सहभागी हुँदा एक महिना जेल परेकी थिइन् । दोस्रो संविधानसभा निर्वाचनमा नेकपा एमालेको समानुपातिक सिटबाट सदस्यमा निर्वाचित उनी २०६२ सालको दोस्रो जनान्दोलनमा पक्राउ परेकी थिइन् । सहिद नेत्रका माइला दाजु धर्म घिमिरे पहिलो संविधानसभामा झापा–१ बाट नेकपा माओबादीको उम्मेद्वार बनेर निर्वाचित भएका थिए भने काइँलो भाइ देवीप्रसाद घिमिरे नेकपा एमालेबाट गरामनी गाविसको तत्कालीन अध्यक्ष निर्वाचित हुनुभएको थियो । कान्छो भाइ नरेन्द्र घिमिरे राजनीतिक उच्च ओहोदामा जानु भएन । जेठो दाजु श्रीकृष्ण घिमिरेको अविवाहित उमेरमै निधन भएको थियो ।

यतिबेला जीवन घिमिरेले महिनाको रु. १५ हजारसम्मको नियमित औषधि खाइरहनु परेको छ । उच्च रक्तचाप र मधुमेहले च्याप्दै लगेको छ । अहिले पनि राजनीतिक विषयमा क्रान्तिकारी धारणा राख्ने उनी पार्टीले सहिदको त्याग र बलिदानलाई भुल्दै गएकोमा चिन्ता व्यक्त गर्छिन् । सहिद नेत्रको नाममा पैतृक अंश १५ बिगाहा र थप आवादी ५ बिगाहा सम्पत्ति थियो । उक्त जग्गा नेत्रको हत्यापछि सरकारले सर्वस्वहरण गरेको थियो । उक्त जग्गा जस्ताको तस्तै फिर्ता नगरेकोमा भने सरकार र पार्टीसँग उनको गुनासो छ ।

सत्र–अठारका थिए नारायण–कृष्ण

२०२९ फागुन २१ गते सुखानीमा हत्या हुँदा झापा विद्रोहका योद्धा नारायण श्रेष्ठ १७ वर्षका थिए । उनीसँगै मारिएका अर्का योद्धा कृष्ण कुइँकेल १८ वर्षका मात्र थिए । अविवाहित उमेरमै उनीहरु क्रान्तिमा बलिदान भएका थिए । सुखानीका पाँच सहिदमध्ये सबैभन्दा जेठा रामनाथ दाहाल ३४ वर्षका थिए । अर्का सहिद बीरेन राजबंशी ३१ वर्ष र नेत्र घिमिरे २५ वर्षका थिए । नारायण र कृष्ण बाहेक अरुको विवाह भएको थियो । अरुका सन्तान पनि थिए । 

नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष केशव आचार्य गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्दाको बिगत सुनाउँदै भन्छन्–‘नारायण श्रेष्ठ, कृष्ण कुइँकेल र म एउटै स्कुलमा पढ्थ्यौं । शिक्षक नेत्र घिमिरेको झ्याप्प दारी पालेको बलिष्ठ शरीर थियो । उहाँहरु राजनीतिक आन्दोलनमा भूमिगत रुपमा लाग्नु भएको रहेछ ।’ नारायण श्रेष्ठ र कृष्ण कुइँकेल दुबैको घर गरामनीमै थियो । शिक्षक नेत्र घिमिरेले नै उनीहरुको कलिलो मस्तिष्कमा राजनीतिक चेत भरेका थिए । झापा विद्रोहको तयारी हुँदै गर्दा तीनै जनाले विद्यालय छाडेर भूमिगत जीवन सुरु गरेका थिए ।

नारायण श्रेष्ठको परिवारमा एक जना दाजु ८१ वर्षीय कमलप्रसाद श्रेष्ठको हाल कचनकबल (तत्कालीन पथरिया–९) मा बसोबास छ । भाउजु रेखा श्रेष्ठ ७७ वर्षीया छन् । उनका दुई जना दिदीहरु चण्डिका श्रेष्ठ (हाल स्वर्गीय) र लक्ष्मी श्रेष्ठ (७० वर्षीया) छन् । चण्डिकाको घर काठमाडौंमा थियो भने माइली दिदी लक्ष्मीको घर हल्दिबारीमा छ । उनको एक बहिनी जीवन कार्की (६२ वर्षीया)को हाल अर्जुनधारा–८ शनिश्चरेमा बसोबास छ ।

सहिद नारायणकी कान्छी बहिनी जीवन कार्कीले आफ्ना दाजुको योगदानलाई पार्टीहरुले चुनाव र सहिद दिवसका दिन मात्र सम्झिने गरेको बताइन् । उनले गुनासो गर्दै भनिन्–‘केही वर्ष अघिसम्म कार्यक्रमहरुमा आइदिनु पर्यो भनेर गाडी पनि पठाउँथे, अचेल त्यो पनि बिर्सिए ।’ सहिद परिवारलाई भनेर सहयोग आएको थाहा नभएको उनले बताइन् ।

नारायणका एक मात्र दाजु कमलप्रसाद श्रेष्ठ र भाउजु रेखा श्रेष्ठ कचनकबलमा बुढ्यौली जीवन बिताइरहेका छन् । उनीहरुको जेठो छोरा प्रकाश श्रेष्ठको असामयिक निधन भयो । माइलो विकास श्रेष्ठ र कान्छो यज्ञमान श्रेष्ठ मूलघरमा बुवाआमासँगै बस्छन् । विकासले विर्तामोडको भद्रपुररोडमा चिया पसल सञ्चालन गर्दै आएका छन् ।

माइली बुहारी मीना श्रेष्ठका अनुसार कमलप्रसाद घरदेखि टाढा हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेका छन् । बिर्सिने बिमार छ । प्रेसरको औषधि नियमित सेवन गरिरहेका छन् । वृद्धावस्थाकी रेखा श्रेष्ठ मृगौला सम्बन्धी रोगी छन् । सुगर र प्रेसर दुबै बिमारले ग्रसित उनको नियमित डाइलासिस गर्नुपर्ने अवस्था छ ।

सहिद कृष्ण कुइँकेलको परिवार भन्नु नै उनका दाजुभाउजुहरु हुन् । वुवा डिल्लीप्रसाद र आमा गंगामायाको निधन भइसकेको छ । डिल्लीप्रसादका गंगामाया र जानुकादेवी गरी दुई पत्नी थिए । दुबैतिर गरी पाँच छोरा र दुई छोरी थिए । जसमध्ये सहिद कृष्ण माइलो छोरा थिए ।

पाँच दाजुभाइमध्ये कृष्णका जेठो दाजु मित्रप्रसाद कुइँकेलको निधन भइसकेको छ भने जेठी भाउजु ७० वर्षीया धनमाया कुइँकेल कान्छो छोरा नारायण कुइँकेलसँग विर्तामोड–८ गरामनीमा बस्छिन् । नारायण विर्तामोडको पाथिभरा स्टिल इन्डस्ट्रिजमा मार्केटिङको काम काम गर्छन् । गरामनीमा बस्नका लागि एक कठ्ठा घडेरी र एकतले पक्की घर छ । धनमाया बाथरोगको बिरामी छन् । मित्रप्रसादको जेठो छोरा तेजप्रसाद कुइँकेल रोजगारीको क्रममा भारतको जयगाउँमा छन् ।

कृष्णका साइलो भाइ ६५ वर्षीय चित्रप्रसाद कुइँकेल र बुहारी कृष्णमाया कुइँकेल मेचीनगरको चारआलीमा बसोबास गर्छन् । उनीहरु सानोतिनो व्यापार गरेर जीविका चलाउँछन् । चित्रप्रसादका एक छोरा नेत्र र एक छोरी कल्पना छन् । काइँलो भाइ सूर्यप्रसाद कुइँकेल र बुहारी कल्पना विर्तामोडको रामचोकमा बस्दै आएका छन् । कान्छा देबराज कुइँकेलको असामयिक निधन भएको थियो । सहिद कृष्ण कुइँकेल हुर्किएको मूलघरमा कान्छी बुहारी मेनुका कुइँकेलको परिवार बस्दै आएको छ ।

व्यवस्था फेरियो, अवस्था उस्तै

झापा विद्रोहको मूल ध्येय मुलुकमा राजनीतिक व्यवस्थासँगै जनताको अवस्था फेर्ने भन्ने थियो । कम्युनिस्ट विचारधारा बोकेका नवयुवाहरुले २०२८ देखि २०३२ सालसम्म हतियार उठाएर गरेको आन्दोलनलाई नै ‘झापा विद्रोह’ भनेर इतिहासमा चिनिन्छ । आन्दोलन क्रममा विद्रोहीतर्फ ७ जनाको राज्य पक्षबाट हत्या भएको थियो भने विद्रोहीबाट ९ जनाको हत्या भएको थियो । सयौं विद्रोहीलाई पक्राउ गरेर जेलनेल हालियो ।

भनिन्छ, राजनीति र प्रेम गर्नेहरुले जेलाई पनि जायज मान्छन् । तर झापा विद्रोहकालमा दुबै पक्षबाट भएका हत्या र हिंसाको श्रृंखलालाई उनीहरुले जायज ठहर्याउन प्रयत्न गरेका छन् । विद्रोहीहरुले हत्या गरेका व्यक्तिहरुलाई ‘सामन्ती वर्गशत्रु’को आरोप लगाएका थिए भने तत्कालीन पञ्चायती शासकहरुले विद्रोहीलाई ‘ब्यक्ति हत्या’ गर्ने ‘आतंककारी’को संज्ञा दिएका थिए । पक्षधरहरुले आफ्नो बचाउमा जे भन्ने गरे तापनि पछिल्ला खोज र अनुसन्धानले ती आरोपलाई सत्य ठहर्याउन सकेका छैनन् । विद्रोहीद्वारा वर्गशत्रु भनेर हत्या गरिएका व्यक्तिहरु निर्दोष र सर्वसाधारण समेत थिए भने सुखानी लगायतका स्थानमा राज्यले हत्या गरेका विद्रोहीहरु एउटा निश्चित राजनीतिक विचारबाट उत्प्रेरित भएर निरंकुश सत्ताको अन्त्य गरी आमूल परिवर्तनकारी नयाँ सत्ता ल्याउन क्रान्तिमा होमिएका योद्धा थिए भन्ने स्पष्ट छ ।

विद्रोहका क्रममा गरिएका हत्या क्रूर र विभत्स थिए । मानिसको विचारलाई परिवर्तन गर्नुको साटो व्यक्तिको हत्यामा उद्यत हुनु भयानक गल्ती थियो । त्यसैगरी, राज्यले पक्राउ गरेर अदालतको कठघरामा उभ्याइसकेका विद्रोहीहरुलाई जेल सार्ने निहुँमा सुखानीको जंगलमा लगेर ताकी ताकी गोली हानेर मार्नु पनि क्रूर र विभत्स घटना नै थियो । राज्य आफै हत्यामा उत्रिने कार्य झन् भयानक राज्यआतंक थियो । तसर्थ, आफ्ना तर्फबाट भएका हिंसा गलत नै थिए भन्ने यथार्थलाई स्वयम् झापा विद्रोहका जीवित योद्धाहरुले वैयक्तिक र संस्थागत रुपमा स्वीकारिसकेको पाइन्छ ।

झापा विद्रोह, जनान्दोलन, जनयुद्ध लगायतका शान्तिपूर्ण र सशस्त्र संघर्षको जगमा गणतन्त्र स्थापना भएपछि राज्यको व्यवस्था बदलिएको छ । तर, चरित्रमा भने आमूल फेरबदल हुन सकेको छैन । सहिदले देखेको अवस्था परिवर्तनको सपना अझै साकार हुनसकेको छैन । रामचन्द्र भट्टराईको रचना, वीरध्वज शिवाको संगीत र जेबी टुहुरेको स्वरमा सजिएको ‘सुखानीको रगतले भन्छ हामीलाई..’ बोलको जनबादी गीतमा भनिएझै अझै पनि मुलुकलाई नेताहरुले सही बाटोमा हिँडाउन सकिरहेका छैनन् । 

गीत यसो भन्छ–

सुखानीको रगतले भन्छ हामीलाई,

सहिदको रगतले भन्छ हामीलाई,

सही बाटो हिँड्दै छौ कि भुल्यौं दाजुभाइ ?

अझै पनि हिमचुलीमा घामको लाली छाएन कि !

नेपालीको जीवनमा हरियाली आएन कि !

(सुखानी सन्देश साप्ताहिकले २०८० फागुन २१ गते प्रकाशित गरेको विशेषाङ्कबाट साभार ।)


लेखकको बारेमा
Image
मोहन काजी
(विगत तीन दशकदेखि पत्रकारितामा निरन्तर क्रियाशील हुनुहुन्छ ।)