आफैले लेख्दा निक्कै तौलिएर सन्तुलित भएर लेख्नुपर्ने हुँदोरहेछ । त्यहि भएर होला मलाई अरु कसैले लेखेको पढ्न मनलाग्ने गर्छ । तर अरु कसैले लेखेको पढ्दा लेखक पनि त सन्तुलित हुँदा हुन, केही घेरामा बाँधिएरै लेखिरहेका हुन्छन् होला । अरुले भनेका आफुले सुनेका कुरा लेख्दा गलत लेखिने वा देखिने हुने भएर होला जहिले पनि मलाई आफैंले देखेका, भोगेका अनुभवमा आफ्नो बुझाई लेख्न मनलाग्छ ।
र्यापर यामा बुध्दको ‘प्रसङ्ग’ गीत सुरु हुँदा यो कथा धेरै अघिको हो भनी गाएको सुनेको छु तर यो कथा धेरै अघिको चाँहि होइन । लकडाउन पश्चात मैले छुटाएको एउटा काम थियो जसलाई फत्ते गर्ने सोचले म नेपालको राजधानीतर्फ जाने भएँ । गाडी नम्बर नलेखिएको टिकट पाएँ जसमा टिकट दर, गाडी कुर्ने स्थान, प्रस्थान समय, जाने स्थान र प्रस्थान बिन्दु स्पष्ट लेखिएको थियो । टिकटमा उपलब्ध भएसम्मको जानकारी लिएर म तोकिएको समय र स्थानमा पुगेँ । टिकट दिने र गाडी चलाउने व्यक्तिहरु फरक हुनु भएर होला गाडी केही समय ढिला आउने जानकारी पाएँ । आकाश खस्छ र थाम्छु भनेर उत्तानो परि खोला बगरमा पल्टिने हुटिट्याँउ चरा त होइन म तर यतिकै बस्ने कुरा पनि भएन ।
केही चाँहि सिकौं भन्ने सधैझैको हुट्हुटिले मलाई बिहान आवाज सुनेको तर भित्रै छिरेर अनुभव नगरेकोले अजानमा सरिक हुन मस्जिद पुगेँ । मुत्रबिसर्जन पश्चात केटाले स्तन पखालेर र कुइनोदेखि तल पखालेर मात्र अजानमा सरिक हुनुपर्ने नियम थाहा पाएँ । हिन्दु परिवारमा जन्माइएको मलाई ३३ कोटी देवीदेउताको आशिर्वाद त सधै हुनुपर्ने नै हो, अल्लाहको पनि त चाइयो । व्यापक धार्मिक देखिन हिन्दु हुँ भन्नेहरुले सधै दुषित भावना पाल्दै हेयको दृष्टि राख्ने मुसलमान बुवा–दाजु–भाई र मौलाना साहेवको आत्मीय व्यवहारले म जन्मिदैको हिन्दु केटो लज्जित महसुस गर्दै थिएँ । अजान पश्चात सबैले एकअर्कासँग हात मिलाएर बिदा हुने प्रकृया समेत मेरो लागि पाठ भयो । मस्जिद जाँदा मदर्सा हुँदै गएको थिए जहाँ कुरान पढाई हुन्छ रे भन्ने सुनेको थिएँ ।
कक्षाकोठा बाहिरैबाट हेर्दा हरेक टेबलमुनि पुस्तक–कापी–कलम देखेर किन घर नलैजाने गरेको भनी सोध्दा नियम हो भनेर बताउनु हुथ्यो । कस्तो नियम हो यो भनेर सोध्न मन हुदाँहुदै पनि ठिकै छ त भनि रोकिँए । पहिलो दिन म सिक्न, बुझ्न र हेर्न गएको थिएँ । अजानमा सरिक हुन नपाए पनि अर्को पटक के कसरी त्यहाँ पुग्ने भन्ने सिकेर फर्किएँ । यी अनुभव सुनाउँदै गर्दा मलाई साथीले प्रश्न गरिन, केटा त अजानमा आउने रहेछन् । केटीले चाँहि के गर्नुपर्ने ? लौ तनाब !! केटा मात्रै देखेको त मैले थियो तर यो प्रश्न चाँहि किन आएन मलाइ ? अर्को पटक अवश्य सोध्छु भनेर उनलाई मैले मनाएँ, आफुलाई जति नै महिलावादी पुरुष सम्झिए पनि यो प्रश्न त मलाई महिलाले नै सम्झाइन् । त्यहि भएर होला पीडाको कुरा अरुले जति गरे पनि भावना पीडितले नै बोकेको हुन्छ र बोल्नु पीडितले नै पर्छ ।
गाडी आउने स्थान जाँदै गर्दा बाटोमा राजबंशी आमाले बनाउनु भएको पातमा दिइएको भक्का खाएँ । केही छिन कुरा गरें, अनि लागें आफ्नो बाटो । चिया पिउन पसल छिरेको मैले पैसा बुझाउने बेला काउन्टरमा रहेको बिद्यालय तहको सामाजिक बिषयको पुस्तक देखेँ, कसको हो, कुन स्कुलको भनी प्रश्न गरे, उतरमा अमुक सामुदायिक बिध्यालयको हो भन्ने त पाएँ । तर सँगै जहाँको भए पनि किनेकै हो भनी एकखालको झर्को पनि व्यक्त भएको महसुस गरे । बिद्यालयको नाम उल्लेख गर्न त सक्छु तर देशव्यापी अभिवावक सहयोग भन्दै चन्दा उठाएरै भए पनि बिद्यालय धानेको कुरा नकार्न पनि त सकिदैन । खानेपानी र बिद्युत महसुलमा मात्र पनि सहुलियत, छुट वा मिनाहा हुने भए समुदायिक बिद्यालयको खर्च धेरै कम हुने थियो कि ?
गाडी आयो मैले चिनिन । गाडी नम्बर थिएन तर गाडीमा होइन है, मेरो टिकटमा चाँहि थिएन । सबैजना चढ्नुभयो, अघिल्लो दिन टिकट दिने दाजुले यहि हो गाडी भनेपछि ‘साकिरा हायस’ को टिकट भएको म, ओम साइराम लेखिएको गाडीमा चढें । गाडीको नाम त मिलेन तर सिट नम्बर चाँहि ठिक रहेछ है । यात्रा सुरु भयो गाडीमा सँगै यात्रा गर्नु हुने जतिसँग मेरो कुरा भयो सबै–सबैसँग केही न केही भने सिकिरहेकै थिएँ । ईटहरी–कटारी हुँदै बि.पि. राजमार्ग जोडिने भिमानबाट धुलिखेल हुदैँ काठमाडौँ जाने रहेछौं हामी ।
चताराको कोशी पुल कटेर केहि अघि कटारी पुग्नै लाग्दा ट्राफिक प्रहरीको चेकिङमा गाडीको चालक गुरुजीले जरिवाना काटेर पो आउनु भयो । अरे यार, बिर्तामोडमा बसपार्कसँग सम्बन्धित खै के मा पैसा नदिनु भएको उहाँले ट्राफिकलाई जरिवाना सहजै तिरेको देख्दा मनमा प्रश्न उब्जियो । मैले सोधे के को जरिवाना हो दाजु ? उत्तर झन मज्जाको थियो, ‘यो रुट खुलिसकेको छैन कि भाई अनि पैसा तिर्नुपर्छ हौ ।’ लौ अच्चम !! हैन इटहमै नरोकेर यहाँ माथि आईसके पछि पैसा तिर्नु पर्ने ? उतै चाँहि किन त्यताबाट नजानु नभनेको ? दाईको उत्तर थियो त्यो हाईवे बनिदै छ कि अनि बाटो अफ्ठ्यारो छ ढिलो हुन्छ। ओके छ त दाजु ! छिटो पनि जानु छ अनि राम्रो बाटो पनि, रुट खुलेकै रहेनछ हिड्न सजिलो भएर त्यतैबाट लानुछ के गर्नु र मैले हजुर ? तिरौँ–तिरौँ आखिर सरकारले छापेको पैसा उतै त जाँदै छ । जरिवाना पनि समावेश भएको टिकट दर होला नि त, त्यो नभए थोरै दर कम त हुन्थियो कि जे होस् थोपा थोपा मिलेर समुन्द्र बन्छ रे सरकारको जय होस् ।
गौशालामा ओर्लिएँ अनि शिवजी भेट्न पशुपतिनाथ गएको वहाँ त भेट हुनु भएन । तर रोचक घटनाहरु चाँहि भए । सुरुमा एकजना अघोरि बाबासँग भेटे केही प्रश्न गरे उत्तर सुने । ‘ब्यग्र बेदनाथ’ भनेर चिनिनु हुने गुरुको केही अन्तर्वार्ता सुनेको थिए । उहाँलाई भेट्छु भनेर गोरक्षनाथको आश्रम गएँ, खप्टड कि कता हो जानु भएको रहेछ उहाँसँग भेट भएन । उहाँको समेत गुरु हुनुदोरहेछ तर अर्कै गुरुले उहाँलाई यसो फुकफाक गर्दै गरेको दृश्य देखेर धैर्यता नराख्ने म त्यँहा पनि गुरुहरुलाई अन्ठसन्ठ लाग्ने प्रश्न गर्न थाले । सुन्नु हुन्छ तर आँखा जुधाएर उत्तर भने नदिएपछि मलाई फेरि औडाहा हुनथाल्यो । भग्वान हुन्छन् र ?, खै शिव ? यस्तै यस्तै सोधिरहे उहाँ आफ्नै काम गरिरहँदै सुनिरहनु भयो तर केही बोल्नुहुन्न ।
म झन फुर्किएर Sacred Games भन्ने हिन्दि सिरिजमा नवाजुद्दीन सिद्दीकीले भन्ने डाईलग “कभि कभि लग्ता हे आपुनिच भगवान हे’ वाला फिलिङ्समा आएर अहिले सम्म खै कोहि म भगवान हो भनेर आएको छैनन् त्यहि भएर गुरु, मै हो शिव भन्दिए । गुरु बिस्तारै उठेर केही नबोलि जानुभयो, त्यसपछिको दृश्य हेर्न मन थिएन होला गुरुलाई । भित्रबाट करिब ५–६ जना दाजुहरु आएर मेरो गालामा हातले र शरिरमा दाउराले बाहिरको लुगा खोल्न लाएर १८ पुराणको एकमुष्ट यो उमेरसम्म नभेटेको भौतिक कार्वाहिवाला शिक्षा दिएर, यो केही चाँहि खाएर आको छ भाग यहाँबाट भन्दै ज्ञान सहित बिदा दिनुभयो ।
फर्किएर सुरुमा भेटेको अघोरि बाबासँगै सुत्नुपर्यो भनेर गएको उनका द्वारपालले तँ को होस यति बेला यहाँ किन डुलिरहेको छस् ? पाकेटमार जस्तो छस् भनेर ठुलो पछाडि बोक्ने झोलामा केही लुगा, किताब र अलिअलि पैसा बोकेको मलाई पो ईटा टिपेर हान्न खोज्छन् यार, खोसेर हान्न नसक्ने होइन तर के लफडा गर्ने भनेर निस्किए । करिब ६ जना जतिको मलामी बनिसके पछि उज्यालो भयो । पाप गरेर धर्म कमाउन जाने ठाँउमा सुरुमै सफा मन लिएर गएको मेरो राम्रो स्वागत भयो ।
उज्यालो भयो, कोर्ष नसकि छोडेको कलेज गँए, छुटेका काम सक्काए लिनेदिने सक्काँए । नपढेको तर तिरिसकेको अन्तिम सेमेस्टरको शुल्क पाइन दुखमन छैन, “शिक्षामा लगानी सुरक्षित भबिष्यको सपनि” को मुलनारा बोकेर बिदा भए । काठमाडौँमा World Social Forum 2024 भब्य ढङ्गले सचांलन हुदैँथियो, साथी बिनयको स्वागत मन्तब्य रहेको एउटा सत्र ‘Education beyond Privatization हेर्न गएको मलाई त्यो त हेर्न जुरेन तर थुप्रै त्यस कार्यक्रमसँग सम्बन्धित Nepal Law Campus र Ratna Rajya Campus मा भएका अन्तराष्ट्रिय, राष्ट्रिय र स्थानिय सामाजिक, राजनितिक, साहित्यिक, वातावरणिय आदि आदि बिषयपरक सत्रहरुमा सहभागि भँए । राष्ट्रिय र अन्तराष्ट्रिय प्राज्ञिक व्यक्तिहरुका बिच सम्पन्न ज्ञानवर्दक सत्रहरुको साक्षि भए । छुटे होलान कति सन्दर्भहरु तर उपत्यका बाहिरबाट गई बसेका नेपालीले माया नगरेको राजधानी र उपत्यका भित्रै जन्मे हुर्केकाहरुले उपत्यका बाहिर नेपाल नमान्ने गरेको दृश्य र प्रसङ्गहरु थुप्रै थिए ।
फाल्गुन ०७ गते प्रजातन्त्र दिवस मनाएर काठमाडौँबाट व्यक्तिगत काममा पोखरा गएको त्यहाँ पुगेपछि थाहा भयो फाल्गुन ०८ गते साथीहरुको दिक्षान्त समारोह पो रहेछ । समारोहका आकर्षण, बिशिष्ट अतिथिहरुलाई उपकुलपति लगायत कर्मचारीहरुले महङ्गो देखिने फुलको बुके दिएर स्वागत गर्नुभएको थियो कि खै देखिन तर केहि फुलका बुकेहरु गेट छेउमा थुपारिएका थिए । दिक्षान्त समारोहमा साथीहरु आउदै छन् भन्ने थाहा पाएर फुलका बुकेहरु टिपे र गेटमा कुरेर बधाई दिदै शुभकामना दिए ।
अन्तिममा भुपि शेरचनले भन्नुभएको यो हल्लै हल्लाको देशमा बिभिन्न रुप, रङ, आकार र बिचार भएका मानव जातिहरु हुँदा रहेछन् । मैले देखेको राम्रो कसैको लागि नराम्रो हुनसक्ने रहेछ, मलाई लाग्ने नराम्रो कसैको लागि उत्कृष्ट हुनसक्ने रहेछ । सोचेको कति पुरा हुन्छ हुँदैन थाहा छैन तर सकरात्मक सोचका साथ कर्म गरिरहने हो भने निरन्तरको निस्वार्थ प्रयासले खुसी चाँहि भईन्छ होला, हुनै पर्छ । Bobby McFerrin को गितको पहिलो पदमा भने झै
“Here's a little song I wrote
You might want to sing it note for note
Don't worry, be happy
In every life we have some trouble
But when you worry, you make it double
Don't worry, be happy
Don't worry, be happy now”