पण्डितजीहरुले पुराणमा कहिँ कतै यस्ता कार्यक्रम हुँदैछन् भनेर बोलाएको छैन भनेर नबस्नुस्, जाने आउने गर्नुहोस् सुन्ने बुझ्ने र केही सिक्ने प्रयास गर्नुहोस् भन्ने गरेको सुनेको छु । मलाई सामाजिक, साहित्यिक या अन्य जुनै रचनात्मक कार्यक्रमहरुमा बोलाएको छैन भनेर यतिकै बस्न मन लाग्दैन । बाटो पर्दा कति ओटा नचिनेको बिहेहरुमा सामाजिक कार्य हो भनेर वरवधुलाई आशिर्वाद दिदै प्रीतिभोजमा समेत प्रिय ढङ्गले सहभागी हुने मेरो गज्जबको सोख छ ।
‘पर्यटनका लागि साहित्य’ नाराका साथ आयोजना भएको तेस्रो इलाम साहित्य महोत्सवमा सहभागी हुने अवसर मिल्यो । इलाम नगर साहित्य कला संगीत प्रतिष्ठान र इलाम साहित्य समाजको संयुक्त आयोजनामा सञ्चालन भएको साहित्य महोत्सवमा तालिका अनुसार २४ सत्रहरु थिए । एउटा सत्रबाट अर्को सत्रको बीचमा कवि र गजलकारहरुलाई आफ्नो प्रस्तुति राख्ने अवसर दिइएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले उद्घाटन मन्तव्य राख्नुभयो । महोत्सवको बिशेष अतिथिका रुपमा पूर्व प्रधानमन्त्री तथा विचारक डा. बाबुराम भट्टराई वक्ता रहनुभएको ‘सूत्रवार्ता : नेपालको संरचनात्मक संकट र दीगो समाधान’ बिषयकेन्द्रित मन्तव्य धेरै नै अर्थपूर्ण र बिशेष थियो ।
कार्यक्रमका प्रस्तुत गरिएको कवि राजा पुनियानीको ‘फोर डी’ कविता एकपल्ट सबैले हेर्नैपर्ने छ जसलाई मनन गर्न सकियो भने नेपालको राजनीतिक परिवर्तनको मिथकलाई नयाँ ढङ्गमा प्रस्तुत गरिएको काव्य अर्थपूर्ण हुन्छ भन्ने मलाई लागेको छ ।
कार्यक्रमका हरेक सत्रको बिषयबस्तु, बिषयबिज्ञका रुपमा रहनुभएका वक्ताहरु र बिषयलाई उप्काउदै वक्तालाई आफ्ना बुझाई प्रस्तुत गर्नदिने सहजकर्ताहरुको भूमिका धेरै प्रशंसनीय लाग्यो । ‘मातृभाषाको सकस’ बिषय रहेको सत्रमा चन्द्रकिशोर, सुरेश किरण र गौरी तमु वक्ता रहनु भएको थियो । नेपाल भाषा दिवसको दिन गरिएको यो विमर्श अर्थपूर्ण छ जस्तो लाग्यो । सत्रको सुरूवाती चरणमा अन्य वक्ताको ध्यान आकृष्ट गर्न चन्द्रकिशोरले भोजपुरी भाषामा बोल्न सुरु गर्नु भयो पछि भने मिठासयुक्त मैथिलीमा बोल्नु भयो । यी दुई भाषा बोलिने भूभाग एउटै भए तापनि मेरो आफ्नो बुझाईमा भने मायाले कसैले भोजपुरीमा बोल्यो भने पनि गाली जस्तो सुनिने वा भोजपुरीमा गरिने सल्लाह पनि हल्ला जस्तो लाग्ने तर मैथिलीको गालीमा पनि मिठास पाइने, खै कस्तो कस्तो । चन्द्रकिशोरले भन्नुभएको मधेशमा तिन ओटा सि.के.हरु छन् भन्ने कुरा मलाई एकदम घत लागेको छ । तर जीवित मधेशमा जन्मिएका राजनीतिज्ञहरुमध्ये नेपाल र नेपालको तराई भूभाग जसलाई मधेश भनिन्छ त्यसको औधि माया गर्ने चाहिँ मलाई जे.के. गोइत पो हुन् कि जस्तो लाग्छ । मलाई लागेको सबै सत्य नहुन पनि सक्छ है । सोही सत्रको वक्ता गौरी तमुले सुनाउनु भएको गुरुङ्ग समुदायमा छोरो जन्मदा गरिने ‘पुटपुटे’ संस्कार मेरो लागि नयाँ रह्यो जसलाई सामान्य ढङ्गले छेवार वा ब्रतबन्धका रुपमा समेत बुझ्न सकिन्छ ।
‘उमेरको कथा’ बिषय रहेको डा. अभि सुवेदी सरको एकल सत्रमा गरिएका प्रकृति मैत्री वार्ता र सरको साँडेसँगको कथा विचारणीय छ । सधै यूट्यूबको अन्तर्वार्ताहरुमा सुनिरहेको वहाँको विचारहरुको यसपटक भने प्रत्यक्षदर्शी रहे । मैले पहिलोपल्ट लेखक पत्रकार बसन्त बस्नेतको काय्र्रकम ‘चिया खानु भो’मा अभि सरले गाउनु भएको सुनेर फ्यान भएको बब डिलेनको गीत ‘हाउ मेनी रोड्स मस्ट अ म्यान वाल्क डाउन...’ प्रत्यक्ष सुन्न पाएर धेरै खुसी लाग्यो । गायक बब डिलेन मृत्यु भएको थाहा थियो तर उनको आत्मा अभि सरमा अझै जीवित रहेको भान भयो ।
विमर्शका सत्रहरुमा अन्तिम र हरेक नेपालीले चाख मान्ने, सहभागीहरु हलमा भरिभराउ भएको राजनीतिक व्यक्तिहरु सम्मिलित सत्रको बिषय ‘समय, समाज र राजनीति’ थियो । नेकपा एमालेको उपमहासचिव प्रदिप ज्ञवाली, नेपाली काँग्रेसको महामन्त्री विश्वप्रकाश शर्मा र जनमत पार्टीका अध्यक्ष डा. सीके राउत वक्ता रहनु भएको सत्रको सहजकर्ताको भूमिका पत्रकार टिकाराम यात्रीले गरेका थिए । सहजकर्ताको प्रश्नले वक्तालाई आफ्ना विचार व्यक्त गर्न वाकचाल राजनीतिज्ञहरुलाई सजिलै भइरहेको थियो । अझ प्रविधि र राजनीति दुवैको ज्ञाता डा. सीके राउतले क्रिकेटमा फालिने फुलटच बलिङ्ग जस्ता प्रश्नहरुलाई समेत साउथ अफ्रिकन दाँयाहाते ब्याट्समेन एबी डि. भिलियर्सको ३६० स्टाइलमा बाउन्ड्री कटाइरहनु भएको थियो ।
निर्धारित समयमा सुरु नभए तापनि १६ गते उद्घाटन भएको महोत्सव १७ गते समापन हुने लक्ष्य राखिएको थियो जुन सहज र सरल ढङ्गले भयो । त्यसको जस कार्यक्रमका संयोजक प्रकाश थाम्सुहाङ्ग र सम्पूर्ण आयोजक संस्थाहरु लगायत सम्पूर्ण समय दिएर स्वयम्सेवा गर्नुहुने सबैप्रति विशेष आभार हुनैपर्छ ।
कार्यक्रमको अन्त्येष्टि महेन्द्र विरहीको गजलहरुबाट हुने तालिका रहे तापनि मलाई भोलिपल्ट काममा जानुपर्ने भएर बेलुका इलाम सदरमुकामबाट म चढ्ने ६०० सीसीको बुलेटमा फर्किए । रातको समय बाटो सुनसान तर वरपर देखिने झिलमिली बत्तीहरु हेर्दै गायक जितेन राईको गीत ‘मालिङ्गो काटी नि लै लै बिनायो बाजा’ मनमनै गाउँदै अनि आफैले गाएको सुन्दै मेची राजमार्ग घर फर्किए । चियावारीबाट निस्किएर बाटो छेक्न खोज्ने हुस्सु र कुइरोहरु अनि बाइकको मधुर प्रकाशले मेरो दृष्टि धमिलिन खोज्दै थियो, म कहाँ टेर्थिए र । हर्कटेमा ट्राफिक सरले बिस्तारै जानुहोस् है भन्नुभयो, रातको समयमा समेत जनता र राष्ट्रको सेवा गरिरहेको एक कर्मठ राष्ट्रसेवकको राम्रो सल्लाह नमान्ने भन्ने नै हँुदैन । म त अघि आउँदै गरेको गतिभन्दा पनि अझै बिस्तारै पो हिड्न थाले । रोहितजंग क्षत्रीको गीतमा भने झै बिस्तारै बिस्तारै म डुब्न चाहिँ होइन झापा झर्न ओरालो लाग्दै थिए । झापा र इलामको सीमा अलि तलको खोल्सी भए पनि एकछिन बिसाउन खाजा लिन चिया पिउन बनाइएको जोरकलश नामले प्रसिद्ध स्थानमा म रोकिएँ ।
रातको १० नाघिसकेको पसल बन्द गर्ने समय भइसकेको तर मेरो चिया बनाइदिनु न भन्ने प्रस्ताव टिका राई दाजुले नकार्नु भएन । चिया तयार हँुदै थियो यता हाम्रो धेरै पछि भेटेका दौतरी झै गफ सुरु भए । टिका दाजु धेरै समय झापाको बडाखाल बस्नुभएको रहेछ । वहाँको अनुसार त आज बराह क्षेत्रका जगत गुरुको नामले प्रख्यात व्यक्तिको घरमा साथी बस्नु भएको रे धेरै बर्ष । कुराकानी कै क्रममा धेरै दुःख दिएकाले बाँदर मार्न कुनै समय समिति नै बनाएर लागि परेको कहानी गर्नुभयो । तर सन्देशमूलक अर्को प्रसङ्ग सुनाउँदै तत्कालीन बाँदर मार्ने समितिको अध्यक्षको केहि समय पश्चात दुर्घटना भई मेरूदण्डमा चोट लाग्यो रे, अझै ठिक हुनुभएको छैन भन्ने कुरा भयो ।
यस्तै यस्तै यावत बिषयमा गफिने क्रममा वहाँ कुर्सीमा पलेटी कसेर बसिसक्नु भएको थियो, कोमल भाषामा सुस्त हात हल्लाउँदै वहाँ बोल्दा मैले भेटेको जगतगुरु त यिनी टिका दाई हुन् है भन्ने लाग्न थाल्यो । मैले वहाँलाई भने, ‘चिया खान आएकोलाई यसरी ज्ञान दिने पो जगत गुरु होला त दाजु, मन्दिरमा बसेर जधौ गर्न आउनेसँग मात्र गफ गर्ने पनि जगत गुरु होलान् त ?’ मैले भेटेको जगतगुरु टिका दाई खुलेर हाँस्नु मात्र भयो केहि जवाफ दिनुभएन । व्यक्तिगत पीडा धेरै भए पनि हाँसेर आउने जानेसँग त्यसरी बोल्ने वहाँ नै जगतगुरु माने मैले ।
टिका दाई बिदा हुने बेला भन्नुहुन्छ, ‘पढ्नु, हाँस्नु, घुम्नु सबैसँग मिल्नु तर राजनीति चाहिँ नगर्नु है, त्यो फोहोरी हुन्छ दाजुभाइमा दुश्मनी ल्याउँछ ।’ बिहान मात्र इलाममा स्थायी रुपमा बस्नुहुने लाखौ बौद्धिक मानिएकाहरुको समेत गुरु, सामाजिक व्यक्तित्व, अनुसन्धानकर्मी, राजनीतिक बिज्ञानका ज्ञाता र ८० को दशकमा समेत निरन्तर अध्ययनकर्ममा लागिरहनु भएका एक अध्येता युद्धप्रसाद बैद्य सरले राजनीतिलाई लिएर भन्नुभएको वाक्यांश सम्झिए, ‘पोलिटिक्स इज नट डर्टी गेम भाइ’, त्यसमा खेल्नेहरुले डर्टी बनाए । । सरले दिनुभएको ज्ञान सम्झदै लोकसेवा दे कि विदेश जा भनेर छोरोलाई भन्ने गरेका टिका दाईलाई मेरो प्रस्ताव भयो, दाजु राज्य वा राष्ट्र चलाउने नीति भन्छन् राजनीतिलाई, अनि यति बुझ्नु भएको तपाई हुनुहुन्छ, छोरोलाई राजनीति गर राजनीतिमा सुधारका निम्ति लड् किन नभन्ने, आखिर नेपालमा राजनीति बाहेक केमा पो भविष्य सुरक्षित देखिएको छ र ? एकटक सोचेर हँुदैन हौ भाई भन्नुभयो, मैले बुझिहाले छोरोको विश्वास छ नि के गर्नु आम नेपालीलाई राजनीतिको पो विश्वास उडिसक्यो त ।
रातको १२ बजिसकेको थियो घर पुग्दा, पुगे अनि गनाएको खुट्टा र धुलो लागेको अनुहार र आँखा पखालेर निदाए । बिहानै कपाल काट्न गए । अरु बन्द भएर नयाँ खोलिएको पसलमा पुगेछु, त्यस पसलका साहूजीले त्यहाँ पनि नाई संघ, संगठनका नेतृत्वहरुले गरिआएको गलत राजनीतिको कुरा सुनाउनु भयो । मैले दाईलाई प्रस्ताव राखे, आफै नेता हुनुहोस् न दाजु नाई संघ, संगठन जे को भए पनि । कामले फुर्सद हुँदैन कता नेता भएर कुद्नु यार भाई, हजाम दाजुको जवाफ गज्जबको पाएँ । हैन यो कामकाज नहुनेहरु चाहिँ नेता हुने हो भन्ने तत्वज्ञान कसले दिदैछ नेपालीलाई ?
पालो कुरिरहेका धानको व्यापार गर्ने व्यापारी दाजुको आफ्नै कुरा थियो । धानको मूल्य एक मनको रु. १६ सय पुग्यो, खेतखेतबाटै धान उठ्न थाल्यो । वहाँ थप्दै हुनुन्थ्यो खेती पो गर्न छोडे त मान्छेहरु, मलाई प्रश्न आइसकेको थियो भारतबाट ल्याईने १ बोरा २५ किलो तौल हुने चामललाई पो कति पर्छ ?