१९ वैशाख २०८१, बुधवार

अखाद्य तरकारी र फलफुलको आयात रोक्न माग

६ वैशाख २०८१, बिहिवार
Image

झापा, ६ चैत । भारतबाट आयातित अखाद्य तथा गुणस्तरहीन तरकारी तथा फलफुललाई भन्सार एवम् सीमाविन्दुमै रोक्न मेची उद्योग वाणिज्य संघले माग गरेको छ । सभामुख देबराज घिमिरेको समेत यस विषयमा ध्यानाकर्षण गराइएको छ ।

मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाईले भारतबाट भित्रिने तरकारी तथा फलफुलमा विषादी अवशेष कडाइका साथ जाँच गरिनु पर्ने, जाँच नगरी ल्याइएका सामान सीमामै जफत गरिनुपर्ने र खुल्ला सीमाको फाइदा उठाउँदै लुकीछिपी सामान भित्रिन नदिन सुरक्षा निकायलाई कडा निर्देशन दिइनु पर्ने बताउनु भएको छ ।

“खरबुजा, काक्रा, फर्सी, बैगुन, लौका लगायतका तरकारी तथा फलफुल नेपालमै पर्याप्त उत्पादन भइरहेका छन्,” संघका अध्यक्ष प्रसाईले भन्नुभयो–“विषादीको अवशेष ज्यादा प्रयोग भएका त्यस्ता सामानहरु भारतबाट सस्तो मूल्यमा नेपाल भित्रिदा एकातिर जनस्वास्थ्यमा गम्भीर हानी नोक्सानी भइरहेको छ भने अर्कातिर नेपाली उत्पादन नबिकेर कृषकहरुलाई ठूलो क्षति पुगिरहेको छ ।”

सीमाका समस्या बुझ्न मेचीनगर आउनु भएको प्रतिनिधिसभाका सभामुख देबराज घिमिरेलाई आयातित अखाद्य तरकारी तथा फलफुलले जनस्वास्थ्य र स्वदेशी उत्पादनलाई गम्भीर असर पुर्याएको बारेमा ध्यानाकर्षण गराइएको संघका अध्यक्ष प्रसाईले बताउनुभयो ।

यस विषयमा काँकडभिट्टास्थित मेची भन्सार कार्यालय, खाद्य तथा निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, क्वारेन्टिन कार्यालयमा ज्ञापन पत्रसहित ध्यानाकर्षण गराइएको उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष प्रसाईको नेतृत्वमा संघ र कृषक प्रतिनिधिमण्डलले मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मी, खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयका प्राविधिक सहायक दिनेश ढुंगाना र क्वारेन्टिन कार्यालयका बरिष्ठ बाली संरक्षण अधिकृत हर्षहाङ राईलाई भेटेर समस्या अवगत गराएको मेची उद्योग वाणिज्य संघका महासचिव दिनेश शाक्यले बताउनुभयो ।

समस्या अवगत गराउन गएको प्रतिनिधि मण्डलमा मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाई, महासचिव दिनेश शाक्य, सदस्य सन्तोष खवास, प्रेस सल्लाहकार अर्जुन कार्की, व्यवसायी मानबहादुर कटुवाल, कृषक हरि नेपाल, एलिस नेपाल लगायत हुनुहुन्थ्यो ।

मेचीनगर–१५ स्थित स्मार्ट कृषि फार्मका सञ्चालक हरि नेपालले नेपालमै उत्पादन भएको तरकारी नबिकेर गाईवस्तुलाई खोले खुवाउने अवस्था आएको विषयमा सरकारले चासो नदिएको गुनासो गर्नुभयो । उहाँले आफ्नो फार्ममा लाखौंको लगानीमा खरबुजा र तरकारी उत्पादन भए तापनि भारतबाट भित्रिने सस्तो मूल्यको अखाद्य तथा गुणस्तरहीन सब्जीले बजार कब्जा गरेको बताउनुभयो ।

“भारतबाट आयात हुने खरबुजा रसायन प्रयोग गरेर पकाउने गरिएको र सब्जीहरुमा विषादीको अवशेषको मात्रा ज्यादा हुने गरेको उपभोक्ताहरुलाई थाहा हुँदैन,” कृषक नेपालले भन्नुभयो–“मानिसहरुले सस्तो भन्दै किन्छन् । नेपालका कृषि फार्ममा उत्पादन भइरहेको अर्गानिक र गुणस्तरयुक्त फलफुल र तरकारीले बजार पाउने अवस्थाको सिर्जना गर्नेतर्फ सरकारको ध्यान जान जरुरी छ ।”

खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय काँकरभिट्टाका प्राविधिक सहायक ढुंगानाले आयातकर्ताले ल्याउने तरकारी तथा फलफुलको नमुना मात्र कार्यालयको प्रयोगशालामा जाँच गरिने जानकारी पाएको उल्लेख गर्दै संघका महासविच शाक्यले सरकारी निकायबाटै नमुना संकलन गरेर परीक्षणको व्यवस्था हुनुपर्ने विषयमा समेत ध्यानाकर्षण गराइएको बताउनुभयो ।

“आयातकर्ता आफैले गुणस्तर परीक्षणका लागि नमुन ल्याउने प्रथाले आशंका जन्माउँछ,” शाक्यले भन्नुभयो–“आयातित सामान हेरेर त्यहीँबाट नमुना संकलन गर्दा मात्र सही परीक्षण हुन्छ भन्ने विषयमा हामीले सम्बन्धित निकायको ध्याना आकृष्ट गरेका छौं ।”

मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मी र क्वारेन्टिन कार्यालयका बरिष्ठ बाली संरक्षण अधिकृत हर्षहाङ राईबाट गुणस्तर परीक्षण गरेर मात्र भारतबाट तरकारी तथा फलफुल आयात गर्न पाउने व्यवस्थालाई कडाइका साथ पालना गरिने प्रतिबद्धता व्यक्त भएको महासचिव शाक्यले बताउनुभयो ।