२२ वैशाख २०८१, शनिवार

साथीसँग समाजको गन्थन

१० वैशाख २०८१, सोमवार
Image

यसअघि मैले इलाम साहित्य महोत्सवमा दुई दिन शीर्षकमा केही आफुले बिताएका क्षणहरु बारे लेखेको थिएँ । मैले लेखेका बिषयमा कहीं कतै कमजोरी देखिए बुझिए पढ्ने जति सबैले केही न केही प्रतिक्रिया दिइरहेकै हुन्छन् । इलाम साहित्य महोत्सवको बारे पढेर मेरो हितैषी मित्रले आफुले कम्प्युटरमा पढ्दै गरेको भिडियो खिचेर मलाई पठाए । भिडियोसँगै प्रस्ताव आयो, पढ्न त पढे तर मलाई प्रसङ्ग सुन्न मनलाग्यो हौ.......। मैले सहजै उत्तर दिएँ, “ओके छ त साथी ।”

लेखेको कुरा कसैले पढेर अझै प्रसङ्ग पनि सुनाउन भन्दै छ, म फुरुङ्ग हुँदै भिडियो कलमा जोडिए । प्रस्ताव राख्ने साथी जोडिन ढिला गरेकाले लेखिरहनु पर्छ है भनेर निरन्तर सल्लाह–सुझाव दिने बिनयजीसँग कुरा गर्दै थिएँ । प्रस्ताव राख्ने साथी पनि आए ।

“सुन्ने हैन त प्रसङ्ग ?”, अब मैले प्रस्ताव राखे । प्रस्ताव स्वीकार भयो, नेपाली र्याप–संगीतलाई मूलधारमा चिनाउने यम–बुद्धको मेरो मनछुने गीत प्रसङ्ग बजाइदिए । गीत बज्दै छ साथीको मुहारमा जिस्किदो पो रैछ बज्या भन्ने भावमा मुस्कान थपिँदा जस्तो हुन्छ त्यो प्रकट हुदैँ यसो एक हातमा मोबाइल र अर्को हातले नाँचे झै गर्दै थिएँ । मलाई मज्जा लाग्यो, गीत पनि सकियो ।

“ह्या मुला, प्रसङ्ग भनेको गीत सुनाँउछ त्यसो भए कथा सुनाउ.......”, मलाई के थियो र इन्टरनेट चलिरहेकै थियो मैले अब फेरि भी टीन नामले चर्चित अर्का र्यापरको गीत कथा बजाए । सुरुवाती लाइन मज्जाले सुन्दै रमाइरहेको साथी जब गीत अघि बढ्दै यो लाइन सुरु भयो,

“बाँकीको पूरा दश बर्ष म खाडीमा थे

विदेशतिर जान परो सब थोक छोडेर

सोचिराथे बस्नु पर्ला घर जगा जोडेर

तर त्यस्तै पारा खोइ कमाई नै हुँदैन

खान बस्न ठिक पैसा मलाई नै पुग्दैन”

अब साथीलाई झर्को लाग्यो है..... बन्द गर सब चिजहरु नेपाल याद आउने सबै गीतहरुको शैलीमा कुरा अन्तै मोड्ने आदेश पाएँ ।

यम–बुद्धको गीतमा “यो प्रसङ्ग अलि अघिको हो, पहाडै–पहाडको बिचमा एउटा बस्ती थियो...... किसानको घरमा एउटा शिशु जन्मियो, छोरी पो रैछ भनी उसको मन झस्कियो.....” भन्ने लाइन छ । तर हाम्रो यो प्रसङ्ग भने धेरै अघिको चाहिँ होइन ल । सबै नेपालीलाई ग्यास्ट्रिक अनि सबै नेपाली डाक्टर कसै–कसैले भनेको सुनेको छु । त्यस्तै सबै नेपाली किसान रहेको हाम्रो देशमा यो मेरो साथी पनि किसान कै घरमा जन्मियो, तर जेठो सन्तान फेरि छोरो पनि, काकाको मन झस्किनुको साटो फुरुङ्ग भएको हुनुपर्छ, मेरो अनुमान मात्र है ।

किसानको छोरो झापाको बाहुनडाँगी भन्ने गाविस अहिलेको मेचीनगर नगरपालिका वडा नम्बर २ मा जन्मिएको जस्तो लाग्छ । दुःख–सुख गरी किसान बा–आमाले पढाउनु भयो, मेरो जानकारीमा भए अनुसार साथीले बिज्ञान बिषय लिई प्लस टु सक्काए अनि पूर्वाञ्चल इन्जिनियरिङ्ग अध्ययन संस्थानमा इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ्गमा स्नातक सक्काए । उनले इन्जिनियरिङ्ग सके, लाइसेन्स पनि बनाए । सबै नेपाली युवाको सपनालाई समर्थन गर्दै उसले पनि सुरु गरे लेट्स क्लास । परीक्षा दिए राम्रै गरे होलान् ई. पवन अहिले क्यानडामा पोस्ट–ग्राजुएट इन वायरलेस इनफर्मेसन नेटवर्किङ पढ्दै छन् ।

क्यानडाले आफ्नो देशको डिग्री नहुदाँसम्म अध्ययनको क्षेत्रमा काम नदिने भएर बिद्यार्थी भिषामा रहेको पवन पढ्ने, बस्ने, खाने लगायत आफु पालिने र गएको ऋण तिर्न होटलमा काम गर्दैछन् । पवनको अनुसार कोरोना पश्चात बिद्यार्थीका लागि वर्किङ आवर लिमिटेसन हटाएकोले ऊ दुईवटा होटलमा हेड कुकको रुपमा काम गर्दैछन् । भिडियो कलमा कुरा गर्ने क्रममा देखिने साथीले कोठाको भित्तामा टाँसेको नेपालको झण्डाले धेरै कुरा नसोधी–नबोली आफै बुझिन्छ । कति कमाउँछन् कति बचाँउछन् । यावत बिषयमा कुरा भए पनि सबै लेखिरहन जरुरी हुन्न । छोटो र मिठो सबै विदेशिएका नेपालीले दिने उत्तर यति हुन्छ, “चित्त बुझ्दो छैन”। म सोध्छु, “अनि गएको पो किन यार”? साथी जिस्किएको शैलीमा गरुङ्गो एक शब्दको उत्तर तीन शब्दमा दिन्छन्, “अर्थ साथी अर्थ”।

विदेशमा रहेकासँग संवाद हुदाँ देखिने त्यहाँको स्वच्छ वातावरण, बिजुलीले चल्ने गाडीहरु, न धुवाँ न धुलो, सबै इन्ट्रिगेटेड प्रणालीमा गरिने क्रियाकलापहरु यस्तै यस्तै कुराले होला सबै नेपालीको मन तान्ने रहेछ । म आफै पनि सोच्छु, “विदेशीले हिजो हामीले सुनेको नेपाल जस्तो प्रकृति–मैत्री, स्वच्छ र सफा चाँहि आफ्नो देश बनाएछन् । हामी वीर गोर्खाली चाँहि आधुनिक बन्न प्रकृति सक्दैरहेछौ । सबै सम्भव नहोला तर आफैले आफैलाई सर्वश्रेष्ठ सामाजिक प्राणी भनेर समाज र प्रकृति भाँड्न त भएन होला नि ?

“छिमेकी बिरामी भएछन्, एम्बुलेन्स आएको थियो कस्तो बिरामी हेर्न जान मन थियो, प्राइभेट प्रपर्टि भन्छन् प्राइवेसी भन्छन् सोध्न–खोज्नै अफ्ठ्यारो.....” पवनले विदेशमा नेपालको जस्तो सामाजिक भाव नभेटेको विलौना गर्छन् । कति मज्जाले सुनाउँछन्, “गाउँमा कोही विरामी भएको सुन्यो कि सबै भेला हुने जाने एउटा सामाजिक नियम जस्तै छ है, यसरी सोच्नु चाहिँ गलत होला । तर बित्दैन त भन्दै रातोदिन रुङ्ने चलन नै हुन्छ” । मैले ठट्टा गर्दै थपिदिएँ, “हो नि हौ कमरेड, रुङेर रुङेर बिताएरै पो छोड्छन् त”। जाने त गए–गए अब हुनेले मन बुझाउन तासको सिजन सुरु.........।

विदेशमा भएको साथीसँग यस्तो संवाद भयो भनेर घरमा सुनाएको मात्र के थिए, मेरो आफ्नै खुदको बा ले पनि थप्नुहुन्छ, “कति राम्रो कुरा गरेछन्, इष्ट–मित्र आफन्त सबैले दुःखमा साथ दिन्छन् तर खै कस्तो चलन बस्यो बिरामी हुन्जेल कोही नआउने अनि बित्यो रे है भनेपछि भावपूर्ण र हार्दिक आ–आफ्नो शैलीमा श्रदाञ्जलि लेख्न हतार हुने.......।”

नेपाली कथानक चलचित्र गोर्खा पल्टनको एउटा गीत सम्झिए, “कुरा त सही हो लाहुरे दाईको मन कुन्नि कस्तो छ..............।” रमेश सरको कुरा सधै घत–लाग्दो हुने तर फेरि मेरो खराब बानी छ मेरो खराब.... केही सुन्यो अब सोच्न थाल्यो । सोच के के आउँछ–आउँछ हेर्नु त अझै श्वासप्रश्वास रोकिए पछि मान्छे मर्छ, मरिसके पछि सम्वन्ध पनि सकिँदो रहेछ । न त्यो बा–आमा, न काका–काकी, न भाइ–बहिनी न साथी न दुश्मन केही न केही त्यसको सम्बोधन सिम्पल छ, “लास” ।

सामान्य जनता रहेछ भने त्यसले लास रहन पाउँछ तर कुनै पार्टीको सदस्य रहेछ भने अर्को तनाव आइलाग्छ । समस्या तब पो सुरु हुन्छ जब झण्डा ओडाएर लासमा दागबत्ती दिइन्छ अब त्यहाँ कि काँग्रेस मर्छ, कि एमाले, कि माओवादी, कि राप्रपा, आजभोलि घण्टी पनि मर्न थाल्यो होला !

लेखकको बारेमा
Image
ऋषब

मेचीनगर–१० निवासी ऋषब सामाजिक विषयवस्तुमा लेख्न रुचाउनुहुन्छ ।