१७ असोज २०८१, बिहिवार

वैशाख शुक्ल पूर्णिमा ः घुमफिरका उपलब्धि

१२ जेठ २०८१, शनिवार
Image

वैशाख शुक्ल पूर्णिमाको दिन मेरा माइला बडाले आफ्ना साइला काकाको पितृकार्जे अर्थात बाहुनहरुले गर्ने श्राद्ध गर्नुहुन्छ । म उठ्ने बित्तिकै अर्थात मेरो चाँहि बिहानै घाममा कालो, सित्तलमा पारदर्शी हुने सिसाको चस्मा लगाएको एक जना युवा मेरो आमा–बाबाको घरको आँगनमा देँखे । निधारमा चन्दन अनि कमिज सुरुवाल, पछि पछि माइला बा । युवा ब्रो र मेरो कुरा सुरु नहुँदै बडाले पछाडिबाट आवाज दिनुभयो, “गुरुजी श्राद्ध यता हौ ”। मैले घर देखाए, माइला बाले लिएर जानुभयो ।

मैले गर्ने श्राद्ध होइन, मलाई के हतार बिस्तारै मेरो नित्यकर्म सकेर कार्जे हेर्न गए । कार्जेघरमा दृष्य गज्जवको छ । एउटा कोठामा गुरुजी र माइला बा व्यापक रुपमा पितृ सम्झदै, अर्कोमा तीन जना भतिजिहरु गफिदै खेल्दै, अर्कोमा माइला बा को जेठो छोरो आफ्नो छोरो सुताउदै, अर्कोमा माइला बा को श्रीमती र बुहारीहरु भान्सा सम्हाल्दै । म कता जानु ? भान्सा जाँउ भने परिकार बनाउन नआउने हो कि, कार्जे कोठो छिरौं भने श्राद्ध गर्ने बेलै भएको छैन । भतिजिहरुसँग खेल्न गएको झगडा गरेर देखाउँछन् । एकछिनमा मिल्छन् जसलाइ करायो उनीहरुको अगाडि आफु छुच्चो । भतिज सुतेको हेर्न छिर्न मात्र खोजेको, माइला बा को जेठो छोरो रन्किए, “यता नआइज यता नआइज, यो निदाउन आँटेको छ” । मलाई बाल !, पण्डित कराँउदा निदाउने, दिदीहरुको हल्लाले डिस्टर्ब नहुने म छेउमा बस्दा भतिजलाई डिस्टर्ब हुन्छ भने म किन छिर्नु ? 

कार्जे कोठो बाहिर बसेर हेरिरहे, सुनिरहे, नबुझेको सोधिरहे, गुरुजीले नरिसाई हरेक कुरामा कन्भिन्स गर्दै जानु भयो । सूर्यलाई स्वागत गर भन्नुहुन्छ गुरु विचारा माइला बा गरिहाल्ने फेरि, अचम्म के फेरि... हैन स्वागत नगरे नआउने हो र ? गुरु जी भन्नु हुन्छ, “यो तर्पण दिने बेला हो, श्राद्ध सुरु भएकै छैन”। ए ए, बिहानै पो सुरु गर्नु पर्दो रैछ त । तर्पण दिँदा कर्ताको थरका सबै जना, ससुरालीको आमा–बुवा सबैलाई दिनु पर्दो रहेछ । म बाठो हुन संसार भरिका सबै पितृलाई पनि दिँउ न हौ, तर्पण पानी छ त अझै भनेको, गुरुजीको उत्तर आयो, “त्यो पनि विधि हुन्छ पालो आँउदै छ अन्तिममा हो त्यो” । 

हैन विधि पनि के के रहेछ रहेछ, कहिले अपसव्य वन्नुहोस् भन्ने कहिले सव्य वन्नु रे, माइला बा फेरि जे भन्यो त्यहि मान्दिने अत्ति के..... टैट । यजमान ठुलो कि पण्डित भनेर सोधेको गुरुलाई दुवै ठुलो रे, सानो कसलाई वन्नु छ र अनि किन भन्नु पनि त हैन र ? कुशको टुक्रा आकार आकारको बनाएर कुनैलाई भिस्मपितामह रे, कुनै मोटक कुनै गणेश कुनै कुन ऋषि..... “गणितको एक्स जस्तो रैछ है गुरु यो कुश चाँहि जे माने पनि हुने ?”, गुरु जी हाँस्दै जवाफ दिनुहुन्छ, “त्यस्तै चाँहि अलिक होइन कि तर आकार र बनाउने प्रकृयाले फरक पार्छ” । 

म नजन्मदै हाम्रो घरको पुजा पाठको ठेक्का लिनु भएको ठेकेदार गुरुले नभ्याएर सुवेदी गुरुलाई पठाउनु भएको रे, अनि आफ्नो घरमा समेत उहाँलाई नै बोलाउनु हुन्छ रे । ठेकेदार गुरुलाई पनि ओरिजिनल पण्डित नै आवश्यक पर्दो रहेछ । “यता त्यता मात्र पठाउनु हुन्छ कि एच.एम.सि पनि लग्नु हुन्छ हौ ?”, मेरो प्रश्न सुनेर गुरुको जवाफ आयो, “हामी जिस्काँउछौ, बिस्तारै लग्ने भन्नुभएको छ” ।

जातको बिषयमा सुवेदी गुरुको व्याख्या मलाई हो कि–हो कि जस्तो लाग्यो, “ज्ञान आदान–प्रदान गर्ने व्राह्मण, राज्यभार सम्हाल्ने वा भिड्ने क्षेत्री, व्यापार गर्ने, वैश्य र सेवा गर्ने शूद्र” । है, मैले तपाईको सेवा गर्दा म तपाईका लागि शूद्र अनि तपाईले मेरो सेवा गर्दा तपाई मेरो लागि शूद्र भन्दै गर्दा हो नि भनेर सहमत हुनुभयो । मज्जा आयो पहिलो पल्ट मलाई चित्त बुझ्ने पण्डित भेटे । खानपिन सकियो, घरको कार्जे पनि सकियो । अब छोरो लाग्यो वुद्ध पूर्णिमा, उभौली पर्व आदि मनाउन । धुलावारी चोक नपुग्दै र्यालि देखेँ, थोरै बाटो सरिक हुँदै, त्रिफला राष्ट्रिय पुस्ताकालय हिडेँको आज सार्वजनिक विदा अझ धेरै पर्व र जयन्ती भएको दिन बन्द रहेछ । 

निन्दा पुलको छेउको गुम्बा छिरे, आनीले ढिउ–पानी र प्रसाद दिनुभयो, खाँए । फोटोका वुद्धहरु चिनाइमागे अनि हिडेँ । फर्कदा अघि बाटोमा झार मार्ने औषधी छिट्दै गरेका बुवालाई सोधे, “तपाईको थर के हो बुवा”? उत्तरमा “राई” भनेर आयो । फेरि सोँधे, “प्रकृति पुजा गर्ने दिन तपाई त मार्दै हुनुन्छ त”? नरिसाई सरल उत्तर दिनुहुन्छ, “बाहुनको अर्डर राईको काम, पाप अर्डर दिनेलाई लाग्छ”। गाई बाँधेको भए हुने नि भनेर सोधेको छैन रे गाई । नेपालको त्यत्रा गाई–गोरु आफै कता जान्छन् कि लगिन्छन्, खोई ?

कृष्ण थुम्किमा उभौली मनाउने कुरा सन्जु साम्पाङ् दिदीले बोलेको सुनेको थिँए, हेर्न निस्केको त्यहाँ होइन रहेछ । म त त्यहिको गुम्बाको छिरे । लामा गुरुसँग केही प्रश्न राखे, आमाले दिनुभएको प्रसाद खाँए, टिकि लाँए, ढिउ–पानी खाँए अनि निस्किए । भिम्सिने डाँडाको भिम्सिने थान त्यहाँबाट केहि समय हिडेर पुगिने त रहेछ तर अरु धेरै तिर पुग्नु पर्ने त्यता निस्किइन । 

बौद्ध मोड हुदै शान्तिनगर अनि मागुरमाडिको गुम्बा, चारालीको किराँतेश्वर थान पुगेर दुवागडी हुँदै घर पुग्नु थियो । बहुवन जङ्गल हुँदै शान्तिनगर निस्कन छिरेको थिँए, जङ्गल भित्रै एक्लै बाँदर साथिहरु सँग घुमेको घुमै भए । झन्डै खाल्डोमा छिरेको, कसो बलियो बाइक अनि सानोमा खेलेको कुदेको शरिर । तानेर निकाले बाइक तर बाटो थाहा छैन । जता होकि हो कि जस्तो लाग्छ त्यतै हिड्यो । निस्किए है धन्न तर टिमाइको बगरमा । देखिरहेको एक जना बा को बारि पछाडि निस्किएछु धन्न बाटो देखाइदिनु भयो । धिमाल गाँउबाट फेरि जङ्गल तिर छिर्न खोज्दै थिँए भाईहरुले हात्ती हुन्छ नजानु भने । यो हात्ती चाँहि तर्साउने कुरा हो कि साच्चै जङ्गलभरि छ हौ को आँउछ र मारौँै भनेर बसेको ?

पाँच–पोखरी सामुदायिक विट अगाडि निस्किएर, त्यहाँ अफिसमा एक जना हिन्दी बोल्ने र अर्को नेपाली पनि बोल्ने साथीहरु रहेछन् । प्रश्न राखे, “यो पाँच पोखरीको पाँच वटा पोखरी चाँहि कता छ हौ” ? हिन्दी वाला साथीको जवाफ मालुम नहिँ थियो । नेपाली पनि बोल्ने साथीले जवाफ दिए, “पाँच वटा त खै, पोखरी चाँहि छ तर नजानु हात्ती छ”। हस, हजुर ! नसोधी जङ्गल छिरेको झण्डै खाल्डोमा छिरियो, अब यत्रो डर देखाँउदा साच्चै च्यात्ने हो कि हात्तीले......... जङ्गलीको के भर ।

पाँच–पोखरी हुँदै मागुरमाडी निस्कँदा प्रकृति–पुजा गर्ने दिन प्रकृति उजाडिएको विरुप तस्विर मेरो अगाडि थियो । पश्चिमका साथीहरुले पूर्वतिर शैक्षिक भ्रमण आउँदा भनेको कुरा सम्झिए । ठुला–ठुला खोला जस्ता छन्, ढुङ्गा–गिटि–बालुवा अनि ट्राक्टर मात्र पानि चाँहि खोई तिम्रो घरतिर ? साँच्चै खोई पानि अनि चर्न खोला–बगर, जङ्गल ल्याइने घरपालुवा जनवारले के खान्छन ?, राँगा–भैँसी–गाई अघि लगाँउदै हिड्नु भएको बुवालाई सोँधे वहाँको जवाफ सरल छ, “आकाशको जमेको पानी ........... खोलाको पानि र बगरको कुरा गर्दै नगर है” । 

सोच्दिन केही पनि गर्दिन केही कुरा पनि खानै पर्यो सबैले लाउनै पर्यो सबैले, मागुरमाडीको गुम्बामा बिस्कुट खाँए अनि लामाले दिनुभएको ज्ञान पाँए । बाँसबारी वन हुँदै पिपल डाँडाबाट खोला तरेर मेची राजमार्ग निस्कँदा त्यस बाटोमा आवतजावत गर्न सानो नै किन नहोस् एउटा पुल अनि सडकवत्तीको आवश्यकता रहेको महसुस गरे । 

तपाईलाई स्पेसल सम्वोधन गर्ने केही शब्द छ भनेर सोध्दा उहाँ भन्नु हुन्छ, चौकीदार भने पनि भयो, हेरालु भने पनि हुन्छ, पुजारी भन्नु नि.....। त्रिफला राष्ट्रिय पुस्तकालयका संस्थापक अध्यक्ष प्रेम प्रकाश फलाहारीज्यूले समेत आफुलाई पुस्तकालयमा चिनाँउदा यसै भन्ने गर्नु भएको सम्झिएँ । चारालीको किरातेश्वर थानको पुजारी बा सँग धेरै कुरा सिक्ने बुझ्ने मौका मिल्यो । “हाम्रो मुन्धुममा तपाई नै भगवान हो भनेको छ”, उहाँ भन्नुहुन्छ । गज्जव कुरा सिकाउनु भयो पुजारी बा, साँच्चै तपाई नै भगवान हो ।


लेखकको बारेमा
Image
ऋषब

मेचीनगर–१० निवासी ऋषब सामाजिक विषयवस्तुमा लेख्न रुचाउनुहुन्छ ।