६ मंसिर २०८१, बिहिवार

होचो केचनाको अग्लो राष्ट्रियता

१ असार २०८१, शुक्रवार
Image

हरेक शनिबार रिडर्स झापामा बिषयवस्तु केन्द्रित छलफल हुने गर्छ । पछिल्लो चार हप्ता यता पर्यावरणीय संकट र सामाजिक आन्दोलनलाई मूल विषय बनाएर विभिन्न अध्ययन सामाग्रीहरु अध्ययन पश्चात प्रस्तुत गर्ने र त्यसमा टिप्पणी गर्ने नियमित श्रृंखलाहरु चलिरहेका छन् । “रुख र मान्छे ; चिप्को आन्दोलनको इतिहास” पहिलो संस्करण सकिएको दोस्रो हप्ताको पहिलो विषय थियो । रोनित बरालको प्रस्तुति र सन्दिप दाहालको टिप्पणीले रुख र मान्छेको सम्बन्ध अनि महिलाको नेतृत्वमा गरिएको चिप्को अन्दोलनबारे बुझ्न मद्दत पुग्यो । छलफलमा केन्द्र रहेको चिप्को आन्दोलनमा महिलाले रुख काट्न आएका व्यापारीहरुको प्रयास रोक्न रुखलाई अङ्गालेर विरोध प्रदर्शन गरेका रहेछन् । चिप्को आन्दोलनमा महिलाको भूमिका देखेर होला सायद हिन्दी सिनेमाका निर्देशकहरुले अन्तिममा भिलेनबाट नायक बचाउन “यिस्को मार्ने से पेहेले मेरे लास से गुजर्ना होगा”, भन्ने डाइलग बोलेको देखिन्थ्यो । सन्दिप ओली दाजुले छलफलका विषय प्रस्तुत गर्ने र टिप्पणी गर्नेको पालो सकिएपछि छलफलका लागि सत्र खुल्ला भएको जानकारी भयो । 

दामोदर ढुङ्गेल सरले झापाका कतिपय स्थानमा लगाइएको  “Eucalyptus” जसलाई हिन्दीमा निलगिरि र नेपालीमा मसलाको रुख भनेर चिनिने रुखहरुले सिमसार क्षेत्रहरुलाई कसरी सुख्खा बनाइरहेका छन् भन्ने विषयको जानकारी गराउनु भयो । सानो छँदा बहुवनको जङ्गलमा गरेका रमाइला अनुभवहरु र अझै बचेको त्यहाँको जैविक विविधताको विषय सोच्न र सुन्न समेत ज्ञानवर्धक थियो । हिजो दलदल रहेका क्षेत्रहरु, पोखरीहरु र ट्रेक्टर समेत भासिने खेतहरु आज प्लटिङ गर्नलायक भिट्टा बनेको विषय सोच्नलायक थियो ।

सागर शिवाकोटी दाजुले सामुदायिक बनाइएका विद्यालय, प्रहरी, स्वास्थ्य चौकी हुँदै विभिन्न कार्यालयहरु जनताको चित्त दुखाईको विषय बन्ने र आमरुपमा नकारात्मक टिप्पणीको केन्द्रीय विषय बनेको कुरा उप्काउनु भयो । समस्या मात्र सुनाउनु भएन, ती सबै कार्यालय, संस्थाहरु सेवा प्रदायक भए आम्दानी हुने ठाउँ भएन तसर्थ आलोचनाको केन्द्र बन्दै असफल भएका होलान् भन्ने टिप्पणी समेत गर्नुभयो । उहाँको मतमाथि हामीलाई सहमत गराउन सामुदायिक वनहरुको दृष्टान्त दिदैँ सेवा र आम्दानी छँदै छ अनि सफल समेत देखिएकै छ भनेको कुरा हो कि झैँ लाग्यो ।

शनिवार विदाको दिन अनि कचनकवल गाउँपालिकामा साहित्यिक महोत्सव समेत छ भन्ने फेसबुके जानकारी देखेर त्यता हिंडे । ठाउँ न ठहर बुढिको रहर भन्ने उखान चरितार्थ भयो । फेसबुक पोस्ट देखेको न स्थान थाहा छ न अरु कुनै जानकारी वा निमन्त्रणा । ठिकै छ भेटिएला नि झापा नै त हो भनेर खोज्दै हिँडेको नेपालको होचो स्थान भनिएको केचनाको स्तम्भ पुगेर रोकिएँ । संरक्षित क्षेत्रमा फलामे बार, पोखरी अनि एक छेउमा स्तम्भ । त्यहाँका हेरालु दाजु, पोखरीमा जाल हानेको हेरिरहनु भएको थियो । जाल हान्ने दाजुहरु कमलको फूल माडिने गरी जाल हान्दै थिए । के भेटिन्थ्यो र माछा ; थोरै सितन चाँहि हुन्छ भन्दै गफिदै गरेको अड्कल काटेें । राजवंशी समुदायको हुनुहुने हेरालु दाजुले म आउँदा पग्लिबस्ति र बयरबाडी गाउँ हुँदै आएको जानकारी गराउनुभयो । केचनाको स्तम्भ पुग्दासम्म कच्चि बाटो हुदैँ कालोपत्रे बाटो भेटेको मैले त्यस क्षेत्रमा मुसलमान समुदायको बाहुल्य रहेको जस्तो लागेको थियो । मैले नाम विर्सिएको राजवंशी दाजुले मलाई यस क्षेत्रमा राजवंशी, मुसलमान, यादव लगायत धेरै मधेशी मूलका हामी वर्षौदेखि सीमा बचाएर बसेका छौं भन्नुभयो । हामी त्यहाँ धेरैअघि धुलाबारीमा रिक्सा चलाएको थिएँ भन्नु हुने मुसलमान बुवा र उहाँको नातिनी सरिना वेगम र हेरालु दाजु थियौ सँगै अरु थुप्रै आफ्ना काममा व्यस्त । मुसलमान बुवा र हेरालु दाजुको गफ केहि बुझेँ पनि केहि बुझिन पनि अनि सोधेँ, कुन भाषा हो यो ? मधेशी भाषा भन्ने उत्तर पाएँ । त्यता बोल्न छोडे होलान् बुझ्दैनौ होला भनेर जिज्ञासा राख्नु भएको बुवालाई उत्तर दिने क्रममा म भन्दै थिएँ, “घरमा बोल्नु हुन्छ होला आफ्नो–आफ्नो भाषा के गर्नु आजभोलि राम्रो नेपाली अनि फररर अंग्रेजी जानेन भने स्ट्यान्डर्ड नै हुँदैन” । मलाई लाज हुनेगरी मुसलमान बुवाले उत्तर दिनुभयो, “हो स्ट्यान्डर्ड देखिन अंग्रेजी मिसाउनै पर्छ” । धेरैबेर उहाँहरुको अनुभव र इतिहास सुन्दै गर्दा पछाडि रेलको आवाज सुनियो, म अचम्म परे कति नजिक रेल कुदेको झन्डै विहार पो पुगिसकेको रहेछु । पछाडि रेल हेर्दा ३०/३५ वटा खुल्ला बाख्राहरु सानी सरिनाले बहिनीले एक्लै खुल्ला चौरमा चराउँदै थिइन् ।

प्रायः नेपाल–भारतका सीमाहरु मधेशमा खेतबारि भएको कता भारत अनि कता नेपाल छुट्याउन मुश्किल । त्यस्ता ठाउँहरुमा नेपालको अस्तित्व नमेटियोस् र पहिचान कायम रहोस् भन्नका निम्ति आदिवासी गाउँ र मुसलमान बस्तिहरु अझैसम्म मौलिक र सुन्दर राखिएको मेरो आफ्नै वुझाइ छ । विहार राज्यको कोदु बजार त्यस क्षेत्रको हाट भर्ने ठाउँ रहेछ । आवतजावत बाक्लै थियो, नेपाली नम्बर प्लेटभन्दा भारतीय प्लेटका मोटरसाइल धेरै गुड्ने । विहारमा रक्सी प्रतिबन्धित रहेछ तर कार्टुनमा अरु सामान लग्न भने पाइएको देखेर मज्जा लाग्यो जाँच्ने निकाय कति झुक्किन्छन् होला है । रातको समय समेत उज्यालो राख्न नेपालको संरक्षित भुभागमा राखिएको सौर्य उर्जाबाट बल्ने पोलवत्तिहरु मलाई मनपर्यो । नचोरिएको नभत्किएको देखेर विहारको बारे जे भन्ने गरिन्छ त्यो भ्रम रहेछ भन्ने मलाई यकिन भयो ।

गाउँ–बस्ती हेर्न, जैविक जीवनशैली सिक्न धेरै मज्जा लाग्छ । बाटोमा सुकाइएका बिस्कुन, खेतमै सुकेका मकैका बोट, घरमा छोडाएर दाउराका लागि सुकाइएका मकैका घोगा अनि दल्कि खेत, घन्सिबारी र मल बनोस् भनी खेतमा हालिएका मकैका घोगा र अन्य घाँसपातहरु देखेर प्रकृति नमासी बाँचिएको र गरिएको कृषि त्यहाँ देख्न पाएँ । मैले सोध्दा एकजना दिदीले कुशो अनि राजवंशी दाजुले शर्ना भन्नुभएको खै ठ्याक्कै कुन धान हो थाहा भएन होचो थियो, काट्ने थन्काउने बेला भएको रहेछ । 

गाउँ घुम्दै गर्दा खोला नजिक पुगेँ ठुलो सीमा स्तम्भ अगाडि रोकिएँ । स्तम्भमा “११६/२४ नेपाल” पश्चिमतर्फ अनि “११६/२४ भारत” पूर्वतर्फ लेखिएको छ । खोलामा पौडी खेलिरहेका साना साथीहरुलाई हेरे अनि नेपालतिर लगभग २०/२५ जना भाइ साथीहरु क्रिकेट खेल्दै थिए । म त्यता गएँ, बसिरहेका भाइहरुको नाम सोधेँ रिजवान, मासुम अनि आशिक यस्तै धेरै नामहरु भएका भाइहरु थिए सबै नाम चाहिँ बिर्सिए । बयरबाडि गाइज भर्सेस पग्लिबस्ति गाइजको खेल रहेछ । छक्का वा चौका भन्नेमा विवाद भएपछि खेल रोकिएछ, म अम्पायर बस्छु तिमीहरु खेल न त भनेको भोक लागेको थियो होला नखेल्ने भयो भनेर जवाफ दिए । नेपालले अमेरिकामा गेम हारिसक्यो तिमीहरु चाहिँ आफ्नै गाउँ–गाउँ भिड्छौ भनेर जिस्किएको थिएँ, चलिरहेको क्रिकेटको विश्वकपबारे धेरै भाइहरु अनविज्ञ रहेछन् । “नेदरलेण्डसँग हार्यो अस्ति एकजना भाइले सुनाएँ । ल मज्जाले प्राक्टिस गर्नु पछि राष्ट्रिय टिममा खेल्नुपर्छ” मैले क्यानको अध्यक्षको प्रतिनिधि झै ढाडस दिएँ ।

एकजना भाइ भने गाउँ–घरमा जग्गा छुट्याउन बनाइने सानो सिमेन्टको किल्ला जस्तोमा बसेका थिए त्यहाँ पनि “११६/२४ नेपाल” पश्चिमतर्फ अनि “११६/२४ भारत” पूर्वतर्फ लेखिएको छ । केरा–खेती समेत हुँदैरहेछ त्यहाँ, दिदी–बहिनीहरु घाँस काट्दै अनि गोडमेल गर्दै हुनुहुन्थ्यो । केरा–खेती ठूलो स्तम्भभन्दा पूर्वतर्फ थियो । सानो किल्लाले भने खेती गरिएको दुईवटा जमिन छुट्टयाएको थियो । मैले भाइहरुलाई भने, “तिमीहरुले त्यो ठूलो पिल्लरलाई वोर्डर मान्यौ भने हाम्रो खेतबारी नेपाल हुन्छ नत्र सानोलाई मान्दा त हेर हाम्रो दिदीबहिनी सबै इन्डियामा.....”। “उखाल्नु पर्छ यस्ता पुचुङ्ग्रे पिल्लरहरु”,  भनेको एकजना भाइले क्रिकेट बलले समेत हाने त्यहाँ, विचरा रबरको बलले के फुट्थियो तर साना भाइहरुको मनको आक्रोश भने बुझ्ने मौका पाएँ । 

“यता नेपाल प्रहरी, सशस्त्र अनि आर्मी कोहि आउँछ कि आउँदैन भाइहरु ?”, भन्ने प्रश्नमा उनीहरुको जवाफ थियो, “बन्दुक बोकेको इन्डियन पुलिसहरु आउँछन्”, खोई हो–हैन चाहिँ त्यहाँका नेपालीलाई थाहा होला..................।

कालोपत्रे सडक हुँदै फर्कदा मूलसडक नजिक पुग्ने क्रममा बाटो वरपरका घरहरु काठका अनि कंक्रिटका देखिन थाले र गोरो छाला भएका मान्छेहरु भेटिन थाले ।

लेखकको बारेमा
Image
ऋषब

मेचीनगर–१० निवासी ऋषब सामाजिक विषयवस्तुमा लेख्न रुचाउनुहुन्छ ।