६ पुष २०८१, शनिवार

सन्दर्भ : मदन जयन्ती

मदन भण्डारी र नेपाली क्रान्ति

१५ असार २०८१, शुक्रवार
Image

पार्टी संगठनात्मक कामको रणकौशल व्यवस्थापनको चर्चा चुलिएको बखत होस् वा अन्तर्राष्ट्रिय शक्ति केन्द्रसामु राष्ट्रिय राजनीतिको साझा रोस्टम निर्माणको बेला ! यदि यहाँ यसबखत मदनकुमार भण्डारी भइदिनुभएको भए... उघ्रिएको आजको राजनीतिमा नाउँ कहलिएका निकै दिग्गजजनबाट धेरैपटक सुन्ने गरिन्छ यो वाणी, बचनामृत जनवाणी । 

पञ्चायतविरुद्ध उर्लेको संयुक्त जनआन्दोलनताका बाममोर्चाको सर्वस्वीकार्य कमान्डार, टनकपुर बाँध निर्माणको विरोधस्वरुप संसदमा उहाँको तर्कपूर्ण एवम् गहकिलो उपस्थिति, तिलमिलाएको नेपालको बाम–प्रजातान्त्रिक आन्दोलनमा बिचार अभावले खडेरी छाएको बेला गर्नुभएको बैचारिक योगदान र नेकपा (एमाले)को ऐतिहासिक पाँचौँ राष्ट्रिय महाधिवेशनमार्फत पराजित कटुआलोचक नेता झलनाथ खनाल र सीपी मैनालीलाई समेत बैचारिक सहअस्तित्वको सम्मानसहित सँगसँगै लिएर हिँड्न सक्नु मदनकुमार भण्डारीका गुरुत्वआकर्षित ओज र सम्मोहित तुल्याउने क्रेजले भरिएका पक्षहरू थिए, राजनीतिक व्यक्तित्व विकासका दृष्टिकोणले जसको तुलना अरु कसैसँग कहिल्यै हुन सक्दैन । 

प्रस्तुत आलेख नेपालको राजनीतिक इतिहासमा उल्लेख यी घटनाक्रमको यस्ता केही पेरिफेरीमा आधारित रहने छ । यद्यपि, धेरैलाई यो मन नपर्न पनि सक्छ । किनभने हिजोआज निश्चित प्रश्नमाथि रेडिमेड उत्तर तयार गरेर लडाइँ जित्ने, नेता रिझाउने, अमुक कमिटीको नेतृत्व हात पार्ने र राज्यको संरचनागत सेवासुविधा प्राप्त गर्ने प्रयास भएको यदाकदा पाइन्छ । वस्तुतः असार १४ गते, मदनकुमार भण्डारी र नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादको सन्दर्भ यसको सुक्ष्म अध्ययन र व्यवस्थापनसम्बन्धी विमर्श भइरहँदा कसको जन्मदिन कहिले हो ? संयुक्त जनआन्दोलनको कमान्डर को हुनुहुन्थ्यो ? यसको राजनीतिक बैचारिक पक्ष के थियो ? नेकपा (एमाले)को ऐतिहासिक पाँचौँ महाधिवेशनद्वारा निर्वाचित महासचिव को हुनुहुन्थ्यो ? यो महाधिवेशनलाई किन ऐतिहासिक भनियो ? नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त के हो ? जनताको बहुदलीय जनवादका प्रणेता को हुनुहुन्थ्यो ? जस्ता दर्जनौँ प्रश्नोत्तरका लागि एउटा सामान्य ज्ञान हासिल गर्न चाहने विद्यार्थीका लागि हाजिरीजवाफको प्रश्नमाला मात्र होइन । 

जन्म र मृत्यु एउटा प्राकृतिक संयोग होला ! तर पात्र विशेष र घटना विशेषका दृष्टिकोणले असार १४ गते, मदनकुमार भण्डारी र नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादका बीचमा परस्पर अन्योयाश्रित सम्बन्ध छ । परिवर्तनका पक्षधर नेपाली जनताको समाज परिवर्तन र राजनीतिक व्यवस्थापनको युगीन चाहना अन्तरनिहित छ, बिचारले निर्दिष्ट राजनीतिक यात्रा सहयात्रामा परस्पर समुन्नत र प्रगाढ ढंगले जोडिएको जनमतसमेत यसको पक्षमा उभिएको छ । 

 

असार १४ गते

आमा चन्द्रकान्ता र बुबा देवीप्रसाद भण्डारीको कोखबाट २००९ असार १४ गते माहिँला सन्तानको रूपमा ताप्लेजुङको ढुंगेसाँघुमा मदनकुमार भण्डारीको जन्म हुनुले यो समयको महत्त्व असाधारण छ । समयको पहिचान र मापनका हिसावले असार अर्थात् मध्यबर्खायाम । अधिकांश नेपाली कृषकको पसिनासिञ्चित र श्रमभावमिश्रित मर्मानुसार मानो खाएर मुरी उब्जाउने बेलासमेत असार परेकोले यो समयलाई मदनकुमार भण्डारीको जन्म र विकासक्रमले नेपाली समाजमा परिवर्तनप्रतिको उर्लंदो जागरण र बिचारको बीजाङ्कुरणको रूपमा यो जन्मोत्सवलाई लिन सकिन्छ । 

असार १४ गते र मदन भण्डारी

नेपाली राजनीतिमा कुँदिएको नवीन बिचार जनताको बहुदलीय जनवादका प्रणेता र प्रखर ब्याख्याताका रूपमा मदनकुमार भण्डारीको उदयलाई बिचारको मानो र समयक्रममा उब्जेको उपलब्धीलाई मुरी भनिनु अन्यथा हुँदैन । प्रारम्भदेखि नै मेधावी बालक विद्यार्थीका रूपमा विकसित उहाँको युवाउत्तरार्धको प्रगतिशील अध्ययनप्रतिको रूझान र यसको प्रभावका हिसावले समाजमा अन्याय सहन नसक्ने स्वभाव, विरोधस्वरुप सिर्जनाले भरिएको विद्रोहको असाधारण ज्वार, विषयवस्तुको अग्रभागमा प्राप्त उच्चतम् ज्ञानको आधार, समकालीन परिवेश र परिस्थिति सुहाउँदो साहित्य र सिर्जनामार्फत नवीनपनको चिन्तनको विकासले आकर्षित एउटा ओज र क्रेजले खँदिलो राजनीतिककर्मीका ठाउँमा अत्यन्तै दृढ मदनकुमार भण्डारीको २०५३ जेठ ३ गतेअघिको क्रियाशीलताले नेपाली राजनीतिक मानचित्रबाहेक अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा पारेको प्रभावलाई मुरीको संज्ञा दिएरमात्र पुग्दैन । यो युगीन उपलब्धीका रूपमा असाधारण र कालजयी महत्त्वको छ । 

कला, साहित्य र सिर्जनाको मूल फुटाउँदो र फस्टाउँदो प्रस्तुतिसँगै २०२८ सालमा नेकपा महासचिव पुष्पलालसँगको भेटपछि पूर्णतः राजनीतिमा लाग्नुभएका मदनकुमार भण्डारी आफूलाई सांस्कृतिक रुपान्तरणको अभियानमा जोड्नुहुने मोदनाथ प्रश्रित र युद्धप्रसाद मिश्रसँगै नेतृत्वमा स्थापित हुनु बिचारका बहस र विमर्शका हिसावले सानोतिनो खेती थिएन । २०३२ सालमा नेकपाको नेता, ०३३ सालमा मुक्तिमोर्चा समूहको निर्माण, ०३४ सालमा पुष्पलाल समूहमाझ विद्रोह गरेपश्चात को–अर्डिनेशन केन्द्रसँगको आवद्धता र ०३५ सालमा नेकपा (माले) स्थापना गर्नु बिचारको खेतीका हिसावले आज प्राप्त राजनीतिक जीवनमा यसको जग निर्माणका दृष्टिकोणले सानो उपलब्धी थिएन । ०४१ साल वैशाखमा पार्टीको पोलिटब्युरो सदस्य र ०४६ सालमा सम्पन्न नेकपा (एमाले)को चौथो महाधिवेशनमा महासचिव बन्नु राजनीतिमा बिचारको खेती फस्टाउनु नै थियो । ०४६ सालमा सम्पन्न जनआन्दोलनको राजनीतिक बैचारिक कमान्डसहित ०४७ सालमा भूमिगत जीवनबाट सार्वजनिक हुँदै गर्दा नेकपा (माले) र माक्र्सवादी शक्तिबीच सम्पन्न एकीकरणको प्रक्रियाबाट निर्मित नेपाल कम्युनिस्ट पार्टी (एकिकृत माक्र्सवादी–लेनिनवादी)को सर्वसहमत महासचिव हुनु युग निर्माणको दह्रिलो जग बसाल्न चाहिने मुरी शक्तिको सञ्चय गर्नु थियो । 

मदन भण्डारी र नेपाली क्रान्ति

चितवनको दासढुंगामा ०५० साल जेठ ३ गते नेकपा (एमाले) महासचिव मदनकुमार भण्डारी र सहयोद्धा जीवराज आश्रितको अकल्पनीय निधन हुनुले नेपाली राजनीतिक क्षितिज अँध्यारो भयो, मुलुक स्तब्ध भयो । यो क्षति कम्युनिस्ट पार्टी र आन्दोलनका लागि मात्र थिएन, सिंगो मुलुक र यहाँको बामप्रजातान्त्रिक आन्दोलनका लागि थियो । नेपाली राजनीतिक मानचित्रमा उभिएको नायकको सपनासमेत ध्वस्त हुनु थियो । 

यसबीचका राजनीतिक उपलब्धी र गणितीय सफलताको फड्कोलाई पछिल्लो पुस्ताका हामी विद्यार्थीले अध्ययन गर्दा नेपालको राजनीतिमा पृथक उचाइसहितको परिचय कमाउनुभएका राजनेताका रूपमा जननेता मदन भण्डारीको आयामलाई उहाँको बहुआयमिक व्यक्तित्वका रूपमा लिन सकिन्छ ।

सोभियत विघटनको प्रभावस्वरुप कमजोर तथा विकासोन्मुख देशहरूमा विघटनको संघारमा रहेको कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशाबोध दिने, यसनिमित्त राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा जागरणको रक्तसञ्चार सिर्जना गर्ने, देश दुनियाँको सिकाइबाट यसको सार खिच्दै नेपाली माटो र समग्र परिवेश सुहाउँदो जनताको बहुदलीय जनवादको नक्शा चित्र कोर्ने यसका प्रणेताका रूपमा राजनीतिक वृत्तमा मदनकुमार भण्डारी सगरमाथाको चुचुरो झैँ सर्वाधिक अग्लो र सग्लो ढंगले परिचित नाम हो ।

विश्व कम्युनिस्ट आन्दोलन र त्यसका सैद्धान्तिक दृश्यपरिदृश्यका अन्तरसम्बन्धित पाटामा समयोचित ढंगले केस्रा–केस्रा गरेर विश्लेषण गर्न सक्नु, हुर्किएका कतिपय यान्त्रिक जडतालाई छिचोल्दै माक्र्सवादभित्र जीवनको रंग खोज्न अग्रसरता लिनु र सिद्धान्ततः यसको संश्लेषणात्मक सार खिच्नु नै मदनकुमार भण्डारीको मौलिक र सिद्धान्तनिष्ठ योगदानको सर्वाधिक महत्त्वपूर्ण पक्ष हो । 

यसक्रममा विकसित जनताको बहुदलीय जनवादको आलोकमा यसका प्रणेता जननेता मदनकुमार भण्डारीलाई उहाँको भौतिक अनुपस्थितिमा पनि उहाँलाई रोज्न, उहाँको पदचापलाई खोज्न र पदचिन्हलाई निर्धक्क अनुसरण गर्न सकिन्छ । आज नेपाली क्रान्तिको एक तहको ठहराव, अग्रगति र प्रगति यहिँनेर छ । 

मदन भण्डारी र माक्र्सवादी आलोक

जनताको बहुदलीय जनवाद नेकपा (एमाले) को राजनीतिक बैचारिक हतियार मात्र होइन, माक्र्सवादी चिन्तन र विश्व दृष्टिकोण बन्दै गएको परिप्रेक्ष्यलाई भारतको कोलकातामा सन् २००३ मा सम्पन्न भएको विश्वका २४ देशका कम्युनिस्ट पार्टीको महासम्मेलनमा सुस्पष्ट उधृत भएको थियो । उहाँको प्रस्तुतिपछि २१ औँ शताब्दीको कम्युनिस्ट आन्दोलन र माक्र्सवादको सामयिक, साझा र व्यावहारिक धरातलमा उभिएको राजनीतिक सिद्धान्त र दर्शनका रूपमा जनताको बहुदलीय जनवाद स्थापित भयो । जनताको बहुदलीय जनवाद नेकपा (एमाले) सैद्धान्तिक जग र नेपाली क्रान्तिको सर्वस्वीकार्य पक्षको रूपमा उभिन पुग्यो । जननेता मदनकुमार भण्डारीको राजनीतिक बैचारिक कमान्डसहितको अगुवाइमा सम्पन्न नेकपा (एमाले) को पाँचौँ राष्ट्रिय अधिवेशनले जनताको बहुदलीय जनवादलाई करतल ध्वनीका साथ अनुमोदन गरेलगत्तै अहिले प्रयोगका वर्षका रूपमा एमालेले यो ब्याडमा आशातीत चहकिलो, गहकिलो र महकिलो जीवन पाएको छ । 

जनताको बहुदलीय जनवाद नेपाली समाजको बहुलवादमा आधारित सामाजिक सांस्कृतिक चरित्रको प्रतिनिधित्व गर्ने बहुविचारको पृष्ठभूमिमा उभिएको सर्वमान्य बिचार हो । समाजमा उपलब्ध विचारको सहअस्तित्वलाई व्यवहारको पाइनमा जाँच्न जोड दिनुहुने जननेता मदनकुमार भण्डारीद्वारा प्रतिपादित यो सिद्धान्तलाई तोडमरोड गर्ने धृष्टताहरू पनि नभएको होइन, जनसहभागितासहितको स्वस्थ्य प्रतिस्पर्धाबाहिर आफ्नो गुह्यभूमिका देख्नेहरू तोडमरोडको यो क्रमसँगै रसातलमा भासिएका छन् भने नेपाली राजनीतिक धरातलबाट नासिएका पनि छन् । छलाङ र क्रमभंगता भन्दै बिचारको उल्का पोख्नेहरू अहिले एमालेकै आडभरोसमा जीवन नियाल्न आइपुगेका छन् । 

माक्र्सवादी आलोक र जनताको बहुदलीय जनवाद 

जनताको बहुदलीय जनवादले माक्र्सवादको नयाँ संस्करणको रूपमा ठाउँ लिइरहेको छ । कैयौँ सामाजिक प्लेटफर्महरूमा जनताको बहुदलीय जनवादले माक्र्सवादको नेपाली अनुवाद वा संस्करण भन्ने मान्यता स्थापित भएको छ, यसबीचमा प्रयोगसिद्ध भएको छ । अकाट्य सत्यको रूपमा जनताको बहुदलीय जनवादले नेपालको बामप्रजातान्त्रिक आन्दोलनमा मात्र होइन विश्व कम्युनिस्ट आन्दोलनमा परिवर्तित परिस्थितिमा माक्सवार्दको रचनात्मक प्रयोग गर्न जोड दिएको छ, मार्गनिर्देश गरेको छ । प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गर्नु, आवधिक रूपमा जनमतका लागि जानु र जनताबाट अनुमोदित हुनु र जनमत प्राप्त गर्न कम्युनिस्ट पार्टी केवल नामले होइन, सिद्धान्तको रंग हरियो निरुपण गर्नुपर्नेमा जनताको बहुदलीय जनवादले जोड दिएको छ, पृथक महत्त्वका साथ योगदान गरेको छ । 

जनताको बहुदलीय जनवादले भन्छ– राजनीतिक दलले समाज चिन्नुपर्छ, समाज बोक्नुपर्छ र समाजको चरित्रको प्रतिनिधित्व गर्नुपर्छ । अर्थात् समाजको साझा र सर्वस्वीकार्य प्रतिनिधि संस्थाको रूपमा दलमा समाजको चित्र, चरित्र र भाव झल्कनुपर्छ । यसनिमित्त भूराजनीतिक अवस्थालाई प्रभाव पार्ने समाज र सामाजिक बनावटका आधारमा दलीय व्यवस्था निरुपण गर्न दलीय जीवनको व्यवस्थापनभित्र लोकतान्त्रिकरणलाई समेत महत्त्वका साथ उठाएको छ । यसैको आलोकमा राजनीति निर्देशित छ । पछिल्लो निर्वाचनमा प्राप्त जनमतको रोजाइ र खोजाइको पहिलो पार्टी बनेको नेकपा (एमाले) को राजनीतिक बैचारिक जीवन लोकतान्त्रिक अभ्यासबाट अभ्यस्त छ, लोकतान्त्रिकीकरणको प्रक्रियालाई पार्टी निर्माणको मेरुदण्डको रूपमा अवलम्बन गर्दै आएको छ । 

जनवादको सुदृढीकरण, समाजवादको निम्ति भौतिक तयारी र समाजवादको पक्षमा जनताको बहुमतलाई गोलबन्द गर्ने विधिद्वारा मात्र समाजवादउन्मुख यात्रा सम्भव हुने शर्तलाई जनताको बहुदलीय जनवादले दृढतापूर्वक आत्मसात गर्दछ । यद्यपि, यसनिमित्त हाम्रो अभ्यासको पक्षलाई सुक्ष्म ढंगले केलाउन जरुरी छ । 


निर्विरोध र निर्विघ्न पक्ष जनताको बहुदलीय जनवाद

जनताको बहुदलीय जनवाद कार्यक्रम हो कि ! कार्यनीति हो कि ! रणनीतिक पक्ष हो कि ! के हो यो ? यो कसरी सिद्धान्त हुन सक्छ ? भनेर यसको सैद्धान्तिक प्रस्थानको पक्षमाथि नानाभाँती कुरा उठाउने, उकेरा लगाउने, यदाकदा धावा बोल्ने र राग ओकल्ने काम प्रशस्तै मात्रामा भए पनि जति पाइन लगायो, उति नै धारिलो भने झैँ प्रयोगमा धारिलो भएको जनताको बहुदलीय जनवादविरुद्ध अनुचित धावा बोल्ने व्यक्ति र शक्तिलाई खुम्च्याउँदै स्थापित आफ्ना १४ वटा विशेषताहरूको फराकिलो जग निर्माण भएको छ । 

१) संविधानको सर्वोच्चता ः कुनै पनि वर्ग, व्यक्ति, संस्था वा पार्टी संविधानभन्दा माथि हुन सक्दैन । संविधान सबैको निम्ति अनुल्लंघनीय हुनुपर्दछ । समाजको निरन्तर कार्यप्रगतिको पक्षलाई संविधानले निकास दिन सक्नुपर्दछ ।

२) बहुलवादी खुला समाज ः  प्रत्येक सचेत व्यक्तिलाई आमरूपमा नागरिक र राष्ट्रको निम्ति सोच्ने, बोल्ने तथा आफ्ना प्राप्त अनुभूतिहरू निर्धक्क राख्ने, अभिव्यक्त गर्ने र तदानुकूल संगठन गर्ने स्वतन्त्रता हुनुपर्दछ । रिमोर्टले नियन्त्रण गरेको टेलिभिजनजस्तो कसैको निगाह नियन्त्रित, राय राख्न नसकिने बन्द र एकोहोरो समाज हुनुहँदैन । 

३) शक्ति पृथकीकरणको सिद्धान्त ः शासकीय स्वरुपअनुसार प्राप्त शक्ति व्यक्तिको हातमा मात्र होइन, बृहत्तर जनमतको हितअधिनस्थ राख्न संस्थाको हातमा हुनुपर्छ । यद्यपि, यो पनि अति केन्द्रीकरण हुनुहुँदैन । एउटै संस्था सर्वथा कार्यकारी, विधायकी र न्यायिक हुँदा अधिकारको प्रयोग र विनियोजन सन्तुलित रहन सक्दैन । यसर्थ शक्ति केन्द्रीकृत अर्थात् केन्द्रीय शक्ति पनि हुनुहुँदैन ।

४) मानव अधिकारको रक्षा ः साँचो अर्थमा श्रमको मूल्यसँग साटिएका इमान र निष्ठापर्याय शक्तिका रूपमा उभिएका कम्युनिष्टहरू नै मानव अधिकारको सबभन्दा दृढ योद्धा हुन् र हुनसक्छन् । मानव अधिकारको रक्षा कम्युनिष्ट आन्दोलनको महत्त्वपूर्ण तत्व हो र हुनुपर्दछ ।

५) बहुदलीय प्रतिस्पर्धा प्रणाली ः राज्य र राजकीय निकायहरू आमरूपमा नागरिकका चासो र सरोकारका विषय हुन् । यसमा एउटा मात्र वर्ग र दल विशेषको एकाधिकार हुनुहुँदैन । वर्गीय विविधता भएको समाजमा वर्गअनुरुप धेरै थरिका दलहरू हुन्छन् र हुन सक्दछन् । तिनलाई संविधान बमोजिम राजनीतिक प्रतिष्पर्धा गर्ने स्वतन्त्रता दिनुपर्दछ ।

६) आवधिक निर्वाचन ः मताधिकारसम्पन्न नागरिकले इतिहासमा कुनै एकबेलामा एकपटक गरेको निर्णय संधैको निम्ति जीवन्त हुन सक्दैन । यसमाथि बिचार–विमर्श हुनुपर्दछ । बिचार पोखिने थलोको रूपमा आवधिक निर्वाचन हुने गर्नुपर्दछ । निर्वाचन– प्रकट विचार, कार्यक्रम र नीतिहरूको आधारमा निश्चित अवधिमा हुनुपर्दछ । राज्यका आँखाले हेर्दा– एउटै नीति र कार्यक्रमभित्र व्यक्ति मात्र रोज्न पाउने व्यवस्था सारतत्वमा लोकतान्त्रिक हुन सक्दैन ।

७) बहुमतको सरकार र अल्पमतको विपक्ष ः बहुदलीय प्रणाली र स्थापित पद्दतिको मूल तत्व जनमतमाझ मतबाहक शक्तिको संगठित प्रतिष्पर्धा हो । अर्को तत्व भनेको जनमतले दिने परिणामस्वरुप विकसित पक्ष भनेको बहुमतको सरकार र अल्पमतको विपक्ष हुने संवैधानिक व्यवस्था हो । प्राप्त जनमतअनुसार सरकारको विपक्षमा रहेर वैधानिक रूपमा काम गर्न पाउने प्रणाली लोकतान्त्रिक प्रणाली हो ।

८) कानूनको शासन ः कुनै पनि व्यक्ति कानूनमाथि रहन सक्दैन । कानूनी छुट कसैलाई हुँदैन । कानूनी अवसर वा दण्डसजाय सबैलाई बराबर हुन्छ । कानून अनुसार अधिकार प्राप्त निकायको औपचारिक निर्णयबाट मात्र दण्डित गर्न सकिने व्यवस्था । सरकार र शक्ति हातमा भएको कुनै पनि निकाय वा व्यक्तिले स्वेच्छाचारी ढंगले काम गर्न पाउने छैनन् र ती सबै प्रचलित कानून अनुसार गरिने छन् ।

९) जनताको जनवादी व्यवस्थाको सुदृढीकरण ः जनताको जनवादी व्यवस्था लोकतन्त्र र लोकतान्त्रिक विधिअनुरुप चल्ने भएकोले अपेक्षाकृत लामो समयसम्म रहने सामाजिक व्यवस्था हो । यसलाई चरणवद्ध रूपमा अगाडि बढाइने हुन्छ । यसको पहिलो चरणमा पुरानो व्यवस्थाका शोषणजन्य अवशेषहरू सबै क्षेत्रबाट अन्त्य गर्ने काममा राजनीतिक सत्ताको ध्यान केन्द्रीत हुनेछ । दोस्रो चरण नयाँ उत्पादन सम्बन्धको आधारमा समाजका सबै क्षेत्रमा भौतिक र सांस्कृतिक दुवै हिसाबले विकास गर्ने कुरामा राज्यको राजनीतिक सत्ताको ध्यान केन्द्रीत हुनेछ र तेस्रो चरणमा समाजवादतर्फको संक्रमणको तयारीका निम्ति सम्पूर्ण हिसावले राज्यसत्ता केन्द्रीत भएर काममा लाग्ने छ, मूलतः यसबखत भौतिक तथा सांस्कृतिक तयारी हुनेछ । 

१०) विदेशी पूंजी र प्रविधिको प्रयोग ः  राष्ट्रिय आकांक्षाअनुरुप समुन्नतिका आधार तयार गर्न वैदेशिक पूँजी र प्रविधिको सवालमा नीतिगत रूपमा ढोका बन्द गरिने छैन । आफ्नो हितअनुकूल रहँदै संविधान र ऐन कानूनको सिमाभित्र राष्ट्रिय हितलाई ख्याल राखेर वैदेशिक पूँजी र प्रविधिको लगानी, संरक्षण र उपयोग गरिने व्यवस्था हुनेछ ।

११) क्षतिपूर्तिको व्यवस्था ः समृद्ध नेपाल र खुशी नेपाली निर्माणको विद्यमान राष्ट्रिय आकांक्षा पूरा गर्न नयाँ समाजको जग हाल्नु अनिवार्य शर्त हो । यो निर्माणमा सकारात्मक योगदान गर्न नचाहने र त्यसको विरोध र ध्वंसमा लाग्ने सामन्ती जमिन्दारबाहेक अरूलाई जमिनको क्षतिपूर्ति दिइने छ । क्षतिपूर्तिलाई उद्योग, व्यापार र व्यवसायतर्फ स्थानान्तरित गराउने नीति लिइने छ ।

१२) विदेश नीति ः पञ्चशिलको सिद्धान्तअनुरूप वैदेशिक सम्बन्ध कायम गरिने छ । आफ्नै प्रत्यक्ष पहलबाट अन्तर्राष्ट्रिय समर्थन जुटाउने र क्रान्ति र निर्माणको ठोस व्यवहारिक विषयलाई बेवास्ता गरेर केवल सैद्धान्तिक आग्रहबाट मात्र वैदेशिक नीति निरुपित नहुने कुराको सुनिश्चिता हुनेछ । 

१३) नेतृत्व र अधिनायकत्व ः सेवा, पहलकदमी र प्रतिष्पर्धाद्वारा नेतृत्व प्राप्त गर्ने । अधिनायकत्व शव्दको सट्टा आमरूपमा जनताको जनवादी राज्यसत्ता शव्दको प्रयोग गर्ने व्यवस्था हुनेछ ।

१४) जनताको बहुदलीय जनवाद ः यो नेपाली समाजको सन्दर्भको समाजवादको समुन्नत आधार सिर्जना गर्ने जनवादी कार्यक्रम पनि हो । जनवादी क्रान्तिको सारतत्व र यस कार्यक्रममा थप १४ विशेषतालाई व्यक्त गर्ने गरि जनताको बहुदलीय जनवाद नामाकरण गरिएको हो ।


उपसंहार निर्देशित आजको यात्रा 

यी माथिल्ला विशेषताको जगमा हेर्दा जननेता मदनकुमार भण्डारीको राजनीतिक बैचारिक योगदानको पक्ष अतुल्य छ । आज प्राप्त लोकतान्त्रिक गणतन्त्रउन्मुख संघीय राज्यको संरचनागत पक्षलाई उहाँले शक्तिको पृथकीकरणका रूपमा विकसित अवधारणा अघि सार्नुहुँदै सुस्पष्ट ढंगले व्याख्या विश्लेषण गर्नुभएको छ । उहाँभित्रको कस्तो यो दुरत्व ! देहावसानको झण्डै ३० वर्षपछि पनि राज्यलाई निर्देशित गर्ने संविधान र संविधान निर्देशित राज्यको राजनीतिक मूल्यमान्यता उहाँकै बैचारिक योगदानका वरिपरि चलेको पाइन्छ । 

जननेताका अनुसार जनताको बहुदलीय जनवाद मूलतः जनवादी राज्यसत्ता हो, जसको शासन प्रणालीमा बहुदलीय प्रतिस्पर्धा रहेको हुन्छ । अर्थात् यसमा क्रान्तिपछि पनि स्थापना हुने राज्यसत्ता कुनै एकाधिकारसहितको अधिनायकत्व होइन, जनवादी अथवा पूर्णतः लोकतान्त्रिक हुने हुन्छ । क्रान्ति पूर्वको राज्यसत्ता पुरानो जनवाद जस्तो पूँजीपति वर्गको एकलौटी नभई जनताको समेत संयुक्त राज्यसत्ता हुने भएकोले बहुवर्ग बीच प्रतिस्पर्धालाई यसले स्वीकार गर्दछ । वर्गीय समाजमा दलहरूले वर्गहरूको राजनीतिक प्रतिनिधित्व गर्ने भएकोले त्यस्तो प्रतिस्पर्धा दलीय हुनेसमेत व्यवस्थालाई यसले स्वीकार गरेको छ । वस्तुतः यही तथ्यहरू र थप केही विशेषतासमेत अंगीकार गरिएको यो जनताको बहुदलीय जनवाद प्रारम्भिक चरणमा कार्यक्रम हो भने नेपाली समाज, यहाँको वस्तुस्थिति, परिवेशसुहाउँदो समाजवादका आधार सिर्जना गर्ने र समाजवाद प्राप्त गर्ने सैद्धान्तिक शस्त्र हो । 

विषयगत रूपमा गहकिलो अध्ययन र खँदिलो चिन्तनको जगबाट यसको सारतत्वसहित मन्थन विकास गर्न सक्नुहुने जननेता मदनकुमार भण्डारी पटकपटक जोड दिनुहुन्छ– माक्र्सवाद गुरुकुल आचरणमा बाँधिएका विद्यार्थीको घोकन्ते विद्याजस्तो शास्त्र होइन, गरिखाने वर्गका लागि प्राणदायक सूत्र बन्नुपर्छ । जनताको बहुदलीय जनवादलाई माक्र्सवादको आलोकमा यसको सत्यता जाँच्नुपर्छ । आलोचक र फरक मतबाहक व्यक्ति र शक्तिलाई पनि रिझाउन र सहकार्यमा आधारित सहयात्राको आधार तयार गर्न सक्नुपर्छ । जनताको बहुदलीय जनवादको पक्षपोषण गर्ने नेता कार्यकर्ताको दैनिकी र जीवनशैलीमा व्यक्तिको शैली र संस्कारमा आचरणको आभास हुनुपर्छ ।  

हामीकहाँ पछिल्लो समयमा निर्वाचन आउनुपूर्व टिककका लागि पार्टी अधिवेशनताका जनताको बहुदलीय जनवादको चर्चा, शब्दोच्चारण र गीतगायन बढी हुने गरेको छ । नियमित रूपमा यस्ता घटना परिघटना हुने भए राम्रै पनि हुन्छ किनभने यसले बिचारलाई समृद्ध तुल्याउछ, समृद्ध र सुदृढ बिचारले व्यवहारमा निखार ल्याउछ र परिस्कृत बिचार र निखारिएको व्यवहारको संयोजनले राजनीतिकसत्ता दह्रो बनाउछ । राजनीतिकसत्ता दह्रिलो भएसँगै राजकीयसत्ता अनुकूल रहन्छ । तर टिकाउ र बिकाउपन कति रहन्छ ? भन्ने मूल प्रश्नको उत्तर बगरमा गीत गाएको लयजस्तै हुने गरेको छ । यदाकदा चुलिएका महत्त्वाकांक्षा र पदाकांक्षा प्राप्तिको लालसाले जबजलाई गजब भजनमालाजस्तो बनाएको छ । यस्ता पक्षलाई कसैले पनि आश्रय वा प्रश्रय दिइरहने पक्ष कति सान्दर्भिक र वाञ्छनीय हुन्छ ? जनताको बहुदलीय जनवादका पक्षधरले गम्भीरतापूर्वक सोच्नुपर्छ । 

आवधिक निर्वाचन र अधिवेशनको प्रक्रिया अघि बढ्दै गर्दा यदाकदा परस्परमा को कसको भनेर ट्याग लाग्ने र एकले अर्काको ब्याग बोक्ने पात्र विशेष प्रवृत्ति प्रशस्तै मात्रामा देखिएका छन्, भेटिएका छन् । बिचार निर्माणकालको एउटा स्रष्टा, सर्जक र अग्रज आन्दोलनबाट टाढिने र किनार लाग्ने खतरा पनि सँगसँगै बढ्दै गएको छ । ट्याग लाग्ने, ब्याग बोक्ने र टाढिने वा किनार लाग्ने प्रवृत्तिले आन्दोलन र व्यक्ति स्वयंको नेतृत्व विकासमा के असर पार्ला ! नेतृत्वले बेलाछँदै सोच्नुपर्छ । यसबाट मुक्त र उन्मुक्त रहन सक्नुपर्छ ।   

भरखरै अघिमात्र स्थापनाको ७५ औँ दिवस अर्थात् हीरक महोत्सव मनाइसकेको पार्टीले आफ्नो जीवन प्रणालीलाई कसैको रहरमा र लडहमा होइन, विषयगत ढंगले उच्च तहको सुझबुझ र परिपक्वतासाथ मैदानमा उतार्नुपर्छ । मैदानमा उत्रिएपछि परिक्षित भएको एमालेप्रति प्रकट जनाकांक्षाद्वारा निर्देशित कामको आवश्यकताका आधारमा नेतृत्व निर्माणको भएको पृष्ठभूमिलाई विगतबाट पढ्न सकिन्छ र सक्नुपर्छ । 

नेकपा (एमाले)– निर्वाचन आयोगमा भरखरै अघि दर्ता गरेर आएको शक्ति होइन । प्रदुषित होहल्ला फिँजाएर सामथ्र्य आर्जन गर्नु छैन । होहल्लाकै प्रभावमा खसेको मतप्रभावस्वरुप प्राप्त समानुपातिक मतभार लिन हतारिनु छैन । एमाले पुरानाकै बीचमा सिर्जनशील बिचार र युग निर्माणको अभिभारा बोकेको कार्यक्रमले समाजमा नयाँपन आर्जन गरेको शक्ति हो । देशभक्तिपूर्ण आन्दोलनको अविचलित योद्धा हो, बृटिशकालीन भारतको अंग्रेज साम्रज्य विस्तारविरुद्ध लड्ने वीर गोर्खालीले चलाएको यात्राको अविच्चिन्न उत्तराधिकारी हो, गर्विलो सारथि हो । आन्दोलनको आकर्षणसहित प्राप्त यो उत्कर्षबाट कुनै पनि एमालेजन किञ्चित टाढा र अलगथलग रहन सक्दैन र रहनुहुँदैन । 

अनुकूल प्रतिकूल जस्तोसुकै बेलामा पनि निर्भीक शक्तिका रूपमा उभिनु नै नेपाली क्रान्तिको ज्वार सिर्जना गर्ने राजनीतिक बैचारिक पथपर्दशक जननेता मदनकुमार भण्डारीको जन्मदिन असार १४ गते, जननेता मदनकुमार भण्डारीप्रति उब्जेको उँचो श्रद्धाभावको स्मरण, प्रतिपादित बिचारको पक्षपोषण र नेपाली क्रान्तिको सफलताका निमित्त जनताको बहुदलीय जनवादको अन्तर्य अध्ययन यहाँनेर पुष्टि हुन सक्छ । 

जननेता मदनकुमार भण्डारीको बहुआयमिक व्यक्तित्वलाई पछ्याइरहने संकल्पसहित ७२ औँ जन्मजयन्तीको अवसरमा हार्दिक श्रद्धासुमन ! 

(लेखक नेकपा एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ ।

लेखकको बारेमा
Image
युवराज बास्कोटा

नेकपा एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ ।