६ पुष २०८१, शनिवार

स्वास्थ्य

जीवन बचाउने थलो बन्यो मेचीनगरको सर्पदंश उपचार केन्द्र

२२ असार २०८१, शुक्रवार
Image

झापा, २१ असार । सर्पदंशका विरामीको उपचारमा राष्ट्रिय ख्याति आर्जन गरेको मेचीनगर नगरपालिका–१३ को सर्पदंश उपचार केन्द्रले दुई दशकमा २० हजार भन्दा बढी मानिसलाई अकाल मृत्युबाट बचाएको छ ।

नेपाली सेना र समुदायको साझेदारीमा सञ्चालित २५ शैयाको यो उपचार केन्द्रमा इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुमबाट मात्र नभएर छिमेकी मुलुक भारत पश्चिम बंगालको दार्जीलिङ, सिलिगुढी र बिहारको किशनगञ्ज र ठाकुरगञ्जसम्मका सर्पदंशका बिरामी आउने गर्छन् ।

बीएन्डसी टिचिङ हस्पिटल विर्तामोड, प्रादेशिक अस्पताल भद्रपुर जस्ता कोशी प्रदेशकै ठूला र सुविधासम्पन्न अस्पताल रहेको झापामा सर्पले डसेका विरामी भने चारआलीकै उपचार केन्द्रमा आउने गर्छन् । यहाँ सबै प्रकारका विषालु सर्पले डसेको उपचार हुन्छ ।

केन्द्रको सञ्चालक समितिका अध्यक्ष दुर्गा भट्टराई सानो र कम सुविधायुक्त भए तापनि जनविश्वास अन्तर्राष्ट्रिय स्तरमा फैलिएको कारण यसको स्तरोन्नतिमा राज्यको ध्यान पुग्नु पर्ने बताउनुहुन्छ ।

उहाँले केन्द्रलाई नेपाली सेनाले जग्गा र प्राविधिक सहयोग गरिरहेको बताउनुभयो । आफ्नो व्यारेकभित्र सीमित यस उपचार केन्द्रलाई नेपाली सेनाले वि.सं. २०६० चैत्र ५ गते समुदायलाई हस्तान्तरण गरेको थियो । 


सैनिकहरुलाई जंगलमा बस्दा सर्पले डसेमा शीघ्र उपचार गर्नका लागि व्यारेकभित्र सानो युनिट सञ्चालनमा रहेको थियो । गैरसैनिक व्यक्तिलाई सर्पले डसेमा उपचारका लागि व्यारेकभित्रै लगिन्थ्यो । बिरामीको चाप बढ्दै गएपछि सेनाले समुदायलाई नै यसको जिम्मा दिएको हो ।

मेचीनगरको चारआलीमा चन्द्रगढी जाने सडकमा पायक पर्ने गरी सेनाले उपचार केन्द्रका लागि जग्गा उपलब्ध गराएपछि समाजसेवी दुर्गा भट्टराईको नेतृत्वमा समुदायको सहयोग जुटाउने अभियान चल्यो । भट्टराईकै अध्यक्षतामा गठित समितिले केन्द्रको भवन र अन्य सुविधा थप्ने ऐतिहासिक कार्य गर्यो ।

मेचीनगरको भूगोलमा रहेको यो उपचार केन्द्र मानिसहरुको जीवन बचाउने थलो बन्दै गएको छ । मेचीनगर नगरपालिकाले यसका लागि भवन बनाउनदेखि सञ्चालनका लागि समेत विभिन्न कालखण्डमा उल्लेखनीय सहयोग पुर्याउँदै आएको मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी बताउनुहुन्छ ।

“सर्पदंश उपचार केन्द्र मेचीनगरको गौरव गर्नलायक संस्था हो,” नगरप्रमुख बुढाथोकी भन्नुहुन्छ–“जुन ढंगले बिरामीको चाप बढिरहेको छ । त्यसअनुरुप सुविधा कम भइसकेको छ । अब यसको स्तरोन्नतिका लागि नयाँ योजना र संकल्पको खाँचो देखिएको छ ।”

झापा र इलामका सबै पालिकाहरुले बैठक गरेर वार्षिक रुपमा दुईदेखि पाँच लाख रुपैयाँसम्म अनुदान दिने हो भने चारआलीको सर्पदंश उपचार केन्द्र मुलुककै नमुना अस्पताल बन्न सक्ने र त्यसका लागि आफुले पहलकदमी लिन तयार रहेको उहाँ बताउनुहुन्छ ।

मेचीनगर नगरपालिकाले यस संस्थाको स्तरोन्नतिका लागि प्रदेश सरकारसँग समन्वय गरेर बजेटको समेत व्यवस्था गर्दै आएको छ । आर्थिक बर्ष २०८१÷०८२ का लागि प्रदेश सरकारबाट प्राप्त योजना तथा कार्यक्रमका लागि ससर्त अनुदान स्वरुप नगरले रु १५ लाख बजेट तथा नीति कार्यक्रममा समावेश गरेको छ ।

नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले केन्द्रको स्तरवृद्धिका नयाँ योजना बनाउन समितिका पदाधिकारीहरुलाई आग्रह गरिसकेको बताउनुभयो ।

बिरामीको चाप बढ्यो

सर्पदंश उपचार केन्द्र चारआलीमा बिरामीको चाप दिनानुदिन बढिरहेको छ । यो साता उपचारका लागि आएका ८० प्रतिशत इलाम जिल्लाका थिए । बिगतमा झापाका बिरामी धेरै हुने गरेको अहिले इलामका बिरामी बढेका छन् ।

वर्षेनी एक हजारभन्दा बढीले उपचार पाइरहेको केन्द्रबाट यही वैशाखमा ६१ जना, जेठमा १२३ जना र असारमा ९३ जनाले उपचार सेवा लिएका छन् । वि.स.. २०८० मा सर्पले डसेका ९७६ जनाले केन्द्रबाट उपचार प्राप्त गरेको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

मेचीनगर–६ का ३२ वर्षीय मुन्ना कार्की प्रख्यात सर्पउद्धारकको रुपमा चिनिनुहन्छ । उहाँले जिल्लाका विभिन्न स्थानमा बिगत ११ वर्षमा एक हजारभन्दा बढी सर्पलाई मानिसका घरबाट उद्धार गरेर जंगलमा पुर्याइसकेको बताउनुभयो ।

तर तीन दिन अघि छिमेकीको घरमा उद्धार गर्ने क्रममा विषालु गोमनले डस्दा उहाँ अहिले घाइते हुनुभएको छ । उद्धार गरेर ल्याएको कालो गोमनलाई बट्टामा राखिरहेका बेला गत साता उहाँलाई डसेको थियो । उहाँको स्वास्थ्यमा हाल सुधार भइरहेको छ । उहाँको स्वास्थ्य अवस्था बुझेन समेत पालिका प्रमुख बुढाथोकी सर्पदंश केन्द्र पुग्नु भएको थियो । 

पूर्वी इलामको सूर्योदय नगरपालिका वडा नं. १ पशुपतिनगरका ३९ वर्षीय दिनेश तामाङलाई पनि यसै साता विहान घाँस काट्ने क्रममा गुर्बे सर्पले दाहिने हातमा डस्यो । गाउँका मानिसहरुले झारफुक गर्ने धामीको सम्पर्कमा उहाँलाई पुर्याए । सिरु र खरानी दलेर धामीले झारफुक गर्दा बीसको उन्नाइस नभएपछि उहाँलाई चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा लगियो ।

नेपाली सेनाको प्राविधिक सहयोगमा समुदायले सञ्चालन गरेको उक्त केन्द्रमा उपचार गराएपछि बल्ल उहाँको स्वास्थ्यमा सुधार आएको छ । तराईमा गोमन र करेत सर्प बढी विषालु छन् भने पहाडी क्षेत्रमा गुर्बे र हरेउ विषालु सर्प मानिन्छन् । बर्खा याममा मानिसलाई डस्ने मुख्य सर्प यिनै हुन् ।

मेचीनगर–१५ बिचार्नीका ५१ वर्षीय जुपुई हेमरम सोही सर्पदंश उपचार केन्द्रमा उपचाररत हुनुहुन्छ । उहाँको देब्रे औलामा यसै साता विहान पाँच बजेतिर ओछ्यानमै सर्पले डस्यो । 

सन्थाल समुदायमा सर्पको विष झार्न झारफुक गर्ने परम्परागत प्रचलन छ । आधा घण्टाभन्दा बढी समय तन्त्रमन्त्र प्रयोग गरेर विष झार्दा पनि सुधारको कुनै संकेत नदेखिएपछि उहाँलाई मोटरसाइकलमा चढाएर चारआलीको सर्पदंश उपचार केन्द्रमै पुर्याइयो । आफुलाई डस्ने सर्प भने देख्न नपाएको उहाँले बताउनुभयो ।

सर्पले डसेपछि धेरैजसो पीडितहरु डरले सिकिस्त हुने गरेका छन् भने कोहीले जिउँदो सर्प समातेर चिकित्सकलाई प्रमाण देखाउन अस्पताल पुर्याउने गरेका छन् । इलामको माइजोगमाई–१ का १५ वर्षीय विनोद राईले घाँस काट्दा आफुलाई देब्रै हातको औंलामा डस्ने विषालु हरेउ सर्पलाई जिउँदै समातेर चारआलीको सर्पदंश उपचार केन्द्रमा पुर्याए । जहाँ उनको उपचार भइरहेको छ ।

हिउँदमा गुप्तबास बस्ने गरेका सर्पहरु बर्खा याममा जमिनको सतहमा आहाराका लागि निस्कन्छन् । ओसिलो, पाखो र कुनाकाप्चा खोज्दै जाने सर्पसँग जम्काभेट हुँदा मानव–सर्प द्वन्द्व हुने गरेको छ । जसका कारण नेपालमा वर्षेनी सयौले ज्यान गुमाउने गरेका छन् ।   

बेलैमा भरपर्दो अस्पताल वा चिकित्सकको सम्पर्कमा पुर्याए सर्पदंशका सबै बिरामी उपचारबाट बाँच्ने नेपाली सेनाका चारआलीस्थित अरिदम गणका स्वास्थ्य प्राविधिक कृष्ण थापा बताउनुुहुन्छ । सर्पदंश उपचार केन्द्र चारआलीमा मुख्य प्राविधिक रहनु भएको उहाँले पछिल्लो समय जलवायु परिवर्तनका कारण पहाडी र हिमाली भेगमा समेत सर्पको बिगबिगी बढ्न थालेको बताउनुभयो ।

“पहाडमा गुर्बे, हरेउ र तराईमा गोमन र करेत प्राणघातक सर्प हुन्,” उहाँले भन्न्ुभयो–“हामीकहाँ उपचारका लागि आउने अधिकांश बिरामीले तिनै सर्पले डस्यो भन्ने गर्नु भएको छ । बर्खाको चार पाँच महिना त सर्पको डसाईको प्रकोप नै हुने गरेको छ ।”

केन्द्रको सञ्चालक समितिका अध्यक्ष दुर्गा भट्टराईले वि.सं. २०६० चैत ५ गतेदेखि नेपाली सेनाले समुदायलाई हस्तान्तरण गरेको यस उपचार केन्द्रबाट दुई दशकमा २० हजारभन्दा बढी सर्पदंशका घाइतेले सफल उपचार पाएको बताउनुभयो । 

सस्तो छ उपचार

केन्द्रले विरामीको दर्ता शुल्क रु. एक सय र साधारण उपचार सेवा शुल्क रु. ६०० मात्र लिने गरेको छ । उपचारका लागि बस्दा बेड शुल्क रु. एक सय, पाँच भाइलसम्म औषधि (एन्टी स्नेक भेनम सिरम)को रु. एक हजार पाँच सय र पाँच भाइलभन्दा जतिसुकै धेरै लागे पनि रु. तीन हजार मात्र शुल्क लिने गरिएको केन्द्रले जनाएको छ ।

विपन्न र असहाय बिरामीका लागि निःशुल्क समेत उपचार गर्दै आएको अध्यक्ष भट्टराईले बताउनुभयो । “समुदायको सहयोगबाट चलिरहेको उपचार केन्द्र भएकाले बिरामीबाट सामान्य व्यवस्थापन शुल्क मात्र लिने गरेका हौं”–उहाँले भन्नुभयो । 

कोशी प्रदेशमा १३ वटा सर्पदंश उपचार केन्द्र रहेकोमा यस जिल्लामै चार वटा रहेका छन् । चारआलीस्थित नेपाली सेनाको व्यारेक परिसरमा रहेको सर्पदंश उपचार केन्द्र कोशी प्रदेशकै सबैभन्दा ठूलो उपचार केन्द्र हो ।

नेपाल रेडक्रस सोसाइटीले दमक र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कनकाई र कचनकबल गाउँपालिकाले बनियानीमा आफ्नै लगानीमा सर्पदंश उपचार केन्द्र सञ्चालन गर्दै आएका छन् ।

सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र सामुदायिक संस्थाहरुले सर्पदंश उपचार केन्द्र सञ्चालन गर्दै आएका छन् । देशभर ८८ उपचार केन्द्र रहेकोमा २२ वटा नेपाली सेनाको प्रत्यक्ष प्राविधिक सहयोगमा उपचार केन्द्र सञ्चालनमा छन् ।

(यो लेखका लागि मेचीनगर नगरपालिकाको मेचीनगर सञ्चार प्रतिष्ठानले लेखनवृत्ति उपलब्ध गराएको छ ।)

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।