२ कार्तिक २०८१, शुक्रवार

स्वास्थ्य

बालवालिकालाई पनि हुनसक्छ डाइविटिज र थाइराइड

५ साउन २०८१, शनिवार
Image

झापा, ५ साउन । डाइबिटिज, थाइराइड, हर्मोनका कारण हुने स्वास्थ्य समस्या वयस्क र पाकाहरुमा मात्र हुन्छ भन्ने गलत सोचाई हो । वालवालिका समेत यस्ता समस्याबाट पीडित भइरहेका हुन सक्छन् ।

वालवालिकामा देखा पर्ने यस्ता समस्यालाई पिडियाट्रिक डाइबेटिज र पिडियाट्रिक थाइराइड भनिन्छ ।

पूर्णटुंग विर्तासिटी अस्पतालमा कार्यरत डा. ज्योति अग्रवाल वालवालिकामा देखा पर्ने हर्मोन, डाइविटिज र थाइराइडको समस्याको बेलैमा निदान खोज्नु पर्ने बताउनुहुन्छ । उहाँ पिडियाट्रिक एन्डोक्राइनोलजी विशेषज्ञ हुनुहुन्छ ।

कतिपय बालबालिकामा पिडियाट्रिक डाइविटिज र पिडियाट्रिक थाइराइड गर्भावस्थाबाट नै शुरु हुने उहाँको भनाई छ । 

कतिपय बालबालिकामा थाइराइडको ग्रन्थी नै नहुने र कतिपय बालबालिकामा भएको ग्रन्थीले पनि काम नगर्ने अवस्थाका विरामी उपचारका लागि अस्पतालमा आउने गरेको उहाँको भनाइ छ ।

जंकफुड, प्याकेटमा बन्द खानेकुरा, मोवाइल, टिभी र ग्याजेटको बढी प्रयोगका कारण पनि बालबालिकामा यस्तो समस्या हुने गरेको डा. अग्रवाल बताउनुहुन्छ ।  

जसका कारण बालबालिकामा मोटोपन बढेर जाने र टाइप टु डाइविटिज, थाइराइडको समस्या हुने गरेको उहाँको भनाई छ । कतिपय आमाहरुले बच्चा जन्मिएपछि राम्रोसँंग स्तनपान नगराउँदा समेत यस्ताखाले समस्याहरु देखापर्ने गरेको छ । 

हाल बिर्तासिटी अस्पतालमा डा. अग्रवालकै नेतृत्वमा टाइप वान, टाइप टू डाइविटिज, थाइराइडको उपचार भइरहेको छ । यसका साथै पिडियाट्रिक एन्डोक्राइनोलजी अन्तरगत पर्ने हर्माेनल डिस्ब्यालेन्सका कारण बालबालिकामा देखा पर्ने होचोपन, अस्वाभाविक अग्लोपनको समेत उपचार भइरहेको डा. अग्रवालले बताउनुभयो ।

बालबालिकामा तत्वको फेरबदलले गर्दा पनि विभिन्न खाले समस्या देखा पर्ने गरेको छ । सोडियम, पोटासियम, क्याल्सियमको फेरवदलले समेत यस्ताखाले समस्या हुने गरेको छ ।

बालिकाहरुमा हर्माेनल समस्याका कारण समयभन्दा अगाबै शरीरमा रौ पलाउने, छाती ठूलो हुने, समय नपुगी महिनावारी हुने जस्ता समस्या समेत आउने गरेको अग्रवाल बताउनुहुन्छ ।

नेपालमा हाल पिडियाट्रिक एन्डोक्राइनोलजीका डाक्टर ४÷५ जना मात्र रहेको र विर्तासिटी, कान्तिबाल अस्पताल र बुटवलमा मात्रै यो सेवा रहेको उहाँको भनाई छ ।

डाइवेटिज हुने बालबालिका दुब्लाउँदै जाने, पानी धेरै खान खोज्ने, खाना धेरै खाँदा समेत नमोटाउने, छिन–छिनमा भोकाउने जस्ता लक्ष्यण देखा पर्ने र थाइराइड हुँदा कोही बालबालिका मोटाउने र कोही दुब्लाउँदै जाने डा. अग्रवालले बताउनुभयो । बालवालिकामा यस्ता समस्या देखा परे तत्काल चिकित्सकसंँग परामर्श लिनुपर्छ ।

“थाइराइड हुने धेरैजसो बालवालिका मोटाउँदै जाने, सुस्त हुने, छिट्टै थाक्ने गर्छन्,” डा. ज्योतिले भन्नुभयो–“कतिपय बालवालिकामा भने बच्चा आत्तिने, रिसाउने, झाडापखाला लागिरहने, धेरै गर्मी महसुस गर्ने समस्या देखा पर्छ ।”

पिडियाट्रिक एन्डोक्राइनोलजी एक विशेष चिकित्सा क्षेत्र हो । जसले बालबालिहरुमा हार्मोनल विकारहरूमा ध्यान केन्द्रित गर्दछ । यस अनुशासनमा एन्डोक्रिनोलोजिस्टहरूले हर्मोन–सम्बन्धित अवस्थाहरूको विस्तृत अध्ययन गर्दै निदान र उपचार गर्छन् ।

जस्तै बालबालिकाहरुमा देखा पर्ने मधुमेह, थाइराइड असन्तुलित हार्मोनल समस्या, किशोरावस्थामा देखापर्ने वृद्धि  विकास सम्वन्धि समस्याका क्षेत्रमा काम गर्छन् ।

टाइप वान मधुमेह भएका बालबालिकाका लागि इन्सुलिन चाहिन्छ । जसका कारण टाइप टु डाइबेटिज हुनबाट रोक्छ । यस्ता बिरामीले जीवनशैली परिवर्तन गर्न आवश्यक रहेको उनको भनाई छ । नियमित व्यायाम र सन्तुलित भोजन गर्नु पर्ने उनको सुझाव छ ।  

त्यस्तै ग्रोथ हार्मोनको कमी भएका बच्चाहरूले सामान्य वृद्धि र विकासमा मद्दत गर्न ग्रोथ हार्मोन थेरापी गर्दा बालवालिकाले सिन्थेटिक ग्रोथ हार्मोन प्राप्त गर्ने उहाँको भनाई छ ।

थाइरोइड हार्मोन प्रतिस्थापनका कारण थाइराइडको उचित कार्य सुनिश्चित गर्दै, थाइराइड हर्मोन प्रतिस्थापन औषधिसँंग हाइपोथाइराइडिज्म जस्तै हार्मोन असंतुलनको व्यवस्थापन गर्ने गरिएको उहाँको भनाई छ ।

मोटोपना देखिएका बच्चाहरुले नियमित व्यायाम गर्नु पर्ने, सन्तुलित भोजन गर्नु पर्ने उहाँको सुझाव छ । बालबालिकाका अभिभावकहरुले बालबालिकालाई विषेश निगरानीमा राख्नु पर्ने र खानपानमा ध्यान दिन जरुरी रहेको उहाँले बताउनुभयो ।

(विर्तासिटी अस्पतालमा कार्यरत वालरोग विशेषज्ञ एवम् पिडियाट्रिक एन्डोक्राइनोलजी डा. ज्योति अग्रवालसँगको कुराकानीमा आधारित)