१ असोज २०८१, मङ्गलवार

दुई महिनामै रु. एक करोड ८० लाखको सुपारीको विरुवा विक्री

१९ साउन २०८१, शनिवार
Image

झापा, १९ साउन । जिल्लामा दुई महिनाको अवधिमा रु. एक करोड ८० लाख मूल्य बराबरको सुपारीको विरुवा विक्री भएको छ । सुपारी खेती विस्तार हुन थालेपछि विरुवाको माग ह्वात्तै बढेको व्यवसायीहरु बताउँछन् ।

सुपारी उत्पादक किसान संघ नेपालका अध्यक्ष निलकण्ठ तिवारीले जेठ र असार महिनामा स्थानीय सुपारी नर्सरीहरुबाट एक लाख ५० हजार विरुवा विक्री भएको बताउनुभयो । “अहिले बर्खाको समयमा किसानहरुले सुपारीका विरुवा रोप्ने गरेका छन्,” उहाँले भन्नुभयो–“अन्नबालीको तुलनामा बढी आम्दानी हुने भएकाले झापामा सुपारी खेतीको लहर चलेको छ ।”

मेचीनगर–११ धाइजनमा निजी नर्सरी सञ्चालन गर्दै आउनु भएको नारायाण रिजालले यसपाली सुपारीको विरुवाको माग धान्न हम्मे हम्मे भइरहेको बताउनुभयो । जिल्लामा सुपारी खेतीको विस्तारसँगै विरुवाको माग बढेको उहाँको ठम्याई छ ।

उहाँले यसपालीको बर्खे अवधिका लागि भनेर १५ हजार विरुवा हुर्काउनु भएको थियो । असारसम्ममा १० हजार विरुवा विक्री भइसकेको र अब पाँच हजार विरुवा नर्सरीमा रहेको उहाँले जानकारी दिनुभयो । विक्री भएका १० हजार विरुवाबाट उहाँले रु. १२ लाख आम्दानी गर्नु भएको छ ।

किसानहरुले सुपारीको विरुवा प्रतिगोटा रु. १०० देखि रु. १२० रुपैयाँसम्ममा किनेर लैजाने गरेका छन् । जिल्लाको मेचीनगर, बुद्धशान्ति, अर्जुनधारालगायतका क्षेत्रमा दर्जनौं अनुभवी किसान र सुपारी सहकारीले सुपारीका विरुवा विक्री गर्दै आएका छन् ।

“सहकारीले उत्पादन गरेका विरुवा समेत खरिद गरेर किसानहरुलाई बेच्दै आएको छु,” उहाँले भन्नुभयो–“माग अनुसारको विरुवा उपलब्ध गराउन गाह्रो भइरहेको छ ।” भारतीय व्यापारीले टिस्यूकल्चर गरिएको, हाईव्रिड जातको र तीन बर्षमै फल्ने भनेर ग्रामीण क्षेत्रमा डुलाएर विक्री गर्दै आएको सुपारीको विरुवासँग भने किसानहरु होसियार हुनुपर्ने नर्सरी व्यवसायी रिजाल बताउनुहुन्छ । 

“सुपारीको विरुवा रोपेको छ वर्षमा फल्ने हो, तीन वर्षमा होइन,”, उहाँले भन्नुभयो, “किसान साथीहरु होसियार हुनुहोस्, टिस्यूकल्चर गरेको सुपारीकै विरुवा हुँदैन ।” सुपारीको विरुवामा झापा आत्मनिर्भर रहेको हुँदा आयातित विरुवा प्रयोग नगर्न उहाँले आग्रह गर्नुभयो ।

सुपारी उत्पादक किसान संघ नेपालका अध्यक्ष तिवारीले जिल्लामा तीन हजार ६७५ हेक्टर जमिनमा सुपारी खेती रहेको बताउनुभयो । केही वर्षयता धान र चिया खेती मासेर किसानहरुले धमाधम सुपारीका विरुवा रोप्न थालेका कारण सुपारी खेतीको क्षेत्रफल बढिरहेको उहाँको भनाई छ ।

झापा जिल्ला सुपारी खेतीका लागि उर्वर हावापानीयुक्त स्थान मानिएको छ । हात्ती लगायतका जगली जनावरले अन्न र तरकारी बाली खाएर क्षति गरिदिने हुँदा किसानहरु बैकल्पिक खेतीको रुपमा सुपारीतर्फ आकर्षित भएका हुन् । 

खेती गर्न सजिलो, कम लगानी हुने र बढी आम्दानी दिने नगदे बाली भएकाले सुपारी खेतीतर्फ आकर्षित भएका किसानलाई सरकारले समेत प्रोत्साहित गर्दै आएको छ । 

नेपाल सुपारी खेती जोन झापाका जिल्ला अध्यक्ष दीपक गौतमले जिल्लाको अर्जुनधारा, मेचीनगर, बुद्धशान्तिका वडाहरुलाई समेटर सुपारी जोन घोषणा गरिएको बताउनुभयो । उहाँले जोन अन्तरगत ७७८ हेक्टर क्षेत्रफलमा सुपारीको व्यावसायिक खेती भइरहेको बताउनुभयो । 

झापाका नर्सरीहरुमा उत्पादित सुपारीका विरुवा किन्न इलाम, मोरङ र सुनसरीदेखिका किसान आउने गरेका छन् । नागबेली सुपारी सहकारी संस्था र रमिते सुपारी सहकारी संस्थाले ठूलो संख्यामा सुपारीको विरुवा उत्पादन गरेर विक्री गरिरहेको जनाएका छन् ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।