१ असोज २०८१, मङ्गलवार

झापाको बाह्र पालिकामा आफ्नै अस्पताल

५ भदौ २०८१, बुधवार
Image

झापा, ५ भदौ । मुलुककै सुगम जिल्लाको परिचय भएको झापाका १५ मध्ये १२ वटा पालिकाले न्यूनतम १५ शैयाको अस्पताल सञ्चालनमा ल्याएका छन् । पालिका आफैले सञ्चालन गरेका अस्पतालमा इमर्जेन्सी सेवा, प्रसुति सेवा, प्रयोगशाला र अल्ट्रासाउन्ड सेवा लगायतका आधारभूत सुविधा उपलब्ध छन् । 

प्रादेशिक अस्पतालदेखि मेडिकल कलेजको अनुमति प्राप्त बीएन्डसी हस्पिटलसम्म रहेको जिल्लामा १५ शैयाभन्दा बढी क्षमताका एक दर्जन अस्पताल निजी क्षेत्रबाट सञ्चालित छन् । निजी क्षेत्रका ठूला अस्पतालमा एमआरआई सेवा समेत उपलब्ध छ ।

मेचीनगर, कनकाई र गौरादह नगरपालिकामा नगर अस्पताल सञ्चालन भइरहेका छन् भने बुद्धशान्ति, हल्दिबारी, कमल, बाह्रदशी, झापा र गौरीगञ्ज गाउँपालिकामा आधारभूत अस्पतालमार्फत पालिकाबासीले स्वास्थ्योपचार सेवा पाइरहेको स्वास्थ्य कार्यालय झापाका सूचना अधिकारी चुडामणि लुइँटेलले बताउनुभयो ।

दमक, विर्तामोड र अर्जुनधारामा नगरक्षेत्रभन्दा बाहिर समेत सेवा दिनेगरी बढी क्षमताको अस्पताल सञ्चालनमा रहेका छन् । कचनकबल गाउँपालिका र शिवसताक्षी नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा रहेका छन् । ती पालिकाले आधारभूत अस्पताल सञ्चालनका लागि तयारी गरिरहेको जनाएका छन् ।

पुरानो जिल्ला सदरमुकाम रहेको भद्रपुर नगरपालिकामा सुविधासम्पन्न प्रादेशिक अस्पताल रहेको छ भने विर्तामोड, दमक, भद्रपुर, मेचीनगर र कनकाईमा निजी क्षेत्रका ठूला अस्पताल रहेका छन् । बीएन्डसी अस्पतालले मेडिकल कलेज सञ्चालनको अनुमति पाए पनि अझसम्म कलेज सञ्चालनमा आएको छैन ।  

मेचीनगरमा अस्पताल उद्घाटन

मेचीनगर वडा नं. १० धुलाबारीमा नगर आधारभूत अस्पताल सञ्चालनमा आएको छ । मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले उद्घाटन गर्नु भएको अस्पतालमा चार जना एमबीबीएस चिकित्सकले सेवा दिन थालेका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालको रुपमा स्तरोन्नति गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताउनुभयो ।

“चार जना एमबीबीएस डाक्टरले उपचार सेवा प्रदान गर्ने गरी नगरस्तरीय अस्पताल सञ्चालनमा ल्याइएको हो,” अधिकारीले भन्नुभयो–“ चौबीसै घण्टा इमर्जेन्सी सेवासहित प्रसुति सेवा, अल्ट्रासाउन्ड सेवा, इसीजी र ल्याब सेवा उपलब्ध गराएका छौं ।”

नगर अस्पतालले आफ्नै फार्मेसी सेवा समेत सुरु गरेको मेचीनगर–१० का वडाध्यक्ष नारायण खनालले जानकारी दिनुभयो । नगर अस्पताल सञ्चालन भएको भवनमा यसअघि एक जना एमबीबीएस चिकित्सकको मात्र दरबन्दी रहेको थियो  ।

मेचीनगरको पन्ध्र वटै वडामा प्राथमिक स्वास्थ्य सेवा केन्द्र सञ्चालन भइरहेको छ । मेचीनगर–१० मा सरकारी, सामुदायिक र निजी क्षेत्रबाट गरी तीन वटा अस्पताल सञ्चालनमा रहेका छन् ।

मेची आम्दा अस्पताल सामुदायिक अवधारणाबाट सञ्चालित अस्पताल हो भने निजी क्षेत्रबाट १५ शैयाको शिखर अस्पताल समेत सञ्चालित छ ।