१ असोज २०८१, मङ्गलवार

बीएन्डसीमा एमबीबीएस विद्यार्थी पठनपाठनको तयारी

२२ भदौ २०८१, शनिवार
Image

झापा, २२ भदौ । बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले लामो पर्खाइपछि चिकित्सा शिक्षा आयोगबाट चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस)मा ५० जना विद्यार्थी अध्यापन गराउने औपचारिक स्वीकृति पाएको छ ।

कलेजका जनसम्पर्क अधिकृत प्रमिश गिरीले आयोगबाट पहिलोपल्ट यसै शैक्षिक वर्षमा ५० जना विद्यार्थी पढाउन पाउनेगरी सिट निर्धारण भएको बताउनुभयो । आयोगले शुक्रवार नै सिट निर्धारण बारेमा सार्वजनिक सूचना जारी गरिसकेको उहाँले जानकारी दिनुभयो ।

विर्तामोड नगरपालिका वडा नं. ५ विर्तामोडमा चिकित्साशास्त्रको स्नातक तहमा अध्यापन गराउने उद्देश्यले वि.सं. २०७१ फागुन १८ गतेदेखि ३०० शैयाको अस्पतालसहित बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालि सञ्चालनमा आएको थियो ।

नेपाल सरकारबाट वि.सं. २०६४ सालमै मनसाय पत्र प्राप्त गरेर प्रालिले एमबीबीएसका विद्यार्थी पढाउनका लागि सम्पूर्ण पूर्वाधार स्थापना गरिसकेपछि पनि अध्यापनको स्वीकृति पाउन लामो अवधि कुर्नु परेको जनसम्पर्क अधिकृत गिरीले बताउनुभयो ।

सर्वोच्च अदालतले वि.सं. २०८० चैत्र १३ गते बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि परमादेश जारी गरेको थियो । सोही परमादेशका आधारमा काठमाडौं युनिभर्सिटीले सम्बन्धन प्रदान गरेको हो ।

बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिका प्रिन्सिपल प्रा.डा. उमेश शर्माले सम्पूर्ण पूर्वाधार तयार रहेको जनाउँदै अब छिट्टै एमबीबीएसका विद्यार्थीको भर्ना र पठनपाठन सुरु हुने बताउनुभयो ।  

विर्तामोडमा सुविधासम्पन्न अस्पताल सञ्चालन र मेचीनगर–११ धाइजनमा पठनपाठनका लागि पूर्वाधारयुक्त साइन्स बेसिक भवन स्थापना भइसकेको प्रा.डा. शर्माले जानकारी दिनुभयो । पठनपाठनका लागि कलेजका तर्फबाट सम्पूर्ण तयारी पूरा भइसकेको समेत उहाँले बताउनुभयो ।

“मेची अञ्चलबासीका लागि यो महत्त्वपूर्ण उपलब्धि र खुशीको विषय हो,” उहाँले भन्नुभयो–“संस्थापकहरु र स्थानीयबासीले यसका लागि कडा मिहेनत र लगानी गर्नुभयो । जसका कारण एउटा गुणस्तरीय अस्पताल र मेडिकल कलेज सञ्चालन गर्ने साझा सपना आज साकार हुँदैछ ।”

मेडिकल व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा झापामा गुणस्तरीय स्वास्थ्य सेवा र रोजगारी दिने लक्ष्यका साथ बीएन्डसी मेडिकल कलेज स्थापना भएको थियो । उहाँकै नेतृत्वमा विर्तामोडमा ३०० शैयाको पूर्वाञ्चल क्यान्सर अस्पताल समेत सञ्चालनमा रहेको छ । 

बीएन्डसी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पतालमा लगभग दुई हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।