९ माघ २०८१, बुधवार

दिउँसै गाउँ पस्न थाले जंगली हात्ती

२९ कार्तिक २०८१, बिहिवार
Image

झापा, २८ कात्तिक । झापामा दिनदहाडै जंगली हात्ती गाउँ पस्न थालेपछि त्रास फैलिएको छ । प्रायः राति मात्र डुल्ने हात्ती आहारको खोजीमा अचेल दिउँसै गाउँका बस्ती र खेत डुल्ने गरेका छन् ।

आज दिउँसो भद्रपुर नगरपालिका वडा नं. ९ को मिलचोकमा दुईवटा हात्ती निस्किदा गाउँ त्रसित बन्यो । हात्ती दिउँसै आउँदा मानिसहरु रमिता हेर्न, फोटो खिच्न र धपाउन धुइरिए । मानवीय कुनै क्षति नगरे तापनि ती हात्तीले स्थानीयको पाकेको धानबाली खाएर क्षति पुर्याए ।

वर्षौदेखि हात्तीको पीडा खेपिरहेका झापामा हात्ती राति गाउँ पस्नु नौलो घटना होइन । तर, राति निस्कने हात्ती दिउँसै लमक्लमक् गर्दै गाउँ पस्दा भने अनौठो भयो । जंगल छेउछाउमा बस्तीहरुमा हात्तीले यसरी नै जनजीवन असुरक्षित तुल्याए तापनि सुरक्षाको ठोस समाधान भने निस्किएको छैन ।

“मानिसहरु आ–आफ्नो काम धन्धामा व्यस्त थिए,” आज दिउँसो हात्ती गाउँ पसेको घटनाका प्रत्यक्षदर्शी भद्रपुर–९ मिलचोकका दिपेन्द्र कटुवाल भन्नुहुन्छ–“हात्ती आयो, हात्ती आयो भनेर हल्ला चल्यो । हेर्न जाँदा घर नजिकैको धानखेतमा हात्ती चरिरहेको रहेछ ।”

बासनादार नुनिया र बासमती धानको बाला भर्खर निस्किएको थियो । खेतमा मगमगाउँदै पोटाएको त्यही धान खाएर हात्ती नजिकैको निचाझोडा जंगलतिर गएको कटुवालले बताउनुभयो । 

झापामा एक दर्जनभन्दा बढी रैथाने हात्तीले स्थानीय जंगलमा आश्रय लिदै आएको बन कार्यालयले जनाएको छ । जिल्लाको दक्षिणस्थित जलथल जंगल, मध्यभागस्थित निचाझोडा जंगल र उत्तरतिरको चुरेभावर जंगलमा हात्तीहरु बस्ने गर्छन् ।

उत्तरी झापाको बाहुनडाँगी छिचोलेर भारतबाट प्रवेश गर्ने जंगली हात्ती र रैथाने हात्तीबाट जिल्लाबासी पिरोलिएका छन् । पन्ध पालिकामा हात्तीले नडुलेको त्यस्तो कुनै वडा छैन । हात्तीको आक्रमणमा मानिसको मृत्यु नभएको कुनै पालिका जिल्लामा बाँकी रहेन ।

प्रायः जंगली हात्तीहरु दिउँसो जंगलभित्र लुक्ने र राति भएपछि आहाराका लागि गाउँ पस्ने गर्छन् । तर, अब हात्तीले आफ्नो प्राकृतिक आनीबानीमा परिवर्तन गर्न थालेको र दिउँसो पनि चरनमा हिँड्न थालेको हुनसक्ने पर्यावरण संरक्षण अभियन्ता देबेन्द्र खरेल बताउनुहुन्छ ।

“हरेक दिन २०० केजीसम्म आहार नखाए हात्तीको पेट भरिदैन,” चरा तथा बन्यजन्तु संरक्षण समाजका अध्यक्ष खरेल भन्नुहुन्छ–“जंगलमा उसका लागि केही पनि खानेकुरा बाँकी छैन । राति गाउँ पस्दा पेट नअघाएपछि बाँच्नका लागि दिउँसो गाउँ पस्नु उसका लागि बाध्यता हुनसक्छ ।”

जनावरहरुले पनि मानिसले जस्तै अस्तित्व रक्षाका लागि आफ्ना आनीबानी बदल्ने उहाँ बताउनुहुन्छ । जंगलमा मात्र डुल्ने बाँदरहरु अचेल राजमार्ग छेउछाउ मानिसले गाडीबाट फ्याक्ने खानेकुराको पर्खाइमा बसिरहेका भेटिन्छन् । काग लगायतका चराहरु मानिसले खाएर फ्याँक्ने खाद्यान्नमा निर्भर भइसकेको तथ्यलाई उनीहरुको आनीबानी परिवर्तनको रुपमा लिनु पर्ने खरेल बताउनुहुन्छ ।

दिउँसो जंगलका हात्तीहरु गाउँमा निस्कँदा मानिसमाथि आक्रमणको सम्भावना अझ बढ्ने उहाँको भनाई छ । “राति मानिसहरु आफ्ना घरभित्र सुतेका हुन्छन्,” हात्तीले आफुलाई असुरक्षित अनुभूति नगरेसम्म भरसक आक्रमण नगर्ने बताउँदै संरक्षण अभियन्ता खरेल भन्नुहुन्छ–“दिउँसो बालबालिका र वृद्धवृद्धाहरु घर बाहिर निस्किएका हुन्छन् । खेतमा कामदारहरु आफ्नै धुनमा हुन्छन् । यस्तो बेला हात्तीले अचानक हमला गर्दा ठूलो मानवीय क्षति हुनसक्छ ।”

पछिल्लो समय मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि हात्तीलाई जंगलभित्रै पर्याप्त आहार मिल्ने पारिस्थितिक प्रणाली बनाउन मानिसहरुले प्रयास गर्नुपर्ने अवधारणा विकसित भएको छ । झापाको अर्जुनधारा, मेचीनगर, हल्दिबारी लगायतका पालिकामा रहेका सामुदायिक बनहरुमा हात्ती, बाँदर र चराहरुका लागि आहार बन्नसक्ने विभिन्न बोटविरुवा रोप्ने अभियान चलाइएको छ ।

कोशी प्रदेश सरकारले समेत गत वर्ष ‘जसको जंगल, उसकै मंगल’ अभियानको घोषणा गर्दै पूर्वी नेपालको बाहुनडाँगीदेखि उदयपुरको बेल्टारसम्म हात्तीको बासस्थान र विचरण क्षेत्र पहिचान गरी जंगलभित्र उसका लागि आहार हुने बोटविरुवा रोप्ने कार्य थालनी गरेको थियो । तर, अहिले उक्त अभियान अलपत्र छ ।

जंगलभित्र पेटभरि खान पाउने हो भने जंगली हात्ती गाउँ नपस्ने खरेल बताउनुहुन्छ । मानिसले जंगल अतिक्रमण गर्दै लगेपछि हात्तीको बासस्थान मासिदै गएको छ । जंगल फडानी र जंगलभित्र पर्यटकीय मनोरञ्जन र पूर्वाधारका नाममा हुने गरेका गतिविधिले हात्तीलाई जंगलमा शान्तले बस्ने वातावरण नभएको उहाँको विश्लेषण रहेको छ । 

बन डिभिजन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार विगत १५ वर्षमा झापामा मानव–हात्ती द्वन्द्वका कारण ६७ जना व्यक्तिको मृत्यु भइसकेको छ भने २१ वटा हात्ती मारिएका छन् ।

पुरातन सोच र अभ्यासबाट मानव–हात्ती द्वन्द्वको अन्त्य नहुने ठोकुवा गर्दै मेचीनगर वडा नं. ४ का वडाध्यक्ष अर्जुन कार्की अब सहअस्तित्व र हात्तीमैत्री सोचबाट अघि बढ्न आवश्यक रहेको बताउनुहुन्छ । “हात्ती त जनावर भइगयो, मानिसले चाहिँ आफ्नो प्रवृत्ति र सोचमा परिवर्तन ल्याउनु पर्छ,” हात्तीमैत्री अवधारणालाई आफ्नो वडामा व्यावहारिक रुपमा लागू गर्दै आउनु भएको कार्की भन्नुहुन्छ–“हात्तीसँग झडपमा उत्रिने पुरातन तरिका बन्द गर्नुपर्छ । आधुनिक प्रविधिको प्रयोग गर्दै बाली बिमा लागू गरेर क्षतिपूर्ति दिने व्यवस्था सरकारले गर्नुपर्छ ।”


लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।