१० वैशाख २०८३, बिहिवार

धार्मिक पर्यटक लोभ्याउँदै झापाको सताक्षीधाम

८ मंसिर २०८१, शनिवार
Image

झापा, ८ मङ्सिर ः महाभारतकालमा गुप्तबास बसेका बेला पाँच पाण्डवले सय आँखा भएकी सतिदेवीको पूजा आराधना गरेको किम्वदन्ती जोडिएको झापाको सताक्षीधामले देश विदेशका धार्मिक पर्यटक आकर्षण गरेको छ । 

शिवसताक्षी नगरपालिका वडा नं. ११ स्थित चुरे पहाडको फेदीमा घना जंगलमाझ रहेको सताक्षीधाममा सताक्षीदेवीको पूजा गर्न आउने दर्शनार्थीको वर्षौदेखि ओइरो लाग्दै आएको छ । हाल धाम परिसरमै गोलोक गोवर्धन गौशाला र रुद्राक्षको मालाद्वारा निर्मित ५१ फिट अग्लो शिवलिङ्गले धामको आकर्षण अझ बढेको छ ।

एक दशक अघि आचार्य नन्दकिशोर भारद्वाजले चार वटा गाईपालन गरेर धाममा गौशालाको थालनी गर्नु भएको थियो । घनघोर जंगलमा कुटी बनाएर भारद्वाजले सुरु गर्नु भएको त्यही गौशाला अहिले विस्तार भएर पर्यटकीय आकर्षणको केन्द्र बन्न पुगेको स्थानीय पत्रकार विनोद सापकोटा बताउनुहुन्छ ।

“हिउँद होस् या बर्खा, यहाँ आउने पर्यटकको कहिल्यै कमी भएन,” उहाँले भन्नुभयो,–“अहिले धाममा रु. एक अर्बभन्दा बढी लगानीमा धार्मिक पर्यटकीय पूर्वाधारहरु निर्माण भइसकेका छन् । विदेशबाट आउने पर्यटकहरुलाई पूजा, ध्यान र भ्रमण गर्नका लागि बस्ने र खाने ठाउँको कुनै कमी छैन ।”

पूर्वपश्चिम राजमार्गको झिलझिले चोकबाट पाँच किलोमिटर उत्तरमा रहेको धाम पुग्नका लागि कोशी प्रदेश सरकार र शिवसताक्षी नगरपालिकाले दुई वर्षअघि नै कालोपत्रे सडकको निर्माण र विद्युत तथा खानेपानीको सुविधा पुर्याएका छन् ।

धाम क्षेत्रभित्र एकैपटकमा एक हजारभन्दा बढी मानिस अट्ने विशाल आवास गृह निर्माण गरिएको छ । गौशालाका अध्यक्ष नन्दकिशोर भारद्वाजले गौशालामा हाल एक हजार ५०० भन्दा बढी गाईगोरु संरक्षण भइरहेको बताउनुभयो ।

गौशालामा नेपाल र भारतका विभिन्न ठाउँमा पाइने रैथाने र भारतको मथुरा वृन्दावनमा पाइने रैथाने गोबंशका गाई समेत पालिएका छन् । गौशालामा संरक्षित जुरो भएको गाई हेर्न धर्मावलम्बीहरू आउने गरेका छन् ।

 वृद्धावस्थाका कारण सडकमा छाडिएका र बेच्नका लागि लगिएका बेला उद्धार गरिएका गाईहरुलाई गौशालामा उपचार र संरक्षण गरेर राख्ने गरिएको छ । यहाँ गाईगोरुको उपचारको भरपर्दो व्यस्था रहेको छ ।
गौशालासँगै मठमन्दिरका ठूला संरचना र हरिदेव संस्कृत विद्यालय रहेको धाममा लक्ष्मी नारायण, सताक्षीमाता, शिवालय, बराह, राम दरबार र द्वापर ज्योतिलिङ्ग लगायतका दर्जनौं मठमन्दिर सुशोभित छन् ।

गोलोक गोवर्धन गौशालाका लागि भारत, अमेरिका, भूटान, क्यानाडा, अस्ट्रेलियासम्म गौप्रेमीहरुबाट सहयोग जुट्ने गरेको छ । गौशाला हेरचाहमा स्थानीय ३० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । 

यही धामको नामबाट स्थानीय शिवसताक्षी नगरपालिकाको नामाकरण भएको हो । धामभन्दा केही उत्तर इलामको पहाडी खोँचमा मनमोहक झरना रहेको छ । झापाबाट सबैभन्दा नजिकको दूरीमा रहेको झरना भएकाले हेर्न, तस्वीर खिच्न र नुहाउन जाने पर्यटकको संख्या पनि उत्तिकै धेरै छ ।

यसैबीच, सताक्षीधाममा यही मङ्सिर १४ देखि २४ गतेसम्म ‘सताक्षी गोरक्षा महोत्सव २०८१’ आयोजना गर्ने तयारी भइरहेको अध्यक्ष भारद्वाजले बताउनुभयो । गोलोक गोवर्धन गौशालाले वार्षिक अनुष्ठानको रुपमा आयोजना गरेको यो १० औं वार्षिक धार्मिक महोत्सव हो । 

महोत्सवमा धनधान्याञ्चल ज्ञान महायज्ञ, पञ्चकुण्डीय श्रीरुद्र महायज्ञ, सीताराम विवाह तथा लिङ्ग महापुराण कथा प्रवचन हुने जनाइएको छ ।

महोत्सवमा रुद्राक्ष मालाबाट निर्मित ५१ फिट अग्लो शिवलिङ्गको पूजा आराधना गर्ने अवसर भक्तजनले पाउने भएका छन् । उक्त शिवलिङ्गमा एक करोड १५ हजार रुद्राक्ष मालाजडित रहने भारद्वाजले जानकारी दिनुभयो । 

“छ महिना अघिदेखि संखुवासभाबाट खरिद गरी रुद्राक्षको माला संकलन गरिएको हो,” उहाँले भन्नुभयो–“रुद्राक्षजडित ५१ फिटको शिवलिङ्गमा विशेष पूजाका लागि युरोपियन मुलुक र दक्षिण एसियाली मुलुकका सयौं धार्मिक व्यक्तित्वहरूले आउने जानकारी गराउनु भएको छ ।” 

महोत्सवमा लाखौं धर्मानुरागीहरुको उपस्थिति रहने र २० वटा मुलुकबाट हिन्दू सनातनी धार्मिक अगुवाहरुको आगमन हुने उहाँले बताउनुभयो ।

महोत्सवमा श्रीलिङ्ग महापुराणको कथा बाचन आचार्य पण्डित लक्ष्मीप्रसाद खतिवडाले गर्नु हुने र समग्र महोत्सव सञ्चालनका लागि रु. एक करोड खर्च हुने अनुमान गरिएको उहाँको भनाई

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिकी उपाध्यक्ष  एवम् राष्ट्रिय समाचार समितिको झापा समाचारदाता समेत हुनुहुन्छ ।