९ माघ २०८१, बुधवार

करोडका अक्षयकोषले आत्मनिर्भर बन्दैछन् संघ संस्थाहरु

७ पुष २०८१, आइतवार
Image

झापा, ७ पुस । सामाजिक कार्यका लागि झापामा आधा दर्जन संस्थाले जनही करोड रुपैयाँको अक्षय कोष स्थापना गरेका छन् । पत्रकारिता, शिक्षा र परोपकारका क्षेत्रमा ती अक्षय कोष सञ्चालन भइरहेका छन् । 

कुनैबेला चन्दा उठाएर उपचार खर्च जुटाउने झापाका पत्रकारहरु अहिले आफ्नै संस्थाको कोषको व्याजले पत्रकारहरुको आपतवितद्मा सघाउन सक्षम भएका छन् । नेपाल पत्रकार महासंघ झापा शाखाले रु. एक करोड ११ लाखको पत्रकारिता अक्षय कोष स्थापना गरेर पत्रकारहरु दुर्घटना पर्दा र विरामी हुँदा उपचारमा सहयोग गर्दै आएको छ । 

महासंघले ६५ वर्ष माथिका ज्येष्ठ पत्रकारहरुलाई सामाजिक सुरक्षा योजना अन्तर्गत वार्षिक भत्ता समेत प्रदान गर्दै आएको छ । शाखाका अध्यक्ष एकराज गिरीले विर्तामोडको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा बचत गरिएको अक्षयकोषको व्याजले पत्रकारहरुलाई बिरामी अवस्थामा उपचार सहयोग दिन पुगिरहेको बताउनुहुन्छ ।

बिगत तीन वर्षमा महासंघले सोही कोषबाट प्राप्त भएको व्याज रकमबाट ४० जना पत्रकारलाई उपचार सहयोग र १९ जना ज्येष्ठ पत्रकारलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिसकेको उहाँले जानकारी दिनुभयो ।

“महासंघका सदस्य र दाताको सहयोगबाट अक्षय कोषमा रकम जुटाएका हौं,” उहाँले भन्नुभयो–“दुर्घटना वा गम्भीर बिरामी भएका पत्रकारहरुलाई यही कोषबाट उपचार सहयोग दिने गर्छौं । पत्रकार महिलाहरुलाई सुत्केरी खर्च र ज्येष्ठ पत्रकारहरुलाई वार्षिक भत्ता दिने गरेका छौं ।”

बिरामी भएका पत्रकारहरुको स्वास्थ्य अवस्थाको गम्भीरता अध्ययन गरेर नगदमै उपचार सहयोग दिइँदै आएको र ६५ वर्षदेखि ७९ वर्षसम्मका ज्येष्ठ पत्रकारलाई वार्षिक रु. १५ हजारका दरले सामाजिक सुरक्षा भत्ता दिने गरिएको उहाँले बताउनुभयो । ज्येष्ठ पत्रकारको उमेर ८० वर्षभन्दा माथि भए वार्षिक रुपमा रु. २० हजार दिइने गरिएको छ ।

जिल्लामा करोडको अक्षयकोष स्थापना गर्ने अर्को सामाजिक संस्था हो रुद्रगौरी श्री अम्बिका ओली प्रतिष्ठान । समाज रुपान्तरणमा योगदान पुर्याउने विभिन्न क्षेत्रका प्रतिभाहरुलाई प्रतिष्ठानले वर्षेनी ठूलो धनराशीको पुरस्कार र सम्मान प्रदान गर्दै आएको छ ।

प्रतिष्ठानले अक्षयकोषको व्याजबाट राष्ट्रिय प्रज्ञान पुरस्कार लगायतका आधा दर्जन बढी पुरस्कार वितरण गर्दै आएको छ । रु. पाँच लाखको राष्ट्रिय प्रज्ञान पुरस्कारबाट प्रख्यात नेत्र चिकित्सक डा. सन्दुक रुइत समेत सम्मानित हुनुभएको छ । साहित्य, सामाजिक सेवा, विज्ञान, खेलकुद र पत्रकारिता क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरु प्रतिष्ठानबाट पुरस्कृत हुने गरेका छन् ।

विर्तामोडमा रहेको विवेकाश्रम नामक धार्मिक संस्थाले पनि रु. एक करोड दरका दुईवटा अक्षयकोष स्थापना गरेको छ । आश्रमका महासचिव पं. छन्दुराम भण्डारीले आश्रममा आवासीय भएर गुरुकुलमा अध्ययन गरिरहेका विद्यार्थीहरुको भरणपोषण र भोजानादिका लागि रु. एक करोडको एउटा र नित्य पूजा, उपासना, गौसेवा, कर्मचारी र हवनादि कार्यका लागि रु. एक करोडको अर्को अक्षयकोष सञ्चालन भइरहेको बताउनुभयो ।

आश्रमको गुरुकुलमा १८६ जना आवासीय विद्यार्थी रहेको र तिनको सम्पूर्ण खाने, बस्ने र पढ्ने खर्च सोही अक्षयकोषको व्याज रकमबाट व्यहोर्ने गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–“खर्चको आवश्यकता अनुसार कोषको व्याजले धान्न सक्ने अवस्था छैन । अक्षयकोषमा रकम अझै अपुग रहेको छ ।” 

जिल्लामा पत्रकार महिलाहरुको छाता संस्था नारी सञ्चार गृहले रु. ५० लाखको अक्षयकोष स्थापना गरेको छ । पत्रकार महिलाहरुलाई पत्रकारिता पेशाप्रति आकर्षित गर्ने, टिकाइराख्ने, सम्मानित गर्ने र प्रशिक्षित गर्ने लक्ष्यका साथ स्थापना गरिएको अक्षयकोषमा हाल रु. ४७ लाख रकम जुटिसकेको गृहकी अध्यक्ष रेजिना गौतमले बताउनुभयो ।

कोषको व्याज रकमबाट हरेक दुई वर्षमा एक जना पत्रकार महिलालाई रु. एक लाखको नारी साधना पत्रकारिता पुरस्कार र रु. २५ हजारको नारी प्रोत्साहन पत्रकारिता पुरस्कार प्रदान गरिरहेको उहाँले जानकारी दिनुभयो । अक्षयकोष वृद्धिका लागि संस्थाले दाताको सहयोग लिनुका साथै देउसी कार्यक्रम गरेको थियो ।

सहकारी अभियन्ता महेन्द्र गिरीको नेतृत्वमा जिल्लामा एकका लागि एक अभियान सञ्चालन गरेर समर्पण कार्यक्रममा लागि रु. एक करोड रकम जुटाइएको थियो । जसबाट कनकाई कोटीहोम क्षेत्रमा व्यवस्थित आर्यघाट र मलामीगृह निर्माण गरिएको छ । कोरोनाकालमा सोही अभियानमार्फत जुटेको रकमले कोरोना संक्रमितका लागि उल्लेखनीय सहयोग जुटाइएको थियो ।

करोड रकमका अक्षयकोष निर्माण अभियानमा विर्तामोड उद्योग वाणिज्य संघ र मानव आश्रम मेचीनगर समेत जुटिरहेको छ । उद्योगी व्यवसायीहरुलाई विपद्का बेला सहयोग जुटाउन गत वर्षदेखि रु. एक करोडको अक्षयकोष स्थापना गरी रकम जुटाउने क्रम जारी रहेको संघका अध्यक्ष राजु न्यौपानेले बताउनुभयो ।

मेचीनगर वडा नं. ४ बाहुनडाँगीमा हालै सञ्चालनमा आएको मानव आश्रमको शाखाले पनि असहायहरुको भरणपोषण खर्चका लागि रु. एक करोडको अक्षयकोष जुटाउने घोषणा गरेको छ । आश्रमको उद्घाटनका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले कोषका लागि आफ्नो एक महिनाको पारिश्रमिक दिने घोषणा गर्नु भएको थियो ।

मेचीनगर–१५ स्थित ओमकारेश्वर गुरुकुलका प्राचार्य निरोज खनाल झापाका गुरुकुलहरुले सरकारी निकायबाट पर्याप्त सहयोग पाउन नसकेपछि आत्मनिर्भरताका लागि अक्षयकोष स्थापनामा जोड दिनु परेको बताउनुहुन्छ । दातासँग सहयोग मागेर एकपल्ट अक्षयकोष स्थापना गरेपछि गुरुकुलमा अध्यापन गराउने शिक्षकको पारिश्रमिक भुक्तानीदेखि विद्यार्थीहरुको भरणपोषणसम्मको कार्यका लागि कोषको व्याजले सँधैभरि पुग्ने भएकाले अधिकांश धार्मिक विद्यालयहरु अक्षयकोष बनाउन लागिरहेको उहाँको भनाई छ ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।