झापा, ७ माघ । पूर्वोत्तर भारतका प्रसिद्ध शिक्षाविद् प्राध्यापक स्मृतिकुमार सिन्हाले मौलिक ज्ञान परम्पराबिनाको शिक्षा पाएको शिक्षित पुस्ता ‘पानीमाथि तैरिएको जलकुम्भी झार’जस्तो भएको बताउनु भएको छ ।
आसामको गुवाहाटीस्थित प्रागज्योतिशपुर विश्वविद्यालयका उपकुलपति सिन्हाले आज काँकरभिट्टामा नेपाली पत्रकारहरुसँगको भेटघाटमा उक्त कुरा बताउनु भएको हो ।
पश्चिमा मुलुकको शिक्षा नीतिलाई पछ्याउने प्रवृत्तिका कारण भारत लगायत धेरै मुलुकले ज्ञान आर्जनको मौलिक परम्परा ध्वस्त बनाएको उहाँको टिप्पणी थियो ।
“जलकुम्भीले पानी छपक्कै ढाकेको हुन्छ, त्यसमाथि फूल पनि ढकमक्क फूलेको हुन्छ,” उहाँले भन्नुभयो–“तर, थाहा छ, त्यो जलकुम्भीको फूलको कुनै बासना हुँदैन । अनि बोटको जराले माटो छोएको पनि हुँदैन । अहिलेको शिक्षित पुस्ता त्यही जलकुम्भी भन्दा फरक छैन ।”
मौलिक परम्परा, संस्कृति र मान्यताको भुइँ नछोएको शिक्षा नीति जलकुम्भी जस्तै भएको उहाँको भनाई थियो । जलकुम्भी तलाउमा फैलिए तापनि त्यसको जराले माटो भेटेको हुँदैन ।
शिक्षा हासिल गरेको व्यक्तिले पैसा मात्र कमाउन सक्ने भएर नहुने भन्दै उहाँले समाजमा प्रेम, शान्ति, सद्भाव, सुख, समृद्धि, एकता र सुसंस्कृति ल्याउन सक्ने शिक्षाको परम्परा पूर्वीय दर्शनमा हजारौ वर्षदेखि रहेको दावी गर्नुभयो ।
ज्ञान आर्जनको पुरानो कडीलाई जोड्न भारतमा नयाँ शिक्षा नीति लागू गरिएको उहाँको भनाई थियो । उहाँले त्यसलाई भारतीय ज्ञान परम्पराको संज्ञा दिनुभयो ।
उहाँ ‘गुणस्तरीय शिक्षाको विश्वव्यापी आवश्यकता, चुनौति र अवसर’ विषयक अन्तर्राष्ट्रिय शिक्षा सम्मेलनमा प्रमुख वक्ताको रुपमा सहभागी भएर काठमाडौंबाट फर्किने क्रममा काँकरभिट्टा आइपुग्नु भएको हो ।
सम्मेलनमा बोल्ने क्रममा पनि उहाँले आयातीत शिक्षा पाएको पुस्तालाई जलकुम्भीको संज्ञा दिनु भएको थियो । चाणक्यको अर्थनीति, ऋषिमुनिहरुको वैदिक गणित, विज्ञान जस्ता विषयमा ध्यान नदिइएको भन्दै भारतीय ज्ञान परम्परा पाश्चात्य शिक्षा नीतिभन्दा पुरानो र वैज्ञानिक भएको बताउनुभयो ।
तेजपुर युनिभर्सिटीका संस्थापक रहेर बिगत तीन दशकदेखि प्राध्यापन क्षेत्रमा क्रियाशील सिन्हाले गुवाहाटीमा प्रागज्योतिशपुर युनिभर्सिटीको हालै स्थापना गरेको जानकारी दिनुभयो ।
एसियाकै उत्कृष्ट विश्वविद्यालय बनाउने लक्ष्यका साथ स्थापित उक्त विश्वविद्यालयमा भारतीय ज्ञान परम्परामा आधारित आधुनिक शिक्षा प्रदान गरिने उहाँले बताउनुभयो ।
नेपाली विद्यार्थीहरु समेत अध्ययनरत् रहेको जनाउँदै उहाँले शिक्षामा भारत विश्वगुरु बन्ने लक्ष्यतर्फ अघि बढिरहेको दावी गर्नुभयो । सबै विषयमा स्नातकदेखि विद्यावारिधि तहसम्म त्यहाँ पढाई हुने उहाँले जानकारी दिनुभयो ।
पत्रकार भेटघाट कार्यक्रममा उपकुलपति सिन्हासँग उहाँकी धर्मपत्नी सुनन्दा सिन्हा र शैक्षिक परामर्शदातृ संस्था लक्ष्मी एजुकेसनका प्रबन्ध निर्देशक शंकर भट्टराई हुनुहुन्थ्यो । सिन्हा दम्पत्ति भारतका प्रसिद्ध लेखक तथा लघु कथाकार पनि हुनुहुन्छ ।