१९ चैत २०८१, बुधवार

आन्दोलनमा जे देखियो

नयाँ पुस्ताले पनि देखेको 'राजतन्त्र'को तमासा

१६ चैत २०८१, आइतवार
Image

तीनकुने पुल पुग्दा शुक्रबार दिउँसोको १ बजेको थियो । पुल अगाडी सुरक्षाकर्मी तैनाथ थिए । बानेश्वरतर्फ प्रदर्शनकारीलाई प्रवेशमा रोक लगाइएको थियो । निषेधित क्षेत्र प्रवेश गर्न खोजेका दुई तीन जना राजावादी समर्थकलाई प्रहरीले नियन्त्रणमा लियो ।

उग्र बनेका प्रदर्शनकारी भनिरहेका थिए, ‘संसद भवन छिर्ने हो ।’ प्रहरीले निषेधित क्षेत्र प्रवेश नगर्न माइकिङ गरिरहेका थिए । आक्रोशित थियो भीड ।

प्रहरीलाई औंला ठड्याउदै त्यो भीडले गणतन्त्र पक्षधर नेताहरू विरुद्ध चर्को नारा लगायो ।

मुर्दावाद !

मुर्दावाद !

चैतले तातिएको सडकमा आन्दोलनको राप पनि मिसिएको थियो । त्यसपछि हामी राजावादीको कार्यक्रम स्थल मञ्च भएतर्फ अगाडि लाग्यौं । राजावादी आन्दोलनका नेताहरूले सम्बोधन गर्ने तयारी हुँदै थियो ।

उद्घोषकले चर्का चर्का र भड्किला अभिव्यक्ति दिइरहेका थिए । यहि बीचमा तीव्र गतिमा एउटा गाडी बानेश्वरतर्फ हुइँकियो । प्रहरीलाई नै किच्नेगरी गाडी गुडाइएको थियो । गाडीको रफ्तार हेर्न नसकिने थियो । ‘कति मान्छे सोतर भए होला,’ आँखा चिम्म पारेँ । मन चिसो भयो ।

संयोग त्यो गाडीबाट मानवीय क्षति हुन पाएन । गाडीभित्र बसेका आन्दोलनका कमान्डर चिच्याइरहेका थिए, ‘आओ आओ अगाडि आओ १’

प्रसाईं चढेको गाडीले निषेधित क्षेत्र प्रवेश गर्‍यो । प्रहरीले गाडिलाई रोक्ने प्रयास गर्‍यो तर सकेन । तीव्र गतिमा गुडिरहेको गाडीलाई अघिल्लो लेयरका प्रहरी बाटो छोड्न बाध्य भए । बाटो छोडेर प्रहरीले ज्यान जोगाए ।

दोस्रो लेयरतिर पुगेपछि प्रहरीले प्रसाईंको गाडीको चाबी खोस्न खोज्यो । गाडीमा प्रहरीले लठ्ठी प्रहार गर्‍यो । भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्‍यो ।

त्यसपछि प्रहरीलाई तथानाम गाली गर्दै प्रसाईं निषेधित क्षेत्रबाट कार्यक्रम स्थलतर्फ फर्किए ।


उत्तेजित बनेको भीडलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गर्नुपर्‍यो । एकाएक तीनकुने क्षेत्र रणभूमीमा परिणत भयो । ज्यान जोगाउन हम्मेहम्मे पर्‍यो ।

तीनकुने क्षेत्रका घरहरू प्रदर्शनकारीको निशानामा परे । कोही चौरबाट ढुंगा सडकमा पुर्‍याउन थाले । कोही सडकबाट घरहरूमा ढुंगा प्रहार गर्न थाले ।

घरभित्र मानिसहरू थिए । घरको छतबाट भनिरहेका थिए, ‘यहाँ प्रहरी छैनन् । ढुंगा नहान्नुहोस ।’

तर, प्रदर्शनकारीले घरमा प्रहार गर्न छोडेन । हेर्दाहेर्दै घरहरू क्षतिग्रस्त भए । घर हेर्न लायक रहेनन् । प्रदर्शनकारीले र पनि घरमा आक्रमण गर्न छोडेनन् ।

घरका सिसाहरू एकैछिनमा छिया(छिया भए ।

तीनकुने मैदानको वारि र पारी दुवैतिरका घरहरूको सिसा फोरिए ।

मानिसको भागाभाग भयो । ज्यान जोगाउन हम्मेहम्मे पर्‍यो । घर तोडफोड भएको क्षेत्रमा प्रहरी समयमै आइपुग्नै सकेन । स्थिति नियन्त्रणभन्दा बाहिर गयो ।

मार्बल हाउसको घरभित्रै प्रदर्शनकारी छिरे । दोसो तेस्रो तलाबाट क्यालेन्डर र कागजात फालेर घरको पेटीमा आगो लगाए । माथिबाटै कोठाभित्रका फर्निचर सडकमा फालेर जलाइयो ।

‘अब घर बालौं । भित्र आगो लगाऔं,’ चर्को चर्को स्वरमा प्रदशर्नकारी भनिरहेका थिए ।

माथिबाट कागजात फाल्दै अन्दोलनकारी सडकमा उफ्रिरहेका थिए । कसैको हातमा रड, कसैकोमा ढुंगा त कसैकोमा लठ्ठी थियो । उनीहरूले एकपछि अर्को सार्वजनिक र निजी सम्पत्तिमाथि आक्रमण गरिरहे ।

तलबाट हामीले देखिरहेका थियौं एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजक घरको भित्र पसेर भिडियो खिचिरहेका थिए ।

आक्रोशित अनियन्त्रित भीडले घरभित्रै आगो लगाए । अघिसम्म घरको पेटीमा कागजात र फर्निचर जलिरहेको थियो । अहिले पूरै घर दन्किन थाल्यो । केहीले भागेर ज्यान जोगाए । मानिस तल झर्दै थिए । सुरेश रजक प्रदर्शनकारीको हर्कत क्यामेरामा कैद गरिरहेका थिए । उनी निस्कन भ्याएनन्, हुरहुर्ती दन्भिएको आगोले क्षणभरमै उनको प्राण लियो ।

आगो निभाउन एपीएफको गाडी आएको थियो । तर, प्रदर्शनकारीले निभाउन दिएनन् । हान हान मार मारझको आवाज आइरहेको थियो । पानीको फोहोरा हानेर आगो निभाउने प्रयासमा रहेको सुरक्षाकर्मीलाई ताकेर गाडीमा ढुंगामुढा प्रहार भइरह्यो । प्रहरीको गाडी आगो निभाउन छाडेर भाग्न बाध्य भयो ।

आगो लागेको घर नजिकै एउटा चेपमा १०–१२ जना प्रहरी थिए । उनीहरूमाथि ढुंगामुढा प्रहार भयो । केही घरभित्रको चेपमा छिरे । ३–४ जना इट्टा भएको चेपमा परे । दायाँबायाँ भाग्ने ठाउँ नै थिएन । एक महिला प्रहरी रोइरहेकी थिइन । ‘नहान नहान,’ दुई हात जोडेर प्रहरी भनिरहेका थिए । प्रहरीको चित्कार आन्दोलनकारीले सुनेन । प्रहरी महिला धुरुधुरु रुँदै थ्याच्चै भुइँमा बसिन् ।

तर, ढुंगा प्रहारको क्रम रोकिएन । हात उठाएर प्रहरीले याचना मागिरहे । प्रदर्शनकारीले ढंगा प्रहार गरिरहे । अरुलाई सुरक्षा दिने प्रहरी नै असुरक्षित बने ।

त्यहीबीचमा मैले एक युवाको हातमा बन्दुक देखें । अश्रुग्यासका सेलन प्रहार गर्ने गन थियो त्यो । बन्दुक बोकेर ती युवा तीनकुने चौरभित्र छिरे । बन्दुक बोकेका युवालाई पछ्याउँदै म पनि चौर तिरै लागेँ ।

‘कहाँबाट ल्याएको बन्दुक रु,’ मैले सोधेँ ।

‘प्रहरीको खोसेको,’ बन्दुक म भएतिर तेर्साउँदै उनले भने । फोटो र भिडियो खिच्न थालेपछि ती युवाले नखिच्न भन्दै धम्की दिए ।

त्यही बीचमा पछाडीबाट एक हुल आन्दोलनकारी आए । बन्दुक बोकेको फोटो भिडियो नखिच भन्दै मलाई हुत्याइदिए ।

‘सीआईडी हो । ठोक–ठोक,’ भीडबाट आवाज आइरहेको थियो ।

त्यहीक्रममा प्रहरीले प्रहार गरेको अश्रुग्यासको सेल छेउमै आइपुग्यो । भीड तितरवितर भयो । त्यसपछि उनीहरूले ममाथि आक्रमण गर्न पाएनन् ।

प्रहरीको हातबाट बन्दुक खोसिनुले नै प्रष्ट देखाउँथ्यो स्थिति कति भयानक भएको थियो । अराजक भीडसामू प्रहरी नै निरीह भएको देखिन्थ्यो । अमानवीय दृश्यले मन मुटु नै चसक्क हुन्थ्यो ।

चौरमा भागदौड मच्चियो । दुर्गा प्रसाईं र रवीन्द्र मिश्र लगायतले भीडलाई बानेश्वरतर्फ जाने उत्तेजित बनाए ।

राजावादी अभियानका संयोजक नवराज सुवेदी लगायतका नेताहरू त्यसअघि नै मञ्च छोडेर हिँडेका थिए ।

हातहातमा ढुंगामुढा रड डन्डी सहित प्रहरीतर्फ आक्रमण हुन थाल्यो । प्रहरीले पनि जवाफी कारबाही गर्‍यो । झडपमा कीर्तिपुरका २९ वर्षीय सबिन महर्जन ढले ।

आन्दोलन झन उग्र बन्यो । आन्दोलन हिंसात्मक बनेपछि प्रसाइले आन्दोलन सफल भएको भन्न भ्याए ।

यसबाट छर्लङ्ग हुन्छ कि उनी हिंसात्मक गतिविधि नै चाहन्थे । जनधनको क्षति भएकोमा उनलाई ग्लानी थिएन ।

बाटोमा हिडेका पैदलयात्रीहरूको रुवावासी थियो । डर र त्रासले यात्रुहरू त्रसित देखिन्थे ।

फेरि तीनकुने चौरमा रहेका आन्दोलनकरीले केही सञ्चारगृहको नाम लिंदै आगो लगाउने भन्दै भीडलाई उत्तेजित पार्न थाले । हेर्दा हेर्दै भीड अन्नपूर्ण र कान्तिपुरतर्फ अगाडि बढ्यो ।

सञ्चारगृह र पत्रकारहरू निशानामा थिए । त्यसैले भेरेका परिचयपत्र र लगाएका ज्याकेट खोलेर लुकाउनु पर्ने स्थिति बन्यो । प्रहरीतर्फ जाँदा कार्ड लगाउने । आन्दोलनकारीतर्फ आइपुग्दा लुकाउनु पर्ने स्थिति बन्यो ।

लामो प्रयासपछि आगो र तोडफोड गरेको क्षेत्र प्रहरीले नियन्त्रणमा लियो । त्यसपछि राजावादीको एउटा समूह कोटेश्वरबाट माओवादी कार्यालय र माधव नेपालको घरमा आगो बाल्ने भन्दै हिँड्यो ।

खुट्टामा चोट लागे पनि म तीनकुने क्षेत्रबाट अफिस आउने स्थिति थिएन । त्यसपछि पेरिसडाँडातर्फ लागें । पेरिसडाँडा नजिकै एउटा सरकारी गाडी देखियो । हेर्दा हेर्दै त्यो गाडी भीडको शिकार बन्यो ।

सडकका दुवैतर्फ घरहरू थिए । त्यही ठाउँमा आन्दोलनकारीले गाडीमा आगो सल्काए । त्यहीबीचमा चार पाँच जनाको एउटा समूह आयो र गाडी जलाउने समूहलाई लखेट्यो । गाडीको आगो निभाए । पेरिसडाँडा छिर्ने गल्लीमा भेला भएको समूह फर्किएर फेरि त्यो सरकारी गाडीमा आगो लगायो । बस्तीको बीचमा आगोको मुस्लो फैलियो । स्थानीयकै भागाभाग भयो । स्थानीय आतंकित भए ।

गल्लीमा राखिएका मोटरसाइकल पनि भीडको निशानामा परे । माओवादी कार्यालयलाई भने सुरक्षाकर्मीले पहरा दिन भ्याए र जोगियो ।

पेरिसडाँडाका स्थानीय भनिरहेका थिए, ‘राजाको आन्दोलन पनि यस्तो हिंसात्मक रु अराजक रु यसरी नि राजतन्त्र आउँछ रु नआउँदै त यस्तो छ, आयो भने के हुन्छ रु’

‘नेताहरूको कुबुद्धिले हो,’ एउटा पसलकी दिदी भनिरहेकी थिइन्, ञनेताले राम्रो नगर्दा यस्तो दिन आयो ।’

त्यसपछि पेरिसडाँडाबाट झरेर तीनकुने प्रहरी चौकी नजिक पुगें । स्कुटी चौकी अगाडि राखेको थिएँ ।

खुट्टामा चोट लागेर पनि कोटेश्वर पेरिसडाँडा हुँदै झरेर तीनकुने चौकी नजिक पुगे । मुल सडकमा आइपुग्दा एकीकृत समाजवादीको कार्यालय जलिरहेको थियो ।

प्रहरीको टोली पुगेर आगो निभाउने प्रयास गरिरहेका थिए । अफिसबाट साथीहरूको बारम्बार फोन आइरहेको थियो, ‘सुरक्षित रहनू’ ।

भाटभटेनी तोडफोड भयो । जडिबुटी पनि तनावग्रस्त छ । एमाले कार्यालय नजिक गाडी जलाइयो । यी खबरहरू आउन थाले ।

त्यसपछि प्रहरीले माइकिङ गर्न थाले, ‘कर्फ्यु लाग्दै छ आ(आफ्नो गन्तव्यमा चाँडो जानुहोस् । भीडभाड नगर्नुस् ।’ त्यसपछि म स्कुटी चलाएर कार्यालय पुगें ।

कार्यालय पुगेर जुत्ता खोलेर हेर्दा खुट्टा सुन्निएको थियो । सहकर्मी साथीहरूले एभरेस्ट अस्पताल पुर्‍याए । एक्सरे गरेर हेर्दा खुट्टा भाँचिएको रिपोर्ट आयो ।

‘अप्रेसन नै गर्नु पर्ने हुन सक्छ । एक्सरेको मात्र भर पर्न हुँदैन । सीटी गरेर हेरम,’ डाक्टरले सल्लाह दिए ।

सीटीको रिपोर्टले अप्रेसन गर्न नपर्ने देखायो । र, गोलीगाँठोमा प्लास्टर गरेर अस्पतालबाट राति डिस्चार्ज भएँ ।

म हिंसात्मक आन्दोलनको रिपोर्टिङको लागि गएको थिइन् । राजावादीको आन्दोलनमा नयाँ पुस्ता (जेनजी) आउँछ कि आउँदैन, आए भने उनीहरू किन राजा चाहन्छन् भन्ने आवाज लिन गएको थिएँ । तर, जेनजी पुस्ताको खासै उपस्थिति थिएन । अराजक समूहको उपस्थिति थियो ।

अहिलेको पुस्ताले राजाको शासन देख्न पाएको छैन । कतै राजतन्त्र नै पो ठिक हो कि भन्ने आशयका अभिव्यक्ति अहिलेको पुस्ताबाट बेलाबखत सुनिने गरेको छ ।

शुक्रबारको राजावादीको आन्दोलनले राजतन्त्र कस्तो हुन्छ छर्लङ्ग देखाएको छ । अहिलेको पुस्तालाई राजतन्त्रबारे थप बुझाइ रहन आवश्यक देखिएन । रणमैदान बनेको तीनकुनेले जेनजीलाई जवाफ दिइरहेको प्रतीत हुन्थ्यो ।

लेखकको बारेमा
Image
दिनेश गौतम

गौतम अनलाइन खबरका समाचारदाता हुनुहुन्छ ।  राजाबादीहरुले २०८१ चैत  १५ गते काठमाडौंमा गरेको हिंस्रक आन्दोलनमा उहाँ घाइते हुनुभयो ।