२४ चैत २०८१, सोमवार

केराखेतीमा रमाउँदै वैदेशिक रोजगारीबाट फर्केकाहरु

२४ चैत २०८१, सोमवार
Image

झापा, २५ चैत ।  वैदेशिक रोजगारीमा १७ वर्ष बिताएर घर फर्किनु भएका मेचीनगर–८ का पर्शुराम गिरी अहिले व्यावसायिक केराखेतीमा रमाउनु भएको छ ।

दुई वर्ष अघि १० कठ्ठाबाट केराखेती सुरु गर्नु भएको उहाँले मनग्य कमाई हुन थालेपछि अहिले खेती बढाएर १५ कठ्ठा पुर्याउनु भएको छ । अझै खेती विस्तारका लागि पाँच बिगाहा जग्गाको खोजी गरिरहेको उहाँले बताउनुभयो । 

उहाँले ‘जी–नाइन’ जातको केराका ६०० वटा बोट छन् । यो जातको केराको कोसा पोटिलो, ठूलो र पाकेपछि अरुभन्दा बढी स्वादिलो हुन्छ । खेतीमा उहाँलाई परिवारका सदस्यहरुले सघाउने गरेका छन् ।

केराखेतीबाट हुने आम्दानीबाट गिरी सन्तुष्ट हुनुहुन्छ । “रुखोपाखो जग्गा भएकाले धान रोप्दा रु. १० हजार नाफा हुँदैनथ्यो,” केराखेतीको आम्दानीबाट सन्तुष्ट भएको बताउँदै गिरी भन्नुहुन्छ–“अहिले केरा बेचेर एकै सिजनमा रु. तीन लाख आम्दानी भइरहेको छ ।”

खनजोत, मल र रोग कीराको नियन्त्रण आदिमा लागेको खर्च जोड्दा रु. एक लाख जति हुने जनाउँदै उहाँले हरेक सिजनमा रु. दुई लाख जति नाफा गर्दै आएको बताउनुभयो ।

कृषि ज्ञान केन्द्र झापाले झापाको मेचीनगर, अर्जुनधारा, गौरीगञ्ज, कचनकबल, गौरादह, झापा, बाह्रदशी, कमल र भद्रपुरको एक हजार नौ सय हेक्टर क्षेत्रफलमा व्यावसायिक केराखेती भइरहेको जनाएको छ । 

सामान्यतः केराको बोट नौ महिनामा पसाउन थाल्छ र एक वर्षभित्रै उत्पादन दिन्छ । झापाबाट उत्पादित केरा स्थानीय बजार बाहेक काठमाडौं पुग्ने गरेको छ । 

केराखेतीमा लागेको अधिकांश किसानहरु मेचीनगरका पर्शुराम गिरी जस्तै वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरु हुन् । पाँच कठ्ठादेखि ५० बिगाहा जग्गासम्म केराखेती लगाउने किसानहरु जिल्लामा पाइएको छ ।

वि.सं. २०६० मा बाह्रदशीका डम्बर पाहिमले १० बिगाहामा पहिलोपल्ट व्यावसायिक केराखेती गर्नु भएको थियो । त्यसपछि झापा गाउँपालिका वडा नं. ३ का चन्द्रबहादुर बस्नेतले इजरायलबाट फर्केर ३० बिगाहा जग्गामा केराखेती गरेपछि अन्यत्र पनि यसको अनुकरण हुन थाल्यो । 

वि.सं. २०७१ सालमा जिल्लामा ३० हेक्टर क्षेत्रफलमा मात्र व्यावसायिक केराखेती हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्यांकमा देखिन्छ । तर, अहिले विस्तार भएर जिल्लामा एक हजार नौ सय हेक्टर क्षेत्रफलमा व्यावसायिक केराखेती भइरहेको छ ।

झापामा वार्षिक ३७ हजार मेट्रिक टन केरा उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । प्रति घरी रु. पाँच सयदेखि सात सयसम्ममा बोटबाटै केरा विक्री हुने गरेको कृषक गिरी बताउनुहुन्छ ।

थोरै श्रम र पूँजीमा बढी, छिटो र परिवार धान्ने आम्दानी हुन थालेको हुँदा फेरि बिदेश जाने सोच त्यागेको उहाँले बताउनुभयो । 

केरा खेतीमा विभिन्न तहको सरकारले अनुदान दिने गरेको र बजारीकरण एवम् कृषि विमामा सहयोग पुर्याएका कारण किसानहरु केराखेतीतर्फ आकर्षित भएको गिरीको बुझाई छ ।

मल, सिञ्चाइ, हावाहुरी र कीराको प्रकोप केराखेतीको चुनौति रहेको उहाँ बताउनु हुन्छ । झापाका किसानहरुले चिनीचम्पा, मालबोक र इजरायली प्रजातिको समेत केराखेती गर्दै आएका छन् ।