झापा–१
झापा–१
मेचीनगर, ६ माघ । प्रतिनिधिसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर १ मा उत्साहजनक रूपमा मनोनयन दर्ता भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार दुई स्वतन्त्रसहित कूल १५ जना उम्मेदवारले चुनावी मैदानमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।
निर्वाचन अधिकृत गोपी विश्वकर्माका अनुसार आज शान्तिपूर्ण वातावरणमा विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन पत्र दर्ता गराउनु भएको हो ।
नेपाली कांग्रेसबाट मेचीनगर–७ का केशवराज पाण्डेले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँको प्रस्तावकमा क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी र समर्थकमा महाधिवेशन प्रतिनिधि लोकराज ढकाल रहनुभएको छ ।
नेकपा (एमाले)बाट मेचीनगर–६ निवासी रामचन्द्र उप्रेतीले मनोनयन दर्ता गराउनुभएको छ । नेता विष्णु प्रसाईं प्रस्तावक र श्रीप्रसाद मैनाली उहाँको समर्थक रहनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट भद्रपुर निवासी निशा डाँगीले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँको प्रस्तावकमा प्रेमराज घिमिरे र समर्थकमा असिम दाहाल रहनुभएको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट मेचीनगर–१० निवासी अशेष घिमिरेले राजन चिमरियाको प्रस्ताव र बोधराज दाहालको समर्थनमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट मेचीनगर–४ निवासी हेमराज कार्कीले चुनावी मैदानमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ ।
श्रम संस्कृति पार्टीबाट मेचीनगर–६ का केवलराम राई, मंगोल नेशनल अर्गनाइजेशनबाट मेचीनगर–२ का सन्तोष तामाङ, उज्यालो नेपाल पार्टीबाट मेचीनगर–३ का नरेश कुमार लावती, नेपाल मजदुर किसान पार्टीबाट हिरण्य प्रसाद भट्टराई, नेपाल जनमुक्ति पार्टीबाट खान्द्रु बुरुवा, जनता समाजवादी पार्टीबाट रमा मेचे, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मानबहादुर साँवा लिम्बु र नेपाल सद्भावना पार्टीबाट ओलिन राजवंशीले उम्मेद्वार दर्ता गराउनु भएको छ ।
दलहरू बाहेक दुई जनाले स्वतन्त्र रूपमा आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको छ ।
मेचीनगर–८ का गणेशप्रसाद खरेल र दुर्गा प्रसाद सावाँ लिम्बु स्वतन्त्र उम्मेदवारको रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिनु भएको छ ।
मनोनयन दर्तासँगै झापा–१ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । अबको केही दिनमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।