२२ वैशाख २०८१, शनिवार

सामुदायिक होमस्टेमा स्वदेशीसँगै विदेशी पाहुना

२० फागुन २०७९, शनिवार
Image

झापा, २० फागुन । मेचीनगर नगरपालिका–४ का महिलाहरू घरबास (होमस्टे)मा दैनिक पाहुना आउन थालेपछि दङ्ग छन् । 

आठ महिनाअघि १४ घरका महिला मिलेर सुरु गरेको मेची सामुदायिक होमस्टेमा स्वदेशीसँगै विदेशी पाहुनासमेत आउन थालेपछि उनीहरू दङ्ग परेका हुन् ।

“सुरुमा चल्छ कि चल्दैन भन्ने पिर थियो”, होमस्टे सञ्चालक समितिका सचिव पवित्रा श्रेष्ठले भन्नुभयो, “अहिले त काठमाडौँ, बर्दियादेखि भारतका विभिन्न स्थानबाट पाहुना आउनुहुन्छ ।” उहाँले पूर्वी नाका हुँदै भारतलगायत तेस्रो मुलुक घुम्न जाने र आउने पर्यटक काँकडभिट्टाका सुविधासम्पन्न होटल छाडेर पनि गाउँमै खोलिएको होमस्टेमा आउने गरेको बताउनुभयो ।

सचिव श्रेष्ठले होमस्टेमा आउने अतिथिको रुचि अनुसारका खाना खुवाउने गरेको बताउनुभयो । खानाको परिकारमा गुन्द्रुकको अचार, आफैँले उत्पादन गरेको तरकारी र स्थानीय कुखुराको मासु अतिथिलाई खुवाउँदै आएको उहाँको भनाइ छ ।

त्यहाँ एक रात बास बसेको, खाना र खाजासहित रु एक हजार शुल्क लिने गरिन्छ । “महँगो लिदैनौँ पाहुनालाई”, उहाँले भन्नुभयो, “अलि राम्रो होटलमा एक छाक खाने पैसाले यहाँ एक दिनलाई पुग्छ”, उहाँले अतिथि सत्कारसँगै आम्दानी हुन थालेपछि महिलाहरूको आत्मविश्वास बढेको बताउनुभयो ।

प्रत्येक घरका एक–एक कोठा अतिथिका लागि छुट्याइएको छ । घरको एक कोठामात्र छुट्याए पनि धेरै पाहुना एकैपटक आउँदा भने चारदेखि पाँच जनासम्मको व्यवस्था एउटै घरमा हुन्छ ।

वडा नं ४ का अध्यक्ष अर्जुन कार्कीले स्थानीय महिलालाई स्वरोजगार बनाउने र आफ्ना वडामा आउने पाहुनालाई सत्कार सम्मानसहित स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले होमस्टे सञ्चालनमा प्रोत्साहन गरेको बताउनुभयो ।

“यहाँ वर्षौँदेखि मानव–हात्तीको द्वन्द्व छ । यही विषयमा शोधपत्र लेख्नेदेखि अनुसन्धान गर्नेसम्म आउँदा व्यवस्थित बस्ने स्थानको अभाव थियो”, उहाँले भन्नुभयो, “होमस्टे भएपछि सजिलो भएको छ ।” उहाँले होमस्टेलाई अझ व्यवस्थित बनाउन वडाबाटै तालिमको व्यवस्था गर्न लागिएको बताउनुभयो ।

महिलाले होमस्टेसँगै सात कठ्ठा जमिन लिजमा लिएर मौसमअनुसारका कृषिजन्य उत्पादन गर्ने गरेको होमस्टेका सचिव श्रेष्ठले बताउनुभयो । उहाँले यतिबेला सो जमिनमा आलुको सामूहिक खेती गरिएको जानकारी दिनुभयो । 




लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।