६ पुष २०८१, शनिवार

टिकट टु हलिउड

१८ वैशाख २०८१, मङ्गलवार
Image

आइतबार विहान अभिसेक दाईसगँ फोन सम्पर्क भयो । दाई पनि काठमाडौंतिर नै हुनुहुँदोरहेछ । मन्डला थिएटरमा सागर खाती कामीको कथा/ परिकल्पना/ निर्देशनमा नाटक टिकट टु हलिउड बैशाख ८ बैशाख २३ गतेसम्म मञ्चन हुँदै थियो ।  हाम्रो बेलुका  ७ : ३० को सो हेर्न मंडला थिएटर जाने सल्ला भयो । म त्रिचन्द्रको आफ्नोे क्लास आधातिर छोडेर थापा गाउँमा रहेको मंडला थिएटरमा चलिरहेको नाटक 'टिकट टु हलिउड' हेर्न नेपाल यातायाल चढ्न पुतलिसडक पुगे । गाडी त आयो तर पस्नै तँछाडमछाड भयो । एक दुईटा पर्खे अनि एउटामा चढें ।  

धुलाबारीमा पहिलो पटक लकडाउनका बेला सागर दाई सगँ मेरो भेट भएको थियो । त्यति बेला गाउँमा सामाजिक संजाल निमार्ण गर्ने अवसर मिलेको थियो । गाउँमा युवाहरु हुनु त्यसमा पनि फुर्सदिला हुनुले धेरै कुरा गाउँमा प्रयोग गर्ने, छलफल गर्ने वातावरण थियो । गाउँमा त्यसबेला धेरै क्षेत्रमा सकरात्मक कामहरु भए । दाईकै निर्देशनमा धुलाबारीमा भएको नाटक 'अबुई' पनि त्यति बेलाको एउटा प्रयोग हो । हामी धेरै साथीको लागि यो पहिलो यसरी अभिनय गरेको नाटक थियो । यो हाम्रा लागि लकडाउनका कारण मिलेको संयोग थियो । यही नाटक बनाउँदा मैले नाटक र थिएटरलाई थोरै नजिकबाट बुझ्न पाए । केवल गाउँको दाईको सम्बन्धले मात्र हैन म कथाकार, परिकल्पना र निर्देशन सागर दाईको नयाँ नाटकको प्रयोग हेर्न म मंडला पुगेको थिए । 

म पुगेको करिब आधा घन्टा पछि टिङ्गटिङ्ग घन्टी लाग्छ । यस विचका गाउँका अर्का नुतन दाईसँग पनि अचानक भेट भइसकेको थियो । यही नाटककै लागि दाई पनि काठमाडौंको बसाईमा हुनुहुँदोरहेछ । दाईकै पछि लागेर एकछिन मंडलाको नाटकका लागि सामान बनाउने ठाउँमा पुगे । दाई केही सामान थन्क्यादै गर्दा म भने नट कस्ने मेसीलाई हातमा खेलाउँदै नाटकको बारेमा सोध्न खोजिरहेको थिए । फेरी आफै लाग्यो एकछिन धैर्य गर्छु र आफै हेर्छु सोधिन ।

मैले मेसीनले नट कस्न खोजे ।  जानिन । दाईले गरेर दिए पछि मैले आफै एउटा नट कसे र खोले । पहिलो घण्टी पछि नै दर्शक विस्तारै हल भित्र प्रवेश गर्न थालेका थिए । दाईले अर्को पनि घन्टी लाग्छ अनि पस्दा पनि हुन्छ भन्नुभयो । अविशेक दाई आइपुग्दा नपुग्दै दोस्रो घन्टी लाग्छ हामी सरासर हल भित्र छिर्यो । यो बिचको समय मैले नाटक समयमा सुरु नभएर भन्दा पनि म थिएटर छिटो पुगेर मिलेको थियो । 

मलाई थिएटर र समयको सम्बन्ध निकै महत्वपूर्ण हुन्छ भन्ने लाग्छ । थिएटरका नाटक, कलाकार, दर्शक सबैले समयको पालना गर्न पर्ने नियम हुन्छन् । दर्शकको रुपमा मलाई ( एक घन्टा ३० मिनेटका )समय वितेको पतै भएन नाटक सकिसकेको थियो । नाटक सकिएर बाहिर निस्कदा अन्तिममा चलिरहेको नित्य चै एकछिन नसकेको हुने भन्ने मलाई लागिरहेको थियो । म जस्तै बाहिर दर्शकको मुखबाट पनि एकछिन माहोल तन्काएको भए हुने भन्ने सुनिदै थियो । दर्शकको समयको सदुपयोग गर्ने हिसाबले नाटक सफल देखिन्छ । कलाकारले नाटक भित्र ठिक समयमा ठिक कार्य गर्न पर्छ । सायद यो भए मात्र दर्शकसँग नाटक एकाकार हुन्छन् । यो समयको पालनामा थिएटरहरु अन्य धेरै क्षेत्र भन्दा अगाडि छ । नाटक सुरु भएपछि दर्शक पनि धेरै थिएटरमा भित्र पस्न पाउदैनन् । 

नाटक भित्रको कथामा एकजना चर्चित कलाकार मन्टी हुन्छ । जो यस नाटक भित्रको फिल्मका पनि हिरो हुन्छन् । उनी चर्चितसगैँ शत्तिशाली पनि देखिन्छन् । आफ्नो फिलिमको डाइरेक्टर, क्यामरामेन, म्युजिसियन छान्ने प्रसंग । नियम पालना नगर्दा पाएको छुट । समाजिक नेतृत्वको अवसर, उसको आफ्नो मनोभावना, बोली र व्यवहारले उनलाई बारम्बार त्यस्तै देखाउँछ । 

मन्टीको बुद्धिबंगाराले पुरै नाटक भरी उनलाई बुद्धि दिरहन्छ । उसको मनका आकांक्षालाई त्यसले निर्देशन दिइरहन्छ । नाटकको अधिकांश भागमा यसले निर्णायक भूमिका खेलेको देखिन्छ । बुद्धिले मन्टिलाई उत्साहित र ज्ञानी, त बनाउँछ तर धेरै ठाउँमा यसले उनलाई सफल भने बनाउन सक्दैन । शक्तिशाली मन्टि नाटकको धेरै ठाउँमा निरीह देखिन्छ । जहाँ यो बुद्धिले काम गर्दैन । नाटकका दृष्यमा मन्टिले धेरै ठाउँमा प्रयोग गरेका शक्ति निष्कृय हुन्छ । मन्टि र मोतिलालको दोहोरो व्यत्तित्व देख्दा मलाई पनि हाम्रो समाजमा धेरै मन्टि जस्तै पात्र दिमागमा आए । 

समाजमा पनि नाटकमा जस्तै आयातित बुद्दि, आवरण, व्यवहार र व्यत्तित्व भएका धेरै मन्टिहरु कल्पना गर्न सकिन्छ । कथामा मोतिलाल लुकेको पात्र हो । मोतिलालको मुल्य हुन्छ । मोतिलालको कथामा अर्थ महत्वपूर्ण छ ।  हाम्रो समाजमा धेरै मन्टि जस्ता पात्र देखिन्छन् । तर के समाजमा मन्टिको सोचमा आएको भावनात्मक, व्यवहारिक, सकरात्मक , रचनात्मक, चिन्तनमा आएको परिवर्तन जस्तै सोचमा परिवर्तन आउन सक्छ ?  के मन्टिको जस्तो समस्याको पहिचान समाजमा हुन्छ ? के हामी समाजबाट मन्टिले कथामा जस्तै आयातित बुद्दि फ्याल्न सक्छौ वा सक्दैनौं ? के समाजमा आयातीत जीवनलाई नै आर्दश मान्ने मन्टिहरुको पनि नाटकको जस्तै ह्यापी इन्डिग हुन्छ हुँदैन ? यो म भन्न भने सकिदैन । तर देखेको र सुनेको हिसाबले चै के भन्न सकिन्छ भने यस्ता खराब बुद्दि फ्याल्ने भन्दा कसरी त्यसलाई भर्ने भनेर चाहना राख्ने मन्टिहरु नै हाम्रो समाजमा बढि छौं । 

नाटकसुरु देखि अन्तिम सम्म दर्शकलाई पनि कलाकार, संवाद, प्रप्स, सजावटको प्रयोग, कथाका प्रसंग नाटकको कुनै पाटो भए जस्तो महसुश गराउँछ । यो नाटकको सफलता हो । मलाई भने म सुटिङ्ग हेर्न गएका दर्शक जस्तै महशुस भयो ।  हिरोलाई हेर्न चाहने र हिरोका प्रति उत्सुक्ता भएको उसको फेन जस्तो । त्यहाँको कलाकारिता, हलको माहोल, सुरुदेखि प्रयोग भएको संगीत, नाटकका पात्रको अभिनय, कथाबस्तु, पहिरन, सजावट, कलाले पनि दर्शकलाई नाटकसगँ जोडिरहेका थिए ।

कलाकारको दर्शकसँगको संवाद, दर्शकको नाटकका केही ठाउँमा प्रयोग, संगीत दिंदै गरेका पात्र नाटकका कलाकार बनेर कथामा आउने साथै विभिन्न संकेतको प्रयोगले दर्शक र कथा नजिक देखाउने प्रयास नाटक भरि गरिएको मैले पाए । नाटकमा दर्शकलाई कथासगँ जोड्ने, कलाकारको रुपमा आफुलाई देख्ने धेरै ठाउँहरु पाए । हुन त यो व्यक्ति व्यक्ति पछि फरक पर्ने कुरा पनि हो । 

अन्य कथाका कलाकार मन्टिको हलिउडको यात्राका सहयात्री जस्ता देखिन्छन् । अन्य कलाकारको भूमिकाले नै नाटकमा मन्टिका विभिन्न स्वरुप, भावना, चाहना, व्यवहार, मनोभावना अभिब्यक्त हुन्छन् । उनीहरुमा पनि मन्टि जस्तै स्वभावहरु रहेको नाटकमा नै देखिन्छन् । कथामा विभिन्न ठाउँमा उनीहरुले आफ्नो स्वभावहरुको अभिव्यक्त गर्छन्  । मात्रामा फरक रहे पनि सबै पात्र र मन्टिको चरित्रमा खासै फरक हुँदैँन । अत्यमा मन्टिको स्वभावमा धेरै परिवर्तन आएको देखाइन्छ । नाटक हेर्दा आफूलाई मन्टि देखिरहेका दर्शकलाई बारम्बार मन्टि जस्तो बन्ने रहर मर्दो हो । अन्त्यमा भने दर्शकले आफूलाई मन्टिसगँ एकाकार गर्ने ठाउँ छ । जहाँ मन्टि समाजको आदर्श बन्न सक्ने हुन्छ । 

के कथाको मन्टिको हलिउडको टिकट काट्ने आकाक्षा र हलिउड तिरको लेण्डको टिकट काट्न भौतारिएको समाज उस्तै उस्तै मान्न सकिदैन ? दुबैमा सपना छ । आकाक्षा छ । चाहना छ । भावना छ । संस्कृति छ । मन्टिको जीवनको यात्रामा सफलता र असफल विच सफलताको लागि परिश्रम चलिरहन्छ । समाजको हलिउड लेण्डको यात्रामा भने हामी सफल छौं । समाजमा यो यात्राको कहिले सफलता, कहिले असफलता र फेरी जसरी पनि विदेशको टिकट काटेर सफलता पाउन पर्ने जस्तो देखिन्छ । के मन्टिको सफलता जस्तो समाज यो पलायनको रहर र बाध्यताको संस्कृतिबाट सफलता मिल्छ होला ?

मन्टि र समाजमा एउटा फरक छ । नाटकमा मन्टि माइ हुडमा सफल हुन्छन् । रहर र बाध्यताको पलायन संस्कृति समाजमा रहेसम्म समाजले माइ हुडमा भने सफता पाउन सकेको छैन । सक्दैन पनि । मन्टिको सफल माइ हुडबाट समाजले सफल माइ हुड बनाउन प्रेरणा लिन सक्छ । मन्टिमा आएको अनुभुति र चेतना सगैँ क्रियाशिलता समाजमा पनि आउन पर्छ । सक्कली र  फोटोकपी उस्तै हुन् तर यसका केही फरक हुन्छन । समाजलाई फोटोकपी भन्दा सक्कली हुनलाई कथाकार र कलाकार प्रेणित गर्छन् । नाटकका कलाकार समाजलाई आफ्नो पहिचान, कला, साहित्य, चिन्तन ,न्याय, संस्कृतिको खोजी गर्न प्रेणित गरिहेका जस्ता देखिन्छन् ।

समसामयिक विषयको नाटकमा उठान गरिएको छ । एयरपोटमा खादा लगाउन नपाउने बिषयलाई नाटकमा उठान गरिएको छ । मन्टि आफ्नो हलिउडमा स्वागत गर्ने मानिस बिदेश जान्छन् भनेर यसको विरोधमा आन्दोलनलाई ऐक्वद्धता जनाउन आन्दोलनमा पुग्छन् । यहाँ दुईटा पाटो रोचक लागे । भोक हडताल गरिरहेकाहरु अगाडि ढाउढ्याउ गर्दे जिस्काएको प्रसंग मलाई बढो रोचक लाग्यो । विम्वको रुपमा यसले आजको आन्दोलनमा मानिसहरु कसरी आइरहेका छन् भन्ने देखाउन खोजेको देखिन्छ ।

अर्को आन्दोलन पनि के का लागि भइरहेका छन ? त्यहाँ सहभागी हुनेहरु को हुन ? उनीहरु खादाको कुरा गर्ने कि खाजाको कुरा गर्ने हुन् ? खाजाले आन्दोलन चल्ने हो कि बिचार, संकल्प, नेतृत्वले भन्ने प्रश्न खडा गरिएका छन् । यसले आन्दोलनहरु माथि पनि व्यग गरेको देखिन्छ । कथामा आन्दोलन, त्यहाँ सहभागी आन्दोलनकर्मी, त्यसको नेतृत्व र त्यस आन्दोलनका मुद्दा र विचारको बिच तालमेल देखिदैन । 

एकठाउँ मन्टिलाई आन्दोलनमा पुग्न हतार र हतास हुन्छ । बुढा चालकलाई उनी बारम्बार आफु चालक बन्ने र छिटो पुर्याउने ढिपी गर्छन् । गाडीको स्टेरिङ उनको हातमा त ल्याउछन् । नाटकमा उनले गाडी चलाउन त सक्छन् तर उनले नियमको पालना भने गर्दैनन् । उनी आफ्नो परिचयको भरमा नियम परिवर्तन गर्न प्रयास गर्छन् । मन्टिको यो चरित्र विध्यमान राजनीतिमा देख्न सकिन्छ । युवाको नेतृत्वको सवालसँग यसलाई जोडेर हेर्न सकिन्छ । 

नाटकमा डक्टर, श्रीमती, ड्राइभर, एसिस्टेन, मम बेच्ने मानिस र अन्य धेरै रोलमा अर्का महत्वपूर्ण पात्रको भुमिका छ । उनले नाटकलाई  बिभिन्न मुडमा पुयाउँछन् । उनको रोलको बारेमा लेख्दा धेरै चर्चा गरिनपर्छ ।  यति भनै उनको नाटकलाई अगाडि बढाउन महल्वपूर्ण भुमिका हुन्छ । दर्शकको रुपमा उनको अभिनय र कलाले नाटकलाई धेरै न्याय गरेको पाए । 

नाटकले मेटाफोरिक हिसाबले समाजका धेरै विषयलाई संकेत गरेका छन् । व्यक्तिको मनोभावनाको चित्रण, समाज र सामाजिक संरचना र सम्बन्धलाई देखाउँदै त्यहाँ व्यङ्ग्य र परिवर्तनको खोज गरिएका छन् । हेर्ने दर्शक अनुसार नाटकको अर्थ फरक फरक हुन्छन् । मलाई लाग्छ नाटकले हरेक क्षेत्रमा रुचि भएका दर्शकलाई सोच्ने, कथालाई लिङ्क गर्ने र रमाउने ठाउँ दिन्छ । यहाँ मलाई लागेको कुरा लेख्ने प्रयास गरेको छु । मलाई नाटक टिकट टु हलिउड एउटा हेनै पर्ने नाटक लाग्यो । तपाईहरुलाई पनि समय मिलाएर हेर्न अनुरोध गर्दछु । नाटक बनाउने सबै टिम र मंडला थिएटर बधाई र धन्यवादको पात्र हुनुहुन्छ । 

लेखकको बारेमा
Image
विनय कार्की

विनय कार्की युवा अधिकारकर्मी हुनुहुन्छ ।