१२ साउन २०८१, शनिवार

इरानी राष्ट्रपति रइसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु

७ जेठ २०८१, सोमवार
Image

झापा, ७ जेठ । इरानी राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ ।

उहाँ सवार हेलिकोप्टर आइतवार दुर्घटना भएको थियो । मौसमी खराबीका कारण दुर्घटनास्थलमा उद्धार टोली पुग्न २४ घण्टा लागेको थियो ।

दुर्घटनामा हेलिकोप्टर पूर्ण रूपमा जलेको जनाइएको छ।

इरानी अधिकारीहरुले राष्ट्रपति चढेको हेलिकोप्टर पूर्ण रूपमा जलेको जनाएका छन्।

उक्त हेलिकोप्टरमा इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमतीसहित अन्य व्यक्तिहरू पनि चढेका थिए।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार हेलिकोप्टरले उडानका क्रममा कठिनाइको सामना गर्नु परेको थियो।

त्यसपछि उक्त हेलिकोप्टरले ‘हार्ड ल्यान्डिङ’ गर्नुपरेको इरानी सञ्चारमाध्यमहरूले जनाएका थिए।

इरानी राष्ट्रपति अजरबैजान क्षेत्रबाट उत्तर पश्चिमी इरानमा रहेको तबरिज सहर जाँदै थिए।

उनले अजरबैजानसँगको सीमा क्षेत्रमा बनेको एउटा बाँध उद्घाटन गरेका थिए। इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीइले हेलिकोप्टर दुर्घटनाको विवरण आएपछि इरानीहरूलाई चिन्ता नगर्न आग्रह गरेका छन्।

उनले उक्त घटनाले देशको काममा कुनै बाधा नपर्ने आश्वासन दिँदै त्यसो भनेका हुन्।