३ पुष २०८१, बुधवार

लोकमत

किन व्यावसायिक बन्न सकेन कृषिको काम ?

१ पुष २०८१, सोमवार
Image

नेपालमा कृषिलाई व्यावसायिक बनाउन अनेक प्रयास भएका छन्, तर पनि सोचे जसरी कृषि व्यावसायिक बन्न सकेको छैन । यस बारेमा मेरो आफ्नै अनुभूति र अनुभव यस प्रकार छन् । 

सङ्क्रमण कालको प्रभाव : नेपालको कृषि निर्वाहमुखी कृषि प्रणाली हो, थियो र छ । सदियौंदेखि यो प्रचलन छ । धेरै मानिस गाउँमा बस्थे, बस्छन् । व्यापार र जागिरमा थोरै मानिस थिए । गाउँमा बस्नेले खेती गरे । आपूmलाई चाहिने खाद्यान्न, तरकारी, मासुृ, फलपूmल, दूध, तेल, दाल, मसला आदि आपैm उत्पादन गर्थे । त्यसैबाट गुजारा चलाउथे । पैसा धेरै चाहिँदैन थियो । अलिअलि उभ्रेको वा उभारेर आफ्नो उत्पादन अन्न, खसीबाख्रा, घिउतेल, गाईभैसी, राँगागोरु सुँगुर आदि बेचेर सालभरीका लागि चाहिने पैसाको जोहो हुन्थ्यो । कृषि कामलाई चाहिने बिउ, मल, श्रम सबै आपैmले जोहो गर्थे । किसानलाई पैसा चाहिने भनेको नून, मट्टितेल, लुगाफाटो, भाँडावर्तन आदिका लागि हो । यो थोरै पैसाले नै पुग्थ्यो । मानिस बिरामी हुँदा अस्पताल जाने चलन थिएन । औषधिमुलो स्थानिय जडिबुटी र झारफुकले नै चल्थ्यो । शिक्षा सीमितले लिन्थे, सीमित पैसामा ।  

समाज आधुनिकताको उज्यालोमा प्रवेश गर्न थालेपछि स्वास्थ्य, शिक्षा, सडक, यातायात, सूचना, सञ्चार, बजार आदिको विकास भयो । विकाससँगै पैसाको बहुउपयोग र आवश्यकता बढ्न थाल्यो । पैसा आर्जनका अनेक उपाय प्रयोग हुन थाले । त्यसमध्येको एक हो कृषि व्यवसाय । 

कृषिलाई निर्वाहमुखी प्रणालीबाट व्यवसायमा बदल्न सक्नुपर्छ । बदल्ने प्रकृया निरन्तर चलेको छ । कृषिलाई निर्वाहको चरणबाट व्यवसायको चरणमा विकास गर्दा यो आफैमा उद्यम बन्छ । नेपालको कृषि उद्यममा रुपान्तरण हुने क्रममा छ । अन्य मुलुकले यो काम धेरै पहिले गरे । छिमेकी भारतमा पनि कृषि हामीमा भन्दा धेरै नै व्यावसायिक र उद्यममा रुपान्तरण भएको छ । त्यहाँका उत्पादन सजिलै नेपाल आउने हुँदा हामीलाई बजारमा टिक्न असहज भएको छ । 

कुनै पनि विषयको सङ्क्रमण कालको विशेषता भनेको सकसपूर्ण हुन्छ । थोरै सफलता र धेरै असफलता हुन्छ । अनेक प्रकारका समस्याहरुको सामना गर्नुपर्छ । अरुको सफलता देखेर हामी हौसिन्छौं । अरुले त्यो सफलता प्राप्त गर्न कति समय लाग्यो, कति मेहनत गरे, कति असफलता भोगे, कति हण्डर र दुःख पाए त्यो हामी देख्दैनौं । हामीलाई तुरुन्तै त्यो सफलता कपी गर्ने इच्छा हुन्छ । परिवेश, परिस्थिति, वातावरण, परम्परा, चलन–प्रचलन, मानवीय स्वभाव आदिका कारण नयाँनयाँ समस्या आइपर्छन् । त्यसलाई सामना गर्दै अगाडि बढ्दा नै सफलता हात लाग्छ । हाम्रो कृषिले व्यावसायिकता र उद्यमको स्वरुप ग्रहण गर्न यस्तै–यस्तै अनेक समस्याको सामना गरिरहेको हो भन्ने लाग्छ । 

कृषि ज्ञानको कमी : निर्वाहमुखी खेती प्रणालीमा परम्परागत ज्ञान र शीप नै प्रयाप्त थियो । व्यावसायिकता नभएकाले नाफाघाटासँग सरोकार हुँदैन थियो । तर, जब कृषिलाई व्यवसाय र उद्यमको रुपमा लिइन्छ तब त्यहाँ लगानी र प्रतिफलको हिसाब हुन्छ । त्यसका लागि कृषिको जुन कर्म गरिने हो त्यो बारेमा आधारभूत ज्ञान हुन जरुरी छ । आधारभूत ज्ञानले मात्रै पुग्दैन त्यसलाई प्रयोगात्मक अभ्यासबाट बढाउँदै जानु पर्छ । अर्थात आफैले गर्ने कृषि कर्ममा आधारभूत ज्ञान, निरन्तर सिकाई र विकासको आवश्यकता पर्छ । कृषि कर्म भनेको प्रकृति र मानिस मिलेर सँगसगै गरिने काम हो । आफैले गरिने कृषि कर्मको ज्ञान हुँदा मात्रै यसमा आउने समस्याको समाधान गर्न सकिन्छ । समस्यालाई बेलैमा पहिचान गरेर समाधानमा लाग्दा नै उत्पादन बढी लिन सकिन्छ । उत्पादन लागत कम गर्न सकिन्छ । कृषि कर्म विज्ञान हो । ज्ञान नभई कृषिकर्म गर्दा सफलता होइन असफलता नै हात लाग्छ । आज कृषिमा लागेका धेरै मानिसमा यो समस्या देखेको छु । ज्ञान भएका पनि असफल हुने सम्भावना हुन्छ तर त्यसको प्रतिशत कम हुन्छ । ज्ञान विना कृषिकर्ममा लाग्नेहरुको मेहनत धेरै, लगानी धेरै र असफल हुने दर पनि धेरै हुन्छ ।

अति महत्वाकांक्षा, प्रतिफलको हतारो र अस्थिर स्वभाव : कृषि कामलाई उद्यममा विकास गर्न चाहनेहरुको अति महत्वाकांक्षा पनि समस्या हो । अरुको अर्थात देशविदेशको सफलता देखेर त्यसलाई टपक्क टिप्ने मनसाय हुन्छ तर तिनले लिएको ज्ञान, गरेको काम र मेहनत पछ्याउने काम भएको पाइँदैन । साना मसिना लाग्ने कामलाई बेवास्ता गरेको, अनावश्यक ठाउँमा पनि आवश्यकभन्दा धेरै खर्च गर्ने गरेको, समस्यामा भन्दा आम्दानीमा आँखा अडिएको, ठूलो र धेरै आम्दानीको आशा गरिएको पाउँछु । भने जति नभएपछि किन भएन, कहाँ गल्ति भयो भनेर पहिल्याउने र सुधार गर्ने होइन यो कामबाट भएन, फापेन, कसैले सहयोग गरेन, बजार छैन, सरकार के हेरेर बसेको ? आदि आरोप लगाएर त्यो बेलासम्म भएको लगानी र अनुभवलाई चटक्क छाडेर अर्को काम खोज्ने गरेको पाउँछु । यो बाटोबाट न डुबेको पूँजी उठ्छ न सिकेको अनुभव अर्कोमा काम लाग्छ । 

संरचनामा ठूलो लगानी : कृषि कर्ममा लागेका कतिपय मानिसले आपूmसँग भएको पूँजीबाट होस् वा बैंकबाट लिएको ऋणबाट स्थिर संरचनामा धेरै लगानी गरेको पाएको छु । संरचना आवश्यकभन्दा ठूलो हुने, धेरै लगानी त्यसैमा खर्च हुने, लगानीको व्याजले खर्च बढाउने, संरचना पछि व्यवसायका लागि चाहिने पूँजीको अभाव हुने, पर्याप्त लगानी गर्न नसक्ने, उत्पादित कृषि उपजले बिक्री भएर आम्दानी दिन थाल्ने बेलासम्म थेग्ने पूँजीको अभावमा उत्पादन नै कम हुने जस्ता समस्या हुन्छन् ।

धैर्य र लगावको कमी : व्यावसायिक कृषि कर्म उद्यम हो । कुनै पनि उद्यमले आम्दानी दिन निश्चित समय लिन्छ । उद्यम भनेको बगैचामा बिरुवा रोप्नु जस्तै हो । बिरुवाको जात अनुसार त्यसलाई बढ्न, हुर्कन, पूmल्न, फल्न समय लाग्छ । जुन समयसम्म आम्दानी हँुदैन त्यो समयसम्म बिरुवा सानो हुन्छ । त्यसको संरक्षण, मलजल, सुरक्षा, हेरचाह धेरै नै गर्नुपर्छ । जबकि ठिक त्यही समयमा त्यो बिरुवाले कुनै आम्दानी दिदैन । बिरुवामा प्रकृतिको मात्रै प्रभाव हुन्छ । तर व्यवसाय उद्यममा नियम, कानून, मानवीय स्वभाव, सामाजिक प्रभाव, परम्परा, रीतिरिवाज, धर्म, राजनीति, परिवारको रुची, काम गर्ने मानिसको ज्ञान स्वभाव अनेक कुराले प्रभाव पार्छ । यी सबैको सन्तुलनको आवश्यक पर्छ । त्यसका लागि धैर्य र लगाव चाहिन्छ । 

जमिनलाई उत्पादनको साधनभन्दा सम्पति मान्ने चलन : पछिल्लो समय बसोवासको घनत्व सहर र सडकको पहुँच भएको स्थानमा केन्द्रित हुँदै गएको छ । कृषि उपजको पहिलो बजार पनि यही हो । तर यस्ता ठाउँमा कृषिका लागि जमिन किन्न र भाडामा लिन दुवै निकै महङ्गो पर्छ । जमिनको दाम बढी रहेका कारण जग्गा धनी ढुक्क छन् । बाभैm भएपनि कुनै फरक पर्दैन । यदि त्यो जमिन उत्पादनको साधन हो भन्ने भएको भए उत्पादन गर्नेलाई सहजै दिन्थे वा आपैm उत्पादनमा लाग्ने थिए । 

भूमि बैंकको नीति नहुनु : जोसँग उत्पादन योग्य जमिन छ उसलाई उत्पादन नगरे पनि भएकै छ र जो उत्पादनमा लाग्न सक्ने हुन् उसँग उत्पादनका लागि चाहिने जमिन छैन । यदि भूमि बैंकको नीति भएको भए उत्पादन योग्य जमिन कि त उत्पादन गर्नुपर्ने वा उत्पादन नगर्ने भए भूमि बैंकमा जम्मा गर्ने अवस्था बन्ने थियो । यस्तो भूमि बैंकबाट खेती गर्न चाहनेले सरल तरिकाले उत्पादन योग्य जमिन थोरै भाडामा पाउने अवस्था बन्न सक्ने थियो । पालिकाहरुले नै भूमि बैंकको नीति ल्याएर कृषि जमिनलाई उत्पादनमा लगाउने र यस्तो जमिन लिजमा लिनेलाई सहयोग (श्रम बाहेक मल, बिउ, सिञ्चाई आदिमा) गरेर कृषिका साना उद्यमी बनाउन सक्छ । 

बजारलाई बुझ्न नसक्नु : उद्यम एवं व्यावसायिक कृषि उपजले बजारसँग जोडिनै पर्छ । बजारको चरित्र, माग, मूल्य, गुणस्तर, परिणाम आदिलाई बुझ्न सक्नु पर्छ । आफ्ना उत्पादनको बजार कहाँ हो, उपभोक्ता को हुन्, कसले किन्न सक्छ त्यो अनुमान गर्नुपर्छ । आफ्नो उत्पादनका प्रतिस्पर्धी को को हुन् त्यसको जानकारी लिनु पर्छ । तिनै उपभोक्तालाई लक्ष्य गरेर उत्पादन गर्ने र मार्केटिङ गर्ने गर्नुपर्छ । यस बारेमा उत्पादनमा लाग्नेले प्रयाप्त ध्यान दिएको पाइँदैन ।          

सामाजिक मूल्यको प्रभाव : समाजमा जागिर खानेको उच्च सम्मान छ । व्यापार, उद्यम गर्नेको दोश्रो सम्मान र कृषि गर्नेको अन्तिम सम्मानको अवस्था बनेको छ । यसलाई बदल्नु पर्छ । कृषि उद्यम गर्नेको सम्मान उच्च हुने वातावरण बनाउनु पर्छ । कुनै कृषि उद्यमीले आफ्नो उत्पादन बजारमा लगेर बेच्न चाहेमा बजारमा पहिलो प्राथमिकता दिएर स्थान उपलव्ध गराउनु पर्छ । कृषि उद्यमीलाई परिचय पत्र दिनु पर्छ । हरेक वर्ष प्रत्येक पालिकाका वडाहरुमा उत्कृष्ट र सफल कृषि उद्यमी भनेर सम्मान गरिनु पर्छ । कृषि उद्यमीको परिचय पाएकाले सेवा लिन लाइनमा बस्नु नपर्ने व्यवस्था गर्नुपर्छ । वर्ष उत्कृष्ट कृषि उद्यमीको फार्म, उत्पादन र कृषकको फोटो वडा कार्यालयमा राख्ने गरे मात्र पनि सम्मान हुन्छ । सामाजिक सम्मानको अभावमा कृषि उद्यमी आफ्ना उत्पादन बजारमा लगेर बेच्न सङ्कोच मान्ने गर्छन् ।  

विकासको परिभाषामा नपर्नु : स्थानीय वडा, पालिका, प्रदेश र केन्द्रीय सरकारको नजरमा विकास भनेको देखिने गरीको भौतिक पूर्वाधार मात्रै परेको छ । सडक, पुल, नाला, कल्भट, भवन, अस्पताल, स्कुल, विजुली, सञ्चार, भ्युटावर, बैंक, सवारी साधन (चिल्ला गाडी), शहर आदि विकासको परिभाषामा परेका छन् । त्यसैले विकास गर्नु भनेको यस्तै यस्तैको निर्माण र विकास हुनु हो भन्ने परेको छ । तर कृषिको उत्पादन बढ्नु, कृषि उद्यमीको सङ्ख्या बढनु, सफल किसानको सङ्ख्या थपिदै जानु, कृषि उत्पादनले सहजै बजार पाउनु, गुणस्तरीय कृषि उत्पादन बढ्दै जानु, उपभोगमा विविधता आउनु, कृषि उपजको खपत बढ्नु, स्थानीय कृषि उत्पादनमा खानाका परिकार थपिदै जानु विकासको परिभाषामा परेको छैन । स्थानीय जनताका प्रतिनिधिको ध्यान र काम विकास गर्नु हो । त्यसैले विकासको परिभाषामा नपरेका यस्ता कुरामा पर्याप्त ध्यान जान सकेको छैन । मलाई विश्वास छ अबका दिनमा विकासको परिभाषा फेरिदै जाने छ । फेरिएको परिभाषाले कृषिका उद्यमी र कृषिको विकास गर्ने छ । 

सूचनाको कमी : सबै तहका सरकारले सजिलै गर्न सक्ने काममा पनि ध्यान गएको देखिदैन । वडाले आफ्नो क्षेत्रमा कति व्यावसायिक कृषि उद्यमी छन् भनेर एक पटक तथ्याङ्क लिने र त्यसलाई नियमित अध्यावधिक गर्ने हो भने पालिकाको तथ्याङ्क निस्कन्छ । पालिकाले एउटा डेस्क खडा गरेर पालिकामा उत्पादन हुने कृषि उपजको तथ्याङ्कलाई मात्रै व्यवस्थित गर्दा पनि बजार खोज्न, बजार बनाउन, व्यपारीलाई सूचना दिन, उद्यमी किसानलाई सहयोग गर्न सकिन्छ । यसले कृषि उद्यमीलाई सफल बनाउन सहयोग नै पुग्छ । सूचनाको अभावमा कृषि उद्यमीका उत्पादन, व्यपारी र उपभोक्ताको बिचमा सही सूचनाको अभाव देखिन्छ । जसले कृषि उपजको सम्भावित बजारसम्म पहुँच राख्न सक्दैन । 

कृषि उद्योगको अभाव : कृषिको उत्पादनलाई सहजै ढुवानी, भण्डारण गर्न सक्ने अवस्थाको सृजना र सहजिकरण पालिकाले गर्न सक्छ । स्थानीय कृषि उपजमा आधारित उद्योगको स्थापना गर्नमा पालिका, प्रदेश र केन्द्रीय सरकारको भूमिका हुनुपर्छ । यसो हुन सके कृषि उद्यमीका सबै उत्पादन सबै समय बिक्री हुन सक्ने अवस्था बन्न सक्छ । मूल्यमा बजारको माग र आपूर्तिका आधारमा कम मूल्य भएको समयमा पनि उद्योगले खरिद गर्ने अवस्था बन्दा किसानका सबै उत्पादन बिक्री हुन्छ । यसले कृषि उद्यमीलाई संरक्षण गर्छ । जस्तै डेरी उद्योगले दुध किनेर पाउडर बनाएर राख्न सक्छ । जुस र वाइन उद्योगले मूल्य कम भएको बेलामा फलपूmल किनेर रक्सी र जुस बनाउन सक्छ । सस् उद्योगले सस्तो भएको बेला टमाटर किनेर खपत गर्न सक्छ । यस्तै यस्तै । 

बजारमा विदेशी वस्तुको सहज पहुँच : नेपाली कृषि उद्यमीका उत्पादन केही महङ्गा छन् । कारण संक्रमणकालमा उत्पादन लागत बढी हुन्छ । यसलाई दुई तरिकाले संरक्षण गर्न सरकारले ध्यान दिनुपर्छ । पहिलो नेपाली बजार नेपाली उत्पादक र उद्यमीका लागि सुरक्षित गर्नुपर्छ या त उत्पादक किसान र कृषि उपजमा आधारित उद्योगका उत्पादनलाई बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी अनुदान र करमा सुविधा दिनु पर्छ । यो दुवै तरिकामा सन्तुलन मिलाउने काम सरकारको हो ।

खर्च र आम्दानीको सन्तुलन मिलाउन नसक्नु : जब कृषिलाई उद्यमसँग जोड्न थालिन्छ तब आम्दानी र खर्चको सन्तुलन खोज्नु पर्छ । उत्पादक वा उद्यमीले मैले यति खर्च गरेको छु भनेर मात्रै हुँदैन खर्च वा लगानीको औचित्य पुष्टि हुने काममा मात्रै खर्च गर्नुपर्छ । नेपाली उद्यमीको अलि खर्चालु स्वभाव छ । आम्दानी गरौला, हुन्छ भनेर पहिला नै खर्च गर्ने स्वभावले आम्दानी र खर्चको सन्तुलन मिलाउन सहयोग पुग्दैन । 

अन्त्यमा, यी केही अनुभूति गरेका विषय मात्रै हुन् । यीभन्दा धेरै विषयमा ध्यान दिनु पर्छ । छुटेका कुरा धेरै हुन सक्छन् । निर्वाहमुखी कृषिको युग र व्यवसायी अर्थात उद्यमी कृषिको युगको संक्रमणको समय अभैm धेरै समय रहन्छ । विकसित मुलुकले यसलाई पार गरिसकेका छन् । भारत अभैm यही संक्रमकालीन अवस्थामा छ । तर नेपालभन्दा धेरै अगाडि पुगिसकेको छ । त्यहाँबाट सिक्न पनि सकिन्छ र त्यहीका उत्पादनसँग प्रतिस्पर्धा पनि गर्नुपर्छ । सबैले एकै समयमा, सबै स्थानमा, सबै कृषि उपजमा एकै चोटी यो संक्रमणकाल सकिने होइन । यसमा लागेका सबैको अलग–अलग समयमा यो चरण पार गर्ने अवस्था बन्न सक्छ । जसले बढी होसियारीका साथ काम गर्न सक्यो, जुन सरकारले यो कुरा चाँडै बुझ्यो त्यहाँ यो संक्रमण काल चाँडै अन्त्य भएर आधुनिक कृषि उद्यमीको युगमा प्रवेश गर्नेछौं । 

लेखकको बारेमा
Image
रामचन्द्र उप्रेती

(लेखक नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक अध्यक्ष हुनुहुन्छ ।)