१० फागुन २०८१, शनिवार

विश्लेषण

भद्रपुरको गुमेको साख फर्काउने गोल्डकपका चार खम्बा

९ फागुन २०८१, शुक्रवार
Image

झापा, ९ फागुन । लामो समयसम्म गुमनाम र पछौटे अवस्थाबाट गुज्रिएको भद्रपुरले विस्तारै आफ्नो गुमेको प्रतिष्ठा फर्काउन थालेको छ ।

यसको पछिल्लो उदाहरण बनेको छ–भद्रपुर गोल्डकप फुटबल प्रतियोगिता । फागुन ७ गतेदेखि सञ्चालन भइरहेको प्रतियोगितामा देशका प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्री र सांसदहरु अतिथि बनेर मेची रंगशालामा आउने क्रम सुरु भइसकेको छ ।

राजनीतिज्ञहरुको जमघटले मात्र होइन, खेलप्रेमी र खेलाडीहरुको अभूतपूर्व सहभागिता चर्चायोग्य छ । कुनै बेला मुलुककै उत्कृष्ट रहेको र कालान्तरमा अलपत्र परेको मेची रंगशालाले यही प्रतियोगिताबाट लाखौं दर्शकको माया पाउँदै काचुली फेरेको छ ।

रंगशाला चिटिक्क सजिएको छ । प्यारापिटहरु रंगीचंगी बनेका छन् । भौतिक संरचनाको जिर्णोद्धार, मैदानको सुधार र रंगरोगनले रंगशालाको कायापलट भएको छ । यही मेसोमा नजिकैको महेन्द्र पार्कले पनि मुहार फेर्ने मौका पाएको छ । 

केही वर्षदेखि भद्रपुर गोल्डकपकै आयोजनाको कारण भद्रपुरको शान र मान ह्वात्तै बढेको छ । कुनैबेला त्रिभुवन र मुनालको नाममा ठूला ठूला फुटबल प्रतियोगिता हुने मेची रंगशाला लामो समय सुनसान र गुमनाम बनेको थियो । अहिले यसले भद्रपुरबासीको इज्जत समेत बढाएको छ ।

आखिर भद्रपुरकै पहिचान, शान र मान बढाउने भद्रपुर गोल्डकपको स्थापना, सञ्चालन र लगानीका लागि योगदान दिनेहरु को को हुन् त ? यो विषयमा लोकतन्त्र पोस्टले खोजी गरेको छ । जसलाई यसरी चर्चा गर्न सकिन्छ ।

विर्तामोडमा झापा गोल्डकपको थालनी भएपछि भद्रपुरमा यसको अनुकरण गर्दै युवा उद्योगपति दिपेश ढकालको नेतृत्वमा भद्रपुर गोल्डकपको अभ्युदय भएको थियो ।

नेतृत्वका हिसाबले यो ऐतिहासिक कार्यका लागि दिपेश ढकालको नाम सबैभन्दा अग्रणी स्थानमा आउँछ । गोरखकाली सिमेन्ट लगायतका विभिन्न उद्योगका सञ्चालक ढकालले अपजसको ठूलो जोखिम मोलेर भद्रपुर गोल्डकपको स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको थियो । जसका कारण अहिले पनि उहाँ नै यो प्रतियोगिताको अध्यक्ष हुनुहुन्छ । उहाँलाई प्रतियोगिताको एउटा खम्बा मानिएको छ ।

कुनै पनि प्रतियोगिता सफल बनाउन लगानीको भूमिका महत्वपूर्ण हुन्छ । अहिलेको आर्थिक मन्दीका बेला कसैले पनि चन्दा दिन रुचाउँदैनन् । तर, ओमसाई पाथिभरा हस्पिटल र सौर्य एयरलायन्सका अध्यक्ष दिपक पोखरेलले भद्रपुर गोल्डकपको आयोजनामा आर्थिक पाटोको मूलखाँवो आफै बन्न तयार हुनुभयो ।

यसअघि र अहिलेको संस्करणमा गरी पोखरेलले रु. ६० लाखभन्दा बढी रकम सहयोग गर्नु भएको छ । सौर्य एयरलायन्स अहिले संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको छ । अन्य व्यवसायहरु पनि संकटमुक्त छैनन् । तर उहाँले आफ्नो घरको आँगनमा हुन लागेको भद्रपुर गोल्डकपलाई आफ्नो प्रतिष्ठा बनाउनुभयो । पोखरेलले मुख्य आर्थिक भार वहन गरिदिएपछि आयोजक ढुक्कले प्रतियोगिताको सञ्चालनमा जुटेको छ । तसर्थ, उहाँलाई यो प्रतियोगिताको दोस्रो खम्बा मानिन्छ । 

यस प्रतियोगितामा उद्योगपति टीकाराज ढकाल र उहाँको दाजुभाइहरुलाई अर्को खम्बाको रुपमा स्वीकार गरिएको छ । प्रतियोगिताको पहिलो पुरस्कार रु. १३ लाखको रहेको छ । ढकाल दाजुभाइहरुले पहिलो पुरस्कार आफ्ना मातापिताको स्मृतिमा प्रदान गर्नु भएको कारण आयोजकलाई चन्दा खोज्नु पर्ने भार हलुका भएको छ । पुरस्कार सौजन्य गर्ने टिकाराज ढकालसहित दाजुहरु चण्डीराज ढकाल र नवराज ढकाल अनि भाइ हेमराज ढकालको योगदान पनि सम्मानयोग्य छ ।

भद्रपुर नगरपालिका भद्रपुरबासीका लागि सिंहदरवार हो । नगरबासीको हित र सुविधाका लागि नगरपालिकाले अभिभावकको भूमिमा निर्वाह गर्नुपर्दछ । भद्रपुरका नगरप्रमुख गणेश पोखरेलले अभिभावकको भूमिका असल ढंगले निर्वाह गर्नु भएको तथ्य यही प्रतियोगितालाई पुर्याएको सहयोगले पुष्टि गर्दछ ।

यसअघिको प्रतियोगितामा भद्रपुर नगरपालिकाले रु. ३० लाख सहयोग गरेको थियो । यसपाली त्योभन्दा बढी सहयोग नगरपालिकाले गरेको छ । खेलकुदको माध्यमबाट नगरको शान र मान बढाउन सकिन्छ भन्ने विषयमा नगरप्रमुख पोखरेल सहमत हुनु भएको देखिएको छ । 

हरेक दिनको खेल हेर्न नगरप्रमुख पोखरेल आफै रंगशालामा उपस्थित हुनुहुन्छ । आयोजनामा कुनै कमी नहोस् भनेर उहाँ आयोजक समितिसँग निरन्तर सम्पर्क र सहकार्यमा हुनुहुन्छ । नगरपालिकाले दिएको आर्थिक र नगरप्रमुखको भावनात्मक सहयोग वास्तवमै भद्रपुर गोल्डकपको महत्त्वपूर्ण खम्बा हो ।

चार खम्बाहरु दिपेश ढकाल, दिपक पोखरेल, टिकाराज ढकाल र गणेश पोखरेलको योगदानको जगमा उभिएको भद्रपुर गोल्डकपमा अरुको सहयोग, योगदान र मिहेनतको हिसाब नै नहुने भन्ने हुँदैन । अहोरात्र खटिरहेका भद्रपुरका पूर्व नगरप्रमुख जीवनकुमार श्रेष्ठ, युवा उद्योगपति आदित्य पराजुली, वडाध्यक्ष गौरव सुब्बा, पूर्व सांसद् बसन्त बानियाँ, माओबादी नेता हिक्मत घिमिरे लगायतको भूमिका प्रशंसनीय छ ।