झापा, २८ चैत । अग्रज पत्रकार एवम् राजनीतिक योद्धा चन्द्र भण्डारीले नेपाली जनताले राजा होइन, सुशासन खोजेको विचार व्यक्त गर्नु भएको छ ।
नेपाल पत्रकार महासंघका पूर्व महासचिव भण्डारीले गणतन्त्रबादी नेताहरुको शासन शैली दम्भी र भ्रष्ट भएको हुँदा नागरिकहरु उनीहरुसँग असन्तुष्ट भएर राजाबादीहरुको कित्तातिर धकेलिन थालेको विश्लेषण गर्नु भएको छ ।
उहाँले आज सामाजिक सञ्जाल (फेसबुक)मा चैत १५ गतेको राजाबादी आन्दोलन, गणतन्त्र र राजनीतिक दलका नेताहरुको भ्रष्ट शासनशैली बारे आफ्नो धारणा सार्वजनिक गर्दै उक्त विश्लेषण गर्नु भएको हो ।
‘विद्रोहले राजा होइन, सुशासन खोजेको हो,’ अग्रज पत्रकार भण्डारीले वत्र्तमान परिस्थितिको विश्लेषण गर्दै लेख्नु भएको छ–‘सुशासन थियो भने इमान्दारपूर्वक श्रीपेच फुकालेर निर्मल निवासमा थन्केका राजा सहयोगको याचनासहित आज घर घर पसेर माला खादा थाप्तै हिड्ने थिएनन् ।’
उहाँले चैत १५ गते ‘जनविद्रोह उठाउन लाखौं मान्छे सडकमा आएको’ र ‘गणतान्त्रिक सत्ता तिलमिलाउन पुगेको’ दावी गर्नु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोषी वा निर्दोष जे भए तापनि उहाँप्रति सरकार पूर्वाग्रही भएको धारणा राख्दै पत्रकार भण्डारीले अहिलेकै सत्ता दुरुपयोग शैलीले कांग्रेस–एमालेहरु मिसन चौरासीमा सफल होलान् भनेर प्रश्न गर्नु भएको छ ।