१ माघ २०८२, बुधवार

संविधानलाई लिकमा चढाएर हिँडाउनु हामी सबैको दायित्व : सभामुख घिमिरे

१ माघ २०८२, बुधवार
Image

झापा, ३० पुस । प्रतिनिधिसभाका सभामुख देबराज घिमिरेले विषम परिस्थितिमा संविधानलाई लिकमा चढाएर हिँडाउनु हामी सबैको दायित्व रहेको बताउनु भएको छ ।

गृह निर्वाचन क्षेत्र झापा–२ स्थित विर्तामोडमा मंगलवार  पत्रकार सम्मेलन गर्दै उहाँले उक्त धारणा व्यक्त गर्नु भएको हो ।

“भाद्र २३ र २४ गतेको आन्दोलन र विध्वंशसँगै यो देशको संविधान लिकभन्दा बाहिर गयो,” उहाँले भन्नुभयो– “यो विषम परिस्थितिमा संविधानलाई लिकमा चढाएर हिँडाउनु हामी सबैको दायित्व हो । यसका लागि दुई वटा विकल्पहरु हाम्रो सामूमा देखिएका छन् ।”

विघटित प्रतिनिधिसभाको पुनस्र्थापना र ताजा जनादेश दुई विकल्प रहेको धारणा व्यक्त गर्दै उहाँले दुईमध्ये पहिलो विकल्प उपयुक्त भएको ठहर गर्नुभयो ।

सरकारले निर्वाचन गराउन कार्यतालिका सार्वजनिक गरिसकेको अवस्थामा निर्वाचन हुन्छ कि हुन्न भन्ने अन्योलका बीचमा पनि कार्यतालिका बमोजिम तयारी गर्दै जानु पर्ने उहाँको धारणा रहेको छ ।

संबैधानिक व्यवस्था बमोजिम निर्वाचनको मनोनयन दाखिला गर्ने अघिल्लो दिन सभामुखको कार्यकाल सकिने भएकाले आगामी माघ ५ गते आफ्नो कार्यकाल समाप्त हुने जनाउँदै उहाँले आफ्नो तीन वर्षे कार्यकालमा मतदाताको विकासको चाहना समेत पूरा गर्न भगिरथ प्रयत्न गरेको बताउनुभयो ।