१५ चैत २०८०, बिहिवार

नाकामा चेलीबेटी बेचविखन नियन्त्रणको प्रयास प्रभावकारी

९ पुष २०७९, शनिवार
Image

मेचीनगर, ९ पुस । काँकरभिट्टा सीमा नाकाबाट चेलीबेटी बेचविखन नियन्त्रणको प्रयास प्रभावकारी बन्दै गएको छ । 

माइती नेपाल लगायतका संघ–संस्था र नेपाल प्रहरीले नाकामा कडाइ गरेसँगै चेलीबेटी बेचविखन नियन्त्रणमा कमी आउन थालेको एक तथ्याङ्कले देखाएको हो । 

दलालहरुले चेलिबेटी बेचविखनका लागि काँकरभिट्टा नाकालाई केही वर्ष अघिसम्म सजिलो नाकाको रुपमा प्रयोग गर्दै आएका थिए । 

माइती नेपालले बुधबार पत्रकार सम्मेलन आयोजना गरेर पूर्वी नाकाबाट हुने चेलीबेटी बेचविखन जस्तो जघन्य अपराधका घटनालाई न्यूनीकरण हुन् थालेको बताइएको छ ।

अघिल्लो वर्षको तुलनामा यसवर्ष बेचविखनका घटनालाई न्यूनीकरण गरिएको छ,’ माइती नेपालका क्षेत्रीय संयोजक गोविन्द घिमिरेले भने–‘हाम्रो निरन्तरको खबरदारी र नाकामा बढाइएको निगरानीले दलालहरु झस्किएका छन् ।’

यसपटक धेरै महिला र बालबालिकालाई बेचिनबाट जोगाएको घिमिरेको दावी छ । आफूहरुले शंकास्पद व्यक्तिहरुलाई नाकामै रोकेर परिवारको जिम्मा लगाउने गरिएको उनले बताए । 

माइती नेपालले सन् २०२२ मा १३४ जनालाई रोकथाम गरेको छ भने २०२१ मा यो संख्या ६६ थियो । 

त्यसैगरी माइती नेपालले यसवर्ष १ जनाको उद्घार गरेको छ भने अघिल्लो वर्ष संस्थाले २२ जनाको उद्धार गरेको तथ्यांकमा उल्लेख छ । सन् २०२२ मा ७६ जना हराएको निवेदन माइती नेपालमा परेको थियो । अघिल्लो वर्ष यो संख्या ५८ थियो । 

त्यसैगरी, मानव बेचविखन सम्बन्धी मुद्धा २ वटा तथा बलात्कार सम्बन्धी २ वटा मुद्धा दर्ता भएका छन् । घरेलु हिंसा सम्बन्धी १८ वटा र नाकामा सोधपुछ १०५८ जनालाई गरी परामर्श दिइएको माइती नेपालको तथ्यांकमा उल्लेख छ । एक वर्षको अवधिमा ५० जनालाई नाकाबाट घर फिर्ता पठाइएको संयोजक घिमिरेले पत्रकार सम्मेलनमा जानकारी गराए । 

यस्तै, जिल्ला प्रशासन कार्यालय चन्द्रगढीमा पासपोर्ट बनाउन पुगेका ३ हजार ५१ जना महिलालाई परामर्श दिएको र सीमा नाकामा ९ हजार ५ सय ५३ सवारी साधन चेकजाँच गरिएको छ । 

क्षेत्रीय संयोजक घिमिरेको सभापतित्व रहेको कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष मोहन काजी थिए । 

कार्यक्रमको सञ्चालन माइती नेपालकी परामर्शकर्ता हेमन्ता बुढाथोकीले गरेकी थिइन् । चेलीबेटी बेचविखनविरुद्ध पूर्वी नाका काँकरभिट्टामा माइती नेपाल, साना हात नेपाल, विश्वसेवा विस्तार लगायतका संघसंस्थाहरु सक्रिय छन् ।



लेखकको बारेमा
Image
अर्जुन कार्की

लोकतन्त्र पोस्टका पूर्वसहकर्मी अर्जुन कार्की हाल मेचीनगर अनलाइनका सम्पादक हुनुहुन्छ ।