२७ मंसिर २०८१, बिहिवार

अनुभूति

मृत्यु जिन्दगीको एक सार

७ माघ २०७९, शनिवार
Image

स्व.राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेख्नुभएका गीतका हरफहरु 

त्यसरी होस् मरण, जसरी सुत्छन् तारमा,

गीतका चारु चरण, हिमालचुली देशमा 

दिनको शान्त भेषमा, जसरी गर्छन् विश्राम 

सूर्यका स्वर्ण किरण, त्यसरी होस् मरण 

भने झैँ......

जीवनको एउटा सत्य मृत्युु हो । मृत्यु भएको कारण जीवनभित्रका अहङ्कारहरुलाई मान्छेले थोरै भए पनि पन्साउन सकेको छ । जीवन आफैँमा सुन्दर कदापि हुँदैन । जबसम्म मान्छेले आफूूभित्रका खुसीहरुमा रमाउन जान्दैन । दुःख पछि अवस्य पनि जीवनभित्रको एउटा पाटो बनेर खुसीहरु आउनेछन् । तर, मान्छे छोटा दुःखका पलहरुमै हार खाई लमतन्न यसरी पसारिने छ ऊ बाचेर पनि दुःखका पहाडहरुले किची मरेको भन्ठान्नेछ । तर, अहँ यो सोच्न किन सक्दैन जिन्दगी भित्रको मिठासता पीडामै लुकेको छ । अभावमै त लुकेको छ ।

कहिले आफ्नो रुपसँग कहिले आफ्नो रङमा, कहिले आफ्नो कर्ममा ,कहिले आफ्नो धर्मसँग अनि कहिले आफ्नै परिवारका मनहरुसँग कहिले आफ्नै मनसँग मान्छे गुनासो गरिरहन्छ । कहिले आफैँलाई भन्छ यो भएन कहिले आफैँसँग भन्छ त्यो भएन । खराब आँखाले हेर्यो भने त संसारका हरेक चिजमा दाग देखिन्छन् अनि त कहाँ त्यहाँ खुसीका रङ्ग भेटिन्छन् र ? जब मान्छे आफैँसँग असन्तुष्टि छ तब त्यो संसारमा उसले हरेकमा नराम्रै देख्छ । कति लोभी छ मन, कति पापी छ मन कतै दयालु भए जस्तो कतै कपटसँग जेलिएको छ मन ।

जब मान्छेले एउटा जल्दै गरेको लास देख्छ । त्यस बेला जिउँदो रहेको मान्छेले सोच्ने गर्दछ कि जिन्दगी भनेको घामछाया त रहेछ । संसार भित्रका खुसीहरु सबै क्षणिक रहेछन् । अनि भावुक हुन्छ केही पल । फेरि उसले आफ्नो औकात  बिर्सदैन । औकात नबिर्सनु भनेको आफ्नो असली व्यवहार नबिर्सनु हो । जीवनशैलीमा फर्कनु हो । यसरी नै बिस्तारै आफूसँग भएका चिजहरु छोडेर नभएका वस्तुहरु खोजेर कुनै एकदिन ऊ संसारलाई छोडेर जानेछ । पवनसँगै बिलाउने छ । तब मात्रै हामी भित्रका अहङ्कारहरु सकिनेछन् ।

के हामीले मान्छे बन्नका लागि डड्दै गरेका लासहरु मात्र देख्नुपर्ने हो र ? अनि साना खुसीहरुमा रमाउन मान्छेलाई मृत्युुले नै सिकाउनुपर्ने हो ? हैन भने त,श्वास रहदै मान्छे मान्छे जस्तो बन्न हामीलाई के कुराले रोक्छ ?मान्छे मान्छे जस्तो हुनु भनेको उसमा मानवता हुनु हो । संवेदनशीलता हुनु हो । अरुको दुःखमा पनि झर्न सक्ने आँसु व्यक्तिमा रहनु हो । त्यसैले त कहिले काहीँ लाग्ने गर्छ प्रकृतिले जुन मृत्युुको परिधिमा हामीलाई बाँधेको छ । त्यो परिधिभित्र जीवनको असली अर्थ लुकेको छ । महान् व्यक्तिहरु भन्ने गर्दछन्,–हजारौं असन्तुष्टिहरुका बिचमा रहेर बाँच्नु पनि जिउँदै मर्नु बराबर हो । तर असली रुपमा मृत्यु नै जिन्दगीको असली सार हो । संसारलाई सुन्दर महसुस गराउने आधार पनि त हो ।



लेखकको बारेमा
Image
अमृता खरेल

जनसरोकारका विषयमा कलम चलाउने खरेल झापा निवासी हुन् ।