१५ वैशाख २०८१, शनिवार

मेचीउवासंघ चुनाव

व्यवसायीको हित र सुरक्षामा लाग्ने छु : मोहन निरौला

२१ माघ २०७९, शनिवार
Image

मेचीनगर, २० माघ । बर्मामा वि.सं २०२० सालमा जन्मिएका मोहन निरौला झापामा व्यवसाय र सामाजिक क्षेत्रमा परिचित नाम हो । 

२०२२ सालमा काँकरभिट्टा आउँदा व्यवसायी निरौला २ वर्षका मात्र थिए । उहाँ भन्नुहुन्छ–‘बर्मामा जन्मिए, तर कर्म नेपालमा गरिरहेको छु ।’

२७ वर्षदेखि व्यवसायमा सक्रिय निरौला मेची उद्योग वाणिज्य संघको शनिबार (भोलि) हुने निर्वाचनका लागि अध्यक्ष पदका दावेदार हुन् । उहाँ अहिले मत माग्न चुनावी मैदानमा होमिनु भएको छ ।

उहाँ मेचीनगरको चारआली, धुलाबारी, ज्यामिरगढी, ईटाभट्टा, काँकरभिट्टा, बाहुनडाँगी लगायतका १ हजार ६६८ मतदाताको पसल–पसलमा पुगेर मत मागिरहेनु भएको छ ।

नेपाल उद्योग बाणिज्य महासंघको छाता संगठन मेची उद्योग वाणिज्य संघमा सबै व्यवसायीहरु आवद्व छन् ।

यो संस्थाको अगुवाई गर्न निरौला कम्मरकसेर लाग्नु भएको छ । संघ र उद्योग–व्यवसाय क्षेत्रको उन्नती गर्ने योजना उहाँसँग थुपै्र छन् । ती योजनालाई संस्थागत गर्न निरौला सबै क्षेत्रका व्यवसायीलाई समेटेर अघि बढ्ने कोशिस गरिरहनु भएको छ । 

२०५२ सालबाट व्यवसाय सुरु गर्नुभएको निरौला व्यवसायीको हित र प्रवद्र्धनमा लागि पर्नु भएको छ । सुरुवाती समयमा उहाँले ट्राभल एजेन्सी व्यवसाय सुरु गर्नुभयो । त्यसपछि उहाँ आयात–निर्यात व्यापारमा सक्रिय हुनुभयो । उहाँले मेची वजरंग ट्रेड कन्सर्न संचालन गरेर भारत, बंगलादेश लगायतका मुलुकहरुमा आयात–निर्यात व्यापार गरिरहनु भएको छ ।

मेची भन्सार एजेन्ट संघका अध्यक्षसमेत रहनुभएको निरौला सामाजिक क्षेत्रमा पनि ख्याति कमाएका व्यक्ति हुनुहुन्छ । रोटरी क्लब अफ काँकरभिट्टाका पूर्व अध्यक्ष समेत हुनुहुन्छ । उहाँ विभिन्न संघ–संस्थामा बसेर सामाजिक कार्य गर्दै आइरहनु भएको छ ।

व्यवसायलाई विस्तार गर्ने क्रममा निरौलाले मनिचेन्जर, होटल लगायतका क्षेत्रमा पनि लगानी गर्नु भएको छ । उहाँले जुन–जुन व्यवसाय सञ्चालन गर्नुभएको छ । आफूलाई मात्र होइन अरुलाई पनि व्यवसायमा लाग्न प्रेरित गनुृभएको छ भने थुप्रैलाई रोजगारी दिनुभएको छ । उहाँले सञ्चालन गरेको व्यवसायको क्षेत्रमा रोजगारीका अवसरका बाटाहरु खोलिदिनु भएको छ । 

यदि संघको नेतृत्व समाल्न पाए भने पहिलो प्राथमिकता सबै क्षेत्रका व्यवसायीहरुलाई आफ्ना समस्याका बारेमा करिव ३ महिना छलफल चलाउने उहाँको भनाई छ । छलफलबाट निस्केको निश्कर्षलाई मार्गनिर्देषको रुपमा अघि बढ्ने उहाँको पहिलो योजना छ ।

दोस्रो स्थानीय सरकार र प्रहरी–प्रशासनसँग सहकार्य गरेर व्यवसायीको हित र सुरक्षामा लाग्ने छु । 

र तेस्रो योजना भनेको भारतसँग सीमानाका जोडिएको काँकरभिट्टा र मेचीनगरका बजारहरुमा नगरपालिका तथा विभिन्न सामाजिक संघ–संस्थाहरुसँग समन्वय गरेर सिसि क्यामेरा जडान गर्ने पहल गर्नेछु ।