८ वैशाख २०८१, शनिवार

कृषि

तरकारी खेतीबाट गुजरा चलाउँदै भुजेल

३१ वैशाख २०८०, आइतवार
Image

मेचीनगर, ३१ बैशाख । मेचीनगर नगरपालिका–१ स्थित गाडागल्लीका खगेन्द्रबहादुर भुजेलले व्यावसायिक तरकारी खेती सुरु गरेको २० वर्ष भयो । 

तरकारी खेतीबाट हुने आम्दानीले भुजेल परिवारको खर्च मात्र चल्ने गरेको छ । उनले त्यतिमात्र गरेनन् स्थानीय १० जनालाई रोजगार समेत दिएका छन् ।

उनले खेतबारीमा बाह्रै महिना तरकारी खेती गर्छन । आफ्नो ७ कठ्ठा र ५ विगाहा लिजमा लिएको जग्गामा उनले तरकारी खेती गरेर वार्षिकरुपमा करिव १५ लाखसम्म आम्दानी गर्दै आएका छन् ।

वडा नम्बर १ मा माँ पाथिभरा तरकारी कृषि उद्योग दर्ता गरेका छन् । तर, तरकारी खेती भने वडा नम्बर २ को साम्यटोल स्थित देवन मार्ग छेउमा गरिरहेका छन् । प्रति विगाहा ५० हजारमा जग्गा लिजमा लिएर खेती गरेका हुन् ।

‘यसवर्ष टमाटरको उत्पादनबाट १० लाख आम्दानी भयो’, भुजेलले भने–‘टमाटर १२ देखि १५ लाखको बिक्री भइसकेको छ, बारीमा अझै टमाटर बिक्री हुन बाँकी छ ।’ उनले बारीमा इटली ३८ विन जातको टमाटरको विउ ल्याएर रोपेका हुन् ।

यहाँ उत्पादन गरेका तरकारीहरु बिर्तामोडको कृषि थोकमा बिक्री गर्ने गरेको भुजेलको भनाई छ । उनले टमाटर एकक्रेट (२३ केजी) को ५५० रुपैयाँले बिक्री गरिरहेको बताए ।

त्यसो त उनले बारीमा फुलकोपी, साँग, डल्ले खुर्सानी, बोडी, सिमी लगायतका बेमौसमी तरकारी पनि उत्पादन गरेर बिक्री गर्छन् । नम आयल र किङ्गस स्टार नामको मल प्रयोग गरेर विभिन्न जातका तरकारीको बेर्ना राखेका छन् । उनले सुर्यमुखी फुलको पनि विरुवा रोपेका छन् ।

२० वर्षअघि काँकरभिट्टामा दुधको डेरी व्यवसाय सञ्चालन गरेर बसेका भुजेलले डेरीबाट खासै आम्दानी नभएपछि उक्त व्यवसाय छाडेर तरकारी खेती गर्न उँभो लागे । भट्टराई चोकको १० धुर जग्गा एकलाख ५५ हजारमा बिक्री गरेर गाडागल्लीमा तीनलाख ५५ हजारमा १५ कठ्ठा जग्गा किने । त्यहि जग्गाबाटै तरकारी खेती विस्तार गरेको उनको भनाई छ ।

घरमा दुःख देखेर सानै उमेरमा भारतको अर्नाचलमा काम गर्न जाँदा उतै कृषि क्षेत्रका विषयमा सिक्ने मौका पाएको उनले सुनाए । उनी २०५९ सालदेखि अहिलेसम्म निरन्तर कृषि पेशामा छन् ।

परिवारको घरखर्चसँगै बालबालिकाको विद्यालयको खर्च तरकारी खेतीबाट हुने आम्दानीबाट धानिँदै आएको उनी बताउछन् । उत्पादित तरकारी स्थानीय बजारमा सहजै बिक्री हुने गरेको छ । 

पहिला मौसमी तरकारीमात्रै उत्पादन गर्दा सोचेजस्तो आम्दानी हुने गरेको थिएन । तर, मौसमीसँगै बेमौसमी तरकारी खेतीलाई अगाडि बढाएपछि थोरै भएपनि परिवारको गुजारा चलेको उनले सुनाए ।

उनका अनुसार गतवर्ष कृषि ज्ञान केन्द्र भद्रपुरले तरकारी खेती प्रर्बद्धनका लागि ६ लाख १२ हजार अनुदान दिएको बताए । यसवर्ष मेचीनगर नगरपालिकाले तरकारी खेतीका लागि ९५ हजार अनुदान दिने तयारीमा रहेको बताए ।

‘कृषि खेतीका लागि सिँचाई अत्य आवश्यक छ’, भुजेलले भने–‘यहाँ पानीको समस्या छ । इनार, कुवा वा धाराको पानीले त्यो सम्भव हुँदैन । नहरको पानी सधै आउँदैन । राज्यले यस विषयमा गम्भीर भएर किसानको पीडा बुझ्नु पर्छ । आकासे पानीको भरपर्नु पर्छ । त्यो पनि समयमा नआएपछि घामले विरुवाहरु मर्ने गरेका छन् । कृषि क्षेत्रलाई राज्यले आत्मनिर्भर बनाउने हो भने पहिला किसानको मर्मलाई सम्बोधन गर्नुपर्छ ।’ 



लेखकको बारेमा
Image
अर्जुन कार्की

लोकतन्त्र पोस्टका पूर्वसहकर्मी अर्जुन कार्की हाल मेचीनगर अनलाइनका सम्पादक हुनुहुन्छ ।