२० वैशाख २०८१, बिहिवार

कषिजन्य वस्तु उत्पादनका लागि बनाइएका संरचना प्रयोगविहीन

७ असोज २०८०, आइतवार
Image

तस्वीर सौजन्य ः टीकाराम पाण्डे

झापा, ७ असोज  ।भद्रपुर नगरपालिका–२ मा कृषि आइपिएम कक्षा सञ्चालन गर्ने उद्देश्यले तीन वर्षअघि स्थापना गरिएका संरचना प्रयोगविहीन बनेका छन् । पालिकाले करिब एक बिघा जमिनमा तारजालीको घेराबारा गरेर तरकारी खेतीका लागि तीन टनेल निर्माण तथा सेक्युरिटी गार्डका लागि भवन निर्माण गरेको थियो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका श्रमिकलाई लक्षित गरेर स्थापना गरिएका संरचना हाल प्रयोगविहीन भएको पालिकाका पूर्व प्रमुख जीवन श्रेष्ठले सामाजिक सञ्जालमा तस्बीर सार्वजनिक गर्नुभएको छ । उक्त जग्गामा तरकारी नभइ झार जङ्गलले छोपेको उहाँको भनाइ थियो । 

विसं २०७७ मा वडा नं १ को कार्यालय अगाडि संरचना निर्माण गरिएको जनाउँदै उक्त जग्गा नगरपालिकाको रहेको श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार पालिकाले सो स्थानमा तरकारी र फूलखेतीलाई सिञ्चित गर्नका लागि दुई वटा बोरिङ समेत गाडेर भूमिगत पानी निकालेको थियो । 

“हामीले श्रमिकलाई आयआर्जनमा जोडेर उनीहरुको जीवनस्तर उकास्ने र कृषि तालिम सेन्टरको रुपमा विकास गर्ने, आइपीएम कक्षा सञ्चालन गर्ने योजनाका साथ संरचना तयार गरेका थियौँ”, पूर्व प्रमुख श्रेष्ठले भन्नुभयो, “तर कर्मचारीको अकर्मण्यताले प्रयोगविहीन बन्यो ।” वर्षातको समयमा समेत पानी नजम्ने र तरकारी खेतीका उपयुक्त जमिन रहेकाले पालिकाले तत्काल सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो । 

नगरपालिकाका रोजगार संयोजक टीकाराम पाण्डेले एक वर्ष मात्र उक्त जमिन बाँझो रहेको बताउँदै हाल सयपत्री फूलको बेर्ना र बोडी खेती भइरहेको जानकारी दिनुभयो । उहाँले पालिकाको कृषि शाखाले श्रमिकको सहयोगमा हाल दुई कठ्ठा जमिनमा सयपत्री फूलको बेर्ना र आठ कठ्ठा जमिनमा मलसिङ (प्लास्टिक ओछ्याएर) प्रविधिको प्रयोग गरेर बोडी खेती गरिरहेको बताउनुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतका कार्यक्रम विपन्न परिवारका लागि अल्पकालीन भएकाले उनीहरुको दीर्घकालीन आयस्रोत गराउने उद्देश्यले यो परियोजना सुरु गरिएको पाण्डेको भनाइ थियो । “उनीहरुले दुई वर्षसम्म लगानी गरेर तरकारी उत्पादन गरे, राम्रो उत्पादन भयो”, उहाँले भन्नुभयो, “बजारीकरणको समस्याका कारण लगानी डुब्ने डरले गतवर्ष काम गरेनन् । पुनः अहिले कृषि शाखाको अगुवाईमा काम सुरु गरेका छौँ ।”

पाण्डेका अनुसार नमुना कृषि पाठशालाको रुपमा यस स्थानलाई विकास गरेर पालिकाभरिका किसानलाई आवश्यक पर्ने कृषिजन्य वस्तुको बेर्ना उत्पादन र वितरण गर्ने योजना अनुरुप पूर्व नगरप्रमुख श्रेष्ठले यसको स्थापना गर्नुभएको थियो । यहाँबाट उत्पादन गरिएका तरकारीलगायत कृषिजन्य वस्तुको बजारीकरण पालिकाले निर्माण गरेका सटरमा राखेर बिक्री गरिने उहाँले बताउनुभयो । उहाँले भारतीय तरकारीलाई विस्थापित गरेर नगरमै अग्र्यानिक तरकारी उत्पादन गर्ने अबको लक्ष्य रहेको जानकारी दिनुभयो ।