६ मंसिर २०८१, बिहिवार

ठिमाहा शिक्षाप्रणाली र देशको राजनीति

२० पुष २०८०, शुक्रवार
Image


नेपालको शिक्षाप्रणाली पूर्वीय शिक्षाप्रणालीबाट क्रमशः पश्चिमा युरोपियन शिक्षाप्रणालीतिर लहसिंदै गएको छ, जसले आर्थिक पक्षलाई बढी प्राथमिकता दिन्छ । नैतिक मूल्य मान्यता, आन्तरिक सुख र मानवीयताका पक्षमा यसप्रकारको शिक्षाले चर्चा गर्दैन । 

व्यक्तिलाई सम्पूर्ण रूपमा यान्त्रिक बनाउँदै भौतिक सुखमा लिप्त गराउने यस्तो शैक्षिकप्रणालीले भौतिक विकास सम्भव भए पनि नैतिक र मानवीय मूल्यलाई यसले अङ्गीकार गर्न सकेको देखिंदैन । हाम्रो शिक्षाप्रणाली ठिमाहा प्रकारको छ । यसले न गुरुकुलीय नैतिक आचरणयुक्त पूर्वीय  शिक्षाप्रणालीलाई प्रोत्साहन गरेको छ न आधुनिक शिक्षालाई सबल रुपमा अगाडी बढाउन सकेको  छ ।  

कुनै पनि देशको राजनीति त्यहाँको शिक्षा प्रणालीबाट सम्पूर्ण रूपमा प्रभावित रहेको हुन्छ । शिक्षाले मानिसलाई सुसंस्कृत बनाउँछ । राजनीतिलाई  मर्यादित बनाउन सत्यनिष्ठा, निस्वार्थता ,जवाफदेही , निष्कपटता र इमानदारिता आवश्यक हुन्छ , त्यो हाम्रो राजनीतिमा देखिंदैन । दिनहुँ बढिरहेको भ्रष्टाचार अनि राजनीतिमा देखिएको अपराधीकरण यस्तै नीति र नैतिकताको ख्याल नगर्ने शिक्षाप्रणालीका कारण भएको हो भन्न सकिन्छ । नेतृत्वमा देखिएको पदीय दूराचरण अनि अकर्मन्यताले देश थिलथिलो बन्दै गएको छ ।  

लोकतन्त्रमा सार्वजानिक पद धारण गर्ने व्यक्तिको आचरण ठिक हुनु जरूरी हुन्छ । नैतिकताले आपसी विश्वाश बढाउँछ अनि विश्वाशले साझा दृष्टि निःसृत हुन्छ । त्यसैले नेतृत्वको आधारभूत गुण भनेकै नैतिकता हो । नेपालको राजनीतिमा नैतिकता र जवाफदेहिताको खडेरी छ । छिटै यस प्रकारको नेतृत्वबाट देश मुक्त हुनसकेन भने हामी अनन्तकालसम्म राजनैतिक, आर्थिक भासमा डुब्नेछौं ।

नेपालको शिक्षा यहाँको माटो सुहाउँदो छैन । सीपरहित सैद्धान्तिक शिक्षा अनि नैतिकता र सदाचरणबिहिन ठिमाहा कथित आधुनिक शिक्षाबाट न हामी सुशासनको अपेक्षा गर्न सक्छौं न सदाचारको । एकातर्फ अंग्रेजी शिक्षाको भूत अर्कातर्फ संस्कारविहीन शिक्षाले हाम्रा मौलिक धरोहरहरुलाई ढाल्ने खतरा बढ्दै गएको छ । 

नेपालमा अहिले दुई प्रकारको शिक्षा संचालित छ । निजी स्तरबाट संचालित धनीका छोराछोरीले लिने  कथित आधुनिक शिक्षा अनि सार्वजनिक विद्यालय जहाँ गरिबका छोराछोरी पढ्छन्, सरकारी शिक्षा । यसरी एउटै देशमा दुई प्रकारको शिक्षाप्रणाली लागू हुँदा धनी र गरिबबीच देखिने असमानता झन् बढेर जाँदैछ । सूक्ष्म रूपमा हेर्ने हो भने निजी विद्यालयमा अध्ययन गरेका विद्यार्थीले भन्दा सार्वजानिक विद्यालयमा पढेका विद्यार्थीले यो देशको भरथेग गरेका छन् । सापेक्षित रूपमा सदाचारी छन् , आचरणमा केही अब्बल छन् । 

शिक्षाको उद्देश्य बेरोजगारी हल गर्नु पनि हो तर त्यो हाम्रो हालको शिक्षाप्रणालीले गर्न सकेको छैन । हाम्रो शिक्षाप्रणालीले सामाजिक उद्देश्य तथा राष्ट्रिय उदेश्य पूरा गर्न सकेको छैन । माटो सुहाउँदो शिक्षाको अभावमा देशले दक्ष जनशक्ति उत्पादन गर्न सकेको छैन ।

अहिले बाल मनोविज्ञानमा बढ्दै गएको अपराधले फेरी एकपटक हामीलाई प्रश्न गरेको छ कि हामी कता जाँदैछौं ? हाम्रो शिक्षाले हाम्रा बालबालिकालाई किन नैतिक ज्ञान दिन सकिरहेको छैन । कतै आफ्नै गुरुलाई दुर्व्यवहार गरेको अनि कतै आफ्नै समकक्षीलाई बलात्कार गरेर मारेका घटनाहरू सार्वजानिक हुँदैछन् । के शिक्षा भनेको पढ्न लेख्न जान्नु मात्र हो ? होइन भने हाम्रो पूर्वीय दर्शनले दिएको मानवीयताको शिक्षा खोइ ? 

आजका विद्यार्थीहरूले  नै भोलि देश बोक्ने हुन् । उनीहरूमा आजै  मूल्यशिक्षा (Value education) दिन सकियो भने मात्र भोलिको समाजले उज्यालो प्राप्त गर्ने छ । विश्वमा गरिएका विविध अध्ययनले आजका युवा विद्यार्थीहरू विनाशकारी (Distructive) बन्दै गएको देखाएको छ । नैतिकताविहीन नयाँ पुस्ताले यो विश्वलाई सहज रूपमा अगाडी नबढाई दूर्घटनातर्फ उन्मुख गराउने निश्चित छ । त्यसैले यो सुन्दर विश्वलाई जोगाउन ढिला नगरी मूल्य शिक्षालाई स्थापित  गर्नु अनिवार्य भएको छ ।

विश्व आर्थिक र आणविक रूपमा  उग्र भएर अगाडी बढिरहेको छ । विकास केवल हातहतियार थुपार्नु, आर्थिक तथा राजनैतिक रूपमा सबल बन्नुमा मात्र केन्द्रित हुँदा मानवीयता, भाइचारा, सहअस्तित्व तथा विश्वबन्धुत्वको भावनामा आंच आएको छ । विश्वमा देखिएको आणविक होडबाजी युद्धले निम्त्याएको त्रासदीले आजको मानिसभित्रको मानवता मर्दै गएको छ ।

हाम्रो देशको नेतृत्वमा पनि सहनशीलता मर्दै गएको छ । राजनैतिक पार्टीहरूमा देखिएको तुच्छता अनि अधम प्रकारको आपसी व्यवहारले नयाँ पिंडीमा समेत राजनैतिक कुसंस्कारको बीज छर्दैछ । त्यसैले आजैदेखि शिक्षाप्रणालीमा सुधार आवश्यक छ । समयानुकूलको प्राविधिक शिक्षाका साथसाथै नैतिक आचरणयुक्त शिक्षा नै आजको आवश्यकता हो । आधुनिकताको नाममा हुने विनाश अनि अतिवादका नाममा देखिने आतंकवादलाई नियन्त्रण गर्नु आजको प्रमुख चुनौती हो । 

अन्त्यमा भ्रष्टाचार,दुराचार , आतंकवाद ,अतिवादलाई नष्ट गर्दै सभ्य शान्त अनि समुन्नत  विश्व निर्माण गर्न आजका कलिला बालबालिकालाई मानवताको पाठ पढाउनु र कर्तव्यको पथ देखाउनु सबै मानव जातिको कर्तब्य हो । हाम्रो शिक्षा पनि जीवन निर्वाहमुखी मात्र नभएर विश्व संरक्षणमा केन्द्रित हुनु आवश्यक छ । 


लेखकको बारेमा
Image
केशवप्रसाद ढुङ्गेल

उहाँ अधिवक्ता हुनुहुनुहुन्छ ।